भर्खरै :

समय अघि बढ्छ, पछि फर्किँदैन

मानव समाज विकासक्रमको कुनै कालखण्डमा राजतन्त्र ऐतिहासिक आवश्यकता थियो । इतिहासको पाङ्ग्रा अघि बढाउन राजतन्त्रले पनि ऐतिहासिक भूमिका निर्वाह ग¥यो । तर, मानव समाजको विकासक्रमसँगै राजतन्त्रको सान्दर्भिकता हराउँदै गयो । मानिसको चेतनाले जसरी दास व्यवस्था निषेधित हुँदै गयो, त्यसरी नै राजतन्त्र पनि पुरानो वस्तु बन्दै गयो । बच्चा बेलाको लुगा ठूलो भएपछि ठीक नभएजस्तो राजतन्त्र पनि समकालीन समाजको लागि उपयुक्त भएन । समाजको अग्रगतिको निम्ति राजतन्त्र बाधक भएपछि राजतन्त्र फालियो । संसारमा आज राजतन्त्र दुर्लभ राजनीतिक संस्था बनेको छ । कुनै देशमा राजतन्त्रको अस्तित्व रहे पनि त्यो एउटा स्मारकको रूपमा मात्र कायम छ ।
नेपालमा राजतन्त्र विदेशी शक्तिहरूले भूमिका खेलेको वास्तविकतालाई समयक्रमले अझ पुष्टि गर्दै गयो । तर, राजतन्त्रको जरा उखेल्ने अहम् र निर्णायक शक्ति भने नेपाली जनता नै हुन् । नेपाली समाजलाई अघि बढाउन राजतन्त्र नै बाधक बनेपछि नेपाली जनताको आन्दोलनले नै राजतन्त्रलाई बिदा गरेको हो । नेपाली समाजको निम्ति राजतन्त्र अब बच्चा बेलाको ठीक नहुने लुगाजस्तो भइसकेको छ । बच्चा बेलाको लुगा जतिसुकै राम्रो भए पनि अहिले लगाएर हिँड्न मिल्दैन ।
नेपालका शासक दलहरू विशेषतः नेकपा र नेकाको अकर्मण्य शासनको कारण यतिबेला केही परम्परागत शक्तिहरू फेरि पनि पुरानो समयमा फर्किने मत राख्दै छन् । नेकपा र नेकाका नेताहरूको अनैतिक र जनविरोधी व्यवहारका कारण आजित भएकालाई राजतन्त्र पो उपयुक्त विकल्प हो कि भन्ने शङ्काको सुविधा प्राप्त भएको छ । यसलाई परम्परावादी शक्तिले आफ्नो राजनीतिक दुनो सोझाउने मौका मानेका छन् । शासक दलको कमजोरीलाई व्यवस्थाको कमजोरीको रूपमा अथ्र्याएर भइरहेका गतिविधिले देशलाई अन्योल र प्रतिगमनतिर डो¥याउनेछ ।
नेकपा र नेकाका नेताहरूको नसुध्रिएको व्यवहारको कारण आज देश सङ्कटमा फस्दै गएको सत्य हो । जनताका न्यूनतम आवश्यकतासमेत पूरा गर्न धौधौ छ । कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा सरकार पूर्णतः असफल भयो । ‘हिजो एक जना राजाले शासन गर्थे, अहिले धेरै राजाहरूले शासन गरिरहेका छन्’ भन्ने जनगुनासो सुनिएको छ । यी सबै पक्ष वास्तविकता हुँदाहुँदै पनि राजतन्त्र यस अवस्थाको विकल्प होइन । राजतन्त्र फाल्न भूमिका खेल्ने भारतले नेपालका सत्तासीन वर्गलाई राजतन्त्र पुनःस्थापनाको हल्ला चलाएर आफ्नो तखतमा ल्याउने प्रयास भइरहेको विश्लेषणलाई असत्य मान्न सकिन्न । नेपालमा आफ्नो प्रभाव खुकुलो बन्दै गएको भन्ने आजका भारतीय शासक वर्ग र बुद्धिजीवीहरूको बुझाइ छ । दक्षिण एसियालाई आफ्नो ‘करेसाबारी’ मान्ने भारतलाई नेपालमा आफ्नो प्रभाव खुकुलो हुनु सह्य भएको छैन । त्यसकारण नेपालमा आफ्नो मुट्ठी अझ कस्सिलो बनाउन परम्परावादी शक्तिलाई धाप दिएको बुझ्न गाह«ो छैन । आफ्नो बलमा राजतन्त्र फालिएकोले आफूलाई आवश्यकता पर्दा राजतन्त्र ल्याउन सकिन्छ भन्ने भारतीय शासक वर्गको सोच देखिएको छ ।
शासक दलहरूको कमजोरीकै कारण २०१७ मा राजा महेन्द्रलाई पञ्चायती व्यवस्था लाद्न सजिलो भएको थियो । विसं २०५८ सालमा ज्ञानेन्द्रलाई प्रतिगमन गर्न नेका र एमालेजस्ता दलहरूले नै भूमिका बनाइदिएका थिए । आज फेरि यिनै दलहरूले परम्परावादी शक्तिलाई टाउको उचाल्ने हिम्मत प्रदान गरिरहेका छन् । शासक दलहरू सच्चिने यो एउटा चेतावनी पनि हो । सामन्ती राजतन्त्र हटाउन नेपाली जनताले लामो समयदेखि गर्दै आएको सङ्घर्ष आजका शासकहरूका सानाभन्दा साना गल्तीले पनि व्यर्थ बनाउन सक्नेमा सजग बनौं । समयलाई पछि धकेल्ने अप्राकृतिक सोच त्यागौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *