भर्खरै :

‘श्रमिक’ साप्ताहिक कामदार वर्गको झन्डा

भक्तपुर, २७ मङ्सिर । ‘श्रमिक’ साप्ताहिक कामदार वर्गको झन्डा हो, वैज्ञानिक समाजवादको शिक्षा दिँदै क्रान्तिकारी कम्युनिस्ट उत्पादन गर्ने कामदार वर्गको पत्रिका हो ।’
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित नेमकिपा नपली सृजनानगर एकाइ समितिको आयोजनामा शनिबार सम्पन्न ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया कार्यक्रममा उक्त विचार व्यक्त गर्नुभएको हो ।
उहाँले ‘श्रमिक’ साप्ताहिकले कामदार वर्गको पक्षमा वकालत गर्ने, वर्ग दुश्मनप्रति घृणा उत्पन्न गर्ने, संसारका मजदुर आन्दोलनका सफलता र असफलता विषयमा नेपाली जनतालाई शिक्षा दिने गरिरहेको बताउनुभयो ।
“अनुशासित, व्यवस्थित र क्रान्तिकारी विचार बोकेका पार्टी कार्यकर्ताहरूले मात्रै समाजमा आमूल परिर्वतनको नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्छन् । ‘श्रमिक’ साप्ताहिक त्यस्तै देशभक्त, क्रान्तिकारी कम्युनिस्टहरू तयार गर्ने उद्देश्यले प्रकाशित भइरहेको पत्रिका हो”, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले नेकपाभित्रको विवाद सिद्धान्तको नभई पद र व्यक्तिगत स्वार्थको लागि भएको स्पष्ट पार्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेमकिपाले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै शिक्षामा निकै पछि परेको भक्तपुरमा आज घर – घरमा स्नातक गर्नेहरू हुनु नेमकिपाको देन हो भन्नुभयो ।
नपली सृजना नगर सेवा समाजका अध्यक्ष राममणि पोखरेलले एङ्गेल्स नभएको भए माक्र्स माक्र्सको रूपमा अगाडि बढ्न नसक्ने बताउँदै ‘श्रमिक’ साप्ताहिक कम्युनिस्ट पार्टीको पत्रिका हो भन्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नन्दु उप्रेतीले ‘श्रमिक’ साप्ताहिक २०५३÷५४ सालदेखि नै आफूले अध्ययन सुरु गरेको बताउँदै ‘श्रमिक’लाई वर्ग प्रेम र असल मान्छेलाई प्रेम गर्न सिकाउने पत्रिकाको रुपमा लिएको बताउनुभयो ।
पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै प्राज्ञ उप्रेतीले भन्नुभयो, “श्रमिकमा देशका विभिन्न ऐतिहासिक ठाउँहरूको परिचय, अफ्रिकी देशमा घटेका घटनाहरूबारे जानकारीहरू थप्न पाए अझ राम्रो हुन्छ । ‘श्रमिक’ देशभरि नै पठाउनुपर्ने र सबैले पढ्नैपर्ने पत्रिका हो ।”
स्थानीय सहदेव बास्तोलाले का. रोहितको अविचलित विचारबाट आफू प्रभावित भएको उल्लेख गर्दै ‘श्रमिक’ पत्रिका समाजवादको प्रचारमा अविरल लागिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
‘श्रमिक’ साप्ताहिकका विभिन्न पक्षहरूबारे राजन दाहाल, कृष्णप्रसाद दाहाल, राजेन्द्र अवाललगायतले प्रकाश पार्नुभयो ।
कार्यक्रम नेमकिपा नपली सृजनानगर एकाइ समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *