भर्खरै :

छठ र तराईका महिला

तराईका जिल्लामा छठ पर्व सुरु भएको छ । छठ पर्वलाई तराईवासी नेपाली जनताको सबभन्दा ठूलो पर्व मानिन्छ । तराईवासीहरूको बसाइ देशैभरि फैलिएसँगै छठ पर्व पनि देशव्यापी बन्दै गएको छ । काठमाडौँ उपत्यकाका विभिन्न पोखरीमा पनि तराईवासी नेपाली जनताले छठको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालेका छन् । यसबाट उपत्यकाबासी जनताले पनि छठको महिमा बोध गर्दै छन् । यसलाई नेपाली जनतामा रहेको सांस्कृतिक सह–अस्तित्व र सहिष्णु भावनाको द्योतक मान्न सकिन्छ ।
छठ पर्व मुख्यतः तराईका महिलाहरूले आफ्नो परिवारको खुसीको निम्ति व्रत बस्ने पर्व हो । आफ्नो परिवारको खुसीको निम्ति व्रत बस्ने तराईका नेपाली महिलाहरू आफै भने शोषणका अनेकन सिक्रीबाट जकडिएका छन् । नेपालका अन्य कामदार महिलाहरूजस्तै तराईका महिलाहरू सामाजिक, आर्थिक, राजनीतिक उत्पीडनबाट पिरोलिएका छन् । पुँजीवादी समाजमा पुरुषको तुलनामा महिला अर्को थप सत्ताको उत्पीडन झेल्न बाध्य हुन्छन् । महिलामाथिको त्यो थप उत्पीडनको सत्ता पितृसत्ता हो । तराईका महिलाहरू पनि वर्गीय समाजका यस्ता अनेकन सत्ताको दमनबाट पीडित छन् ।
अझै पनि तराईका महिला शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता दैनिक जीवनका आधारभूत आवश्यकताबाट वञ्चित छन् । तराईको समाजमा व्याप्त अन्धविश्वासको सबभन्दा ठूलो उत्पीडन पनि महिलाले नै भोगिरहेका छन् भने महिलाहरू आफै पनि त्यस्ता अन्धविश्वासका बाहक बनेका छन् । बालविवाह, दहेज प्रथा, महिला हिंसा, बोक्सीसम्बन्धी अन्धविश्वास, बहुविवाह, अशिक्षा, बेरोजगारी, सामाजिक तथा आर्थिक गतिविधिमा महिला सहभागितामा निषेध, स्वास्थ्यसम्बन्धी चेतनाको अभाव, भूतप्रेतजस्ता अन्धविश्वासको व्यापकता आदि तराईका महिलाहरूका प्रमुख समस्या हुन् । यी समस्या तराईका जनताको आर्थिक अवस्था, सामाजिक जीवन र चेतनासँग अन्योन्यास्रितरूपमा गाँसिएका छन् । यीमध्ये कुनै पनि एउटा समस्याको मात्र समाधान गर्नुले तराईका महिलाको समग्र अवस्थामा धेरै फरक पार्दैन । तर, ती सबै समस्याको समग्र समाधान नै ती महिलाहरूको वास्तविक मुक्तिको बाटो हो । तराईका महिलाहरूको समस्या समाधान गर्ने भन्दै क्रियाशील अन्तर्राष्ट्रिय÷गैरसरकारी संस्था र सरकारी निकायले पनि कुनै एउटामात्र समस्याको पाटोलाई जोड दिएर समग्र समस्या समाधानको प्रयास गरेको दाबी गर्छन् । त्यसो गर्नु भनेको पात टिपेर रुख मार्न खोज्नुजस्तै हो । पात झार्दैमा रुख मर्दैन । समस्या र चुनौतीका विशाल मैदान भएको तराईमा कुनै एउटा पक्षको मात्र समाधान गर्न खोज्नु व्यवहारिकरूपमा असम्भव र सैद्धान्तिकरूपमा निरर्थक हुन्छ ।
तराईका महिलाहरूका यी सबै समस्या त्यहाँको सामाजिक जीवनसँग गाँसिएका छन् । ती समस्याका दिगो र समुल समाधानको निम्ति सामाजिक परिवर्तन नै प्रधान जिम्मेवारी हो । जबसम्म तराईको सामाजिक जीवनमा परिवर्तन हुँदैन, तबसम्म महिलाको मात्र एक्लो प्रगति असम्भव छ । सामाजिक जीवन आर्थिक र राजनीतिक परिवर्तनसँग नजिकबाट सम्बन्धित हुन्छ । वर्गीय समाजमा पितृसत्ताको जरा नै राजनीतिक र आर्थिक सत्तामा निहीत हुन्छ । त्यसकारण जबसम्म राजनीतिक र आर्थिक सत्तालाई न्यायपूर्ण बनाउन सकिन्न, तबसम्म वर्गीय समाजमा सामन्तवादको जड अवशेष बनेको पितृसत्ता उखेल्न सकिन्न । तराईका महिलाहरूले आज सामना गरिरहेको उत्पीडनको निकास भनेको वर्गीय समाजको मूल समस्याको समाधान नै हो ।
छठ पर्वको आयामलाई धार्मिक मान्यता र आस्थाभन्दा माथि उकासेर वर्गीय र महिला मुक्तिसँग जोड्न आवश्यक छ । छठ पर्वमा सूर्य आरधना गरेर सुख प्राप्तिको ध्येयबाट माथि उठेर अब प्रगतिशील र वैज्ञानिक चिन्तनमा आधारित समाजको परिवर्तन गर्ने विचारलाई अझ फराकिलो बनाउन जरुरी छ । छठको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *