भर्खरै :

कोभिड–१९ विरुद्धको खोप र गरिब देशमा आपूर्ति

कोरोना भाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा सङ्क्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण सङ्क्रमणको दर दिनानुदिन बढेको बढ्यै छ ।
विश्व स्वास्थ्य सङ्गठन, जोन्स हप्किन्स विश्वविद्यालयजस्ता संस्थाले कोरोना सङ्क्रमण र त्यसले पु¥याएको मानवीय क्षतिको विवरण दैनिक अद्यावधिक गरिरहेका छन् । सार्स प्रजातिकै नयाँ कोरोना भाइरस मानवमा देखिएको झण्डै एक वर्ष पुग्न लागेको छ, र विश्वभर यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या शनिबारसम्म झण्डै ७ करोड १४ लाख पुगिसकेको छ भने झण्डै १६ लाख व्यक्तिको भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । अझै पनि विश्वभर दैनिक १२ हजारको हाराहारीमा कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।
यो भयावह अवस्था नै हो । हुन त, सन् १९२० को स्पेनिस फ्लुबाट युरोप, अमेरिकासहित विश्वभर करिब २ करोडदेखि ५ करोड मानिसको मृत्यु भएको थियो । इबोला, एचआईभी एड्स, सार्स, प्लेग, क्षयरोगजस्ता महामारीले पनि धेरै मानिसको ज्यान लिएकै छन् । तर पछिल्लोपटक तिब्र गतिमा विश्वभर फैलिएको नयाँ कोरोना भाइरसले मानिसका सम्पूर्ण दैनिक व्यवहारका साथै अर्थतन्त्र नै चौपट पारिरहेको छ ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि साबुनपानीले नियमित हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र घुमफिर गर्दा वा भेटघाट गर्दा कम्तीमा २ मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको छ । यो विधि कोरोना भाइरसको फैलिने क्षमता र प्रकृतिलाई विचार गरी सिफारिस गरिएको हो । अर्कोतर्फ मानिसको भिडभाड रोक्न कैयौँ सरकारहरूले निकै कठोर मानिने लकडाउन पनि गरेका थिए, र अझै पनि कतिपय देशमा यो क्रम जारी छ । चीनको उहानमा व्यापक रूपमा कोरोना फैलिएको बेला कठोर लकडाउन, उपचार र सचेतना कार्यक्रम चलाइएको थियो ।
तर लकडाउन, सामाजिक दूरीजस्ता उपायले मात्र कोरोना भाइरसलाई परास्त गर्न सकिने सम्भावना निकै कम देखिएको वैज्ञानिकहरूले बताएका छन् । यसका लागि प्रभावकारी उपचार आवश्यक देखिइसकेको छ । तर उपचार त्यति सजिलो भने देखिएको छैन । विश्वभरका वैज्ञानिकहरू अहिले कोरोना भाइरस ठीक गर्न विभिन्न औषधि, खोप र थेरापीको खोज र अनुसन्धानमा तल्लिन छन् । हालसम्मका यी प्रयत्नहरू शरीरमा कोरोना भाइरससँग लड्न सक्ने एन्टीबडी अर्थात् रोगप्रतिरोधात्मक क्षमता निर्माणमा केन्द्रित देखिएका छन् । हाइड्रोक्सीक्लोरोक्वीन, रेमडेसिभर, एजिथ्रोमाइसिनजस्ता औषधिको प्रयोग एकातिर गरिएको छ भने प्लाज्माथेरापी पनि उपयोगमा ल्याइएको छ । तर, यी दुवै विधि पूर्णरूपमा सफल नभएको विश्व स्वास्थ्य सङ्गठनले बताउँदै आएको छ ।
यही खोजको क्रममा विश्वका ठुल्ठूला औषधि निर्माता कम्पनी, विश्वविद्यालय र अनुसन्धान संस्थाहरू खोप विकासमा लागेका छन् । अमेरिकी कम्पनी मोडर्ना, अमेरिकी–जर्मन साझेदारीको फाइजर–बायोएनटेक, बेलायतको अस्ट्राजेनिका–अक्सफोर्ड, रुसको स्पुतनिक भी, चीनको सिनोफार्म र क्यानसिनो तथा भारतको सिरोम फर्मास्यूटिकल्स (कोभिसिल्ड) खोप निर्माणमा निकै अगाडि बढिसकेका छन् । फाइजर र मोडर्नाका खोपहरू ९५ प्रतिशतसम्म असरदार रहेको दाबी गरिएको छ । सुरुमै आफ्नो खोप सफल रहेको दाबी गर्ने रुसको स्पुतनिकका बारेमा विस्तृत जानकारीको अभाव रहेको बताइन्छ ।
हाल सर्वाधिक चर्चामा फाइजरकै खोप छ । यस खोपलाई बेलायतको औषधि प्रशासन निकायले मान्यता दिएर आम जनतालाई दिन थालिसकेको छ । पहिलो चरणमा वृद्धवृद्धा र स्वास्थ्यकर्मीलाई यो खोप दिन थालिएको छ । फाइजरको खोपलाई मान्यता दिने बेलायत पहिलो देश हो । यो खोपलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले चाँडै अनुमति दिने विश्वास गरिएको छ । बिहीबारमात्र एफडिएमा आबद्ध अमेरिकी विज्ञहरूको समूहले फाइजरको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरिसकेको छ । साधारणतया विज्ञको सिफारिस भएपछि एफडीएले खोप अनुमति दिने प्रचलन छ । अमेरिकामा कोरोनाको दोस्रो लहर सुरु भएसँगै दैनिक सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या तीब्र गतिमा बढेकाले पनि खोपको अपरिहार्यता बढेको हो । अमेरिकामा तीन दिनको अवधिमा ९ हजारभन्दा बढी व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यो सहित अमेरिकामा मृत्यु हुनेको सङ्ख्या तीन लाख २ हजार नाघेको छ भने सङ्क्रमितको सङ्ख्या पनि झण्डै १ करोड ६३ लाख भइसकेको छ ।
यस्तै कहालीलाग्दो अवस्था ब्राजिल, भारत, मेक्सिको, युरोपेली मुलुकहरू समेतका अन्य मुलुकमा पनि छ । यही परिस्थितिलाई विचार गरी निकै प्रभावकारी मानिएको फाइजरका खोप भिœयाउन क्यानडा, बहराइन, साउदी अरेबिया र मेक्सिकोले सहमति दिइसकेका छन् । मेक्सिकोमा यही डिसेम्बरको तेस्रो साताबाट खोप लगाउन सुरु गरिने मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले घोषणा गरिसक्नुभएको छ । मेक्सिकोले फाइजरका साथै चीनको क्यानसिनो खोप करिब ३ करोड ५० लाख डोज खरिद गरेको छ । युरोपेली युनियनको औषधि प्रशासन निकायले पनि फाइजरसहित अन्य खोपका बारेमा विचारविमर्श गरिरहेको बिबिसीले जनाएको छ ।
भारतमा सेरम इन्स्टिच्यूट अफ इन्डियाले कोभिसिल्ड नामको खोप विकास गरेर अन्तिम क्लिनिकल परीक्षण भइरहेको जनाएको छ । भारत सरकारको अनुमति पाएसँगै यस कम्पनीले करिब ४० करोड डोज खोप भारत सरकारलाई उपलब्ध गराउने सेरमका प्रमुख कार्यकारी अदर पुनावालाले बताउनुभएको छ ।
चीनको सिनोफार्मले विकास गरेको सिनोभ्याकले ८६ प्रतिशतसम्म प्रभावकारी काम गरेको युनाइटेड अरब इमिरेट्स (युएई) को स्वास्थ्य मन्त्रालयले जनाएको छ । युएईमा सिनोभ्याकको क्लिनिकल परीक्षण गत जुलाईबाट गरिएको र तथ्याङ्क विश्लेषणका आधारमा खोप ८६ प्रतिशत असरदार देखिएको युएईको भनाइ छ । सिनोफार्मको सिनोभ्याक खोप आम सर्वसाधारणलाई लगाउन इन्डोनेसिया पुगिसकेको छ । जनवरीसम्ममा अरू १८ लाख डोज इन्डोनेसिया पुग्ने इन्डोनेसिया सरकारले जनाएको छ । यस्तै टर्की, ब्राजिल र चिलीमा पनि चिनियाँ खोप पठाइएको छ । चीनमा हाल चारवटा कम्पनीले विकास गरेका पाँच किसिमका खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण चलिरहेको छ । सिनोफार्मका अध्यक्ष लिउ जिङझेनले दर्जनौँ मुलुकले सिनोफार्मका खोप खरिद गर्न अनुरोध गरिरहेको जानकारी दिनुभएको सिएनएनले जनाएको छ । यस कम्पनीमा सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब डोज उत्पादन गर्ने क्षमता रहेको अध्यक्ष जिङझेनले बताउनुभएको छ ।
फाइजर र मोडर्नाको तुलनामा सबैजसो चिनियाँ खोपहरू कम चिसोमा राख्न सकिने र त्यसलाई धेरैजसो विकासशील मुलुकहरूमा सहजै आपूर्ति र वितरण गर्न सकिने बताइएको छ । फाइजर (माइनस ७५ डिग्री) र मोडर्ना (माइनस २० डिग्री) को हाराहारीमा राख्नुपर्ने हुन्छ । तर चिनियाँ खोपहरू, भारतको कोभिसिल्ड र अस्ट्राजेनिका–अक्सफोर्डका खोपहरू २ देखि ५ डिग्री सेल्सियसको हाराहारीमा राख्न सकिने छ ।
कोरोना भाइरस महामारीसँग जुध्न हाल निर्माणको अन्तिम चरणमा रहेका खोपहरू विश्वभरका मुलुकहरूमा सहज र समानुपातिकरूपमा वितरण हुनुपर्ने जिकिर विश्वका नेताहरू र अभियन्ताहरूले जोडदाररूपमा आवाज उठाउन थालेका छन् । बिबिसीका अनुसार अस्ट्राजेनिका–अक्सफोर्ड खोपको मूल्य प्रतिडोज ४ डलर, मोडर्नाको ३३ डलर, फाइजर–बायोएनटेकको २० डलर, स्पुतनिकको १० डलर तथा सिनोभ्याकको ३० डलर पर्नेछ । यी खोपहरू २ डोज लगाउनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनको अगुवाइमा कोभिड–१९ भ्याक्सिनको विश्वव्यापी पहुँच (कोभाक्स) स्थापना पनि भएको छ जसले कोरोना विरुद्धको खोपलाई विश्वका सबै धनी, गरिब मुलुकमा सहज र सस्तो मूल्यमा उपलब्ध गराउन तथा गरिब राष्ट्रलाई मद्दत गर्न पहल गर्नेछ । तर विश्वका अति गरिब र कोभिड–१९ का कारण अर्थतन्त्रमा निरन्तर सङ्कट व्यहोर्दै आएका मुलुकहरूले यी महँगा खोपमा कहिले र कसरी सहज र समानुपातिक पहुँच हासिल गर्लान् अहिल्यै केही बताउन सकिने अवस्था छैन ।
(अन्तर्राष्ट्रिय समाचारमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *