भर्खरै :

नेकपाका नेताहरूमा समाजवादी चिन्तन नै छैन

परिस्थिति तयार नहुँदै गरिएको वर्गसङ्घर्ष वामपन्थी अवसरवाद हो । परिस्थिति तयार भएपछि पनि वर्गसङ्घर्ष नगर्नु दक्षिणपन्थी अवसरवाद हो । नेपालका कम्युनिस्ट, वामपन्थी, प्रगतिशील समुदाय र अन्य राजनीतिक दलले माओवादीको ‘जनयुद्ध’ को असफलता नै सदाको लागि कम्युनिस्ट पार्टीको सङ्घर्ष असफल हुने सम्झनु ठीक होइन । ‘जनयुद्ध’ असफल भएको आधारमा जहिल्यै वर्गसङ्घर्ष असफल भन्नु ठीक होइन । वर्गसङ्घर्ष गर्नेहरू कम्युनिस्ट हुनैसक्दैनन् भनी माक्र्सवाद र लेनिनवादको सिद्धान्त बोकेर त्यही सिद्धान्त र विचारको उल्लङ्घन गर्नेहरू कसरी कम्युनिस्ट हुन्छन् ? नेकपाको अधिवेशनले नेकपा कम्युनिस्ट पार्टी होइन भनेर घोषणा गर्नुपर्छ । नेकपाले कम्युनिस्टको नाउँमा कम्युनिस्टको मत लिएर कम्युनिस्टविरोधी, कम्युनिस्ट सिद्धान्त र विचारविपरीत काम गर्नु धोका हो । नेकपाको हुन लागेको महाधिवेशनमा नेताहरूले त्यही विषयमा बहसको केन्द्र बनाउनुपर्छ ।
दलले सिद्धान्त र विचारको आधारमा राजनीति गरेको हुन्छ, वर्ग विश्लेषण गरेको हुन्छ । दलभित्र सिद्धान्त र विचारअनुसार राजनीति गर्दैन या सिद्धान्त एक र व्यवहार अर्को भयो भने दलभित्र आलोचना र विरोध हुन्छ । कम्युनिस्टको नाउँमा कम्युनिस्टको सिद्धान्त र विचार छोड्छ भने कम्युनिस्टप्रति आस्था राखेर राजनीति गर्ने नेताहरूले अलग दल खोल्नुपर्छ । कम्युनिस्ट भएर पुँजीवादी राजनीति गर्छ, पुँजीपति वर्गको पृष्ठपोषण गर्छ भने त्यो धोका नै हो । नाउँ कम्युनिस्ट तर व्यवहार पुँजीवादी हुन्छ भने कम्युनिस्ट पार्टी बलियो हुँदैन, कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । हाल सत्तारूढ दल नेकपाले गरिएको राजनीति यस्तै खालको छ ।
सरकार विधि र प्रक्रियामा नजानु एउटा पाटो हो भने दलको परामर्शबिना आफूखुसी अघि बढ्नु अर्को पाटो हो । तर, सरकार जस्तोसुकै विधि र प्रक्रियामा गए पनि कम्युनिस्टको सिद्धान्त र आचरणअनुसार अघि बढेन भने त्यो कसरी कम्युनिस्ट पार्टीको सरकार हुन्छ ? पुँजीपति वर्गको सरकारले समाजवादी गणतन्त्र स्थापना गर्दैन, गर्नसक्दैन । नेकपाको सरकारले संविधानमा उल्लेखित समाजवादउन्मुख देशलाई व्यवहारमा लागू गर्न सकिरहेको छैन, लागू गर्नेतर्फ लागेको छैन । रेल चलेर, पानीजहाज ल्याएर देश समाजवादी गणतन्त्र हुँदैन, कम्युनिस्टको सरकार हुँदैन, समाजवादउन्मुख देश बन्दैन । ओली सरकारसँग समाजवादउन्मुख धारणा नै छैन । समाजवादउन्मुख धारणा नै नभएको सरकारले त्यो कसरी लागू गर्छ ?
नेकपाका नेताहरूमा समाजवादी चिन्तन र अवधारणा नै छैन । नेकपाका नेताहरूले निजी कलेज, मेडिकल कलेजमात्र होइन निजी उद्योगहरू सञ्चालन गरिरहेका छन् । तिनीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध छन् । देशका ठूलठूला उद्योगहरू राष्ट्रियकरण गर्नुपर्नेमा उल्टो भएका र चालू रहेका सरकारी सङ्घसंस्था र उद्योगहरू निजीकरण गर्न अघि बढे । माओवादीको नेतृत्वमा बनेको सरकारले उपत्यकाको खानेपानीसमेत निजीकरण ग¥यो । देश र जनताको सेवामा लाग्नुभन्दा सत्तारूढ दलका नेताहरू कमाउधन्दामा लागे, राजस्व दाइँ गर्न अघि सरे । राज्यको स्रोत बढाउनेतिर भन्दा हसुर्नेतिर सत्तासीन दलका कर्मठहरू लागे । भ्रष्टाचार गर्न, अनियमितता गर्न, कालाबजारी गर्न आ–आफ्ना नेता कार्यकर्तालाई जागिर दिन, ठेक्का दिन सरकार लाग्यो । ठूलठूला व्यापारी, भ्रष्टाचारी, कमिसनखोर, पुँजीपति, सामन्तहरू सरकारको वरिपरि घुमिरहे, चाकरी गरिरहे । यसरी पुँजीपति, जमिनदार र भ्रष्टाचारीहरूको घेरामा रहेको सरकारले कसरी देशलाई समृद्ध र नेपालीलाई सुखी बनाउँछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *