सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
नेपालको संविधान २०७२ को धारा २९० उपधारा (१) मा “गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भइरहेको किसान एवम् गुठीको अधिकार सम्बन्धमा सङ्घीय संसद्ले आवश्यक कानुन बनाउने छ ।” भन्ने उल्लेख छ । तर, संविधानको यो भावनाअनुरूप गुठी जग्गा जोत्ने किसानको पक्षमा कानुन बनाउने साहस अहिलेसम्मका सरकारहरूले गर्न सकेनन् ।
२०७६ वैशाख १६ गते विद्यमान गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न भनेर ‘गुठी विधेयक, २०७५’ संसद्मा दर्ता भयो । तर, बचेखुचेका केही सामन्त र मठाधीशहरूको उक्साहटमा भएको आन्दोलनले यसलाई पारित हुन दिएन । देशका अधिकांश सञ्चारमाध्यमहरूले पनि सामन्त र शोषकहरूकै पृष्ठपोषण गरे । सरकारले पनि मठाधीशहरूको सामु लग्लग् खुट्टा कमायो । अन्ततः गुठी जग्गा जोत्ने किसानहरूको आशा निराशामा परिणत भयो ।
गुठी संस्थान ऐन २०३३ मा ‘गुठी जग्गा सामाजिक तथा परोपकारी कार्यको लागि स्थापना भएको’ भन्ने उल्लेख छ । तर, गुठी संस्थानले उल्लेखनीयरूपमा कुनचाहीँ सामाजिक र परोपकारी काम ग¥यो ? त्यसको महसुस जनताले गर्न सकेका छैनन् । गुठी संस्थानले किसानसँग उठाएको रकम अहिले पनि सामन्तहरूको पोल्टामा जान्छ । संस्कृति, पर्व बचाउने नाउँमा केही हजार रकम, एक दुई ओटा बोका, कुखुरा, अन्डा गुठीयारलाई दिएर किसानबाट उठेको लाखौँ रकम टाठाबाठाले हजम पारेका छन् । सोझा सिधा किसानलाई थाङ्नामा सुताउने काम अहिले पनि भइरहेको छ ।
केही बुद्धिजीवी भनाउँदा र गुठी संस्थानबाट खाइपाई आएकाहरूले “हाम्रो पूर्वजहरूले आफूले चिताएको कामको लागि आवश्यक स्रोत साधन जुटाउन हाम्रा जग्गा राखेर गुठी स्थापना गरेका हुन्” भनेर वकालत गर्छन् । केही समय अघि ‘सम्पदाविद्’ गोविन्द टन्डनले ‘गुठी सामन्तवादको अवशेष नभई वैदिक साम्यवादबाट जन्मिएको’ बताए । उनले गुठी “राज्यले दिएको होइन, दाताले सम्पदा र संस्कृति जोगाउन दिएको चिज हो” पनि भन्न भ्याए । के गुठी जग्गा उनका पिता पुर्खाले जन्मदै बोकेर आएका हुन् र ? ‘साम्यवाद’ भन्ने हो भने गुठी जग्गालाई एउटा वर्गको शोषणको आधार किन बनाइयो ?
इतिहासलाई हेर्ने हो भने लिच्छवी कालदेखि नै राज्यले भूमिमाथिको अधिकार मठमन्दिर वा पाञ्चाली र गोष्ठीजस्ता स्थानीय समिति र समुदायलाई दिने क्रममा गुठी व्यवस्थाको प्रारम्भ भएको देखिन्छ । लिच्छवीकालमा ‘राजधर्म’ को भावनाले गुठी राखियो । मल्लकालमा पनि ‘धार्मिक आदर्श’ को रूपमा गुठी राख्ने प्रचलन सुरु भएको भनिन्छ । संस्कृत भाषाको ‘गोष्ठी’ बाट ‘गुठी’ भएको हो । यसको ‘समूह’ भन्ने अर्थ लाग्दछ । तर, पछि टाठाबाठा र धर्मको नाउँमा शोषण गर्ने शोषकहरूले यसलाई कमाई खाने भाँडोको रूपमा स्थापित गरे । शासनमा आफ्नो पहुँच पु¥याएपछि गुठी जग्गा शासक वर्गले किसानलाई शोषण गर्ने हतियार बन्यो ।
धर्म, परम्परा, संस्कार, संस्कृति जोगाउने नाउँमा भत्ता, उपदान लगायतका करोडौँ रकम गुठीका कर्मचारीहरूको लागि खर्च भइरहेको छ । पुजारी र महन्तहरूले पनि ‘खान्गी’ को रूपमा करोडौँ रकम हजम पारेका छन् । तर, ऐतिहासिक सम्पदा, संस्कार, संस्कृति, परम्परा संरक्षण भएको खोई ? गुठी संस्थानका अधिकारीहरूकै संलग्नतामा ऐतिहासिक पोखरी, धारा, पाटी, पौवा, मठमन्दिरका जग्गाहरू भूमाफियाहरूको हातमा पुगेका छन् । यसको पछिल्लो उदाहरण काठमाडौँ, थंवहीस्थित कमलपोखरीमा बनेको ‘छायाँसेन्टर’ हो । भक्तपुर, चाँगुनारायण ४, झौखेलमा रहेको ऐतिहासिक ‘कमलपोखरी’ पनि व्यक्तिको नाउँमा पु¥याउने गुठी संस्थानका भ्रष्ट कर्मचारीहरू नै हुन् ।
धार्मिक मान्यताअनुसार पूजाआजा, ध्यान तपस्या र आध्यात्मिक सन्देश दिन पुजारी र महन्तहरूको व्यवस्था गरिएको बुझिन्छ । तर, तिनै पुजारी र महन्त गुठी जग्गा दोहन गर्न र मठमन्दिर ध्वस्त पार्न उद्यत छन् । कतिपय महन्तहरूले गुठीको जग्गा आफ्नो नाउँमा ल्याएर बेचविखन गर्ने र मठमन्दिरमा भएका धन सम्पत्तिसमेत सिध्याउने खेलमा लागेको समाचार प्रकाशित भएकै हो । जनकपुर बिरखकुटीस्थित राधाकृष्ण मठका महन्त बैकुण्ठदास मुर्ति बेचेको, कर्तव्य ज्यान, नक्कली नागरिकता, किर्ते हस्ताक्षर लगायतका मुद्दामा फसेको समाचार केही समय अगाडि प्रकाशित भयो । आपराधिक क्रियाकलापमा जनकपुरलगायत देशका अन्य ठाउँका महन्तहरू पनि मुछिएको समाचार पटक पटक प्रकाशित भइरहेकै छ । यसर्थ पुजारी, मठाधीश, महन्तहरूले मात्र धर्म, परम्परा, संस्कार, संस्कृति जोगाउँछन् भन्ने कुरा गलत हो । यो केही व्यक्तिहरूको मात्रै पेवाको विषय होइन । यो सारा जनताको भावनाको कुरा हो । प्रजातन्त्रमा मठमन्दिर, पर्व, संस्कृति, ऐतिहासिक सम्पदा जनताको प्रतिनिधिद्वारा संरक्षण हुनुपर्दछ ।
मठमन्दिर, देवालयमा वर्षेनी करोडौँ भेटीघाटी उठ्ने गर्दछ । त्यसरी उठ्ने भेटीघाटी सार्वजनिक सम्पत्ति हो । त्यो कसैको एकलौटी हुन सक्दैन । तर, त्यसको लेखाजोखा कसले राख्ने ? यसतर्फ सरकारको ध्यान जान सकेको छैन । सर्वसाधारणले पनि यसमा चासो लिनु जरुरी छ । केही अपवादबाहेक अहिलेसम्म त त्यसरी उठेका भेटीघाटी मठमन्दिरमा काम गर्ने पुजारी र महन्तहरूले हजम पारेका छन् । यसर्थ, यस्ता भेटीघाटीलाई पनि व्यवस्थित गर्दै मठमन्दिर, जात्रा, पर्व, संस्कार, संस्कृति सञ्चालनको जिम्मा अब स्थानीय तहलाई दिनुपर्छ भनेर सचेत नागरिकले आवाज उठाउन थालेका छन् । सारा जनताको आस्थाको केन्द्रलाई केही व्यक्तिहरूको मुठ्ठीमा दिनु हुन्न भनेर सचेत नागरिकले भन्दै छन् । किसानको रगत, पसिनाबाट मात्रै धर्म, संस्कृति, सम्पदा जोगाउनुपर्छ भन्ने मानसिकता अब बिस्तारै त्याग्नु जरुरी छ ।
२०२९ सालमा गुठी जग्गामा मोहियानी हक लाग्न थालेको हो । किसानहरूले २०४१ सालदेखि केही रकम सरकारी कोषमा जम्मा गरेपछि गुठी जग्गा आफ्नो बनाउन पाएका हुन् । तर, त्यतिबेला सबै किसान सचेत थिएनन् । अलि टाठा र केही रकम भएका किसानहरूले उतिबेलै गुठी जग्गा रैतानीमा परिणत गराई ल्याए । कति किसानहरूको जग्गा रैतानी गर्ने नाउँमा दलालहरूले खाइदिए । रकम जुटाउन नसकेका र उक्त प्रावधानबारे जानकारी नभएका सोझा किसानहरूले रैतानी गर्न सकेनन् । अहिलेसम्म मोहीकै रूपमा रहन बाध्य छन् । सर्वोच्च अदालतले २०६४ माघ १० मा गुठी संस्थान ऐन, २०३३ को जग्गा रैतानी लगायतका केही विषय तत्कालीन संविधानसँग बाझिएको भनेर फैसला ग¥यो । तत्पश्चात् किसानले गुठी जग्गा रैतानीमा परिणत गर्न पनि पाएनन् । गुठी जग्गा जोत्ने किसानहरूले अहिलेसम्म पनि जग्गाको पूर्ण स्वामित्व पाउन सकेका छैनन् । अझै पनि प्रति वर्ष गुठी संस्थानलाई चर्को मूल्य तिरेर किसानहरूले जग्गा जोतिरहेका छन् । गुठी जग्गा जोत्ने किसानहरूले देशमा प्रजातन्त्र र गणतन्त्र आएको महसुस गर्न पाएका छैनन् ।
यो देशको संस्कार, संस्कृति, परम्परा, ऐतिहासिक सम्पदा सम्पूर्ण नेपाली जनताको हो । सम्पूर्ण नेपाली जनताले यसबाट लाभ लिएका हुन्छन् । तर, यसलाई जोगाउने नाउँमा आर्थिक भार गुठी जग्गा जोत्ने किसानहरूको थाप्लोमा मात्रै किन ?
गुठी जग्गा किनबेच गर्नुपर्दा पनि रैकर जग्गाभन्दा कम मूल्य निर्धारण गरिन्छ । घर निर्माण तथा अन्य व्यवसाय गर्ने मनसायले बैङ्कमा धितो राख्न खोज्दा पनि बैङ्कले लिन मान्दैन । गुठी जग्गामा लाखौँ किसानहरूले पसिना बगाए । तर, त्यसको प्रतिफल अझै पनि शोषकहरूले नै खाइरहेका छन् ।
गुठी अन्तर्गतका जग्गामा किसानले घर निर्माण गर्नुपरे गुठी संस्थानसँग प्रति स्क्वाएर रु. १४ का दरले दस्तुर तिर्नुपर्छ । स्थानीय तहमा पनि सोहीबमोजिम नक्सा पास दस्तुर तिर्नुपर्छ । यस्तो बन्दोवस्तले गुठी जग्गा जोत्ने किसानहरू आजित छन् । उनीहरू प्रश्न गर्दै छन्– गुठी जग्गा जोत्ने किसानलाई दोहोरो मार किन ?
गरिब किसानको मर्का बुज्नेकस्ले?गूठीको जग्गा किसान ले खनजोत गरेर हेरचाह गरेर आफुनखाइ भयेपनी गुठिलाइ बुजाको छ।नबुजाय डबल डबल बड्दैजान्छ।अन्नबाली असिना ले खावोस वा बन्नेजन्तु ले खावोस गूठी को बुझाउनै पर्छ।यो गुठीको नियम चाहिँ गरिब मार्न गूठी को हालेमाले हरुलाइ पोस्याउन बनाको जस्तो लाग्यो।संबंधित निकाय को ध्यानाकर्षण होस गरिब गूठीपिडित ले न्याय मिलोस।