भर्खरै :

नेपाल क्रान्तिकारी डकर्मी सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको परिचयात्मक कार्यक्रम सम्पन्न

नेपाल क्रान्तिकारी डकर्मी सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको परिचयात्मक कार्यक्रम सम्पन्न

भक्तपुर, २० जेठ । नेपाल क्रान्तिकारी डकर्मी सङ्घको १३ औँ बृहत् डकर्मी भेलाबाट निर्वाचित पदाधिकारीहरूको परिचयात्मक तथा मार्गदर्शन कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिला र पुरुषको बराबर सहभागिता तथा सहकार्यबाट मात्र साङ्गठनिक तथा कुनै पनि कार्य सफल बन्न सक्ने बताउनुभयो ।
सङ्गठनमा आबद्ध भएपछि अनुशासनको पालना गर्दै अध्ययनशील बन्नुपर्ने र सङ्गठनात्मक गतिविधिमा सक्रिय रहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले डकर्मी र सिकर्मीहरूको प्रमाणपत्र नभए पनि समाज निर्माण गर्ने इन्जिनियर तथा प्राविधिक भएको बताउनुभयो ।
अनियमित निर्माण कार्य रोक्न डकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले भक्तपुरलाई मौलिक र व्यवस्थित सहरका रूपमा विकास गर्न डकर्मीहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घका अध्यक्ष रमेश दुुमरूले सङ्घले विगतभन्दा अझ राम्रो काम गर्दै सङ्गठनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सङ्घका सदस्यहरूले सङ्गठनलाई सहयोग गर्नुपर्ने, अनुशासन, शिष्टता र व्यवहारिक ज्ञानलाई आत्मसात् गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले दुईतिहाइ मत प्राप्त गर्नु मात्र ठुलो उपलब्धि नभई जनताको हितमा नीति निर्माण गर्न सक्नु महत्वपूर्ण हुने बताउनुभयो ।
पछिल्लो निर्वाचनमा अपेक्षित सक्रियता नपुग्दा राम्रो परिणाम आउन नसकेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले विद्युत्मा समेत मूल्य अभिवृद्धि कर लगाएको गलत छ भन्नुभयो ।
जनतालाई आधारभूत सेवा सहज र सुलभ गर्नुपर्ने राज्यको न्यूनतम् दायित्व भएको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका अध्यक्ष विष्णुराम दुमरूले वडा–वडाका डकर्मी सङ्घलाई सक्रिय बनाउनुपर्ने आवश्यकता औँल्याउँदै महिलाहरूका लागि समेत डकर्मी तालिम सञ्चालन गर्ने, डकर्मीहरूलाई सूचिकृत गरी सङ्गठित रूपमा अघि बढाउनु जरुरी भएको बताउनुभयो ।
उपाध्यक्ष उपेन्द्र सुवालले पार्टीको सिद्धान्त र विचारलाई राम्रोसँग बुझेर अघि बढ्नुपर्ने बताउनुभयो ।
सङ्गठनमा आबद्ध सदस्यहरू अनुशासित, वैचारिक रूपमा स्पष्ट र सङ्गठित हुनुपर्नेमा जोड दिँदै उहाँले पेसागत काम र सङ्गठनात्मक गतिविधिलाई समानान्तर रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सङघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको परिचय गराउनुका साथै आगामी कार्ययोजना, सङ्गठन सुदृढीकरण र पेसागत विकासका विषयमा छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *