भर्खरै :

जथाभावी सहरीकरणको अनिवार्य परिणति

राजधानी काठमाडौँको मुटुबाट बग्ने नदी बाग्मती सफाइ गर्ने उद्देश्यले थालिएको बाग्मती सफाइ महाअभियान ३९६ औँ हप्तामा पुगेको छ तर परिणाम भने अपेक्षाअनुसारको पटक्कै छैन । वागमती सफा हुनुभन्दा बढी फोहोर हुन थालेको छ । सफाइ अभियान र फोहोर हिँड्दै छ पाइला मेटिंदै छ डोब भनेझैँ भएको छ । यसको कारण कतिपयले – काठमाडौँबासीको संवेदनहीनता भनी निकै सजिलो जवाफ दिने गर्छन् तर यो सत्य होइन । यसको वास्तविक कारण काठमाडौँ उपत्यकामा गरिएको जथाभावी सहरीकरण हो ।
सहर विकासको कुनै योजना नै नबनाइकन पञ्चायतकालदेखि नै जिल्ला –जिल्लाका सामन्त र धनीमानीहरूलाई काठमाडौंमा घडेरी जोड्न र घर बनाउन दिइयो । बहुदल आएपछि त्यसको सिलसिला अझै तीव्र बन्यो । जिल्ला जिल्लाका सबैजसो पार्टीका नेताहरूको एउटा लक्ष्य नै काठमाडौँमा घर बनाउने भयो । के कर्मचारी के पुलिस र सेनाका उच्चपदस्थ सबैजना काठमाडौँ खाल्डोमै आफ्नो निवास बनाउन लागिपरे । त्यसको सिको साना तहका कर्मचारी, सिपाही, व्यापारी, शिक्षक, प्राध्यापक, वकिल, डाक्टरलगायत सबैले गरे । परिणामतः दिउँसै स्याल कराउने टारदेखि वर्षात्मा डेढतल्ला घर डुबाउने नदी किनारा पनि घडेरी र घर बने । त्यसरी नदी किनारा बनाएका घरका घरधनीहरूले आफ्नो घरको चर्पीको फोहोर सेफ्टी टैंकमा जम्मा गरिराख्नु र समय – समयमा पैसा खर्च गरी सफाइ गर्नुभन्दा नदीमा बगाउनु सजिलो ठाने । कतिपय घरधनी र व्यवसायीले फोहोर बिसर्जन गर्ने सजिलो ठाउँ नदीलाई नै बनाए । सम्बन्धित निकायले त्यस्तो दुष्कार्यमा देखेको नदेखेझैँ गरे । महानगरपालिका र नगरपालिकाहरूले ढलको पानी उपचारपोखरीमा उपचारछि मात्र नदीमा छोड्नुपर्ने कुरालाई हेक्कामै राख्न सकेनन् वा हेक्का रहे पनि व्यवस्थित गर्न सकेनन् । परिणामतः बाग्मती ढलमती भयो । ढललाई व्यवस्थित गरी उपचारपोखरी बनाएर पानी सफा नगरेसम्म उपत्यकाका नदीहरूको सफाइ सम्भव छैन । यो समस्या समाधानको नाममा कैयौँ योजना बने तर समस्या जहाँको तहीँ छ ।
बाग्मती सफाइ महाअभियान पनि त्यस्तै एउटा तालतुले समाधानको प्रयास हो, जुन असफल भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *