भर्खरै :

एउटा पठनीय पुस्तक ‘उहिलेको नेपाल’

वि.सं. २०१८ सालमा नेपाली भूमि लिपुलेक तथा लिम्पियाधुरासम्म पुगी नेपालको जनगणना गरेका भैरव रिसालको गाथाबारे बढाइचढाइ गरी लेख्न आवश्यक छैन । पत्रकारितामा प्रवेश गर्नुअघि कसैले भैरव रिसालको जीवन सङ्घर्षबाट सिक्नु उपयोगी हुनेछ ।
पत्रकार रिसालले देखेका, सुनेका र भोगेका सत्य र तथ्यमा आधारित कृति ‘ उहिलेको नेपाल’ नामक पुस्तकको अध्ययन गर्ने अवसर हालसालै प्राप्त भयो । पुस्तकको शिरमै आकर्षक वाक्यहरू ‘लिपुलेक र लिम्पियाधुरा हाम्रै हो ।’ ‘२०१८ सालमा जनगणना गर्ने मै हुँ ।’ ले थुप्रै देशप्रेमी नेपालीहरूको ध्यानाकर्षित गर्दछ । सोही पुस्तकबारे केही मीठा कुराहरू सज्जन पाठकसमक्ष राख्न अथवा ‘बुक टक’ गर्न रहर जागेको छ ।
५४ वटा विभिन्न रोचक र सूचनामूलक शीर्षकहरूले भरिएको सो पुस्तकमा उल्लेखित ‘जङ्गबहादुरको उज्याला पाटा’ शीर्षकको अध्ययनबाट ऊबेलै पर्यावरण जोगाउने कुराको महँव बुझेर पहाड, मधेस र काठमाडौँ खाल्डोमा रुख काटी बेहिसाब वातावरण बिगार्नेलाई सजाय दिने ऐन बनाइएको थाहा लाग्यो । ज्ञान विज्ञानको २१ औँ शताब्दीको यो युगमा पनि विमानस्थल निर्माणको नाउँमा सरकारसँग उठबस भएका काठ तस्कर, भूमाफिया र बिचौलियाको स्वार्थ परिपूर्तिका लागि लाखौँ रुख कटान गर्न तम्सिने नेकपाको यो सरकारलाई वातावरणको संरक्षणबारे अझै सामान्य ज्ञान नभएको देख्दा म छक्क परेँ ।

विद्यावारिधि गरिसकेका सबैजना आफ्नो नामको अगाडि डा. राख्न मन पराउँदैनन् तर आफ्नो नामको अगाडि डा. राख्नैका लागि विद्यावारिधि गर्ने वा नक्कली प्रमाण–पत्र हात पार्ने मानिस पनि छन् । त्यस्ता मानिस डाक्टरमा ‘साब’ थपेर प्रत्येक पल्ट घरिघरि सम्बोधन गरिएको बिछट्टै मन पराउँछन् । भूलवस निजको शुभनाम पछाडि ‘जी’ मात्र भनेर संवाद गर्न खोजे उनीहरू नाक खुम्च्याउँछन् । तर, ऊबेला गोरखापत्रको थालनीसँगै देव शमशेरले ‘हाम्रा तारिफका कुरा नछापून्’ भनी ‘सनद’ अथवा सरकारी आज्ञापत्र जारी गरेको चाखलाग्दो दृष्टान्त पृष्ठ १६ मा उल्लेख छ ।

बोक्सीको आरोपमा नारीमाथि गरिने अभद्र व्यवहार, अमानवीय भौतिक कारबाही एवम् सामाजिक बहिष्कार गर्नेहरूउपर कडा सजायको कानुनी बन्दोबस्त पनि जङ्गबहादुरकै पालामा भएको कुरा पुस्तकमा प्रस्ट पारिएको छ । तर, तल्लो जातका भनिएका दिनदुःखी, निमुखा, गरिब र असहाय एकल महिलामाथि बोक्सीको आरोपमा अहिलेसम्म पनि तराईका समाजले दिने सजाय कायमै छ । मधेसीको हक र अधिकारको संरक्षणको नाममा सरकारको बागडोर धेरैपल्ट सम्हालेका मधेसी नेताहरूको ध्यान यस पीडादायी अवस्थातर्फ आजसम्म नगएको देख्दा जङ्गबहादुर नै मधेसी नेताहरूभन्दा धेरै दूरदर्शी लाग्यो । जङ्गबहादुरको पालामा दक्षिणतर्फको छिमेकी मित्र भारतसँगको सिमानामा साँध छुट्याउन उनकै नाउँको जङ्गेपिलर भनिने किल्लाहरू ठोकेका थिए तर आज त्यसलाई जोगाई देशको सीमा रक्षा गर्न अहिलेसम्मका सरकार असफल भएको सत्य यो पुस्तकले छर्लङ्ग पारेको छ ।
अरबौँ रुपियाँ खर्च भइसकेर पनि कोरोनाको रोकथाम र नियन्त्रणमा ओली सरकारले उल्लेख्य काम गर्न नसकेको आजको यथास्थितिलाई ऊबेला जङ्गबहादुर शासनकालसँग तुलना गर्दा थाहा हुन्छ– आफ्नो निरङ्कुश शासनकालमा पनि जङ्गबहादुरले बिफरजस्तो घातक रोगविरुद्ध लड्न खोप लगाउने प्रणालीको प्रारम्भ गरी नेपाल आत्मनिर्भर हुनसक्ने आयुर्वेदिक चिकित्सकीय पद्धति र औषधि प्रयोगमा प्राथमिकता दिएको कुरा पुस्तक अध्ययन गर्दा थाहा भयो । जङ्गबहादुरको शासनकालमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालको भूमि फिर्ता भयो । तर, आजको लोकतान्त्रिक भनिने ओली सरकारले न देशको सीमा रक्षा गर्न सक्यो न त गरिब नेपालीजनको हित हुने गरी केही काम नै गर्न सक्यो । कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता र दक्षिणतिरको सिमानालगायत अन्य थुप्रै नेपाली भू–भाग छिमेकी मुलुक भारतले मिचेको बारे ओली सरकारले चुँइक बोल्नसकेको छैन ।
प्रधानमन्त्रीलगायत जनप्रतिनिधि भनाउँदाहरू ‘होली वाइन’ खाएर हिन्दू, बौद्ध, मुस्लिमलगायत धर्मको घोर विरोध गर्दै इसाई संसारको सर्वाेत्कृष्ट धर्म हो भनी विभिन्न प्रलोभन देखाइ धर्म परिवर्तन गराउन हिँड्ने विदेशी नागरिकहरूले नेपालको संविधानको मर्मविपरीत कार्य गर्दै आइरहेका छन् । भारतलाई दुईसय वर्षसम्म दास बनाउन सक्ने हैसियत राख्ने फिरुगी अङ्ग्रेज कूटनीतिज्ञहरूलाई घुमफिर गर्नका लागि त्यो बेला बरु जङ्गबहादुरले स्थानहद तोकेर रेजिडेन्सी क्षेत्रभन्दा बाहिर जान प्रतिबन्ध लगाएपश्चात् आफूहरूलाई आफ्नो स्वच्छन्दता उपभोग गर्न वञ्चित गरेका रहेछन् । त्यसैले अङ्ग्रेजहरू उनीसित आगो भएको वास्तविकता रिसालले खोलेका छन् ।
विद्यावारिधि गरिसकेका सबैजना आफ्नो नामको अगाडि डा. राख्न मन पराउँदैनन् तर आफ्नो नामको अगाडि डा. राख्नैका लागि विद्यावारिधि गर्ने वा नक्कली प्रमाण–पत्र हात पार्ने मानिस पनि छन् । त्यस्ता मानिस डाक्टरमा ‘साब’ थपेर प्रत्येक पल्ट घरिघरि सम्बोधन गरिएको बिछट्टै मन पराउँछन् । भूलवस निजको शुभनाम पछाडि ‘जी’ मात्र भनेर संवाद गर्न खोजे उनीहरू नाक खुम्च्याउँछन् । तर, ऊबेला गोरखापत्रको थालनीसँगै देव शमशेरले ‘हाम्रा तारिफका कुरा नछापून्’ भनी ‘सनद’ अथवा सरकारी आज्ञापत्र जारी गरेको चाखलाग्दो दृष्टान्त पृष्ठ १६ मा उल्लेख छ । अहिले मै हँु भन्ने आत्मप्रशंसक केही बुद्धिजीवी ‘कोल्ले पो खीर खायो सात गाउँले चाल पायो’ भनेजस्तै आफ्नो प्रत्येक टीभी संवादमा ‘मैले फलानो विषयमा पीएचडी गरेको’ भनी भन्ने बानी परेका मपाईँ प्रवृत्तिका महानुभावहरूले यो पुस्तक एकपल्ट अध्ययन गर्नु उचित होला । तर ‘हाम्रा तारिफका कुरा नछाप्नू’ शीर्षकमै राणाकालमा मन्त्रिमण्डलको गठनबारे ‘ठ्या र मठ्या’ शब्द नेपालभाषा अथवा नेवारी भाषाका शब्दहरू हुन् भनी वास्तविकता उल्लेख गरी पाठकहरूलाई राम्रै जानकारी होस् भनी सोच्न भैरव रिसाललाई सायद समयाभाव भएजस्तो लाग्यो । नेवारी समाजमा आफ्ना जातभन्दा बेगरको तल्लो जातबाट जन्मिएका सन्तानलाई मठ्या र आफ्नै जात र संस्कारसँग मेल खाने स्त्रीबाट जन्मिएका सन्तानलाई ठ्यापट्टिका भन्छन् । प्रायः विभिन्न धार्मिक क्रियाकलाप र कर्मकाण्डमा मठ्यापट्टिका सन्तान र तिनका मातालाई समेत ती सामाजिक कार्यमा सहभागी हुनबाट वञ्चित गरिएको हुन्छ ।
राजा महेन्द्रका मठ्यापट्टिका श्रीमतीको कोखबाट जन्मिएका ज्येष्ठ पुत्र रवीन्द्र शाह (कविजी शाह) लाई यसैकारण राजदरबारको कुनै पनि प्रकारको राजपाटबाट बेदखल गरिएको थियो । (जिज्ञासु पाठकहरूले यसबारे थप जानकारी प्राप्त गर्न मनसाय भएमा नगेन्द्र न्यौपानेद्वारा लिखित ‘दरबारबाहिरकी महारानी’ नामक पुस्तक अध्ययन गर्दा फलदायी होला ।) ठ्या र मठ्या शब्दको शाब्दिक अर्थ बुझ्न राजदरबारभित्रको यो सत्य कहानी पर्याप्त होला । त्यसो त नेवारी भाषाको ‘झ्या’ शब्दको पछाडि ‘ल’ थपेर झ्याल, ‘सुकु’ मा ‘ल’ थपेर सुकुल, ‘पखा’ मा ‘ल’ थपेर पर्खाल, ‘ढ’ मा ‘ल’ थपेर ढल बनेका धेरै नेपाली शब्दहरू छन् । त्यसो त अङ्ग्रेजी भाषा धनी हुनुमा पनि अङ्ग्रेजले उपनिवेश चलाएका देशहरूमा बोलिने भाषाका कैयौँ शब्दहरू आफ्नो भाषामा सहजै समावेश गर्नु हो । धोती, लुट, चपाटि, लाठी, सारी आदि हिन्दी शब्दहरू अङ्ग्रेजी शब्दकोषहरूमा मज्जाले भेटिन्छ ।
पृष्ठ २३ को ‘चुरे सुरुङ र चन्द्रनहर निर्माता’ शीर्षकमा प्राविधिक एवम् इन्जिनियरिङ विधासँग सरोकार राख्ने धेरै राम्रा र सम्पूर्ण नेपालीले गौरव गर्नसक्ने घटनाहरू पढ्न पाइन्छ । उतिबेला पनि पहाडी क्षेत्रमा सडक विस्तार गरी नेपाली जनजीवनमा आवतजावतलगायत अन्य दैनिक कार्यमा सहजता ल्याउन सरल थिएन । मकवानपुर र बाराबीच छेकबार बनी उभिएको चुरे पहाड वारपार गर्न सहज थिएन । विभिन्न विकल्पहरूमध्ये १० फिट उचाइ, ९ फिट चौडा र ७८५ फिट लम्बाइ हुने गरी पहिलो सुरुङ मार्ग नेपालकै पहिलो सिभिल इन्जिनियर डिल्लीजङ्ग थापाले विसं १९७५ मा निमार्ण कार्यको श्रीगणेश गरे । विभिन्न विकसित देशका जस्तै बीचमा अलि मोडिएको (अगचखभम) उक्त नेपालको पहिलो टनेल अहिले पनि चुरिया सुरुङ मार्ग भनेर चिनिन्छ ।
विसं २०४५ सालको भूकम्पले क्षति पु¥याएको उक्त सुरुङ मार्ग माओवादी आन्दोलनको बेला नेपाली सेनाले बन्द गरेको थियो । त्यतिबेला सिमेन्ट आइसकेको थिएन । त्यसकारण विभिन्न निर्माण कार्यको लागि बज्रको प्रयोग गरिन्थ्यो । नेपालको पहिलो सिँचाइ परियोजना चन्द्र नहर, हेटौँडा–काठमाडाँै रोपवे, जनकपुर–जयनगर रेलवेलगायत थुपै्र निर्माण कार्य गर्न डिल्लीजङ्ग थापालाई नेपालको पहिलो ग्राजुएट इन्जिनियर ब्रिगेडियर कर्णेलको पदबाट समेत विभूषित गरिएको थियो । आफ्नो विधामा असाधारण कार्यकुशलता भएका व्यक्ति ई. थापाबारे उक्त पुस्तकमा राम्ररी वर्णन गरिएको छ । ई. डिल्लीजङ्गका बारेमा केही जानकारीमूलक विषयहरू हाम्रा विद्यार्थीले पढ्ने पुस्तकहरूमा उल्लेख गर्नुपर्ने थियो ।
जहाँनियाँ राणा शासनको पालामा शक्ति र अधिकारविहीन हँुदा बखत राजा त्रिभुवनले जनताका नेता, साहित्यकार, कलाकार, पत्रकार र अन्यलाई दर्शनभेटमा ‘तपाईँ’ भनेर सम्बोधन गर्थे । उनी कसैबाट पनि चाकडीको बेलामा प्रयोग गरिने ‘हजुर’, ‘सरकार’ वा ‘महाराज’ जस्ता शब्दहरू कसैबाट पनि अपेक्षा गर्दैनथे । त्यतिबेलाको साप्ताहिक पत्रिकाका प्रधानसम्पादक हृदयचन्द्रसिंह प्रधान र सम्पादक युगकवि सिद्धिचरण श्रेष्ठले दर्शनभेटको क्रममा राजा त्रिभुवनलाई ‘तपाईँ’ भनी सम्बोधन गर्दा मीठो मुस्कान सहित ‘मलाई तपाईँ भनेको असाध्यै मनपछ’ भनी राजाले उत्तर दिएका थिए । २००७ सालको प्रजातन्त्रपश्चात् १ वैशाख २००८ सालमा सेनाको ‘सुप्रिम कमान्डर इन चिफ’ प्रधानमन्त्रीको हातबाट राजामा सरेपछि त्रिभुवनको आनीबानी र व्यवहारमा परिवर्तन आयो । ‘तपाईँ’ भनेर सम्बोधन गरिएका विशिष्ट व्यक्तित्वहरूउपर “तिमी” को प्रयोग गर्न थालियो । श्री ५ को परिवारको सम्बन्धमा उहाँ भन्ने प्रयोग नगरी मौसूफ भन्ने शब्द प्रयोग गर्नु” भन्ने निर्णय २३ साउन २०१० को मन्त्रिमण्डलले पारित गरेको रोचक घटना विवरण लेखकले आफ्नो पुस्तकमा ‘राजा त्रिभुवनको तपार्इँ र तिमी’ शीर्षकमा प्रस्तुत गरेका छन् ।
श्री शब्दसँग ५ भन्ने अङ्क गाँसिएको ‘श्री ५’ ले सीप, दक्षता र ज्ञान भएका उच्चपदस्थ सरकारी कर्मचारीहरूले पनि कस्तो डरत्रासमा जागिर खानुपर्दाेरैछ भन्नेबारे सविस्तार वर्णन पुस्तकमा छ । सूचना विभाग र रेडियो नेपालमा निर्देशक र विसं २०२० तिर ‘दमकलको हाकिमसमेत भई सरकारी नोकरी गरेकाले पनि ‘दिएको खाने अह्राएको गर्ने’ रैतीको जीवन जिउन पर्ने दुरवस्थाको चित्रण ‘दरबारको गोप्य चिठी खोल्दा’, ‘बुझ्नै नसकिने दरबारको चिठी’ र ‘सुरेन्द्रराज लुगलुग काम्न थाले’ शीर्षकहरूमा गरिएको छ । स्वास्थ्यको दृष्टिकोणले रोइरहनुभन्दा गाइरहनु जाती, त्यो भन्दा अझ हाँसिरहनु उत्तम, जसले मान्छेको आयु बढाउँछ । ती तीन शीर्षकका लेखहरूसँगै ‘केशरबहादुरको करामत’ दोहो¥याई तेह¥याई पढँे, दिक्दार भएको बेला मन चङ्गा बनाउन मदनकृष्ण र हरिवंशको कमेडी टीभी श्रृङ्खला हेर्नुपर्ने बाध्यता नै रहेन ¤
प्रधान न्यायालयको दोश्रो प्रधानन्यायधीश र लोक सेवा आयोगका अध्यक्षसम्म भएका व्यक्तिले जनताबाट कर उठाई सरकारले दैनिक कार्यालयको सरकारी कामकाजमा प्रयोगका लागि खरिद गरिदिएको गाडी छोरीको बिहेमा दाइजो दिई पठाउनेसम्मका हर्कत राजाका आफ्नाले गर्ने अनैतिक कार्यबारे लेखिएको प्रसङ्ग आजको लोकतन्त्र भनिने ओली सरकारको निकायहरूमा हुबहु नै छ । त्यस्ताबाट जनताले कस्तोखाले जनसेवाको अपेक्षा गरून् । मन्त्री स्वयम्ले दिँदै नदिएको राजीनामा राजाले स्वीकृत गरेको समाचार रेडियो नेपालले फुकिदिन्छ । ‘अहिले साढे दुई बजे रेडियो नेपालले मन्त्रीज्यूको राजीनामा स्वीकृत भएको समाचार भन्छ । दरबारको आदेश भएको हुँदा अफिसबाट छिटो घर जानुस् अन्यथा प्रहरी लगाएर भए पनि पठाउनु पर्छ’ भन्ने जस्ता ठाडो धम्की मन्त्रीलाई दरबारबाट आउँछ राजतन्त्रमा । राजाका विश्वासपात्र भएरै नेपाल राष्ट्र बैङ्कको गभर्नरमा ३० जेठ २०३६ सालमा नियुक्ति भएका व्यक्तिसमेतलाई थाहा नभएको आफ्नो राजीनामा राजाबाट सदर गरिएको समाचार रेडियोले फुक्छ । आफैले नबुझ्ने अरूद्वारा लिखित पत्रलाई आधार मानेर २३ मङ्सिर २०४१ सालमा असम्मानित तरिकाले पदमुक्त हुन्छ, क्या हुकुमी शासन ¤ सम्बन्धित व्यक्ति तीनछक्क पर्छ, जिउँदो मान्छेले आफू परलोक भएको बनिबनाउ खबर सुनेजस्तै ¤ त्यसैले रिसाल लेख्छन्, ‘जाने दरबार नजाने तरबार’ । अनि फेरि मालिकको छायाँमात्रले पनि तर्सिने र कठोर शारीरिक परिश्रम गर्दागर्दै पनि अमृत सम्झेर खान विवश दासहरूजस्तै मात्र हैसियत भएका उच्च पदाधिकारीहरूको दुर्दशा पुस्तकको पृष्ठ १११ को ‘हम मछलीके राजा हुँ न ¤’ मा र पृष्ठ १६४ को ‘जस्तो छ, त्यस्तै दिनु’ को शीर्षकमा बडो चाखलाग्दो तरिकाले घटना विवरणलाई प्रस्तुत गरिएको छ । तर, लेखक महोदयले दरबारका ती पत्रहरूको भाषाशैलीबारे जनमानसलाई थाहा दिलाउन आफ्नो यो महँवपूर्ण पुस्तकमा कुनै पनि स्थान नदिनु भएकोमा अलिकति दुःख लागेको छ । यी दुई शीर्षकहरू पढ्दा राजतन्त्र कुनै पनि हालतमा जनकल्याणकारी हुन नसक्ने सावित हुन्छ । तर, जनताबाट अवसान गरिएको राजतन्त्रको आज पनि माग गर्दै हिँड्नेहरूको बौद्धिक दरिद्रताउपर दया जाग्छ ।
भारतलाई नेपालको छिमेकी मित्र राष्ट्र भनिए तापनि साना राष्ट्रमाथि थिचोमिचो गर्ने पहिलेदेखिको भारत सरकारको व्यवहारलाई बुझेर धेरै वर्षअघिदेखि यिनको यस प्रकारको अमर्यादित र हेपाहा प्रवृत्ति र विस्तावारवादको कडा विरोध गर्दै उक्त दक्षिणी छिमेकीको कूटनीतिसँग सतर्क हुन नेपाली जनता र विभिन्न राजनीतिक पार्टीहरूलाई सचेत गर्दै आएको पार्टी नेमकिपा छ । संसदमा नेमकिपाको प्रतिनिधित्व गर्ने सांसदहरूलाई ठूला पार्टीका सांसदहरूले संसदमा छिमेकी मित्रराष्ट्र भारतको एकोहोरो सुगारटाइ विरोध गर्ने, आकारजस्तै विचार पनि सानो भनी तर्कहीन गर्नेहरूले पुस्तकको पृष्ठ ५१ को ‘कोशी सम्झौतामा भारतको बेइमानी’ लेखको हरेक वाक्यहरू अध्ययन गर्न अत्यावश्यकै छ । यो परिच्छेद दुई पटक पढेँ । अनि, हामीलाई पढाइने इतिहासका पुस्तकका पानाहरूमा मित्र भनिने छिमेकीले गर्नै नहुने हृदयविदारक बेइमानीका घटना किन समावेश नगरिएको भन्नेबारे गहिरिएर सोच्न कर लाग्यो ¤ नेपाली उच्चपदस्थ सरकारी कर्मचारीहरूको अकण्र्यताप्रति धिक्कार्न मन लाग्यो । यो तिनीहरूको अक्षम्य अपराध नै हो, अज्ञानता होइन । कोशी ब्यारेज भारतलाई ९९ वर्षका लागि लिजमा दिने सम्झौता भएकोमा नेपालको प्रतिनिधित्व गर्ने उच्चपदस्थ व्यक्ति र अन्य अधिकारीहरूलाई टाइप गर्न नआएका कारण भारतीय अधिकारीहरूले जानेरै छल गर्ने हिसाबले ९९ अङ्कका अगाडि १ थपेर १९९ गरिएको सम्झौता पत्रसमेत पढ्न र रुजु गर्न नभ्याएका गैरजिम्मेवार राजा र नेपाली अधिकृतका कारण मुलुकको सार्वभौमिकता गुमेको आभास हुन्छ । छल गर्ने नियतले नै बैठकको माइन्यूट, निर्णय र सम्झौता पत्रको टाइपसमेत भारतीय पक्षले आफ्नो जिम्मामा लिएकोलाई स्वीकार गरी नेपाली पक्षले आफ्नै मुलुकमाथि घात गरे । अहिले फेरि नेकपा सरकारका परराष्ट्र मन्त्रीले आफूलाई सर्वज्ञ ठानी नेपाली विज्ञहरूसँग सल्लाह नै नगरी आफ्नो अमेरिका भ्रमणको बेला त्यसरी नै विनाअध्ययन संरा अमेरिकाले एकपक्षीयरूपमा तय गरेको राष्ट्रघाती एससीसीको सम्झौता पत्रमा सहीछाप गरेर अर्काे अपराध गरे ।
‘वीपीलाई फाँसीको माग’ पढ्दै गर्दा २०४५ सालमा भएको सुनियोजित भक्तपुर काण्डमा अदालती फैसलापूर्व मन्त्रीहरू, राष्ट्रिय पञ्चायतका उच्चपदस्थ व्यक्तिहरू तथा प्रधानमन्त्रीसमेतले पञ्चको जुलुसमा ‘रोहितलाई फाँसी दे’ को अराजनीतिक नारा लगाउँदै नेमकिपालाई निर्मूल पार्ने क्रूर पञ्चायत व्यवस्थाको कुचेष्टापूर्ण षड्यन्त्रकोे याद दिलायो । आखिरमा राजतन्त्र र निरङ्कुश पञ्चायत व्यवस्था सदाका लागि समाप्त भयो । त्यो बेला न्यायमूर्ति जनकमान श्रेष्ठको जाहेरी फैसलाले गणेशमान र वीपी कोइरालासमेतले वादीको अभियोगबाट सफाइ पाए । फैसला निष्पक्ष थियो, भाषाशैली उच्च स्तरको थियो, तर २०४५ को भक्तपुर काण्डको जाहेरी फैसला त्यसको ठीकविपरीत थियो । ती पञ्चहरू राजनीतिकरूपले आफूसँग भिन्न विचार राख्ने व्यक्तिउपर अमर्यादित व्यवहारको पनि हदै नाघेर राजनीतिक तथा अन्य दृष्टिकोणले उच्च कद भएका व्यक्तित्वलाई समेत घोर अपमान गर्न पछि नपर्ने सही प्रमाणको ‘दरबारबाट बीपीलाई फर्काइँदा’ मा लेखकले प्रस्ट पारेका छन् । जसअनुसार १४ पुस २०३७ सालमा राजा वीरेन्द्रको ३७ आँै जन्मोत्सवको अवसरमा नारायणहिटी राजदरबारको दक्षिण पटाङ्गिनीमा आयोजित विशेष समारोहमा औपचारिक पोशाक नलगाएको कारण देखाउँदै निमन्त्रणालाई स्वीकारी उपस्थित भइसकेका वीपी कोइरालालाई उक्त समारोहबाट फर्काई दिएर उनीमाथि घोर अपमान गरी राजा र पञ्चहरूको राजनीतिक कुसस्कार र कूटनीतिक दरिद्रताको प्रदर्शन थियो । बयानका लागि वीपी कोइराला अदालतमा उपस्थित हुँदा न्यायमूर्ति जनकमान श्रेष्ठले उनीमाथि गरेको सम्मान र वीपीले पनि श्रेष्ठमाथि गरेको भावपूर्ण आदरबाट केही सिक्नुपर्ने थियो ।
राजा वीरेन्द्रको शासनकालमा ७१ वर्षीय क्याप्टेन यज्ञबहादुर थापा र ४१ वर्षीय भीमनारायण श्रेष्ठलाई आफ्ना गल्ती कबुल गरी माफी नमागेका कारण राजासँग दर्शनभेट गराउने झूटो बहाना बनाई ती दुई सपूतहरूलाई हेटौँडा बजारको दक्षिणतर्फको राजमार्गदेखि दाहिनेतर्फको जङ्गलभित्र रुखमा बाँधेर २५ माघ २०३५ सालमा गोली हानी हत्या गरेको दृष्टान्त ‘यज्ञ र भीमलाई फाँसी दिने खबर’ को शीर्षकको अध्ययनले ती वीर सहिदहरूप्रति श्रद्धाले शिर झुकाई सम्मान व्यक्त गर्ने अवसर मिल्यो । तर, उहाँहरूको वीरगाथाबारे केही पनि पढ्न नपाउँदा पाठकवर्गलाई न्यास्रो नहुनेमा शङ्कै छैन । राजतन्त्र निरङ्कुश भएकै कारण संसारका धेरै मुलुकहरूमा यसको अस्तित्व समाप्त हुँदै गएको स्पष्ट हुन्छ । नेपालका कम्युनिस्ट नेताहरू पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको बारेमा लेखिएका सङ्घर्षशील कार्यहरू रोचक शैलीमा प्रस्तुत गरिएको छ । लेखक स्वयम्को एकल अगुवाइका कारण थुप्रै सहयोगी हातहरूको मद्दत लिएर अघि बढ्नुले हुम्लाजस्तो दुर्गम भेगका स्थानीय गरिब तथा विपन्न नेपाली जनतालाई सौर्य बिजुली बत्तीको व्यवस्था गरी ठूलो सहयोग मिलेको छ । सुन्दर र निःस्वार्थ कार्य ‘हुम्लामा उज्यालो अभियान’ शीर्षकको परिच्छेद अध्ययनले स्वयम्सेवक कार्यमा संलग्न भई जनताको सेवा गर्न भित्री मनसाय भएका युवाहरूलाई धेरै हौस्याउन सक्छ ।
यस पुस्तकमा समावेश गरिएका सबै परिच्छेदहरू पठनीय छन् । आफ्नो लामो पत्रकारिता जीवनमा भोगेका, देखेका र सुनेका घटनामा आधारित भएकै कारण पाठकहरूका मन तानिरहन लेखक सफल छन् । पुस्तकभित्र विभिन्न घटनाक्रमका तस्वीरहरू छापिएका भए सुनमा सुगन्ध हुने थियो ।
विषय क्रमको पृष्ठमा ‘लिपुलेक हामै्र हो’ समावेश गरिएको छैन भने पृष्ठ ‘अ’ को ‘यसरी आएको यो’ शीर्षकको परिच्छेदलाई विषय क्रममा पृष्ठ १८७ राखिनु र पृष्ठ ‘उ’ को ‘भोगेको देखि सुनेको सम्म’ लाई १९१ पृष्ठमा सङ्केत गर्नु सामान्य प्राविधिक त्रृटि जस्तो लाग्यो । ‘उहिलेको नेपाल’ राजनीति, इतिहास र आफ्नो मातृभूमिप्रति प्रेम हुने प्रत्येक नेपालीले अध्ययन गर्नुपर्ने पुस्तक बजारमा आउँदा खुसी लागेको छ । भैरव रिसालजीका ‘नेपाली वाङ्मयका ‘तीन तारा’ जस्तै ‘उहिलेको नेपाल’ नाम यो पुस्तक पनि लोकप्रिय हुने कुरामा म विश्वस्त छु ।
लेखक: भैरव रिसाल
प्रकाशन: बुक–हिल पब्लिकेसन
मूल्य: ने.रु. ४२५ ।–
पृष्ठ: १८५

Leave a Reply

Your email address will not be published. Required fields are marked *