भर्खरै :

प्रमले राजीनामा नदिए पनि देश बरबादीको खाडलमा

केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने या नदिने त्यो उनको निजात्मक या दलको आन्तरिक कुरा हो । सरकारको नेतृत्व गर्न उनलाई जनता र पार्टीले जिम्मा दिएका हुन् । तर, प्रम ओलीले राजीनामा दिएपछि देश बरबादतिर जान्छ भन्ने कुरा हास्यास्पद छ । प्रम ओलीले राजीनामा नदिए पनि देशमा बर्बाद भइरहेको छ । देशका सफल या लायक प्रम आफूमात्र हुँ भनी प्रम ओलीले भन्ने होइन । त्यो जनताले मूल्याङ्कन गर्ने हो, पार्टीले मूल्याङ्कन गर्ने हो । आफूले आफँैलाई सबै विषयको जानकार ठान्ने काम अभिमानीको सूचक हो । त्यही अभिमानीले नेकपाका नेताहरूको दिमाग तातिरहेको हो ।
प्रम ओलीको दिमाग पनि तातेको छ क्यारे ¤ दिमाग तातेरै उनी बर्बराउँथे, आफ्नोबारेमा टिप्पणी गर्नेबित्तिकै शत्रुको आँखाले हेर्थे । सरकारको कमजोरी औँल्याउनुलाई नै उनी विरोध गरेको ठान्थे, उनी त्यो सहँदैनथे र त्यसलाई पछार्न उनी कस्थे । कम्युनिस्ट पार्टीभित्र आलोचना प्रत्यालोचना हुने बताउने ती नेताहरू आलोचनादेखि किन सहँदैनथे ? यो प्रम ओलीको कमजोरी हो कि पार्टी र सरकारले देशघाती र जनघाती काम गरे पनि सहेर बस्नुपर्छ भन्ने पाठ सिकाएको हो ?
नेपाली जनताले नेकपालाई पाँच वर्ष शासन गर्न जिम्मा दिएकै हुन् । जिम्मा पूरा गर्ने दायित्व नेकपाको हो । त्यो जिम्मेवारी पूरा नगरेपछि, देशघाती र जनघाती काम सरकारले गरेपछि सत्तारुढ दलले मात्र होइन जनता र नागरिक समाजले राजीनामा माग्नु अस्वाभाविक होइन । देश बरबादी बनाउने काम गरिरहेको सरकारले आफूले प्रम पदबाट राजीनामा दिएपछि देश बरबादीको खाडलतिर जाक्छ भनेर किन… खुट्टा काट्भन्दा चट्ट खुट्टा उचाल्ने ? कामभन्दा कुरो बढी गर्ने, असम्भव र अनावश्यक कुरो उठाउने, देशलाई कठपुुतलीको घेरामा बाँध्ने काम ओली सरकारले गरिरहेको छ ।
प्रम ओलीले राजीनामा दिए पनि या नदिए पनि नेकपाको राजनीतिमा लागेको दाग मेटिने छैन । ओलीको सट्टा अर्को कुनै नेता प्रम भए पनि नेपाली जनताले राहतको अनुभूति गर्न पाउने छैनन् । नेकपाका नेताहरूको स्वार्थ एउटै हो । नेकपाले सरकारको कारण भइरहेको बदनाम साम्य पार्न सरकारको नेतृत्व फेर्न सक्ने विश्लेषण गर्नु अन्यथा होइन । जनता र पार्टीभित्रकै नेताहरूको विरोध या आलोचना भएपछि झर्केर बोल्ने होइन, आलोचनादेखि डराउने होइन, शत्रुको आँखाले हेर्ने होइन, बरु जनताको अझ बढी सेवा गर्ने हो, देश निर्माणको लागि जुट्ने हो । सत्तारुढ दल नेकपाले पनि सरकार या प्रमको मात्र खेदो खन्ने होइन, आफ्ना नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरूमा निः स्वार्थ र इमानदारीपूर्वक जनताको सेवा गर्न उत्साहित गर्ने हो । देशलाई कमाउ खाने भाँडो बनाउने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *