घरतिर
सन् १९४० को जनवरी । लण्डनको वाक्कलाग्दो र उथलपुथलपूर्ण बसाइपछि म घर फर्कें । घर फर्किन म बसेको पानीजहाज जसै अघि बढ्न थाल्यो, मैले छोड्दै गरेको देशबारे मेरो मनमा अनेक कुरा खेल्न थाले ः के संयुक्त अधिराज्यको एकता अक्षुण रहला ? युरोपको आगामी भविष्य के हुने हो ? वास्तवमा मलाई आफूले एउटा उल्लेखनीय समय र फराकिलो विकासक्रमलाई पछाडि छोड्दै गरेको अनुभव भइरहेको थियो । लण्डन बसाइको क्रममा स्कटल्यान्ड यार्डका गुप्तचरहरूले हामीमाथि लगातार निगरानी राख्थे । सूचना बाहिर नपठाउन वा कुनै पनि खालको अप्ठ्यारोबाट जोगिन मैले निकै सजग र तदारुक हुनुपथ्र्यो । म घर फर्किंदै गरेको जहाजमा मैले आफूले बोकेको ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टी (वोल्शेविक) कम्युनिस्ट पार्टीको इतिहास’ एक जना सद्गुणी महिला यात्रीलाई गोप्यरूपमा गन्तव्यसम्म लगिदिन आग्रह गरेँ । तिनी महिलाले त्यस्तो पुस्तक बोक्ला भनी कसैले अनुमान पनि गर्नसक्दैनथ्यो । त्यो पुस्तक मैले धेरै पटक पढिसकेको र निकै पढिने पुस्तक हो । के बुद्धिले मलाई त्यो पुस्तक तिनी महिलालाई दिने जुक्ति फुरेछ !धन्य, मेरो त्यो जुक्ति ¤ मेरो त्यो प्रिय पुस्तक सुरक्षितरूपमा घर पुग्यो । म जहाजबाट तल झर्नेबित्तिकै मेरो खानतलासी लिइयो । मैले बोकेका सबै पुस्तक जफत गरियो ।

ज्योति बसु, भुपेश गुप्ता र ईएमएस नम्बुदरिपाद (बायाँबाट) सन् १९५८ अगस्ट
बम्बे पुगेर म पार्टी नेताहरूको सम्पर्कमा पुगेँ । अमालनरमा आयोजित एउटा विशाल प्रदर्शनमा मैले भाषण गरेँ । यो मेरोको लागि ज्यादै महत्वपूर्ण अनुभव थियो । आफ्नै मातृभूमिमा मैले आफ्नै जनतालाई सम्बोधन गरेको थिएँ । मेरो अमूल्य मातृभूमिमा मैले गरेको त्यो पहिलो भाषण अविस्मरणीय थियो । आज पनि म त्यो घटना सपाट सम्झन सक्छु ।
कोलकोत्तामा मेरो जिम्मेवारी भनेको पार्टी कार्यालय र भूमिगत गतिविधिबीच समन्वय गर्नु थियो । मेरा कमरेडहरूको लागि भूमिगत बस्ने ठाउँ र अन्य आवश्यक कुराको बन्दोबस्त गर्नेदेखि कारागार जीवन भोगिरहनुभएका साथीहरूसम्म महत्वपूर्ण सूचना र पार्टी निर्देशन सम्प्रेषण गर्नु मेरो जिम्मेवारी थियो । स्वयम्सेवी भावनाका साथ गरिएका यस्ता गतिविधिले मलाई सदैव सजग र चनाखो हुन सिकायो । त्यत्तिबेला मैले सिकेका गुणले आज पनि मलाई साथ दिइरहेको छ । सोभियत मैत्री सङ्घ (एफएसयू) को सचिवको नाताले म धरुमटोला सडकको ४६ नम्बर घरमा राखिएको कार्यालयको हरेक साँझ नियमित रेखदेख गर्थें ।
कोलकोत्ता उच्च अदालतमा मैले व्यारिस्टर (अधिवक्ता) को रूपमा आफ्नो नाम दर्ता गराएँ । तर, एकाध अवसरबाहेक मैले कहिल्यै पनि वकिलको कोट लगाइँन । त्यही एकाध पटक पनि पार्टीको प्रतिनिधित्व गर्नमात्र लगाएँ । मेरो यस्तो व्यवहारबाट मेरा पिता मबाट निकै रुष्ट हुनुहुन्थ्यो । तथापि, सचेत र संवदेनशील हुनुभएकोले पछि मेरा गतिविधिलाई स्वीकार्दै जानुभयो । उहाँले कहिल्यै पनि मलाई मेरा राजनीतिक गतिविधि परित्याग गर्न भन्नुभएन । बरु उहाँले मेरा राजनीतिक गतिविधि र कानुनतर्फको वृत्तिविकासलाई सँगसँगै लान सल्लाह दिनुहुन्थ्यो । उहाँ देशबन्धु चितञ्जन दासको उदाहरण दिएर मलाई त्यसो गर्न हौस्याउनुहुन्थ्यो ।
तर, मेरो सोच भने बेग्लै थियो । मैले कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बन्ने निधो गरिसकेको थिएँ । मेरो ताल देखेर बुबा–आमाले मेरो विवाह गरिदिने विचार गर्नुभएछ । विवाह गरे मेरो पूर्णकालीन कार्यकर्ता बन्ने अडानमा केही हेरफेर हुनसक्ने उहाँहरूको विश्वास थियो । मेरो उमेर विवाह योग्य भइसकेको थियो । मेरो परिवार समाजमा सम्मानित परिवार थियो । त्यसकारण आमा–बुबाले मेरो लागि एक जना वधु जुराउनुभयो । अनि हाम्रो विवाहको मिति तय भयो–सन् १९४० को जनवरी २० । यी सबै त्यत्तिबेला हाम्रो घर परिवारमा स्वाभाविक विषय नै थिए ।

युवा ज्योति बसु
मेरी श्रीमती चबी (वसन्ती) बङ्गालीपरम्परामा अभ्यस्त महिला थिइन् । पार्टीमा मेरा गतिविधिमा उनले कुनै पनि प्रश्न गरिनन् । तर, समयको खेल अचम्मको छ । मेरो विवाह भएको केही समयमा नै मेरी श्रीमतीको टाइफाइडको कारण अचानक निधन भयो । म फेरि अविवाहित भएँ । त्यो अकल्पनीय घटनाले म र मेरा पितालाई भन्दा आमालाई निकै दुःखी तुल्यायो । यो घटनाको मारमा परेर उहाँ बिरामी पर्नुभयो जुन विरामीबाट उहाँ कहिल्यै निको हुनुभएन । म कोलकोत्ताको उच्च अदालतस्थित पुस्तकालयमा बस्दै गरेको समयमा मेरा पिताले भक्कानिएको स्वरमा मेरी आमाको निधन भएको खबर टेलिफोनमा सुनाउनुभएको म अझै प्रस्ट सम्झन्छु । म निकै व्यथित भएको थिएँ । छोटो कालखण्डमा दुई ठूलठूला वियोगान्त ¤ क्रूर समयले मलाई कस्तो मोडमा बन्दी बनायो ? मेरी आमालाई विषद् प्रेम गर्ने र आमामाथि पूर्णतः निर्भर मेरा पिता आमाको निधनले सोचेभन्दा निकै धेरै दुःखी र विस्मित् हुनुभयो । उहाँले आफ्ना अधिकांश समय बरोडीमै बिताउन थाल्नुभयो ।
व्यक्तिगत दुःखलाई कडा मिहिनेतको व्यस्तताले भुल्ने प्रयासमा म अझै बढी पार्टी गतिविधिमा संलग्न हुन थालेँ । त्यो समय सन् १९४१ को थियो । सन् १९४२ मा अवस्था अझ खराब बन्दै गयो । पार्टी जीवनमा पनि अझ बढी प्रतिकूल समय आउँदै गरेको हामी देखिरहेका थियौँ ।
भारत छोड आन्दोलन सुरु हुन केही समयपहिले सन् १९४२ को अगस्ट ९ मा बेलायती शासकहरूले कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरे । त्यही बेला पार्टी कार्यालयमा हमला हुनथाले । हाम्रा साथी र कमरेडहरूमाथि निर्घात कुटपिट भए । सबै मोर्चामा हामीले हिंसात्मक हमलाको सामना गर्नुप¥यो । यस्ता सबै प्रतिकूलता चिर्दै हामी जनताको बीच गयौँ । दुर्गमभन्दा दुर्गम गाउँ र बस्तीका जनतासम्म हामी पुग्यौँ । त्यो प्रतिकूलताको पहाडमाथि विजय हासिल गर्न मेरा सबै कमरेडहरूले ठूलो साहस देखाए । नियमितजस्तो हुने हिंसात्मक दमनबीच कमरेडहरू निडर र समर्पित भए निकै दरिलो र अथकहरूमा अघि बढे । मैले पनि फासीवादविरोधी वैचारिक अभियानलाई सफल बनाउन दिलोज्यान लगाएँ । मेरो बाँकी समय बङ्गाल खडेरीको भयावह अवस्थामा उद्धार र पुनः स्थापनाको काममा लगाएँ । बङ्ग ाल खडेरी यो शताब्दीकै सबभन्दा खराब खडेरी थियो ।

ज्योति बसु, सुप्रिया आचार्य, कमल बसु, नम्बुदरिपाद, एके गोपालन र उनको परिवार
(बायाँबाट) सन् १९५७
त्यो समय साँच्चै उथलपुथलपूर्ण समय थियो । देशभरकै अवस्था भरभराउँदो आगोजस्तै राँकिएको र अधीर थियो । आक्रोश र असन्तोषको शासन थियो । त्यो समय निःस्वार्थ बलिदान र शहादतको समय थियो । सन् १९४२ देखि १९४५ को कालखण्डमा गरिब तथा शोषित जनताको जीवन उकास्न र भाग्य बदल्न आफ्नो अमूल्य जीवन बलिदान गरे । ढाकामा भएको त्यो भयानक घटना अहिले पनि मेरा आँखामा आइरहन्छन्: कम्युनिस्ट पार्टीका एक जना प्रभावशाली सदस्य तथा उदयीमान लेखक सोमन चन्दलाई अराजक भीडले निर्मम ढङ्गले हत्या गरेको थियो । स्नेहांशु र म पनि त्यही सभामा सहभागी बन्न उतैतिर गइरहेका थियौँ ।
सन् १९४४ मा पार्टीले मलाई बङ्गाल–आसाम रेल मजदुरहरूबीच साङ्गठनिक गतिविधि गर्ने जिम्मेवारी दियो । मजदुरहरूमध्ये केही पुराना मानिसबीच मलाई सरोज मुखर्जीले परिचय गराउनुभयो । उहाँकै निर्देशनमा मैले सबै तहका रेलमार्ग मजदुरहरूसँग अन्तरक्रिया गर्न थालेँ । काम गर्दै जाँदा मलाई मेरो जिम्मेवारी मैले चिताएभन्दा निकै कठिन भएको अनुभव हुँदै गयो । अधिकांश मजदुर बङ्गाल–आसाम रेलमार्ग कर्मचारी सङ्गठनको प्रभावमा थिए । तथापि, नित्यनन्द चौधरी, अमूल्य उकिल, पुर्णेन्दु दत्त राय र सत्यन गाँगुली तथा अन्य मेरा कमरेडहरूसँग मिलेर एउटा चुस्त श्रमिक सङ्ग ठन बनायौँ । हामीले तोकिएका क्षेत्रहरू सियालदह, हावडा, कांचरापाडा, पूर्वी बङ्गाल र आसाममा सङ्गठन गर्न थाल्यौँ । समयान्तरमा मैले विरोधीहरूका अवरोधमाथि जीत हासिल गरेँ र उनीहरूसँग निर्धक्क र बिनासङ्कोच कुरा गर्नसक्ने अवस्था बनाएँ । बलियो साङ्गठनिक आधार बनाउने मेरो लगातारको मिहिनेत फलदायी बन्यो । हामी बङ्गाल–आसाम रेलमार्ग मजदुर सङ्घ स्थापना गर्न सफल भयौँ । सङ्घको म सचिवमा चुनिएँ भने बकिम मुखर्जी सभापति चुनिए ।
दोस्रो विश्वयुद्ध चलिरहेको थियो । मेरो सम्पूर्ण समय एउटा रेलवे स्टेसनबाट अर्को स्टेसनमा दौडादौड गरेर नै बितिरहेको थियो । रेलको यात्रा नियमित बनेको थियो । कोलकोत्ताको उखरमाउलो गर्मीमा मानिसले खचाखच भरिएको रेलमा डिब्बामा यात्रा गर्नु कुनै भट्टाको कोठामा बस्नु जस्तै कष्टकर हुन्थ्यो । पसिनाले निथु्रक्क भिजेका पुरुष र महिला रेलको डिब्बाभित्रको पाइला पनि राख्न नभ्याउने साँघुरो ठाउँमा गुन्द्रुक कोचिएजस्तै गरी खाँदिएर नियमित जसो यात्रा गर्दा मैले कहिल्यै भुल्न नसकिने पाठ सिकेँ । ती यात्राहरूमा मैले गरिब जनता बस्ने अन्त्यहीन कष्ट र जीवन्त नर्कको आफैले प्रत्यक्ष अनुभव गरेँ । त्यत्तिबेला मैले सिकेका यी यस्ता अनुभव मेरो राजनीतिक जीवनभरको लागि सधैँ सम्झिरहने पक्ष बनिरह्यो ।
बङ्ग ाल–आसाम रेलमार्ग मजदुर सङ्घको स्थापना भएको केही समयपछि हामीले वैधानिक मान्यताको माग ग¥यौँ । बङ्गाल–आसाम रेलमार्ग मजदुर सङ्घ र बीडी रेलमार्ग मजदुर सङ्घबीच एकता भइसकेको थियो । आफ्ना माग हामीले रेलमार्ग सेवाका महाप्रबन्धकसमक्ष राख्यौँ । उनी बेलायती नागरिक थिए । हाम्रा माग पूरा गर्न उनी तयार थिएनन् । तर, हाम्रो जोड फलदायी भयो । हामीले कानुनी मान्यता प्राप्त ग¥यौँ । सङ्घको महासचिवको नाताले मलाई पहिलो वर्गको रेलको यात्रा अनुमतिपत्र प्रदान गरियो । मलाई निकै आश्चर्य लागेको थियो । यो घटनाले मजदुरहरूको नैतिक बल उकास्न महत्वपूर्ण भूमिका खेलेको थियो । रेलमार्ग सङ्गठनबाहेक म अरू विभिन्न मजदुर सङ्गठनसँग पनि सम्बन्धित थिएँ ।
पार्टीले हामीलाई उपलब्ध गराउने खर्च ज्यादै कम हुन्थ्यो । व्यक्तिगतरूपमा प्रदान गरिने चन्दा निकै न्यून थियो । हामीमध्ये अधिकांशले ज्यादै सरल र सामान्य खर्चमा जीवन चलाउने गथ्र्यौं । पूर्वी बङ्ग ाल रेलमार्गका महाप्रबन्धक भण्डारकरले हाम्रो पार्टीलाई आफ्ना दिवङ्गत छोराको सम्झनामा १० हजार भारु उपलब्ध गराएको कुरा म अझै सम्झन्छु । क्याम्ब्रिज विश्वविद्यालयमा पढ्ने एक जना विद्यार्थी पनि कम्युनिस्ट आदर्शप्रति समर्थन जनाउँदै केही सहयोग उपलब्ध गराउँथे ।
पैसाको सधैँ सकस भए पनि हामीले साम्राज्यवादविरोधी हाम्रो लडाइँलाई लगातार अघि बढायौँ । भारतीय जलसेनाहरूले विद्रोह गर्दा हामीले रेलमार्गमा २४ घण्टा हडताल गरेर ऐक्यबद्धता व्यक्त ग¥यौँ । हडतालको अन्तिममा केही समस्याहरू आइलागे पनि समग्रमा त्यो हडताल अभूतपूर्णरूपमा सफल भयो । विपक्षीहरूको उक्साहटमा मजदुरहरू हडतालको अवधि समाप्त भइसक्दा पनि काममा फर्केनन् । पुर्नेन्दु दत्त रायसँगै म आफै रेलमार्ग स्टेसनहरूमा पुगेर मजदुरहरूसँग कुराकानी ग¥यौँ । अन्ततः मजदुरहरूलाई काममा फर्काउन सफल भयौँ ।
त्यत्तिबेलाको आँधीहुरीबीच समय वायु वेगमा बित्दै गएको चालै पाइनँ । घोप्टे घडीमा बालुवा सकिंदै गएजस्तै दिनहरू बित्दै गए । त्यो अनियन्त्रित समयको सम्झनामा केही खाली ठाउँहरू छन् । फर्केर हेर्दा त्यो अवधिमा मैले भुल्न चाहेका धेरै घटना भएको सम्झना भयो । त्यसकारण, त्यो समयको मेरो सम्झना निकै अमूर्त र अस्पष्ट छ । स्वाभाविक विस्मृति स्वाभाविक रक्षाको उपाय पनि हो । खासमा म स्वप्नद्रष्टा थिएँ । म आज पनि स्वप्नद्रष्टा हुँ । जीवनप्रतिको मेरो उत्साह अझै कति पनि घटेको छैन । अहिले पनि युवास्थामा जस्तै उत्साहबाट म भरिएको छु । जीवनको वास्तविकता सामना गर्न म कहिल्यै कति पनि डराइनँ । जीवन जतिसुकै कष्टकर र प्रतिकूलताले भरिएको भए पनि ती दिनहरू त्यस्तै कष्टकर र प्रतिकूलताले भरिएका थिए । एउटा आदर्शको पूरा गर्न हरेक दिन र रात हामी ती प्रतिकूलताको सामना गथ्र्यौं । हाम्रो पार्टी भर्खरै विस्तारको चरणमा थियो जतिबेला भारत स्वाधीनताको बाटोमा प्रवेश गर्दै थियो ।
नेपाली अनुवाद: बर्बरिक
Leave a Reply