राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
काठमाडौँ, ३ मंसिर । तीन वर्षपछि निर्माण सुरू भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा विमानस्थलसँगै सम्पन्न हुने अवस्थामा पुगेको छ । भैरहवामा विमानस्थल २०७१ सालदेखि निर्माण सुरू भएको थियो भने पोखरामा २०७४ सालदेखि निर्माण सुरू भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो समयको भौतिक निर्माणको अवस्था हेर्दा पोखरा पनि भैरहवासँगै सम्पन्न हुने अवस्थामा पुगेको सीआरआई समाचार सेवाले लेखेको छ ।
धावनमार्ग, टर्मिनललगायत भवनहरू निर्माण भएको पोखरामा १४ भवन नयाँ बनेका छन् । प्रायः सबै नयाँ पूर्वाधार भएको उक्त विमानस्थलमा अब उपकरण जडान गर्नमात्र बाँकी रहेको प्राधिकरणमा राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारीले जानकारी दिनुभयो । “अबको बाँकी काम दुवै विमानस्थलमा उत्तिकै र उस्तै छ । काम सुरू कहाँ पहिले हुन्छ, त्यहीअनुसार निर्माण सम्पन्न हुन्छ । यी विमानस्थलहरू एकैपटक सञ्चालनमा आउने अवस्था भने बनेको छ”, अधिकारीले भन्नुभयो ।
भैरहवा विमानस्थलमा पनि धावनमार्ग, टर्मिनल तथा अन्य भौतिक काम सकिएको र उपकरण जडानको काममात्र रोकिएको छ । एसी फिटिङका लागि चिनियाँ प्राविधिक आवश्यक पर्ने भएकोले गर्दा अरू उपकरण जडान रोकिएको हो । त्यस्तै पोखरा विमानस्थलमा पनि चिनियाँ कामदार नहुँदा उपकरण जडान रोकिएको उहाँले जानकारी दिनुभयो ।
दुवै विमानस्थलका लागि आवश्यक पर्ने विदेशी कामदार तथा प्राविधिक नेपाल ल्याउन भिसा अनुमतिको प्रक्रिया सुरू भइसकेको र अब कामले गति लिने उहाँको भनाइ छ । उपकरण जडानलगायत काम सुरू भएपछि चार महिनामा सम्पन्न हुनेछ ।
२०७१ सालमा निर्माण सुरू भएको भैरहवा विमानस्थलमा दुईवटा ठेकेदार कम्पनी छन् । यसको भौतिक निर्माणको जिम्मा चीनको नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले पाएको छ । ६ अर्ब ७० करोड रूपैयाँमा ठेक्का पाएको यो कम्पनीलाई समय थप गर्दै आइएको छ ।
पछिल्लो पटक थपिएको समयअनुसार यसले सन् २०२१ को जनवरीसम्म काम सक्नुपर्ने छ । तर, यो बीचमा काम सम्पन्न हुने अवस्था भने छैन ।
पहिले विभिन्न कारणले ढिलासुस्ती हुँदै आएको उक्त आयोजनामा अहिले कोरोनाका कारण ढिला भएको अधिकारीहरूले बताउँदै आएका छन् । निर्माण सुरू हुनेबित्तिकै नाकाबन्दीका कारण अवरूद्ध भएको बताइएको थियो ।
बीचमा ठेकेदारको विवादले ६ महिना काम रोकिएको उक्त आयोजनामा धावनमार्ग र टर्मिनल भवन निर्माण सकिए पनि टर्मिनलमा एसी राख्न चीनबाट प्राविधिक कामदार नआउँदा पाँच महिनादेखि काम अघि बढ्न सकेको छैन । यो काम नभएसम्म टर्मिनलभित्र जडान गरिने अरू उपकरणको काम सुरू नहुने भएकोले काम ठप्प प्रायः भएको छ ।
सुरूमा चिनियाँ प्राविधिक बिदा मनाउन घर जानेबित्तिकै लकडाउन भएको र पछिल्लो समय चीनमा खोप परीक्षण व्यापक भएको भन्दै प्राविधिक आएका छैनन् । अहिले भने ठेकेदार कम्पनीले कामदार ल्याउन भिसा आवेदन गरेको छ ।
त्यस्तै यही आयोजनाको लागि उपकरण जडानको जिम्मा पाएको अर्को कम्पनी एरो थाइले पनि काम गर्न सकिरहेको छैन । उपकरणहरू सबै नेपाल ल्याइसके पनि अस्ट्रेलिया, मलेसिया तथा अमेरिकाबाट प्राविधिक ल्याउनुपर्ने भएकोले काम गर्न नसकेको उसले प्राधिकरणलाई जानकारी गराएको छ ।
यी सबै काम सक्न कम्तीमा ६ महिना लाग्ने र उडान सुरू गर्न त्यसपछि कम्तीमा ६ महिना लाग्नेछ । फरक निर्माण प्रक्रियाबाट सुरू भएको पोखरा विमानस्थलमा भने सबै काम एउटै कम्पनी सीएएमसी इन्जिनियरिङले पाएको छ । यसले ईपीसीएफ मोडलको निर्माण जिम्मा पाएको हो ।
चीन सरकारको २२ अर्ब ऋणमा निर्माण भइरहेको यो आयोजना सन् २०२१, जुलाइसम्म सक्नुपर्नेछ । २ प्रतिशत ब्याजदरमा लिइएको ऋणमा सञ्चालित आयोजना तोकिएको समयभन्दा पहिल्यै सम्पन्न गर्ने कम्पनीले बताएको छ ।
विमानस्थलको भौतिक संरचना सबै सकिएको र उपकरण जडानमात्र बाँकी भएकोले प्राविधिक आउनेबित्तिकै धमाधम सुरू हुने प्राधिकरणले बताएको छ । तर, पोखरा विमानस्थलमा उडान सुरू हुन विमानस्थल नजिकै रहेको डाँडो कटान गर्नुपर्नेछ । जसका लागि वातावरणीय अध्ययन गर्नुपर्ने हुन्छ । यसका लागि भर्खरमात्र काम सुरू भएको छ ।
Leave a Reply