भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– १७

सन् १९६० को अप्रिल ३० । बारानगरस्थित एउटा कारखानामा आयोजित मजदुरहरूको भेलामा म सहभागी बन्न जाँदै थिएँ । अचानक काङ्ग्रेसको झन्डा बोकेका हुल्लडबाजहरूले म चढेको गाडीमाथि हमला गरे । गाडीको सिसा चकनाचुर बनाए । उनीहरूले गाडीको बोन्नटमा हानेर कुच्याइदिए । मेरा केही सहकर्मीहरू नराम्ररी घाइते भए । मैले चालकलाई गाडी स्थानीय प्रहरी चौकीमा लैजान आग्रह गरेँ । हिंस्रक घेराबाट जोगाएर उनले जसोतसो हामीलाई प्रहरी चौकीमा पु¥याए । मैले चौकीको मुख्य अधिकारीलाई भेटेर आवश्यक सुरक्षा व्यवस्थाको माग गरेँ । समाचार सुनेर व्यारेकपुरको एसडीपीओ घटनास्थलमा तत्कालै पुगे । मैले उनीसँग भित्र कुरा गर्दै गर्दा बाहिर पड्केको वमले कानै बन्द भएको थियो । जे होस्, हामी सुरक्षितरूपमा घर फर्कियौँ ।
जुलाईमा म आसाममा भएको साम्प्रदायिक दङ्गाविरुद्ध विभिन्न कार्यक्रम र गतिविधिमा निकै व्यस्त भएँ । सन् १९६० को जुलाई १६ मा आसामका अल्पसङ्ख्यक जनतामाथि केन्द्रीय र प्रान्तीय सरकारले थोपरेको दमनको विरोधमा हडताल आयोजना ग¥यौँ । आसामको मुद्दाबारे छलफल गर्न पश्चिम बङ्गालको विधानसभामा विशेष अधिवेशन आयोजनाको निम्ति हामीले आह्वान ग¥यौँ । तत्कालीन मुख्यमन्त्री डा. बीसी रोय मेरो प्रस्तावमा सहमत भए । डा. रोयले सो समस्याबारे औपचारिकरूपमा राखेको प्रस्ताव निम्नानुसार छः
“बितेका केही सातायता आसाम हिंसाका घटनाले नराम्ररी प्रभावित बनेको छ । हिंसात्मक घटनाले धनजनको ठूलो क्षति भएको छ । सर्वसाधारण जनता आफ्नो घरबास छोडेर आसाममै अस्थायी शिविर वा पश्चिम बङ्गालमा घरबारविहीन शरणार्थीहरूको रूपमा बस्न बाध्य भएका छन् । आसामको विद्रोहले भारतीय सङ्घमा नयाँ शरणार्थीहरू थपेको छ । उनीहरूले भारतीय संविधान उल्लङ्घन गर्दै भारतीय नागरिकका मौलिक अधिकारमा प्रत्यक्ष हस्तक्षेप गरेका छन् । यस्ता हिंसात्मक घटनाले विशेषतः बङ्गाली जनताको मनमा असुरक्षाभाव उत्पन्न गरेको छ । बङ्गाली जनता आफ्नो जीवनयापनको लागि आसाममा फर्किन नसक्ने भएकोले यो विधानसभा भारत सरकारसमक्ष आसाममा शान्ति सुरक्षा स्थापना गर्न र बङ्गाली जनतालाई त्यहाँ फर्केर सुरक्षितरूपमा काम गर्नसक्ने वातावरण बनाउन आग्रह गर्दछ ।”

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) को पहिलो पोलिटव्युरो


विधानसभामा शरणार्थीका लागि घर बनाइदिने, क्षति भएकाहरूको लागि पुग्दो क्षतिपूर्ति दिने, कानुन र सुव्यवस्था लागू गर्ने र विशेषतः भाषाको मामिलामा भएको निर्णयमा फरक मत राख्ने जस्ता सुझाव पेश गरियो । विधानसभाबाट यस्ता प्रस्ताव पारित भएलगत्तै सो प्रस्ताव भारतका प्रधानमन्त्रीसमक्ष दिल्लीमा पत्राचार गरियो । पश्चिम बङ्गालको जनमत र विभिन्न प्रतिष्ठित सङ्गठन तथा व्यक्तिको व्यापक दबाबमा आसाम सरकारले केही सकारात्मक प्रशासनिक कदम चालेको थियो । त्यसपछि आसाम सामान्य अवस्थामा पुग्यो ।
दुर्भाग्यवश त्यो अन्तरिम चरणमात्र बन्यो । सन् १९६० नटुङ्गिदै आसाममा अर्को हिंसा फैलियो । यो पटक भने बङ्गाली भाषाको विषयलाई लिएर हिंसा भड्कियो । आसाम प्रान्तभरि विशेषतः कचर जिल्लामा बङ्गाली भाषालाई आसामको औपचारिक भाषामा सूचीकरण गर्न माग गर्दै बङ्गाली जनताले आन्दोलन उठाएका थिए । आन्दोलनको पहिलो दिनमा एक जना महिलासहित एघार जना सर्वसाधारणलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । यस्तो आपराधिक कृत्यको विरोधमा सिल्चरमा बन्दको आह्वान भयो । पश्चिम बङ्गाल पनि फेरि त्यो सङ्घर्षमा सामेल भयो । आसाममा हिंसाको विरोधमा आसाम विधानसभाका केही सदस्यहरूले राजीनामा दिएका थिए । कचरमा उठेको आन्दोलन स्वतःस्फुर्त र बहुरङी थियो ।
पश्चिम बङ्गालमा त्यही बेला अखिल भारतीय काङ्ग्रेस सम्मेलन (एआइसीसी)ले दुर्गापुरमा एउटा सम्मेलनको आयोजना गरेको थियो । प्रधानमन्त्रीलगायत सबै केन्द्रीय मन्त्रीहरू सो सम्मेलनमा सहभागी थिए । हामीले वामपन्थी नेताहरूको अलगै एउटा प्रदर्शनको आयोजना ग¥यौँ । कमरेड प्रमोददास गुप्ता र अन्य कम्युनिस्ट नेताहरूले त्यो प्रदर्शनको नेतृत्व गरेका थिए । त्यो प्रदर्शन दुर्गापुर पुगेर काङ्ग्रेसको मञ्च भएरै अघि बढ्ने कार्यक्रम थियो । शिलचरमा पनि पार्टीको आयोजनामा जुलुसको आयोजना गरियो । हाम्रो पार्टीका महासचिव अजेय घोष र संसदका अन्य दुई सांसदहरू रेणु चक्रवर्ती र मोहम्मद इलाएस शिलचरमा भेला भएका ३५ हजार जनताको सभामा सम्बोधन गरेका थिए । यस्ता जनपरिचालनको दबाबमा सङ्घीय गृहमन्त्री लालबहादुर शास्त्री बाध्य भएर आसाम भ्रमणमा निस्के । शास्त्री आफ्नो भ्रमणबाट फर्केलगत्तै आसामका गभर्नरले सिङ्गो कचर जिल्लालाई ‘समस्याग्रस्त क्षेत्र’ घोषणा गरे । बङ्गाली भाषालाई औपचारिक भाषाको रूपमा सूचीकरण गर्ने माग भने अझै पूरा हुन सकेन ।
त्यही समयमा भएका केही प्रमुख राजनीतिक घटनाक्रमबारे चर्चा गर्नु उपयुक्त हुन्छ । मैले गोआको मुक्ति आन्दोलनबारे अघि नै लेखिसकेको छु । सन् १९६१ को डिसेम्बरमा अन्ततः गोआ पोर्चुगाली साम्राज्यवादी शासनबाट मुक्त भयो । डिसेम्बर १७ को मध्यरातमा भारतीय सेनाले पोर्चुगाली साम्राज्यवादले कब्जामा लिइरहेका क्षेत्रमाथि हमला ग¥यो । डिसेम्बर १९ मा पोर्चुगलका सालाजार सेनाले लेफ्टिनेन्ट जनरल जयन्त चौधरीसमक्ष आत्मसमर्पण गरे । चौधरी त्यत्तिबेला गोआमा परिचालित भारतीय सेनाका कमान्डर थिए । यसरी भारतमा साम्राज्यवादी शासन सदाको लागि समाप्त भयो ।
नयाँ माक्र्सवादी–लेनिनवादी पार्टीको स्थापना
सन् १९५४ मा आन्द्र प्रदेशको निर्वाचनमा पराजयपछि हाम्रो पार्टीभित्र गम्भीर सैद्धान्तिक विमति सतहमा देखापरे । काङ्ग्रेस पार्टीको सरकारको वर्गीय चरित्रको मूल्याङ्कन र यो सरकारप्रति पार्टीको धारणाबारे बहस केन्द्रित थियो । पार्टीभित्र त्यत्तिबेला डाँगे समूह (हामी उनीहरूलाई संशोधनवादी भन्थ्यौँ) ले काङ्ग्रेस सरकारलाई राष्ट्रिय पुँजीवादी चरित्र भएको विश्वास गथ्र्यो । उनीहरू सिङ्गो पार्टी आफ्नो लाइनमा सहमत हुनुपर्नेमा जोड दिन्थे । उनीहरू राष्ट्रिय पुँजीपति वर्ग र कामदार वर्गबीच भागबन्डामा सरकार बनाउने पक्षमा थिए । पुँजीपति र कामदार वर्गको संयुक्त नेतृत्व हुनुपर्ने उनीहरूको रणनीति थियो । डाँगे गुट श्रमिक वर्गको एकल नेतृत्वको पक्षमा सरकार स्थापनाको पक्षमा थिएन । अर्कोतिर हामी भारत पूर्णतः ठुला पुँजीपति वर्गको नेतृत्वमा पुँजीवादी जमिनदार वर्गको तखतमा रहेको कुरामा विश्वास गथ्यौंँ । सन् १९६४ मा कोलकोत्तामा पार्टीको सातौँ महाधिवेशन भयो । आ–आफ्ना सैद्धान्तिक अडानबारे महाधिवेशनबारे घनीभूत छलफल भयो ।
सन् १९६१ को विजयवाडा महाधिवेशनमा पार्टीभित्रको बहस पहिलो पटक सार्वजनिक भएको थियो । त्यो महाधिवेशनमा संशोधनवादीहरूले नेहरू सरकार र राष्ट्रिय पुँजीपति वर्गको प्रशंसासिवाय केही गरेन । त्यो महाधिवेशन कम्युनिस्ट पार्टीको महाधिवेशनभन्दा राष्ट्रिय पुँजीवादबारे विचार गोष्ठीजस्तै भएको थियो । पार्टीको राष्ट्रिय परिषद्मा उनीहरू (संशोधनवादी) कै बाहुल्य थियो । अन्तिम समयमा पार्टीको त्यो अवस्था सम्हाल्न महासचिव पदमा अजेय घोष आए । एउटा चरणमा विजयवाडाको पार्टी महाधिवेशन असफल हुने अवस्थामा पुगेको थियो । अजेय घोषले आसन्न सङ्कट चर्किनबाट जोगाएका थिए । पार्टीको राष्ट्रिय परिषद्मा हामीले केही थप स्थान पायौँ । पार्टीको सिङ्गो संरचनामा पुनःसंरचना गरियो र पार्टीमा ‘अध्यक्ष’ पद सिर्जना गरियो । एसए डाँगे पार्टी अध्यक्ष बने भने र्ईएमएस नम्बुदरिपाद महासचिव बने । भारतको अविभाजित कम्युनिस्ट पार्टीको अन्तिम महाधिवेशन त्यही विजयवाडा पार्टी महाधिवेशन बन्न पुग्यो ।

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) को पहिलो सम्मेलन


सन् १९५९, व्यक्तिगतरूपमा मेरो र पार्टीको लागि पनि निकै समस्याको वर्ष ठहरियो । त्यो सङ्कट ६० को दशकसम्म लम्बियो । सन् १९५९ मा भएको चीन–भारत सीमा विवादकै क्रममा काङ्ग्रेसको एउटा हिस्सा र भारतका प्रतिक्रियावादी शक्तिले अन्धराष्ट्रवादको नारा लगाए । दुर्भाग्यवश डाँगे समूहले पनि त्यही लयमा लय मिलाए । सिङ्गो भारत युद्धको उन्मादमा चुर्लुम्म डुब्यो । हामी शान्तिपूर्ण वार्ता र छानबिनमार्फत दुई देशबीचको शत्रुताको आगो निभाउनुपर्ने हाम्रो मत थियो । विडम्बना ¤ हामी समस्याको शान्तिपूर्ण समाधानको वकालत गर्दै गर्दा हामीमाथि गद्दारको बिल्ला लाग्यो ।
ती दिनहरूमा काङ्ग्रेसका पार्टी कार्यकर्ताहरू हाम्रो पार्टी कार्यालयअघिबाट जुलुस निकाल्थे । कोलकोत्ताको लोअर सर्कुलर रोड ६४ ए स्थित हाम्रो कार्यालयअघि प्रदर्शनहरूको आयोजना गरिन्थ्यो । म अझै पनि सम्झन्छु, कमरेड प्रमोददास गुप्ता, सरोज मुखर्जी, निरञ्जन सेन गुप्तासँगै म कसरी प्रदर्शनकारी काङ्ग्रेसजनबाट हाम्रो पार्टी कार्यालय जोगाउनतिर लाग्थ्यौँ । सन् १९६२ को अक्टोबरसम्ममा अवस्था थप तनावपूर्ण बनिसकेको थियो । सङ्कटकालको घोषणा भयो । डाँगे समूहले गिरफ्तार गराउने हेतुले भारतको गृहमन्त्रालयमा पार्टीभित्रका ‘चीन पक्षधर’ मानिसहरूको नामावली बुझाएको हामीले गोप्य स्रोतबाट सूचना प्राप्त ग¥यौँ । कोलकोत्तामा मानिसहरूले मेरो पुत्लासमेत दहन गरे । कालीघाटमा एउटा पसल थियो । त्यो पसलको काम नै चाओ एन लाई र मेरो पुत्ला आपूर्ति गर्नु थियो । एक दिन हाम्रो पार्टी कार्यालयमाथि हमला भयो । त्यस्तै पार्क लेनमा रहेको ‘स्वाधीनता’ पत्रिकाको कार्यालयमा पनि हमला भयो ।
त्यही बेला सीमा विवाद अझ सघन बन्यो । चिनियाँ सेना आसामको सीमा बोमदिलासम्म अघि बढे । त्यही बिन्दुमा उनीहरू रोकिए अनि एकपक्षीयरूपमा चिनियाँ फौज आफ्नो भूमिमा फर्के ।
चिनियाँ फौज बोमदिलामा पुग्दा पश्चिम बङ्गालमा डाँगे समूहका केही सदस्यले ‘स्वाधीनता’ पत्रिकाको सम्पादकमा सरोज मुखर्जीको सट्टा सोमनाथ लहिरीको नाम प्रस्ताव गरे । खासमा उनीहरूले पत्रिकामाथि आफ्नो पूर्ण नियन्त्रण जमाउन खोजेका थिए अनि काङ्ग्रेस पक्षधर नीतिलाई बढावा दिन उपयोग गर्न चाहन्थे । तर, उनीहरूको प्रस्ताव ठाडै अस्वीकार भयो । प्रहरी र गुप्तचर विभागका मानिसहरूले हाम्रा नेताहरू विशेषतः प्रमोद दास गुप्ता, सरोज मुखर्जी, हरिकृष्ण कोनर, निरञ्जन सेन गुप्ता र ममाथि लगातार निगरानी राखेका थिए । म जहाँ गए पनि प्रहरीले मलाई पछ्याइरहेको हुन्थ्यो । प्रहरीको गाडीले मलाई लगातार पिछा गर्ने विषयमा म अभ्यस्तजस्तै भइसकेको थिएँ । अन्ततः सन् १९६२ को नोभेम्बर २१ मा मलाई गिरफ्तार गरियो । मलाई प्रहरीले गिरफ्तार गरिएको रात म मेरा मित्र स्नेहांशु आचार्यको घरमा रातिको खाना खाँदै थिएँ । भित्र खाना खाँदै गर्दा मलाई बाहिर प्रहरीको गाडी तैनाथ रहेको र ममाथि निगरानी गरिरहेको खबर पाएँ । स्नेहांशुको घरबाट बाहिरिंदै गर्दा उनले भने,“आज राति तपार्इँलाई गिरफ्तार गर्नेजस्तो देखिन्छ ।” उनको यो अनुमान सही निस्कियो ।

भुपेश गुप्ता तिनाली सम्मेलनमा सहभागी नभए पनि उनले पनि हामीसँगै परिषद् बैठकको बहिष्कार गरे । बहिष्कार गर्ने समूहका सदस्यहरूले जारी गरेको वक्तव्यमा प्रस्ट शब्दमा आफूहरू बहुमत अर्थात् डाँगे समूहले पेश गरेको राजनीतिक प्रतिवेदन स्वीकार्न नसक्ने प्रस्ट पा¥यो । डाँगे समूहको राजनीतिक विचारधारा वर्ग समन्वयकारी भएको हाम्रो मत थियो । त्यस्तो अवस्थामा ३२ जना सदस्यहरूले भारतको तिनालीमै सन् १९६४ को जुलाई ७ देखि ११ सम्म सम्मेलनको आयोजना ग¥यो । सम्मेलनमा एक लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै एक सय ६४ जना प्रतिनिधि सहभागी थिए । सम्मेलनको मूल मुद्दा नै पार्टीभित्रको विद्यमान सङ्कटको समीक्षा गर्दै अघिको बाटो तय गर्नु थियो ।

म मानसिकरूपमा पक्राउ दिन तयार भइसकेको थिएँ । बिहान तीन बजे हिन्दुस्थान पार्कस्थित मेरो घरको ढोकामा ठूलठूलो स्वरले ढकढकाइयो । एक हुल प्रहरीहरू मेरो घरभित्र आए र मलाई पक्राउ गरे । अर्को दिन मलाई हाम्रा महत्वपूर्ण नेताहरू मुजफ्फर अहमेद, प्रमोददास गुप्ता, गणेश घोष, हरिकृष्ण कोनर, निरञ्जन सेन गुप्ता, सरोज मुखर्जी, पी. सुन्दरैया, कृष्णपदा घोषलगायतलाई पनि गिरफ्तार गरिएको जानकारी पाएँ । प्रहरी चौकीतिर लाँदै गर्दा प्रहरी अधिकारीहरूले मलाई चिनियाँ फौजबाट गोलाबारी रोकिएको र त्यसकारण हामीलाई लामो समय जेलमा नराखिने विश्वास दिलाए । तर, उनीहरूको कुरा मिलेन । चीनसँगको द्वन्द्व रोकियो, पन्ध्र दिनभित्र सैनिक सम्झौता भयो । तर, हामीलाई भने पूरै एक वर्ष कारागारमा कोचियो ।
म प्रेसिडेन्सी कारागारमा कैद छँदा मेरो बुबाको निधन भयो । मेरी श्रीमतीले पार्टी महासचिवसमक्ष बुबाको अन्तिम संस्कारको लागि मेरो रिहाइको लागि आग्रह गरिदिन अनुरोध गरिन् । धेरै कर गरेपछि मलाई केही घण्टाको निम्ति घरमा जानेसम्म छुट दिइयो । त्यो निकै असजिलो समय थियो । म जहाँ गए पनि प्रहरीले मलाई छोडेको थिएन । प्रहरीकै अघि मैले मेरी श्रीमती, आफन्तजन र मित्रहरूसँग कुराकानी गरेँ । सन् १९६३ को डिसेम्बरमा मलाई अन्ततः रिहा गरियो ।
त्यस परिस्थितिमा पार्टीभित्र संशोधनवादी लाइन निर्मूलन गरी नयाँ कम्युनिस्ट पार्टी स्थापनाको खाँचो अनुभव भयो । यसको निम्ति सन् १९६४ मा आन्द्र प्रदेशको तिनाली सहरमा भएको सम्मेलनले महत्वपूर्ण भूमिका खेल्यो । पार्टीको राष्ट्रिय परिषद्मा बहुमत भएको डाँगे समूहले आफ्नो सङ्ख्यात्मक बहुमतलाई संशोधनवादी नीति लाद्न दुरुपयोग गर्न खोज्यो । पार्टी एकता अक्षुण्ण राख्न विगतमा हामीले राखेका प्रस्तावहरूलाई उनीहरूले सधैँ बेवास्ता गर्दै गए । बरु उनीहरूले आफ्ना मतमात्र थोपर्न खोजिरहे । जसले पार्टीभित्रको विभाजन अझ फराकिलो बनाउँदै लग्यो ।
पार्टी एकताबारे राष्ट्रिय परिषद्मा मात्र छलफल हुनसक्ने घोषणा गरेको डाँगे समूहका नेताहरूसँगै ईएसएस नम्बुदरिपाद, प्रमोददास गुप्ता, हरिकिशन सिंह सुरजित र मैले भेटेर कुराकानी ग¥यौँ । राष्ट्रिय परिषद्को बैठक बोलाइयो । पार्टीका ३२ जना सदस्यहरू परिषद् बहिष्कार गरेर बैठकस्थलबाट बाहिरिए । एउटा आधिकारिक वक्तव्य जारी गरी आफूले बहिष्कार गर्नुपर्नाको कारण खुलस्त बनाए । भुपेश गुप्ता तिनाली सम्मेलनमा सहभागी नभए पनि उनले पनि हामीसँगै परिषद् बैठकको बहिष्कार गरे । बहिष्कार गर्ने समूहका सदस्यहरूले जारी गरेको वक्तव्यमा प्रस्ट शब्दमा आफूहरू बहुमत अर्थात् डाँगे समूहले पेश गरेको राजनीतिक प्रतिवेदन स्वीकार्न नसक्ने प्रस्ट पा¥यो । डाँगे समूहको राजनीतिक विचारधारा वर्ग समन्वयकारी भएको हाम्रो मत थियो । त्यस्तो अवस्थामा ३२ जना सदस्यहरूले भारतको तिनालीमै सन् १९६४ को जुलाई ७ देखि ११ सम्म सम्मेलनको आयोजना ग¥यो । सम्मेलनमा एक लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै एक सय ६४ जना प्रतिनिधि सहभागी थिए । सम्मेलनको मूल मुद्दा नै पार्टीभित्रको विद्यमान सङ्कटको समीक्षा गर्दै अघिको बाटो तय गर्नु थियो ।
नेपाली अनुवादः बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *