भर्खरै :

आफ्नै दलका शीर्ष नेताहरूको निगरानी राख्न गुप्तचर प्रयोग !

 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सच्चा कम्युनिस्ट नै होइन भने नेकपा फुटेर नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो दुर्घटना हुन्छ भन्ने कुुरा हास्यास्पद हो । नेकपाले कम्युनिस्ट आन्दोलन बलियो बनाउने काम गरिरहेको छैन भने त्यो दल ठूलो भए पनि सानो भए पनि फरक पर्दैन । नेकपा साँच्चै कम्युनिस्ट भएको भए फुट्दा नेपालको कम्युनिस्ट आन्दोलनमा धक्का पुग्न सकिन्छ । नेकपा कम्युनिस्ट पार्टी नभएको हुँदा नेकपा फुटेर नेपालको कम्युनिस्ट आन्दोलनमा धक्का पुग्दैन । नेकपा फुट्यो भने नेकपाले सरकारको नेतृत्व गर्न पाउँदैन, अहिलेजस्तो मन्त्री बन्न पाउँदैन, अन्य उच्च पद तथा सेवा–सुविधा पाउँदैन । नेकपाको लागि हुने घाटा भनेको यति नै हो ।
नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढाउने हो, समाजवादी अभियान चलाउने हो भने नेकपाको कार्यशैली नै बदल्नुपर्छ । नेकपाले पुँजीवादी बन्दोबस्तको सरकारको नेतृत्व गरिरहेको छ, नेकपा पुँजीवादी राजनीतिमा फसेको छ । नेकपाको ध्यान नै बहुमत ल्याएर सरकारको नेतृत्व गर्नु हो । पुँजीवादी सरकारको नेतृत्व गरेर, पुँजीवादी राजनीतिमा हामफालेर नेकपा सच्चा कम्युनिस्ट हुनेछैन । नेकपा फुटेर नेपालको सङ्घर्षमा घाटा हुँदैन, वर्गसङ्घर्षमा मर्का पर्दैन । नेकपाले वर्गसङ्घर्षको राजनीति छोडिसकेको छ । सरकारको नेतृत्व गरिरहनु नै नेकपाले आफ्नो आजु ठानिसकेको छ । वर्गीय राजनीति छोड्ने नेकपाले वर्गसङ्घर्ष गर्ला भन्ने विश्वास पनि छैन ।
नेकपाका केन्द्रीय नेताहरू नेकपा कुनै हालतमा फुट्दैन, फुटपारूवाहरू नेकपाका गद्दार हुनेछन्, कम्युनिस्टविरोधी हुनेछन्, कम्युनिस्ट आन्दोलनका धोकेबाज हुनेछन् भनी फुकिरहेका छन् । कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर–आँगनमा पु¥याएर बहुमत जनतालाई सिद्धान्तनिष्ठ बनाउन, सङ्गठित गर्न सक्रिय हुनुपर्ने नेकपाका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू पनि ओली पक्षधर र माओवादी पक्षधर भएर स्पष्टतः देखिएका छन् । यसरी नेकपाका अध्यक्षद्वयको विवाद चरमोत्कर्षमा पुगेपछि प्रम ओलीले त प्रचण्ड पक्षधर शीर्ष नेताहरू कहाँ, कहिले पुग्छन्, कोसँग भेटघाट गर्छन् भनी सादा पोशाकका गुप्तचरहरू खटाएको कुरा पनि राजनीतिक विश्लेषकहरूले बताएका छन् । आफ्नै दलका नेताहरूको पछाडि गुप्तचर खटाउने या परिचालन गर्ने कामले थप शङ्का–उपशङ्का उब्जाएको छ ।
फुट्नै लागेको स्थितिमा नेकपाको बैठक बस्यो र यसअघि भएका अन्तद्र्वन्द्वका विचार या भनाइ एकाएक सेलाउने काम ओलीले गरे । अघिल्लो पटकको चरमोत्कर्षमा पुगेको विवाद सेलाउन पनि अन्तिम चरणमा बैठक बसेको थियो । बैठक बस्नुअघि प्रम ओली दलका नेताहरू भेट्न क्रियाशील भए, मन्त्रीहरूलाई अडान नछोड्न निर्देशन दिए । शीर्ष नेताहरूलाई आफ्नो पक्षमा राख्न ओलीले माधव नेपाल र वामदेव गौतमसँग भेटे । माधव नेपाललाई महाधिवेशनपछि अध्यक्ष वा अर्को चुनावपछि प्रम पद दिन आफू सक्रिय हुने प्रलोभन केपीले बाँडे । त्यसरी नै नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पनि उपप्रम बनाउने आश्वासन दिए । पद या मन्त्रीको प्रलोभन देखाएर आफ्नो गुटतिर आकर्षित गर्ने र राजनीति गर्नु नै पदको लागि हो भन्ने शिक्षा प्रम ओलीले दिए । यसले नेकपाको उद्देश्य के हो भन्ने स्पष्ट गर्छ । यो चालामालाले नेकपाको मूल स्वार्थ के रहेछ भन्ने स्पष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *