भर्खरै :

शासकहरूले मौका गुमाउँदाको परिणाम

नेपालीमा एउटा उखान छ – सर्प मर्छ तर त्यसको पुच्छर चलिरहन्छ, माछा मर्छ तर आँखा खुला रहन्छ । त्यसो त घाइतेमात्र भएको सर्प र माछा मौका पाउनासाथ फुत्केर भाग्ने वा प्रत्याक्रमणैसम्म गर्ने आँट पनि गर्छ । राजनीतिमा पनि यो कुरा लागू हुन्छ । धेरै देशमा जनआन्दोलन वा क्रान्तिबाटै सत्ताबाट हटाइएका पुराना शासक वर्ग पुनः सत्तामा फर्कने अनेक चालबाजी गरिरहन्छन् । त्यसमाथि नयाँ शासक वर्ग वा शासक पार्टीहरू बुद्धि र विवेकहीन, स्वार्थी तथा बदनाम भए भने पुनरूत्थानवादी वा प्रतिक्रान्तिकारीहरूका लागि सो¥हमाथि सत्र हुन्छ । आज यस्तै परिस्थिति नेपालमा देखिइँदै छ । जनआन्दोलनपछि पुनः सत्तासीन बन्न पाएका शासक दलका नेताहरूले आफ्ना प्रतिबद्धता र जनभावनाअनुसार काम गर्न नसक्दा र पदलोलुपता र भ्रष्टाचारका कारण बदनाम हुँदा फालिसकिएको राजतन्त्र पक्षधरहरू देशव्यापीरूपमा सक्रिय देखिन थालेका छन् । केही वर्षअघिदेखि सामाजिक सञ्जालमा सक्रिय राजतन्त्रवादीहरू अहिले सडकमै उत्रने आँट गरिरहेका छन् ।
बहुसङ्ख्यक नेपाली जनताको आस्था हिन्दू धर्ममा रहेको स्थितिको फाइदा उठाउँदै तिनीहरूले धर्मनिरपेक्षता, गणतन्त्र र जनताको राजनीतिक स्वतन्त्रताकै विरोध गर्न थालेका छन् । तिनीहरूका गतिविधिमा गणतन्त्रका सरकारहरूबाट आजित र पीडित जनताको सहभागिता देखिन थालेको छ । नेकां, एमाले, माओवादीलगायत शासक दलहरूसित राजतन्त्रभन्दा गणतन्त्र सुदृढ र जनपक्षीय व्यवस्था हो भन्ने देखाउने अवसर थियो । तर, त्यो मौका तिनीहरूले प्रधानमन्त्री र मन्त्री बन्ने अवसरका लागि आपसमा झगडा गर्दै गुमाउँदै गए । परिवर्तित राजनीतिक व्यवस्थाले बहुमत जनतालाई विकास निर्माण, सुशासन, रोजगार सृजना र आर्थिक उन्नतिको माध्यमले उत्साह र उमङ्ग दिनुभन्दा जताततै नातावाद, क्रिपावाद, अनियमितता, भ्रष्टाचार गरी निराश बनायो । जनताले लडेर र महिनौँसम्म सडक तताएर ल्याएको व्यवस्थाकै आज विरोध भइरहेको छ । प्रतिगमनकारीहरूले मौका पाएको यो स्थिति शासकहरूले मौका गुमाउँदाको परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *