भर्खरै :

भक्तपुर साना उद्योग क्षेत्रमा पीडितको धर्ना

भक्तपुर, २१ मंसिर । भक्तपुर साना उद्योग क्षेत्रका प्रदूषण फाल्ने टेक्सटाइल, डाइङ्ग, प्लास्टिक र रङ्गरोगन उद्योगबाट पीडित जनताले आइतबार बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म भक्तपुरको उद्योग व्यवस्थापन कार्यालयमा धर्ना दिए । कोभिड–१९ सङ्क्रमणको बेला नेपो नामको टेक्सटाइल उद्योगलाई क्रेन ल्याएर स्वचालित मेसिन राख्न लगाएका र घरेलु उद्योगको नाममा मेमोर्स नामको उद्योगलाई स्वचालित टेक्सटाइल उद्योग उद्योगीबाहेक अर्को व्यक्तिलाई सञ्चालन गराएका, कृति नामका टेक्सटाइल उद्योगलाई डाइङ्गसमेत सञ्चालन गराएका उद्योग व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख बलराम बोगटी कार्यालयमा उपस्थित भएनन् ।
धर्ना कार्यक्रममा पीडित विनोदचरण रायले पीडितहरूको अपिल वाचन गर्नुभयो र जनताको अनुनयलाई व्यवस्थापन कार्यालयले कमजोर ठानेको बताउनुभयो ।
पीडित जनताको अपिलमा सरकारले किसानको जग्गा सस्तोमा अधिग्रहण गरी अर्बपति र खर्बपतिहरूलाई लुट्न लगाएको र गाई मारी बाघ पोस्ने काम गरेको हुँदा ध्वनि, धुवाँ र रसायन प्रदूषण फाल्ने उद्योग हटाई सो जग्गा सम्बन्धित किसानलाई फिर्ता गर्नुपर्ने उल्लेख छ ।
अर्का वक्ता रामकृष्ण प्रजापतिले यस क्षेत्रका प्रदूषण फाल्ने टेक्सटाइल, प्लास्टिक, रङ्गरोगन र डाइङ्ग उद्योगबाट जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सेवाग्राही जनताको स्वास्थ्यमा समेत हानि पु¥याएको बताउनुभयो ।
उपेन्द्र सुवालले ध्वनि, धुवाँ र रसायन प्रदूषण फाल्ने उद्योगहरू काठमाडौँ उपत्यकाबाट हटाइएको उल्लेख गर्दै सरकारको प्रतिबद्धताअनुसार भक्तपुर उद्योग क्षेत्र स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
हस्तकलामा आधारित साना उद्योग क्षेत्रको लागि अधिग्रहण गरिएको जग्गामा ध्वनि, धुवाँ र रसायन प्रदूषण फाल्ने टेक्सटाइल, डाइङ्ग, प्लास्टिक, रङ्गरोगन उद्योग सञ्चालन गर्नु जनतामाथि नै विश्वासघात भएको सहभागीहरूको मत रहेको छ ।
काठमाडौँ उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै यहाँ ध्वनि, धुवाँ र प्रदूषण बढ्यो । जनस्वास्थ्य अधिकारीहरूले भारतको राजधानी दिल्लीमा जस्तै काठमाडौँ उपत्यकामा श्वास–प्रश्वास गर्न गा¥हो हुने दिन नजिकिएकोमा सचेत गराउँदै छन् । प्रधानमन्त्री केपी ओलीकै अघिल्लो सरकारले आ.व. २०७३÷७४ को बजेट वक्तव्यमा काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रहरू स्थानान्तरण गर्ने प्रतिबद्धता ग¥यो । कर्पोरेटहरूको दबाबको कारण प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो कार्यकालको तीन वर्षपछि पनि पहिलो कार्यकालको प्रतिबद्धता पूरा गर्न सकेनन् । यसकारण काठमाडौँ, ललितपुर र भक्तपुर औद्योगिक क्षेत्रको ध्वनि, धुवाँ र रसायन प्रदूषणबाट पीडित जनता यी औद्योगिक क्षेत्रहरू काठमाडौँ उपत्यकाबाहिर स्थानान्तरण गर्न सडक सङ्घर्षमा छन् ।
भक्तपुरको परम्परागत सीपमा आधारित हस्तकलाका उद्योगलाई विकास गर्न नेपाल सरकारले मित्र देश जर्मनीको सहयोगमा विसं २०३६ सालमा भक्तपुर साना उद्योग क्षेत्र स्थापना गरेको हो । अहिले यो उद्योग क्षेत्रमा ध्वनि, धुवाँ र रसायन प्रदूषण फाल्ने स्वचालित टेक्सटाइल, डाइङ्ग, प्लास्टिक र रङ्गरोगनसम्बन्धी मेसिन सञ्चालित छन् । यी उद्योगहरू हटाउन यहाँका पीडित जनता विगत २५–३० वर्षदेखि आन्दोलनमा छन् । आजसम्मका सरकारहरू जनताप्रति जिम्मेवार नहुँदा अर्बपति र खर्बपति कर्पोरेटहरूको स्वार्थ पूरा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *