भर्खरै :

रैथाने ज्ञान संरक्षणको प्रश्न

रञ्जितकारको रङ्ग ज्ञान
दुई वर्षअघि बीबीसी नेपाली सेवाकी सेवा भट्टराईले ‘लोप भयो रञ्जितकारहरूको रङ्ग बनाउने ज्ञान’ शीर्षकमा एउटा ‘रिपोर्ट’ बनाइन् । छिपाइको काम गर्ने नेवारजातिको एक भेद हो रञ्जितकार । इतिहासकार लीलाभक्त मुनंकर्मीको पुस्तक ‘नेपालको सांकृतिक तथा ऐतिहासिक दिग्दर्शन’ मा आजभन्दा करिब ६ सय वर्षअगाडि राजा जयस्थिति मल्लले ‘नेपाल उपत्यका’ मा निर्धारण गरेको ‘६४ जात’ मध्येको एक जात हो रञ्जित अर्थात् छिपा । कालक्रममा रञ्जितलाई नै रञ्जितकार भन्न थालियो । विभिन्न वनस्पतिबाट विभन्न रङ्ग निकालेर धागो वा कपडा रङ्गाउने सीपका धनी हुन् रञ्जितकार जाति । यसमानेमा रञ्जितकारहरू प्राकृतिक रङ्गका ज्ञाता थिए । त्यो ज्ञान अब बाँकी छैन, धेरै थोरैसँग कतै बाँकी होला तर त्यसको उपयोग पनि भइरहेको छैन । प्राकृतिक रङ्ग बनाउने र धागो वा कपडा रङ्गाउने विधिसम्बन्धी कुनै राम्रो पुस्तक वा दस्तावेज यो लेखकले भेट्टाउन सकेको छैन । पुरानो पुस्ताका अवसानसँगै धेरै अमूल्य ज्ञान÷सीप तथा सम्पदा लोप हँुदै गइरहेको अनुभव हुन्छ । यो कस्तो विडम्बना !

झन्डै ८० वर्षअघि भारतदेखि रासायनिक रङ्गहरू भित्रिन थालेपछि रञ्जितकारहरूले प्रयोग गर्दै आएको प्राकृतिक रङ्गको माग हुन छोड्यो । कपडा रङ्गाउने कामसमेत करिबकरिब बन्द भइसकेको अवस्थामा प्राकृतिक रङ्ग उहिलेका कुरा खुइलिए भनेझैँ भएको छ । रङ्ग बनाउने सयौँवर्ष पुरानो नेपालको स्थानीय ज्ञान विस्मृतिमा हराएको छ ।
नेपालभाषाको विकिपिडियामा बैजनी रङ्गलाई रञ्जितहरूले ‘कुलदेवता’ मान्छन् भन्ने लेखिएको छ । घरको अँध्यारो कुनामा एउटा घ्याम्पोमा राखेर त्यसलाई ‘देवता’ सरह पूजा गरिन्छ । त्यसलाई औषधीको रूपमा पनि प्रयोग गरिन्थ्यो । यसरी रङ्ग नै औषधी र औषधी नै ‘देवता’ बन्छ । कुनै निरञ्जन या निराकार ‘प्रभु’ को भ्रममा बस्दैनन् मानिस । जिउनको निम्ति मानिसहरू अदृश्य कुनै शक्तिको पूजा होइन, भौतिक पदार्थको महत्ताबोध हुनेगरी अनेक विधि गर्छन् ।

करिब ३ सय वर्षअगाडि राजा भूपतिन्द्र मल्लको पालामा भक्तपुरको पचपन्ने झ्याल भएको प्राचीन दरबारको बैठककोठामा बनाइएको भित्तेचित्रको रङ्गले आजका वनस्पतिविद् तथा रसायनविद्लाई चुनौती दिइरहेको छ । विश्वरूपको भयङ्कर चित्र तथा ‘महाभारत’ सँग सम्बन्धित चित्रले रङ्गको शील्प कति उच्चकोटीको रहेछ भन्ने अन्दाज गर्न सकिन्छ । त्यस्तै काठमाडौँको वसन्तपुर दरबार, कुमारीघर र स्वयम्भूको शान्तिपुरभित्रका भित्तेचित्र पनि कम महत्वका मानिन्नन् । सयौँ वर्षको ज्ञान हराउन त लाग्या छैन ?

सुकुल बुन्न ताइचिन धानको पराल राम्रो ! तर, ताइचिनको भन्दा वर्णशङ्कर (हाइब्रीड) धानको उत्पादकत्व राम्रो ! परिणामतः हाइब्रीड धान रोप्ने लहड चलेको छ । धानको उत्पादन बढोस् भन्ने चाहना स्वाभाविकै हो । सुकुलसमेत बुन्ने किसान अन्यमनस्क हुनु उत्तिकै स्वाभाविक छ । अर्कोतिर किसानका सन्तान ‘उत्तम खेती’ छोडेर ‘मध्यम व्यापार’ र ‘निकृष्ट नोकरी’ तर्फ लहसिएपछि सोहीअनुसार समाज पनि बदलिइरहेको छ । उपभोग्य वस्तु आफैले उत्पादन गर्न मानिससँग अब फुर्सत पनि छैन । कारखानाबाट बनाइएका गलैँचा आकर्षक र सस्ता हुनेभए । उत्पादनका साधन र उत्पादन सम्बन्धले समाजको चरित्र नै बदलिने कुरा एक समय घरघरमा ओछ्याइने सुकुललाई प्लाष्टिक गुन्द्रीले विस्थापित गरेको तथ्यबाट पनि बुझ्न सजिलो हुन्छ ।

‘नेपालका प्राकृतिक रङ्गहरू’ भन्ने पुस्तक (इसं १९९३) का रचनाकार लक्ष्मी मल्लका अनुसार नेपालमा रङ्ग बनाउन मिल्ने १८२ वटा वनस्पति छन् । त्यस्ता अधिकांश वनस्पति जङ्गलमा आफै हुर्किन्छन् । रङ्ग बनाउन खयर, बेल, रुखकटहर, महुवा, कल्कीफूल, राजवृक्ष, बेसार, जामुन, कान्गीफूल, ओखर, आँप, बकैना, नीम, काफल, सल्ला, कुुुसुम हर्रो आदिका बोक्रा प्रयोग गरिएको मल्लको पुस्तकमा उल्लेख छ । त्यस्तै असुरो र भिमसेनपातीको पात, महारङ्गी, टटेलो, पद्मचाल, मजिठोका जराबाट पनि विभिन्न रङ्ग निकाल्न सकिन्छ । सीएल गजुरेल र केके वैद्यको ‘नेपालका परम्परागत कला तथा सामग्री’ मा लेखिएअनुसार ऊनका सामग्रीमा पहेँलो रङ्गाउन पद्मचालको जरा थिचेर पानीमा उमालिसकेपछि फापरको बोक्रा र फिटकिरी राखिन्छ । गजुरेल र वैद्यका अनुसार रासायनिक रङ्गभन्दा प्राकृतिक रङ्ग धेरै राम्रो गुणस्तरका हुन्छन् । प्राकृतिक रङ्ग आकर्षक हुन्छन्, धेरैजसो अवस्थामा जति पुरानो रङ्ग भयो, त्यति नै बढी आकर्षक हुँदै जान्छन् ।
प्राकृतिक रङ्गबारे अनुसन्धान गरी नयाँ प्रविधिको विकास गर्न सकिए नेपालको मौलिक ज्ञानबाट नयाँ पुस्ताको जीवनाधार तयार हुने सम्भावना अझै पनि छ । यसको निम्ति राज्यको नै मुख्य जिम्मेवारी हुन्छ । स्थानीय तहमा यसबारे छलफल सुरु हुनुपर्दछ । ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड !’
अस्तित्वकोे सङ्घर्षमा सुकुल
‘बाँच्नको निम्ति सङ्घर्ष’ गरिरहेको अर्को महत्वपूर्ण कला, सीप तथा प्रविधिको कुरा गरौँ ! पुस्तौँदेखि सुकुल बुनेर आयआर्जन गरिआएका ललितपुर सिद्धिपुरवासीका अघि पेसा निरन्तरताको चुनौती छ ।
सुकुल तातो होस् वा चिसो मौसम, दुवैमा उत्तिकै उपयोगी हुन्छ । चिसो र तातोबाट बचाउने, विज्ञानको भाषामा ताप कुचालक वा हिट इन्सुलेटर हो सुकुल । सुकुल प्रकृतिमैत्री छ, वातावरण विज्ञानको भाषामा बायोडिग्रेडेबल छ । नेवार समुदायमा सुत्केरीलाई त सुकुल नभई हुन्नथ्यो । परालकै जुत्ता हुन्थे सुत्केरीका निम्ति । जन्मिदै प्रकृतिसँगको सानिध्यताको यो अनुपम उदाहरण मान्न सकिन्छ ।
सुकुल बुन्न ताइचिन धानको पराल राम्रो ! तर, ताइचिनको भन्दा वर्णशङ्कर (हाइब्रीड) धानको उत्पादकत्व राम्रो ! परिणामतः हाइब्रीड धान रोप्ने लहड चलेको छ । धानको उत्पादन बढोस् भन्ने चाहना स्वाभाविकै हो । सुकुलसमेत बुन्ने किसान अन्यमनस्क हुनु उत्तिकै स्वाभाविक छ । अर्कोतिर किसानका सन्तान ‘उत्तम खेती’ छोडेर ‘मध्यम व्यापार’ र ‘निकृष्ट नोकरी’ तर्फ लहसिएपछि सोहीअनुसार समाज पनि बदलिइरहेको छ । उपभोग्य वस्तु आफैले उत्पादन गर्न मानिससँग अब फुर्सत पनि छैन । कारखानाबाट बनाइएका गलैँचा आकर्षक र सस्ता हुनेभए । उत्पादनका साधन र उत्पादन सम्बन्धले समाजको चरित्र नै बदलिने कुरा एक समय घरघरमा ओछ्याइने सुकुललाई प्लाष्टिक गुन्द्रीले विस्थापित गरेको तथ्यबाट पनि बुझ्न सजिलो हुन्छ ।
आजभन्दा तीसचालीस वर्षअगाडि भक्तपुरमा पुसमाघको पारिलो घाम ताप्दै आरामपूर्वक सुकुल बुनिरहेका महिला तथा पुरुष धेरै देखिन्थे । कच्चा पदार्थ आफ्नै, समय र सीप आफ्नै ¤ खेतीपातीको कामबाट फुर्सदिलो समयको सदुपयोग पनि हुने ! स्थानीय मानिस आफ्नो सीप पैसासँग तौलिन्नथे । मानिस एक किमिमबाट आत्मनिर्भर थिए । अझै अपुग भएर होला, गाउँतिरबाट परालबाटै बनेको मान्द्रो (नेवारीमा मलाचा सुकु) ल्याइन्थ्यो, भक्तपुरका किसान खुर्सानी तथा लसुनसँग मान्द्रो साट्थे । सानो र बोक्न सजिलो भएकोले आँगन, कौसी वा कतै मान्द्रो ओछ्याएर बस्ने चलन थियो ।
नेवारको झ्वः भ्वय् (लहरै बसेर खाने भोज) को निम्ति भ्वय् सुकु (भोज सुकुल) प्रयोग अद्यापि हुन्छ । तर, आजकल पार्टी प्यालेसमा ‘बफे डिनर’ खान थालेपछि भ्वय् सुकुको प्रयोजन पनि सकिँदै छ । झ्वः भ्वय् सामूहिक भावनाको नमुना मानिन्छ, व्यक्तिवादी समाजले झ्वः भ्वय्लाई विस्थापित गरेपछि भ्वय् सुकु पनि विस्थापित हुँदै छ । संस्कृतिअनुसारको प्रविधि वा प्रविधिअनुसारको संस्कृति भन्या यही त होला !

भ्वय् सुकु (भोज सुकुल)


साउन–भदौमा भक्तपुरका चोकचोक वा कुनै खुुला ठाउँमा खुर्सानी वा अन्य कृषि उत्पादन सुकाउन भने गहुँको नल वा छ्वालीको सुकुल प्रयोग गरिन्थ्यो । नेवारी भाषामा त्यसलाई ‘छ्वाली सुकु’ भनिन्छ । खुर्सानीको उत्पादन कम भएपछि छ्वाली सुकु बनाउन छोडियो, छ्वाली सुकु बनाउने सीप पनि हराउने डर छ !
तर, सयौँ वर्षअगाडिको पुस्ताको ज्ञान वा कलाको नक्कलमात्र नभई सिर्जनशीलता थपियो भने त्यसको आयु आफै लम्बिन्छ । सिद्धिपुरका सिर्जनशील युवाले नयाँ उपायको खोजी गर्दा पेसाकर्मीमा नयाँ आशा पलाएको छ । हिजोआज परालबाटै टेबल, सोफा, डोरम्याट, टेबल म्याट, सजावटका सामान, पेन होल्डर, जुत्ता, चकटी, नेवारी वास्तुकला शैलीका झ्याल बनिरहेका छन् । यस्ता सामग्री विदेश निर्यात पनि भइरहेका छन् । स्वदेशी होटेल तथा रेस्टुरेन्टहरूमा सुकुल तथा पराले सामग्री शोभायमान देखिन्छन् । पराले सामग्रीको माग यसरी पनि बढिरहेको छ ।
पहिलेका परालशिल्पीहरूले खेतबाट पराल जस्तो ल्याइन्थ्यो, त्यस्तै प्रयोग गर्थे । प्रविधिमा परिमार्जन हुँदै छ । आजकल सुरुमा पराललाई सर्फपानीले पखालेर सफा पारिन्छ । ढुसी र किरा लाग्न नदिन फिटकिरी मिसाइन्छ । सुकुलबाट धुलो नझरोस् भनेर परालको टुप्पो काटिन्छ र सामान बनाउनका लागि तयार पारिन्छ । यही हो कालो बादल वरिपरिको चाँदीको घेरा ¤
परम्परागत ज्ञानका अभिलेखीकरण
सुनेर, हेरेर र गरेर सिक्ने ज्ञान भरपर्दो भएर पनि त्यो ज्ञानको उपयोगिताबोध गरिएन वा मनन गरिएन भने बाह्यशक्तिको दबाबमा परेर परम्परागत प्रविधि विस्थापित हुन्छ । परम्परागत ज्ञानमा समयसापेक्ष परिवर्तन भएन भने जतिसुकै मूल्यवान् ज्ञान पनि हराएर जाँदो रहेछ ¤ दर्जनौँ आदिवासी जनजातिसहित एक सयभन्दा बढी जातजातिको बसोबास भएको जैविक तथा प्राकृतिक विविधतामा अत्यन्तै धनी नेपालका असङ्ख्य सम्पदा या त मरेर जानेको चिताको धुवाँसँगै उडिसके या खाल्डोमा पुरिए । व्यावहारिक वा मौखिक परम्पराबाट पुस्तान्तरण हुँदै आएको परम्परागत ज्ञान इतिहासको पानामा दुईचार शब्दमा मात्र सीमित हुँदा पश्चातापबाहेक अरू के गरिएला !
पुर्खाले अनेकौँ दुःख गरी आर्जन गरेको ज्ञानको अब कुनै महत्व नभएकै हो त ? एक समयमा विकास भएको ज्ञान, सीप तथा प्रविधि सदाको निम्ति काम लाग्छ भन्ने होइन । तर, कुनैपनि ज्ञान गतिशिल भएन भने त्यो पनि इतिहासको पानामा सीमित हुन्छ । ज्ञानलाई गतिशील कसले बनाउने त ? निरन्तरको खोज तथा अनुसन्धानविना ज्ञानमा परिमार्जन आउन सक्दैन । आफ्नो ज्ञानमाथिको पराया आक्रमणको प्रतिकार गर्ने क्षमता पनि चाहिन्छ । त्यसो नहुँदा प्राकृतिक एवम् जीवनोपयोगी ज्ञान, सीप तथा कला पनि विस्थापित हुन्छ । खोटो सिक्काले असली सिक्कालाई विस्थापित गरेजस्तै !
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकस्ट) विक्रमको ३० को दशकमा सक्रिय थियोे । देशका परम्परागत ज्ञान, सीप, र आधुनिक प्रविधिबीच समन्वय गरी नयाँ प्रविधि उपलब्ध गराई ग्रामीण विकासमा टेवा पु¥याउने यसको उद्देश्य रहेपनि काममा खासै उल्लेखनीय देखिएको छैन ।
संयुक्त राष्ट्रसङ्घले पनि परम्परागत ज्ञान, सीप र अभ्यासको संरक्षणको महत्वलाई जोड दिएको छ । राष्ट्रसङ्घबाट पारित विभिन्न महासन्धि तथा अभिसन्धिहरूमा नेपालले हस्ताक्षर गरेको पनि छ । तर, स्थानीय वनस्पति, जीवजन्तु, कृषिप्रणाली र पर्यावरण आदिसँग सम्बन्धित परम्परागत ज्ञान, सीप र अभ्यासमा अत्यन्तै धनी नेपालीको ज्ञान लिपिबद्ध छैनन् । माटो वा अनेक धातुका भाँडाकुँडा बनाउने, डोको, डाला, नाङ्लो, सुपा, भकारी बुन्ने, काठको ठेकी, कालो टोपी बनाउने, दही, मही, छुर्पी, घिउ बनाउने, तोरीको तेल र चिउरी घिउ बनाउने, भीर मह निकाल्ने, लोक्ताबाट कागज बनाउने आदि स्थानविशेष परम्परागत ज्ञानको अभिलेखीकरण गर्न अब ढिलो गर्नु हुन्न । यसैबाट वैज्ञानिक आविष्कारका अनेक बाटाहरू खुल्न सक्छन् । त्यसैगरी पुरानो पुस्ताको ज्ञान र सीपले नयाँ पुस्ताको सेवा गर्नसक्छ ।
कानुनतः स्थानीयस्तरको शैक्षिक ज्ञान, सिप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्ने दायित्व र अधिकार स्थानीय तह तथा नगरपालिका र गाउँपालिकालाई सुम्पिइएको छ । भक्तपुर नगरपालिकाले स्थानीय ज्ञानमा आधारित पाठ्यपुस्तक लागु गरेपछि अन्य स्थानीय निकायलाई पनि सोही दिशामा अग्रसर हुने आधार मिलेको छ । परम्परागत ज्ञान भएका ज्येष्ठ नागरिक जीवित हुँदै तिनको ज्ञानलाई श्रव्यदृश्यमा अभिलेखिकरण गर्न सकिए वा शब्दचित्रमा उतार्न सकिएको खण्डमा नयाँ पुस्ता लाभान्वित हुन्थे । परम्परागत प्रविधि तथा उत्पादनलाई बौद्धिक सम्पत्तिका रूपमा दर्ता गर्न र त्यससँग सम्बन्धित तालिम र अध्ययन सामग्री निर्माणतिर जिम्मेवार निकाय अगाडि बढ्नु आवश्यक छ । युगौँदेखिको अनुभव, भोगाइ, गराइबाट खारिएर विकास भएको स्थानीय तथा रैथाने ज्ञानको संरक्षणको दायित्व मूलतः राज्यकै हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *