भर्खरै :

इथियोपियाको टिग्रेमा जारी सैन्य कारबाही नरोकिने

नैरोबी, २ मंसिर । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले सशस्त्र सङ्घर्ष जारी रहेको उत्तरी टिग्रेमा जारी सैन्य कारबाही नरोकिने बताउनुभएको छ ।
उत्तरी टिग्रेको क्षेत्रीय सरकारले स्थानीय विद्रोहीलाई मद्दत गरेको भन्दै इथियोपिया सरकारले त्यस क्षेत्रमा दुई सातादेखि भीषण सैन्य कारबाही जारी राखेको छ ।
प्रधानमन्त्री अबियले मङ्गलबार सामाजिक सञ्जालमा लेख्दै टिग्रे क्षेत्रका नेताहरूलाई तीन दिनको समयावधि दिएको बताउनुभएको छ ।
गत वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त प्रधानमन्त्री अबियले संवादका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको अनुरोधलाई अस्वीकार गरिरहनुभएको छ । हर्न अफ अफ्रिका नाम दिइएको टिग्रेमा जारी युद्धबाट छिमेकी मुलुक इरिट्रियामा पनि असर परेको छ ।
युद्धबाट बच्न २७ हजारभन्दा बढी इथियोपियाली शरणार्थीहरू सुडानतर्फ भागेका छन् । राष्ट्रसङ्घीय निकायका प्रवक्ता बाबर बलोचले युद्धबाट त्रस्त व्यक्तिहरू दैनिक झन्डै चार हजार शरणार्थीको रूपमा अन्यत्र भागिरहेको बताउनुभयो ।
इथियोपियामा जारी युद्धप्रति निकै चिन्तित देखिएका उगान्डा र केन्या समेतका मुलुकले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेका छन् । तर, अबियको सरकारले टिग्रेको क्षेत्रीय सरकार गैरकानुनी रहेको बताउँदै आउनुभएको छ किनभने टिग्रेको सरकारले गत सेप्टेम्बरमा जबरजस्ती स्थानीय निर्वाचन गराएको थियो ।
इथियोपियाको सङ्घीय सरकारले मङ्गलबार टिग्रेको क्षेत्रको राजधानी मेकेले बाहिर नयाँ हवाई आक्रमण गर्ने बताएको छ ।
टिग्रेको टेलिभिजनले पनि आवासीय क्षेत्रमा बमबारी गरेको दृश्य प्रशारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *