भर्खरै :

नेकपाको महाधिवेशनले माक्र्सवाद–लेनिनवाद पनि छोड्ने कि !

नेपालको अहिलेको राजनीतिक बन्दोबस्त पुँजीवादी बन्दोबस्त हो । सामन्तवाद पूर्णतः अन्त्य नभएको यो व्यवस्थाले पुँजीपति वर्गकै सेवा गर्छ, गरिरहेको छ । कम्युनिस्टहरूको चाहना पुँजीवादी व्यवस्था होइन । पुँजीवादी व्यवस्थाभित्र रहेर समाजवादी गणतन्त्र स्थापना हुनसक्दैन । पुँजीवादी व्यवस्थाभित्र रहेर या सरकारको नेतृत्व गरेर पुँजीवादी व्यवस्था फाल्न सकिदैँन । पुँजीवादी व्यवस्था फाल्ने उपाय आन्दोलन र सङ्घर्ष नै हो । तर, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अब कुनै आन्दोलन र सङ्घर्ष गर्न नपर्ने बताउँछन् । अहिले कुन शक्तिविरूद्ध सङ्घर्ष गर्नुप¥यो भनी उनी फुक्छन् । सत्तारूढ दलकै नेता, लेखक र बुद्धिजीवीहरू पनि अहिले सङ्घर्ष गर्ने बेला होइन, सङ्घर्ष गर्नेहरू कम्युनिस्ट नै होइनन् भनी उद्घोष गर्छन् ।
सत्तारूढ दलका नेता, मन्त्री, लेखक र बुद्धिजीवीहरूको उक्त अभिव्यक्तिले नेकपाको इच्छा पूरा भएको सङ्केत गर्छ । सत्तारूढ दल नेकपाको अन्तिम उद्देश्य हालको पुँजीवादी व्यवस्था रहेछ भन्ने थाहा हुन्छ । नेकपाकै नेता एवं लेखक प्रदीप नेपालले त नेकपा र नेकाबीच अन्तर छैन, वर्तमान सरकार पुँजीपतिहरूको सरकार भएको बताए । सभामुख बनिसकेका नेकपाका उपनेता भनिने सुवास नेवाङले पनि अहिलेको व्यवस्थालाई नै सुधार्दै देश समृद्ध बनाउने र सङ्घर्ष गर्न नपर्ने बताएका थिए । यो व्यवस्थालाई स्वीकार्ने हो, योबाहेक अर्को विकल्प छैन भन्ने हो भने नेकपाले अहिले हुनलागेको पार्टीको महाधिवेशनले पार्टीको कार्यनीति फेर्नुपर्छ । नेकपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद छोड्नुपर्छ ।
माक्र्सवाद र लेनिनवादलाई पथ प्रदर्शक मानेर सङ्घर्ष आवश्यक छैन भन्नु कम्युनिस्टको सिद्धान्त र विचार नमान्नु हो, कम्युनिस्ट र कम्युनिस्टप्रति आस्था राख्नेहरूमाथि धोका दिनु हो । महाधिवेशनपछि नेकपाले या त माक्र्सवाद–लेनिनवाद छोड्ने नीति पारित गर्नुपर्छ या त माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुसार सङ्घर्ष गरेर देशमा आमूल परिवर्तनको निम्ति लाग्नुपर्छ । कम्युनिस्ट पार्टीले देशको आवश्यकताअनुसार कानुनी र गैरकानुनी सङ्घर्ष गर्छ । देशको स्थिति तयार नहुँदै माओवादीले ‘जनयुद्ध’ या सशस्त्र सङ्घर्ष गरेकोले असफल भएको हो, सङ्घर्ष बलिदानमा टुङ्गेको हो । यसको अर्थ वर्गसङ्घर्ष गर्नुहुँदैन, वर्गसङ्घर्ष आवश्यक छैन भन्ने होइन । विगतमा मालेले पनि व्यक्तिहत्या गरेको थियो । व्यक्तिहत्या अराजनीतिक गतिविधि हो । नेमकिपाले त्यसबेलै व्यक्तिहत्या र ‘जनयुद्ध’ को विरोध गरेको थियो । त्यसको अर्थ सङ्घर्ष गर्नुहुँदैन भनेको होइन ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *