भर्खरै :

हतियारको दौडमा प्रयोग भइरहेको ठूलो रकम महामारीसँग लड्न किन प्रयोग गरिएन ?

(संयुक्त राष्ट्र सङ्घको ३१ औँ साधारणसभाको विशेष सत्रमा समाजवादी गणतन्त्र क्युवाका राष्ट्रपति मिगुएल मारियो दियाज क्यानलद्वारा कोभिड–१९ महामारीको विषयमा सम्बोधन)
डिसेम्बर ३, २०२०
श्री महासचिव,
श्री सभाअध्यक्ष,
राज्य र सरकारका विशिष्ट प्रमुखहरू,
प्रतिनिधिमण्डलका प्रमुखहरू ।
असंलग्न आन्दोलनका वर्तमान अध्यक्ष गणतन्त्र अजरबैजानलाई साधारणसभाको यो विशेष सत्र आह्वान गर्ने पहककदमीको लागि धन्यवाद दिन चाहन्छु ।
कोभिड–१९ महामारीको बेला विश्व स्वास्थ्य सङ्गठनद्वारा स्थापित मान्यता र स्वस्थ अभ्यासअनुसार महामारीलाई परास्त गर्न यो सभाले मात्र विश्वव्यापी स्तरमा अभियान चलाउन सक्छ । यो सभा संयुक्त राष्ट्र सङ्घीय प्रणालीको सबैभन्दा व्यापक र प्रतिनिधिमूलक अङ्ग हो ।
यो निर्विवाद तथ्य हो कि कोभिड–१९ महामारीले मानव जातिले पहिलेदेखि नै सामना गरिरहेका गम्भीर समस्या र चुनौतीहरूलाई अझ बढाएको हो ।
शक्तिको दुरूपयोग, शक्ति दुरूपयोगको धम्की, जवरजस्ती एकपक्षीयरूपमा निर्णयहरू कार्यान्वयन तर दयनीय र अनिश्चित स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सुरक्षा नहुनु र संसारमा व्याप्त असमानतामा आधारित विनिमय बजार छ । यो आधुनिक अपारम्परिक युद्धलगायतका युद्धहरूको सङ्केत हो ।
विशेषज्ञहरूले दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब आर्थिक मन्दीको रूपमा यो स्थितिलाई वर्णन गरेका छन् । यो सङ्कट नवउदारवादी नीतिहरूले ल्याएको गरिबीका कारण भताभुङ्ग भएका दक्षिण अफ्रिकी देशहरूले भोग्नुपर्नेमा कुनै शङ्का छैन ।
महामारीका कारण विकासोन्मुख देशहरूको वैदेशिक ऋणमा ठूलो वृद्धि भएको छ । वैदेशिक ऋण पहिलेभन्दा धेरै पटक भुक्तानी गरिएको छ । आर्थिक–सामाजिक उन्नतिको आकाङ्क्षाबाट अलग्ग रहेका वैदेशिक ऋण अस्वीकार गर्नुपर्दछ ।
वर्तमान परिस्थितिमा एउटा न्यायपूर्ण, लोकतान्त्रिक र न्यायसङ्गत अन्तर्राष्ट्रिय मान्यताको स्थापना गर्न आवश्यक छ । एकआपसमा अन्तरसम्बन्धित र विरोधाभासपूर्णरूपले असमान विश्वका विभिन्न जीव प्रजातिहरू बाँच्नको लागि एउटा अन्तर्राष्ट्रिय मान्यता आवश्यक भएको छ ।
कोभिड–१९ महामारीको बेलामा संसारमा व्याप्त असमानताका कारण मानिसले कति मूल्य चुकाउनुपर्छ भन्ने उदाङ्गो भएको छ । महामारीले राष्ट्रिय स्वास्थ्य प्रणाली सुदृढ गर्नु अत्यावश्यक भएको बोध गराएको छ, आधारभूत स्वास्थ्य सेवाहरू सर्वसुलभ र निःशुल्क गर्नुपर्ने तथा आवश्यक स्रोतसाधनहरूको समान वितरण हुनुपर्ने आवश्यकतालाई अझ उजागर गरेको छ ।
विश्वव्यापी सैन्य बजेटको ३८ प्रतिशत जिम्मेवारी लिनसक्ने साम्राज्यवादी संरा अमेरिकाले त्यहाँका एक करोड दश लाख कोरोना सङ्क्रमित जनता र २३८ बढी कोरोनाबाट मरेका जनताको जिम्मेवारी लिन सकेन ।
विकसित भनिएका देशहरूमा कोभिड–१९ को प्रकोप, नयाँ सङ्क्रमणमा वृद्धि र स्वास्थ्य सेवाहरू प्रदान गर्न नसकेको र स्वास्थ्य प्रणाली लाचार भएपछि उत्पन्न समस्याहरूलाई हेर्दा एउटा प्रश्न उठेको छ – हतियारको दौडमा प्रयोग भइरहेको ठूलो रकम किन महामारीसँग लड्न प्रयोग गरिएन ? ती बजेट किन भोक र गरिबीजस्ता पुराना महामारीमा प्रयोग भएनन् ?
कोभिड–१९ को उदयपछि, यो महामारी हुनसक्ने सम्भावनालाई विचार गर्दै समाजवादी क्युवाले एउटा राष्ट्रिय कार्यक्रम बनायो । उक्त कार्यक्रम कार्यान्वयनको लागि क्युवाको स्वास्थ्य प्रणालीले प्रमाणित गुणस्तरका मान्यता, व्यापक दृष्टिकोण र वैज्ञानिक विकासका आधारमा पूरा शक्ति लगायो ।
आज क्युवामा यो कसरी सम्भव भयो भनेर विनम्रताका साथ सारा संसारलाई बताउन सक्छौँ ।
क्युवामा हामीले विज्ञान र प्रविधिमा आधारित सरकारी व्यवस्थापन प्रणाली लागू गरेका छौँ । सो प्रणालीले ज्ञान, उत्पादन र सामाजिक सेवाको आपसी सम्बन्ध बढाएको छ ।
क्युवाको समावेसी, सहभागितामूलक, व्यवस्थित समाजवादी प्रणाली र कोभिड–१९ महामारीसँग जुझ्न जनताले लिएको जिम्मेवारी र व्यवहारका कारण क्युवाले उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।
हामी जे गर्छौँ त्यो क्युवाको समाजवादको व्यवहारिक अभिव्यक्ति हो । क्युवाको सामाजिक प्रणाली हरेक जटिल समस्याहरू समाधान गर्न वा सफलतापूर्वक सामना गर्न सक्षम छ, क्युवाली सरकारको पहिलो प्राथमिकता मानव जातिको हित गर्नु हो ।
सरकारी सेवाहरूको व्यवस्थापनमा विज्ञान तथा प्रविधिको भूमिका महँवपूर्ण हुन्छ । स्वास्थ्य, औषधि उद्योग र बायोटेक्नोलोजी (जीवप्रविधि) को क्षेत्रमा क्युवाले हासिल गरेको उपलब्धिहरूले हामीलाई रोगहरूसँग सफलतापूर्वक सामना गर्न सक्षम बनाएको छ । क्युवाले बनाएका कोभिड–१९ का दुई उमेदवार खोपहरू हाल क्लिनिकल परीक्षणमा चरणमा छन्, विश्व स्वास्थ्य सङ्गठनले दर्ता गरेका ४७ कोभिड–१९ का खोपहरूमध्ये क्युवाका दुई उमेदवार खोपहरू परीक्षण चरणमा छन् ।
मानवतावादी भावनाबाट ओतप्रोत क्युवाका ५३ वटा स्वास्थ्य टोलीले विश्वका ३९ देश तथा क्षेत्रहरूमा गएर कोभिड–१९ महामारीविरुद्धको लडाइँमा सहयोग गरेको छ । ती क्युवाली स्वास्थ्य टोलीले योभन्दा पहिले ५९ देशहरूमा गएर महामारीको समयमा कार्य गरेका थिए ।
संरा अमेरिकाले क्युवामाथि लगाएको आपराधिक र अन्यायपूर्ण नाकाबन्दीबीच क्युवाले महामारीसँग लड्न सफल भएको हो । संरा अमेरिकाले क्युवामाथि लगाएको अमानवीय नाकाबन्दी थप कडा गरेको छ , क्युवाको अन्तर्राष्ट्रिय स्वास्थ्य सहयोगविरुद्ध संरा अमेरिकाले एउटा सनकी र अपमानजनक अभियान चलाएको छ ।
हामी क्युवा र अन्य सार्वभौम देशहरूमाथि संरा अमेरिकी साम्राज्यवादको आक्रमण र मोनरो नीतिलाई पुनः लागू गर्ने घोषणाको घोर निन्दा गर्दछौँ । संरा अमेरिकी हस्तक्षेप र मोनरो सिद्धान्त अन्तर्राष्ट्रिय कानुनविपरीत छ र ल्याटिन अमेरिका र क्यारिबियन शान्ति क्षेत्र घोषणापत्र विपरीत छ ।
यस सभाको उद्देश्य र सिद्धान्तप्रति हाम्रो प्रतिबद्धता कायम छ । हामी बहुपक्षीयता, एकता, मानवीय मर्यादा र सामाजिक न्यायका पक्षपाती हौँ ।
विश्वमा फैलिएको कोभिड–१९ माहामारीलाई नयाँ चेतनाको घण्टीको रूपमा लिनुपर्दछ । यसपटक यो घण्टी हामीले सुन्नुपर्दछ । हो, हामी सक्छौँ । समाजवादी क्युवा यसको उदाहरण हो ।
नेपाली अनुवाद: आक्रोश

Leave a Reply

Your email address will not be published. Required fields are marked *