भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– २१

 
बङ्गला काङ्ग्रेस पार्टीले भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) विरुद्ध लगातार हमला गरिरह्यो । एउटा सानो विषयमा मुख्यमन्त्री अजेय बाबु र मेरोबीचमा चर्काचर्की भयो । फलतः हामीबीच एकअर्काविरुद्ध रुखो वक्तव्यबाजी भयो । खासमा त्यत्तिबेला मुख्यमन्त्री र उप–मुख्यमन्त्रीबीच द्वन्द्व भएको थिएन । माल्डा जिल्लाको गजोली प्रहरी चौकीको प्रमुखको सरुवाको विषयमा विवाद सुरु भएको थियो । केही महत्वपूर्ण प्रशासनिक कारणले मैले तिनी प्रहरीलाई अन्यत्र सरुवा गर्नुपरेको थियो । तर, मसँग कुनै कुरा सोध्दै नसोधी मुख्यमन्त्री अजेयबाबुले सुरुमा सरुवा आदेशप्रति आपत्ति जनाए । पछि उनले सो आदेश नै खारेज गर्न अर्को निर्देशन दिए । खासमा त्यो विषय मुख्यमन्त्रीले ‘विशेष अधिकार’ प्रयोग गर्नुपर्ने कुनै भूकम्प जाने मुद्दा थिएन ।

–पश्चिम बङ्गालमा मजदुर आन्दोलनमाथि प्रहरी दमन


एकीकृत मोर्चा सरकारको सो कार्यावधिमा भएको अर्को अचम्म र रमाइलो घटना भनेको आफ्नै सरकारअन्तर्गत ऐन नियमको अवस्था खस्केको भन्दै मुख्यमन्त्री स्वयम् भोक हडतालमा उत्रे । उनले आफ्नै सरकारलाई ‘बर्बर’ भनी व्याख्या गरे । संसदीय लोकतन्त्रमा त्यो अभूतपूर्व घटना थियो । अजेयबाबुले मन्त्रीमण्डलको बैठकमा त्यो विषयमा एक शब्द बोलेका थिएनन् । तर, सन् १९६९ को डिसेम्बर १ मा उनले कर्जन पार्कमा पाल टाँगे र भोक हडताल सुरु गरे । त्यो घटनाले त्यत्तिबेलाको राजनीतिक अवस्थालाई अझ खराब बनायो । हाम्रो राजनीतिक नियन्त्रण अझ खुकुलो बनायो । कर्मचारीतन्त्रभित्रको प्रतिक्रियावादी शक्तिहरूलाई अझ बलियो बनायो । त्यो अवस्थाबाट कर्मचारीतन्त्र खुुसी हुनुका कारण थिए । बङ्गला काङ्ग्रेसका धेरै सदस्यहरूले गृहमन्त्रालयको छवि धमिल्याउन अनेक खालका मनगढन्ते कथाहरू बुन्ने गरेका थिए ।
यी सबै अवस्थाको सामना गर्दै हाम्रो पार्टीले अघि बढाइरहेका लोककल्याणकारी कार्यक्रमलाई सकेसम्म राम्रो तरिकाले अघि बढाउने प्रयत्न जारी राख्यो । तर, सन् १९७० को १६ मार्चका दिन बङ्गला काङ्ग्रेसले औपचारिक रूपमा आफ्ना नेता अजेय मुखर्जीले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा ग¥यो । हाम्रो पार्टीको प्रान्तीय समितिका सचिव प्रमोददास गुप्ताले सत्तारुढ मोर्चाभित्रका विभिन्न पार्टीहरूलाई पत्राचार गरी मनग्य छलफलबाट समस्याको समाधान गर्न आग्रह गरे । तर, त्यस्ता सबै प्रयास निरर्थक बने । खासमा यदि बङ्गला काङ्ग्रेसले मोर्चा छोडेर गए पनि मोर्चा कायम रहन सम्भव थियो । किनभने बङ्गला काङ्ग्रेस नहुँदा पनि मोर्चासँग बहुमत थियो । तर, दक्षिणपन्थी भारतीय कम्युनिस्ट पार्टी, फर्वड ब्लक र एसयुसी भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले नेतृत्व गरेको मोर्चामा बसिरहन तयार भएन ।

–राज्यको दमनविरुद्ध विद्रोहमा पश्चिम बङ्गालका ग्रामीण महिला


पूर्वघोषणाअनुसार मार्च १६ मा मुख्यमन्त्री अजेय बाबुले पदबाट राजीनामा दिए । मैले पश्चिम बङ्गालका गभर्नरलाई भेटेर हाम्रो पार्टी सबभन्दा ठुलो पार्टी भएकोले हुनाले सरकार बनाउन बोलाउन आग्रह गरेँ । त्यही बेला अरू राजनीतिक दलहरू – काङ्ग्रेस, बङ्गला काङ्ग्रेस, फर्वड ब्लक र एसयूसीले पनि गभर्नरलाई भेटेर भाकपा (माक्र्सवादी) लाई सरकार बनाउन नदिन अनुरोध गरे । गभर्नर सतिशस्वरुप धवनले उनीहरूकै अनुरोध स्वीकारे र केन्द्रीय सरकारको निर्देशनमा सन् १९७० को २९ मार्चमा पश्चिम बङ्गालमा राष्ट्रपति शासन लागू गरे । मन्त्रीमण्डल विघटन गर्नुपर्नाको कारणबारे गभर्नरले एक शब्द बोलेनन् । न त उनले मध्यावधि चुनावको मिति नै घोषणा गरे । फलतः एकीकृत मोर्चाको दोस्रो सरकार पनि छोटो अवधिमा नै ढल्यो । दोस्रो कार्यकाल जम्मा ते¥ह महिनाको मात्र भयो ।

राष्ट्रपति शासनताका सडक सङ्घर्षमा बसु


ठीक त्यही बेला म अर्को एउटा हमलाबाट बल्लतल्ल ज्यान जोगाउन सफल भएँ । यो पटक मलाई स्पष्ट रूपमै हत्या गर्ने प्रयास भएको थियो । मैले त्यो घटनालाई आकस्मिकरूपमा भएको घटना मानिनँ । बरु कम्युनिस्ट विचारधारामा आस्था राख्नेहरूमाथिको हमला र हत्याको लगातारको प्रयासकै रूपमा हेरेँ । पार्टीको एउटा कार्यक्रमको शिलशिलामा म पटनामा थिएँ । त्यो दिन सन् १९७० को मार्च ३१ को दिन थियो । जसै म रेलबाट ओर्लें, हजारौँ मानिस राता खादा र माला लिएर मेरो स्वागतमा अघि सरे । बिहान त्यस्तै आठ बजेको थियो । बिहानै यति धेरै मानिसहरू त्यहाँ भेला भएको देखेर भावविभोर भएँ । त्यसले हाम्रो पार्टी बिहारमा लोकप्रिय भएको देखाइरहेको थियो । चर्को नाराबाजीबीच म पनि जुलुससँगै अघि हिँड्दै थिएँ । रेल स्टेसनको ठीक बाहिर मेरो बाँयातिर अचानक झिलिक्क बलेको मैले देखंँे । मेरो बाँया हातको कान्छी औंलामा केही धारिलो कुराले छोएको जस्तो अनुभव भयो । के भएको भन्ने मैले मेलोमेसो पनि पाएको थिइनँ, मेरो अघि एक जना कमरेड रगतपिच्छे भएर लडेको मैले देखेँ । उनी पीडाले चिच्याइरहेका थिए । अचानक गुमेको होश सम्हाल्दै म चिच्याएँ, “त्यसलाई समात ! त्यसलाई समात !” तर, हत्यारा त्यो विशाल मानव सागरमा एकाकार भए । त्रसित जनताको भीडमा उनी कता हराए कता !

–सन् १९६७ को निर्वाचनमा मतदान गर्दै बसु


त्यो घटनामा मारिएको व्यक्ति हाम्रो पार्टीका कमरेड अली इमाम हुनुहुन्थ्यो । अस्पताल पु¥याउने क्रममा उनको बाटोमै निधन भयो । घटना हुन केही दिनअघि मात्र पटनामा एएमएस नम्बुदरिपाद आएका थिए । उनी कमरेड अली इमामसँगै बसेर गएका थिए । उनी एउटा जीवन बीमा कम्पनीका कामदार थिए । म पनि पटनामा उनीसँगै बस्ने कार्यक्रम थियो । हत्याराले पक्का पनि मलाई निशाना ताकेका थिए । तर, उनको निशाना चुक्यो । गोली इमामलाई लाग्यो । उनले ज्यान गुमाए । मलाई भने औंलामा सानो चोट लाग्यो । त्यो घटनापछि पटनाको अवस्था तनावपूर्ण बन्यो । जङ्गलमा डढेलोसरि त्यो घटनाको खबर सर्वत्र पैmलियो । झण्डै बीस हजार जनताको विशाल प्रदर्शन घटनाको भत्र्सना गर्दै विधानसभातिर अघि बढ्यो । त्यही साँझ पटनामा भएको विशाल जनसभालाई मैले सम्बोधन गरेँ । सो सभाको समाचार सङ्कलनमा आएका पत्रकारहरूले मलाई घटनाप्रति मेरो कसैप्रति आशङ्का छ कि भनी सोधे । मैले भने, “व्यक्तिगतरूपमा मेरो कोही पनि व्यक्तिसँग दुश्मनी छैन । यो निकृष्ट कृत्यको लागि कोही व्यक्तिलाई म जिम्मेवार मान्दिनँ ।” पछि मलाई थाहा भयो, मेरो हत्या प्रयास पूर्वनियोजित र योजनाबद्ध थियो र हत्यारा आनन्द मर्गिसका प्रतिनिधि थिए । म अली इमामको घर पुगेर उनकी श्रीमती, छोरी र छोराप्रति भावपूर्ण गहिरो संवदेना व्यक्त गरेँ । पार्टीका साथीहरूको ठूलो भेला, अचानकको हत्या र त्यसपछिको विशाल सभाले म चकित परेको थिएँ ।
हाम्रो शहरमा पनि घटनाले समाचार बिजुली वेगमा समाचार पुग्यो । हत्याको विरोधमा कोलकोत्ता स्वतः स्फूर्त बन्द भयो । सबै विद्यालय, कलेज र कलकारखाना बन्द भए । सरकारी कार्यालयहरू समेत ठप्प भयो । प्रधानमन्त्री इन्दिरा गान्धीले फोन गरेर मेरो अवस्थाबारे जिज्ञासा राखिन् । मलाई खुशी लाग्यो । मानवीय प्रेमभन्दा ठुलो वा मूल्यवान अरू केही पनि हुँदैन भन्ने अनुभव गरेँ । कोलकोत्ताको सहिद मिनारमा अप्रिल १ को दिन सो घटनाको विरोधमा विशाल सभाको आयोजना गरियो । प्रमोदबाबुले सो सभाको अध्यक्षता गरेका थिए । मैले पनि सभालाई सम्बोधन गरेको थिएँ ।

–उप–मुख्यमन्त्रीको रूपमा सपथग्रहण गर्दै बसु


म दैनिक जनसङ्घर्षकै शिलशिलामा फर्कें । पश्चिम बङ्गालमा राष्ट्रपति शासन अन्त्य भइहाल्ने कुनै सङ्केत थिएन । राष्ट्रपति शासन भने पनि खासमा त्यो भित्रभित्र काङ्ग्रेसको शासन थियो । ती दिनहरू वास्तवमै हाम्रा व्यस्त दिनहरू थिए । झण्डै हरेक दिनजस्तो बैठक, जुलुस, धर्ना, विद्यार्थीहरूका जुलुस र अन्य गतिविधि हुन्थे । त्यो ज्यादै अस्तव्यस्त समय थियो । तथापि, त्यही डावानलबाट दुई वटा महत्वपूर्ण सङ्गठनहरूको जन्म भयो–भारतीय मजदुर सङ्गठन केन्द्र (सीआईटीयू) र भारत विद्यार्थी महासङ्घ (एसएफआई) । सन् १९७० मेमा कोलकोत्ताको रानजी रङ्गशाला सीआईटीयूको स्थापना भयो । सो सङ्गठनको पहिलो सभापतिमा कमरेड बीटी रणदिबे र महासचिव पदमा कमरेड पी रामामुर्थी निर्वाचित भए । एसएफआईको पहिलो सम्मेलन भने सन् १९७० को डिसेम्बरमा केरालामा भयो ।
पश्चिम बङ्गालमा राष्ट्रपति शासन एउटा दुष्स्वप्न थियो । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का कमरेडहरूको संहार गर्न प्रहरी उद्यत भए । प्रहरी, केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) र काङ्ग्रेस कार्यकर्ताहरूले असङ्ख्य कमरेडहरूको हत्या गरे । सङ्क्षेपमा, एकीकृत मोर्चाको शासनकालमा बलेको भाकपा (माक्र्सवादी) विरोधी भावनाले विस्फोटक रूप लिनुका साथै भयानक आकार लिइसकेको थियो । दुर्गापुर सबभन्दा प्रभावित क्षेत्र बनेको थियो । सीमा सुरक्षा बल, सीआरपीएफका विशेष सशस्त्र प्रहरी र पश्चिम बङ्गाल प्रहरी सबैले सो क्षेत्रका मजदुरहरूमाथि निर्मम हमला गरेका थिए । महिला र केटाकेटीहरूमाथि निर्ममतापूर्वक कुटपिट गरिएको थियो । अस्पतालमा उपचार गराइरहेका मजदुरहरूलाई पनि उनीहरूले छोडेका थिएनन् । ग्रामीण क्षेत्र पनि त्यत्तिकै प्रभावित थिए । हरेक दिनजसो सीआरपीएफ अधिकारीहरू गाउँभित्र पस्थे, गरिब गाउँलेका झुपडीभित्र घुस्थे, घरका पुरुष सदस्यलाई लछारपछार गर्थे । महिलाहरूलाई बलात्कार गर्थे । सिङ्गो गाउँका घरेलु भाडाकुँडा लिएर जान्थे । माटाका भाँडाकुँडा फुटाइदिन्थे । त्यो अर्ध फासीवादी आतङ्कको समय थियो । त्यत्तिबेला हामीले धेरै अमूल्य कमरेडहरू गुमाउनुप¥यो । पहिलो चरणको राष्ट्रपति शासनकाल (सन् १९७० को १७ मार्चदेखि सन् १९७१ को ३१ मार्चसम्म) मा हाम्रा जम्मा २३८ जना कमरेडहरूको हत्या भयो ।
नेपाली अनुवाद : बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *