भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– ४

संसदीय सङ्घर्षका दिन
सन् १९९६ को फेब्रुअरी ८ । पश्चिम बङ्गालको राज्य सभामा मैले ५० वर्ष पूरा गरेँ । वर्षे अधिवेशनको सुरुवातमा मेरा क्याविनेट सहकर्मी र कमरेडहरूले मलाई सम्मानित गरे । खासमा त्यो समय पछाडि फर्केर समीक्षा गर्ने समय थियो । अनायासै मेरो मानसपटल सन् १९४६ को सम्झनाले छोपियो । सन् १९४६ देखि यता मैले निकै लामो यात्रा तय गरिसकेँ । प्रतिपक्ष बेन्चमा पार्टीको तर्फबाट एक्लो सांसददेखि राज्य सरकारको प्रमुखसम्मको मेरो यात्रा सजिलो पक्कै थिएन ।

सडक सङ्घर्षमा जनतासँग ज्योति बसु


पार्टीले सन् १९४६ को निर्वाचनमा मलाई उम्मेदवार बनाउने निधो ग¥यो । मैले चुनाव लड्नबारे कहिले पनि विचार गरेको थिइनँ । म रेलमार्ग क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा होमिएँ । त्यत्तिबेला मजस्तै पार्टीको तर्फबाट चुनावमा उम्मेदवार बनेका साथीहरूलाई म सम्झन्छु–कोलकोत्ताबाट सोमनाथ लहिरी, बैरकपुरबाट चतुर अली, दिनाजपुरबाट रुपनारायण रोय, हावडाबाट बकिम मुखर्जी, दार्जिलिङबाट रतनलाल ब्राह्मण र आसनसोलबाट इन्द्रजीत गुप्ता । मेरो प्रतिस्पर्धा बङ्गाल–आसाम रेलमार्ग सङ्गठनका सभापति हुमायुन कबिरसँग भएको थियो । उनी शक्तिशाली प्रतिस्पर्धी थिए । मेरा प्रतिस्पर्धीलाई काङ्ग्रेस पार्टीको पूर्ण समर्थन थियो । त्यसकारण मेरो लागि चुनावी प्रतिस्पर्धा कठिन हुने मैले अड्कल काटिसकेको थिएँ । हामीसँग चुनावी प्रतिस्पर्धामा होमिने आधार भनेको हाम्रो कटिबद्धता र इमानदारितासिवाय केही थिएन ।
त्यसमाथि त्यो चुनाव कुनै पनि मापदण्डका आधारमा निष्पक्ष थिएन । फेरि पनि मेरो कानमा मेरा गुरुका वाणीको तुमुल ध्वनि गुञ्जियो–‘निष्पक्षता झेल हो, झेल निष्पक्षता हो ।” चुनाव त्यत्तिसम्मको नीच र अनैतिक तरिकाबाट जितिन्छ भन्ने कुरा मैले कल्पना पनि गर्न सकेकी थिइनँ । काङ्ग्रेसले मतदाताबीच मतदाता नामावलीमा ठूलो धाँधली गर्नुका साथै जथाभावी पैसाको खोलो नै बगाएको थियो । त्यस्तो अवस्थामा चुनावमा मैले जित्ने सम्भावना झिनो थियो । धन्य ¤ मेरा कमरेडहरूको दृढ कटिबद्धता र धैर्यता । यस्ता सबै प्रतिकूलताबीच चुनाव भने मैले जितेँ । त्यो वास्तवमा मेरो व्यक्तिगत विजय थिएन, पार्टीको सामूहिक मिहिनेतको प्रतिफल थियो । खासमा त्यो मेरा पार्टीका कमरेड र सबै रेलमार्ग मजदुरहरूको विजय थियो ।

आन्दोलनको मोर्चामा ज्योति बसु


मेरो विजयपछि पिताजी निकै खुसी हुनुभयो । ती दिनमा पूर्णकालीन पार्टी कार्यकर्ता हुनुको नाताले पार्टीबाट पाउने केही पैसाबाट मेरो जीविकोपार्जन चलेको थियो । राज्य सभाको सदस्यको हैसियतमा मैले पाउने गरेको पैसा सबै पार्टी कोषमा जम्मा हुन्थ्यो । सन् १९४६ मा हुस्सेन शाहिद सुहरावर्दीको नेतृत्वमा बङ्गालमा मुस्लिम लिगको सरकार गठन भयो । काङ्ग्रेस प्रमुख प्रतिपक्षमा बस्यो । हामी तीन जना रुपनारायण रोय, रतनलाल ब्राह्मण र मसहित तीन जनाको कम्युनिस्ट पार्टीको भिन्न समूह थियो ।
भारत निकै अप्ठ्यारो परिस्थितिबीच अघि बढिरहेको थियो । हाम्रो लागि त्यो समय प्रतिरोध र सङ्घर्षको समय थियो ः साम्राज्यवादको प्रतिरोध, संस्थापन र यथास्थितिविरुद्ध सङ्घर्ष र सारमा भन्दा उत्पीडक वर्गको प्रतिरोध । अराजकता र अन्योलको समय थियो त्यो । तथापि, पार्टीले धैर्य गुमाएन । भारतीय राष्ट्रिय सेना (आईएनए) का सदस्यका साथै राजनीतिक बन्दीहरूको रिहाइ माग गर्दै कम्युनिस्ट पार्टीहरूले मजदुर आन्दोलन र आमहड्तालको आयोजना गर्दै गयो । तेभागामा भएको ऐतिहासिक किसान आन्दोलनमा पनि कम्युनिस्ट पार्टीको नेतृत्व थियो ।
मैले आफ्नो समय पार्टी कार्यालय, रेलमार्ग मजदुर सङ्गठन र राज्य सभाबीच विभाजन गरेँ । राज्यसभामा म कम्युनिस्ट पार्टीको तर्फबाट प्रवक्ता थिएँ । राज्य सभा बाहिर म पार्टीको कार्यकर्ताको भूमिका निभाउँथेँ । सत्तारुढ पार्टीले पटक – पटक मेरा अग्रसरता र प्रयासलाई दबाइदियो । तर, उनीहरूका त्यस्ता व्यवहारले म कति पनि विचलित बनिनँ । राज्यसभामा आफ्ना भनाइ राख्नुअघि म गम्भीरतापूर्वक तयारी गर्थें । मलाई अङ्ग्रेजी भाषामा आफ्ना भनाइ राख्न अनुमति दिइएको थियो । मैले राज्यसभामा बोलेका कुरा विभिन्न क्षेत्रीय तथा राष्ट्रिय पत्रपत्रिकाले प्रकाशन गरेको देख्दा मलाई खुसी लाग्थ्यो । यो हाम्रो लागि उत्साहप्रद कुरा थियो किनभने तिनीहरूले हाम्रा विचार व्यापक जनतासम्म पु¥याइरहेका थिए । प्रहरी दमन, किसान तथा मजदुर आन्दोलन, खाद्य सङ्कट, साम्प्रदायिक सद्भावजस्ता समसामयिक विषयमा म खुलेर बोल्थेँ । आफ्नो कुरा राख्नुको साथै म प्रमुख प्रतिपक्षले बोलेका कुरालाई पनि गम्भीरतापूर्वक सुन्थेँ । यस्ता गतिविधिले मलाई राजनीति र अन्य विभिन्न विषयबारे सिक्ने र बुझ्ने अवसर प्राप्त भयो ।
भारत आफ्नै ढङ्गले स्वाधीनतातिरको यात्रामा अघि बढिरहेको थियो । केही समयपछि केन्द्रमा अन्तरिम गठबन्धन सरकार बन्यो । जवाहरलाल नेहरू स्वाधीन भारतका प्रथम प्रधानमन्त्री बन्नुभयो । नयाँ मन्त्रिमण्डलमा लैकत अलीलाई वित्तीय जिम्मेवारी सुम्पियो । सन् १९४६ को जुलाईमा नयाँ संविधान बनाउन एउटा विशेष संविधान सभाको गठन भयो । हाम्रो पार्टीको तर्फबाट सोमनाथ लहिरीले त्यो सभामा प्रतिनिधित्व गर्ने तय भयो । उनी पार्टीको दैनिक अखबार ‘स्वाधीनता’ को सम्पादक मण्डलका प्रमुख थिए ।
त्यत्तिबेला मुख्यमन्त्री सुहरावर्दीसँग मेरो चर्काचर्की बहस, तीतो भनाभन र अनेकन विवाद भएको म स्मरण गर्छु । राजनीतिक बन्दीहरूलाई रिहा गर्न मैले उनीसमक्ष पटक–पटक माग गरेँ । तर, उनले मेरा आग्रहलाई वास्ता नै गरेनन् । एक दिन राज्य सभाअघि त्यही माग बोकेर हजारौँ पीडित जनताले प्रदर्शन गरे । मैले अवस्थाको गम्भीरताबारे सुहरावर्दीलाई बोध गराउन पटक – पटक प्रयास गरेँ । अन्ततः लामो समयको सम्झाइ बुझाइ पछि उनले खार खाए । उनी राज्य सभाबाट बाहिर आएर प्रदर्शनकारी जनतासमक्ष भेटे । निश्चित मितिमा राजबन्दीहरूलाई रिहा गर्ने वचनबद्धता व्यक्त गरे । नभन्दै उनले तोकेको समयमा नै राजबन्दीहरूलाई रिहा गरे । मुख्यमन्त्रीको यो निर्णयबाट हामी खुसी भयौँ । हामीले उनलाई हाम्रो पार्टी कार्यालयमा स्वागत गरी सम्मान ग¥यौँ । तिनताक हाम्रो पार्टी कार्यालय ‘८ ई डाक्रिस सडक’ मा थियो । कार्यक्रममा युवा कवि सुकान्त भट्टाचार्यले कविता वाचन गरेका थिए ।

ज्योति बसु, प्रमोददास गुप्ता र सरोज मुखर्जी


दोस्रो विश्वयुद्धको रापसँगै त्यत्तिबेला भारतले भयानक परिस्थितिको सामना गरिरहेको थियो । बङ्गाललाई चरम खाद्य सङ्कटको पासोले अँठ्याएको थियो । सर्वसाधारणको लागि त्यो परिस्थिति ज्यादै भयावह अवस्था थियो । जनतालाई एक दाना अन्न पनि छैन भनियो । खाद्य पदार्थको चरम अभाव थियो । तर, भित्रभित्र भने चर्को मूल्यमा खाद्यान्नको कालोबजारी भइरहेको थियो । मैले यो मुद्दा जोडतोडका साथ उठाएँ र समस्या तत्काल समाधानको माग गरेँ । काङ्ग्रेसले पनि सरकारको तीखो आलोचना ग¥यो । तर, कुनै व्यवहारिक र सकारात्मक नतिजा भने आएन ।
मैले खाद्य सङ्कट समाधानका सम्भावित समाधानबारे पार्टीका कमरेडहरूसँग छलफल गरेँ । यो समस्याबारे काङ्ग्रेसले खासै चासो नदिएको हाम्रो बुझाइ थियो । काङ्ग्रेसका एक जना सांसदले त तत्कालीन सङ्कटलाई हाँसोमा उडाएर हास्यव्यङ्ग्य कविता वाचन गरेको म सम्झन्छु । उनको नाम भने मैले बिर्सेँ । तत्कालीन विषम परिस्थिति समाधानको निम्ति हामीले धेरै थरी सुझावहरू पेश ग¥यौँ । तीमध्ये एउटा सुझाव गैरकानुनी कालाबजारी गर्ने र सामान लुकाउने काम नियन्त्रण गर्न जनताका समितिहरू गठन गर्ने पनि थियो । ती बदमास कालाबजारी र उनीहरूसँग मिलेर बदमासी गर्ने साहुहरूले बहुमतलाई मारेर ठूलो चोक्टा खान खोजेका थिए ।
सरकारले खाद्यान्न वितरणको जिम्मेवारी आफ्नो काँधमा बोक्नुपर्नेमा मेरो बलियो मान्यता थियो । राइटर्स बिल्डिङको गढीमा बसेका खैरे बाबुहरू बेलायती शासकहरूभन्दा कति पनि भिन्न थिएनन् । त्यसबाहेक मैले देशभर रासन वितरणको प्रणाली लागू गर्नुपर्ने विचार पनि राखेँ । तर, सरकारले कुनै पनि गतिलो खाद्यान्न नीति न बनाउन सक्यो न लागू नै गर्नसक्यो । बङ्गालले यो सङ्कट समाधानमा एउटा उदाहरणीय काम गर्न सक्ने मलाई विश्वास थियो ।
मैले अघि सारेका प्रस्तावको काङ्ग्रेस र मुस्लिम लिगका सांसदहरूले व्यक्तिगतरूपमा प्रशंसा र समर्थन गरे पनि पार्टी तहमा मेरो सुझावको कुनै सुनुवाइ भएन । परिणाममा केही दिन नसके पनि राज्यसभामा मैले दिएको मन्तव्यले कम्युनिस्ट पार्टी बेवास्ता गर्न नसकिने एउटा सङ्गठित शक्ति भएकोमा कुनै सन्देह रहेन ।
त्यत्तिबेला अर्को छलफलको विषय थियो–आसामको साम्प्रदायिक समस्या । राज्य सभामा ताफाज्जल अलीले आसाममा बस्दै आएका बङ्गालीहरूलाई आसाममा शासन गरिरहेको काङ्ग्रेस नेतृत्वको सरकारले जबरजस्ती निकाला गर्न खोजेको बताए । वास्तविकता पेट पाल्ने बाटो खोज्दै जाने क्रममा केही गरिब र भोका किसानहरू आसाम उपत्यकामा शरण लिन पुगेका थिए । अघिल्लो गठबन्धन सरकारले उनीहरूलाई आसामको नागरिकता दिने वाचा गरेको थियो । तर, पछिल्लो सरकारले भने उनीहरूलाई विस्थापित गर्न खोज्दै थियो । ताफाज्जल अलीको कुरा साम्प्रदायिक अहङ्कारीको जस्तो सुनिथ्यो । उनले जोडका साथ भनेका थिए,“तर, बङ्गालीहरूलाई बस्नको लागि कुनै ठाउँको व्यवस्था हुन आवश्यक छ ।” उनको कुरा सुनेर मैले प्रतिवादमा भनेको थिएँ, “यो कुरा त हिटलरको कुराजस्तो भयो ।”
मैले हाम्रो पार्टीका नेताहरूसँग आसामको विषयमा छलफल चलाएँ । शरणार्थी किसानको पृष्ठभूमि र पहिचानलाई जोड दिएर मैले विषयको मूल प्रश्न उठाएँ । शरणार्थी किसानहरू खासमा भूमिहीन किसानहरू थिए । पेट भर्न खाना र टाउको छोप्न बास नभएपछि उनीहरू आफ्नो थातथलो छोड्न बाध्य भएका थिए । उनीहरूलाई बङ्गालमै बस्ने आवश्यक बन्दोबस्त गर्न नसकेकोमा मलाई निकै अफसोच लाग्यो । मेरो विश्लेषणमा मेरो धारणा अंशतः लर्ड कोर्नवालिसको विरासतजस्तो लाग्यो ¤ त्यहीबीच एकातिर मुस्लिम लिगको अखबार ‘आजाद’ र ‘मर्निङ न्युज’ले आसामका काङ्ग्रेस र हिन्दूहरूको धारणाभन्दा विपरीत धारणा लेख्ने र प्रचार गर्ने गरिरहेका थिए । त्यही समयमा अर्कोतिर आसामका अन्य दैनिक अखबारहरूले आसामी जनताको दिमाग भुट्ने गरी विकृत प्रचारबाजी गरिरहेका थिए । मैले दुवै पक्षको विरोध गरेँ । काङ्ग्रेस र मुस्लिम लिग दुवैले मेरा भनाइलाई दबाउन सक्दो सबै बल लगाए । त्यत्तिबेला आसाममा काङ्ग्रेस पार्टीको सरकार भएकोले बङ्गालको राज्य सभाका काङ्ग्रेस पार्टीका सांसदहरूले तफाज्जल अलीका आरोपको खण्डन गरे । हामीले पनि तफाज्जल अलीको विरोध ग¥यौँ । तर, मेरो विरोधको मुद्दा काङ्ग्रेसको भन्दा भिन्न थियो । अन्ततः तफाज्जल अलीको प्रस्ताव बहुमतको आधारमा पारित भयो ।
राज्य सरकारको बजेटको विषयमा पनि मैले मच्चिएर बहस गरेँ । हाम्रो पार्टीको तर्फबाट मैले भूमिहीन किसानको लागि न्यायपूर्ण ज्यालाको बन्दोबस्त गर्न माग ग¥यौँ । मैले कोइला, उद्योग र सार्वजनिक सेवाहरूको राष्ट्रकरणको पक्षमा लगातार दृढ मत राख्न छोडिनँ । बजेटमा कामदार जनताको लागि हितमा कुनै पनि बन्दोबस्त थिएन । बरु साम्राज्यवादी सरकारको सेवा गर्ने प्रहरीको लागि ठूलो परिणाममा पैसा गर्ने प्रस्ताव सुनेर म जिल्ल पर्थेँ । रतनला ब्रह्मण र रुपनारायण रोयले पनि बजेटमाथिको बहसमा भाग लिएका थिए ।
सन् १९४६ को अगस्ट १३ । यो मिति म अहिले पनि सम्झन्छु । भूमि कर बजेटमाथिको छलफल अघि बढ्दा सभामुखले मलाई एक शब्द बोल्ने पनि मौका दिएका थिएनन् । चर्काे बहसपछि मलाई दुई मिनेट बोल्न समय दिइयो । भूमि करबारे मैले प्रस्ट शब्दमा टिप्पणी गर्दा त्यसलाई लगातार अशिष्ट र असंसदीय भनी रोक्ने प्रयास भइरह्यो । मैले पक्षपातपूर्ण व्यवहारको बेवास्ता गर्दै आफ्ना कुरा निर्धक्क राख्न छोडिनँ । त्यत्तिबेला काङ्ग्रेस पार्टीका सबै सांसदहरू मुखमा दही जमाएको बसेको भन्न मिल्दैन । कम्युनिस्टहरूको कडा विरोधी भएर पनि केही काङ्ग्रेसका सांसदहरूको व्यवहार खुला खालको थियो । उनीहरू हाम्रो दृष्टिकोणप्रति सहमति जनाउँथे ।
सरकारले यदि आम जनताबारे हाम्रो धारणाको कदर नगरे एक दिन हिन्दू र मुसलमान जनता एकजुट भएर प्रतिक्रियावादी किल्ला छिन्नभिन्न बनाउनेमा म विश्वास गर्थेँ । मलाई लाग्छ, त्यो दिन अब धेरै टाढा छैन ।
नेपाली अनुवाद: बर्बरिक 

Leave a Reply

Your email address will not be published. Required fields are marked *