भर्खरै :

कठै ! हाम्रो वीर अस्पताल

समयको मागसँगै देशमा विभिन्न चरणमा परिवर्तनको लागि आन्दोलन भयो । कति आफ्नो ज्यानको बाजी राखी आन्दोलनमा होमिए । कतिले शहादत प्राप्त गरे त कति अपाङ्ग भई आफ्नो जीवन अन्तिम समय गनिरहेका छन् ।
२०४६ सालमा एकतन्त्रीय पञ्चायत व्यवस्थाको विरोधमा भएको आन्दोलन र २०६२÷२०६३ सालको जनआन्दोलनको समयमा नेपालको सबैभन्दा ठूलो र गरिब जनताको लागि आशालाग्दो सरकारी वीर अस्पतालमा कति घाइते बिरामीहरूले सम्बन्धित विज्ञ डाक्टरहरूबाट उपचार लिई नयाँ जीवन पाएका छन् भने कति नेपालीहरू उपचार गर्दा गर्दै सहिद भएका छन् ।
नेपालभरिका बिरामीहरू उपचारको लागि आउने, चिकित्सक पेशामा उच्च विशेषज्ञ उत्पादन गर्ने, अनि चिकित्सा क्षेत्रमा इमानदारीपूर्वक कार्य गर्ने कर्मठ चिकित्सक र कर्मचारीहरूले सेवा गर्ने थलो हो वीर अस्पताल । कतिले अस्पतालमा लिई आफ्नो र सन्तानको भविष्य उज्ज्वल बनाएका छन् त कहिले आफ्नो व्यापार व्यवसायको थलोको रूपमा विकास गरेका छन् । अधिकांश गरिब असहाय बिरामीहरूले निःशुल्क उपचार लिई नयाँ जीवन पाएका छन् । सुनिन्छ, पूर्वराजादेखि गणतन्त्रका प्रधानमन्त्रीले समेत उपचार सेवा लिएका थिए । यस्तो अवस्थामा चलेको अस्पताल केही वर्षदेखि राजनैतिक अखडामा परिणत भएको छ । राजनैतिक पहुँच भएका व्यक्तिले मात्र सेवा पाएका छन् । गरिब असहाय बिरामीहरू सेवा नपाई चिसो भुइँमा रात बिताउनुपर्ने अवस्था छ । ठूलो अपरेसनको लागि महिनौँ पालो कुर्नुपर्ने अवस्था छ । अति आवश्यक उपकरणहरू बिग्रिएको अवस्थाले समयमै सेवा पाएको छैन । क्यान्सर उपचारको लागि प्रयोग हुने टोमोग्राफी मेसिन हालसम्म सञ्चालनमा नआएकोले गरिब बिरामीहरूले दुःख पाएका छन् । सम्पूर्ण नेपालीहरूको आशालाग्दो उपचार सेवा पु¥याउने अस्पताल आफै बिरामीको अवस्थामा रहेको छ । मुख्य ढोकाअगाडि विगत दिनदेखि हिँड्न नहुने गरी पानी जमेको अवस्था छ । कस्तो विडम्बना ! न अस्पताल प्रशासनको ध्यान गएको छ न कर्मचारीहरूलाई चिन्ता छ न काठमाडौँ महानगरपालिकाले कारबाही गरेको छ । हरेक दिन त्यही मुख्य ढोकाबाट नेपालका प्रतिष्ठित प्रोफेसर, डाक्टर, विद्वान र उच्चओहदाका कर्मचारीहरू हिँडडुल गरिरहेको दृश्य जमेको पानीले नियालिरहेको छ । कठै ! हाम्रो वीर अस्पताल । आखिर कसको लापरबाही ? अस्पताल प्रशासन, महानगरपालिका वा सरकार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *