भर्खरै :

ट्राफिक नियमको पालना

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकालगायत देशैभरि ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक गतिविधिलाई तीव्रता दिएको छ । सडकमा ट्राफिक प्रहरी स्वयम् सूचनामूलक प्लेकार्ड लिएर उभिनु, सचेतनामूलक सूचनासहित ट्राफिक प्रहरीको पोशाक लगाएका डमीलाई ठाउँ ठाउँमा राख्नु, सीसी क्यामरा जडान गर्नु, टेलिभिजन, रेडियो, सामाजिक सञ्जालमा विभिन्न चेतनामूलक रोचक सामग्री प्रसारण गर्नुजस्ता ट्राफिक प्रहरीका गतिविधिले सवारी चालक, यात्रु र बटुवालाई सडक अनुशासन पालना गर्न अभिप्रेरित गरेको छ ।
सवारी साधनको बढ्दो सङ्ख्यासँगै सवारी दुघर्टनाका घटना पनि बढ्दो छ । सवारी साधनको दुर्घटनाको कारण दैनिक धेरै मानिसले ज्यान गुमाउनुका साथै कैयौँको अ·भ·समेत हुने गरेको छ । सबैले सवारी नियमको पालना गरे त्यस्ता दुर्घटना धेरै घटाउन सकिन्छ । एक जना व्यक्तिले मात्र सवारी नियम उल्लङ्घन गरे उसले मात्र दुःख भोग्नुपर्ने होइन, अरू मानिससमेत दुर्घटनाको शिकार बन्ने गर्छ । एक जना सवारी चालकले सवारी नियमविपरीत सवारी चलाउँदा अथवा एक जना बटुवाले नियमविपरीत जथाभावी सडक पार गर्दा धेरै निर्दोष मानिस दुर्घटनामा परेका धेरै उदाहरण छन् । सवारी नियमको सबैले कडाइपूर्वक पालना गर्दा त्यस्ता दुर्घटनाबाट हामी बच्न सक्छौँ ।
ट्राफिक प्रहरीलाई शत्रुतापूर्ण व्यवहार गर्ने चालक, सहचालक र सर्वसाधारण पनि छन् । केही ट्राफिक प्रहरीबाट हुने अव्यवहारिक निर्णय, दुःख दिने नियतले हुने काम र केही सय रूपैँयामा आफ्नो बर्दीको इज्जत फाल्ने व्यवहारको कारण नागरिकमा यस्ता नकारात्मक प्रभाव पर्नु अनौठो होइन । यसको निम्ति ट्राफिक प्रहरीभित्र रहेका खराबीलाई हटाउन आवश्यक छ । तर, ट्राफिक नियम भने सर्वसाधारणको जीवन रक्षाकै लागि भएकोले त्यसको उल्लङ्घन गर्नु वीरता कदापि हुनसक्दैन । सवारी नियमको पालना गर्नु नै उदाहरणीय व्यवहार हो ।
आम नागरिकलाई सवारी नियमको पालना गराउन राज्य र ट्राफिक अझ जिम्मेवार हुनुपर्छ । राज्यले सडक बनाउँदा ट्राफिक पूर्वाधार भएका सडकको निर्माण गर्न आवश्यक छ । सडक विस्तार र निर्माणको नाममा जथाभावी डोजर चलाउने र कमसल पीच गर्दैमा राज्यको दायित्व पूरा हुँदैन । एउटा स्तरीय सडक निर्माणको लागि ट्राफिक नियमसँग जोडिएका धेरै पूर्वाधार र सङ्केत पनि सडकमा हुन जरूरी छ । त्यस्ता पूर्वाधार नहुँदा सवारी नियम उल्लङ्घन गर्नेलाई मनग्य बहाना हुन्छ । ट्राफिक पूर्वाधार नभएका सडकमा नियम पालना नगरी जथाभावी सवारी हुइँकाउँदा हुने दुर्घटनाको निम्ति चालकमात्र होइन, राज्य पनि दोषी हुन्छ ।
सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको उत्तरदायित्व अझ बढी हुन्छ । सवारी नियमबारे प्रचार–प्रसार र जनचेतनादेखि तिनको पालना गराउन फिल्डमा खट्ने अनि बेवास्ता गर्नेलाई कारबाही गर्नेसम्मको जिम्मेवारी ट्राफिक प्रहरीको हो । त्यसको निम्ति ट्राफिक प्रहरी सर्वसाधारण जनताको लागि नौनीजस्तो नरम र जानीजानी नियम मिच्नेसामु चट्टानजस्तै कडा हुनुपर्ने हुन्छ । ट्राफिक प्रहरीले सवारी चालकसँग केही सय रूपैँया लिने, घुस खान सर्वसाधारणलाई अनावश्यक दुःख दिने काम गर्नुहुन्न । त्यस्ता प्रहरीलाई पहिचान गरी तिनलाई कारबाही गर्नु ट्राफिक प्रहरीकै जिम्मेवारी हो ।
एउटा सभ्य सहरको परिचय त्यहाँको ट्राफिक व्यवस्थापनबाट देखिन्छ । सहरको ट्राफिक व्यवस्थापन व्यवस्थित छ भने त्यो सहर सभ्य मानिसको सहर कहलिन्छ । ट्राफिक भद्रगोल भएको सहर असभ्यहरूको सहर भनेर एक जना आगन्तुकले सहजै बुझ्न सक्छ । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनका अझै पनि थुपै्र चुनौती छन् । ती चुनौतीलाई समाधानको निम्ति ट्राफिक प्रहरीको अग्रसरता प्रशंसनीय छ । सवारी नियमको पालना गरी सबैले यो अग्रसरतालाई साथ दिऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *