हाम्रो सबभन्दा ठुलो शक्ति भनेको जनता हाम्रो साथमा हुनु थियो । हाम्रो स्थानबाट उनीहरूको लागि हामीले सकेसम्म राम्रो काम ग¥यौँ । तथापि हामीले त्यो मोर्चा सम्हाल्न सकेनौँ । छोटो समयमै एकीकृत मोर्चाको सरकार किन विखण्डित बन्दै गयो ? सङ्क्षेपमा भन्दा सबै तहमा षड्यन्त्र र अपवित्र साँठगाँठले त्यो सङ्कट निम्तियो । पश्चिम बङ्गाल काङ्ग्रेस, केन्द्रको काङ्ग्रेस सरकार, प्रहरी र कर्मचारीको निश्चित हिस्साले निहीत स्वार्थवश हाम्रोविरुद्ध षड्यन्त्र गरे । पश्चिम बङ्गालको लागि अन्न र खाद्यान्न दिन केन्द्र सरकारले मुट्ठी झन् कस्सिलो बनायो । फलतः राशन प्रणाली लगभग छिन्नभिन्न बन्यो । खाद्यान्न र अन्य अन्नको मूल्य आकाशियो । एकीकृत मोर्चाको सरकार पनि आंशिकरूपमा यसको निम्ति जिम्मेवार भएको मैले स्वीकार्नैपर्छ । खाद्य विभागका मन्त्री प्रफुल्लचन्द्र घोष थिए । उनले यो समस्याको समाधान गर्नै सकेनन् । विपक्षीहरूले पनि सानोभन्दा सानो साम्प्रदायिक हिंसालाई पनि हावा भरेर उत्तेजित बनाउने मौका छोडेनन् । लुट र आगजनीका घटनाको फाइदा विपक्षीहरूले उठाए । प्रहरी र कर्मचारीको एउटा हिस्सा हाम्रो विरोधमा लागे । भारतीय कम्युनिस्ट पार्टीका नेता मुहम्मद इलियास र भूमि सुधार मन्त्री हरिकृष्ण कोनरलाई प्रहरीले गरेको अपमान म सम्झन्छु । पछि हामीलाई थाहा भयो, यो सब पूर्वनियोजित हमला थिए ।
त्यत्तिबेला मैले हावामा मडराइरहेको खतराको गन्ध चाल पाएको थिएँ । एकीकृत मोर्चालाई ध्वस्त बनाउन पश्चिम बङ्गालका प्रहरी र कर्मचारीतन्त्रले बुन्दै गरेको षड्यन्त्रबारे हामीले पाएको सूचनाबाट मेरो त्यो बुझाइको पुष्टि ग¥यो । क्रमशः अवस्था खराब बन्दै गयो । मोर्चाभित्र आन्तरिक विभाजन अझै फराकिलो बन्दै गयो । पश्चिम बङ्गालको व्यवस्थापिका परिषद् निर्वाचनमा त्यो विभाजन अझ फराकिलो बन्यो । मोर्चाका उम्मेदवार सुधीर कुमार मोर्चाकै उन्नाइस जना सांसदहरूले बदमासी गर्दा चुनाव हार्नुप¥यो । दुई दिनपछि मोर्चासम्बद्ध दलका सांसदहरूको बैठक बस्यो । हामीले या त बद्मासी गरेका सांसदहरूले माफी माग्नुपर्ने नभए एकीकृत मोर्चा भङ्ग गर्नुपर्ने बतायौं । चर्काचर्कीबीच बैठक समाप्त भयो ।
अगस्टबाट अवस्था अझ खराब बन्दै गयो । काङ्ग्रेसले जनताका गुनासाको उपयोग गर्दै झण्डै हरेक दिनजसो सडकमा अवरोध सिर्जना ग¥यो । अगस्ट २४ मा हाम्रो पार्टीले पनि हडतालको आयोजना ग¥यो । तर, अवस्था हाम्रो नियन्त्रणभन्दा बाहिर गयो । सन् १९६७ नोभेम्बरको पहिलो साता प्रफुल्लचन्द्र घोषसहित सत्र जना सांसदहरूले पदबाट नचिताएसरि राजीनामा दिए । मर्यादाक्रम मिच्दै उनले मुख्यमन्त्रीको सट्टा पश्चिम बङ्गालका तत्कालीन गभर्नर धरम भिरासमक्ष पदबाट राजीनामा दिए । पछि मात्र थाहा भयो उनले त प्रतिक्रियावादी शक्तिहरूसँग तालमेल गरिसकेका थिए । प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध जनआन्दोलन बलियो बनाउन जनतालाई आह्वान गर्दै हामीले ब्रिगेड परेड मैदानमा विशाल प्रदर्शनको आयोजना ग¥यौँ । मोर्चाको आपत्कालीन बैठक पनि बस्यो । बैठकले डिसेम्बर १८ मा विधान सभाको विशेष अधिवेशन बोलाउन गभर्नरसमक्ष आग्रह ग¥यो । गभर्नर त्यत्तिञ्जेल कुर्न तयार भएन । हाम्रो पार्टीका पश्चिम बङ्गाल सचिव प्रमोददास गुप्ताले प्रदेश समितिको तर्फबाट जारी गरेको वक्तव्यमा सङ्कट निवारणको लागि चुनावको माग गरे । तर गभर्नर धरम भिराले सो माग सुनेको नसुनेझैँ गरे । विधान सभा बोलाउनुअघि नै सन् १९६७ को नोभेम्बर २१ मा गभर्नरले एकीकृत मोर्चाको सरकार भङ्ग गरे । अनि त्यही सरकार भङ्ग गर्न मुख्यतः जिम्मेवार धोखेबाजहरूका नेता प्रफुल्लचन्द्र घोषलाई नयाँ सरकार गठनको लागि आह्वान गरे ।

पश्चिम बङ्गालमा मजदुर हड्ताल
जनताले एकीकृत मोर्चाको सरकार भङ्ग गर्ने निर्णय अस्वीकार गरे । नोभेम्बर २२ मा सो कदमको विरोधमा पश्चिम बङ्गालमा स्वतःस्फुर्त हडताल भयो । मुख्यमन्त्री पीसी घोषले प्रहरीलाई सो हडताल निर्ममतापूर्वक दबाउन कडा निर्देशन दिए । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले नयाँ मन्त्रीमण्डल विघटन, मध्यावधि चुनाव, धारा १४४ को फिर्ता र राजनीतिक बन्दीहरूको रिहाइको माग ग¥यो । नोभेम्बर २९ मा विधानसभाका तत्कालीन सभामुख विजय बेनर्जीले नयाँ सरकारलाई असंवैधानिक घोषणा गरे र अनिश्चितकालको लागि संसद बैठक स्थगित गरे । मुख्यमन्त्रीको समूह र काङ्ग्रेस पार्टी यो निर्णयबाट आक्रोशित बन्यो । उनीहरूले सभामुखको निवास छेउ बम विस्फोट गरे ।
एक बिहान हाम्रो पार्टीको दैनिक पत्रिका ‘गणशक्ति’ का सम्पादक सरोज मुखर्जीलाई प्रहरीले गिरफ्तार ग¥यो । एकीकृत मोर्चाका संयोजक सुधीर कुमार पनि पक्राउ परे । सन् १९६८ को फेब्रुअरी १४ मा पुनः विधानसभाको अधिवेशन सुरु भयो । तर, सभामुख विजय बेनर्जीले फेरि अनिश्चितकालको लागि संसद बैठक स्थगित गरे । गभर्नर धरम भिरा संसद अधिवेशनको पहिलो दिनमा उद्घाटन मन्तव्य दिन आएका थिए । तर, संसद भवन परिसरमा सांसदहरूले होहल्ला गरेपछि उनी फर्किन बाध्य भए । त्यो ज्यादै असहज अवस्था थियो । सन् १९६८ को फेब्रुअरी २० मा प्रगतिशील प्रजातान्त्रिक मोर्चा(पीडीएफ) को पीसी घोष नेतृत्वको मन्त्रीमण्डलले राजीनामा दियो । पश्चिम बङ्गालमा राष्ट्रपति शासन लागू भयो ।
हाम्रो पार्टी विभाजनपछिको असरबाट पूर्णतः बौरिसकेको थिएन । संशोधनवादको उदयसँगै वामपन्थी अवसरवादी भडकाव पनि पार्टीमा देखियो । एकपछि अर्को विभाजनको कारण पार्टी सङ्गठन कमजोर बनेको थियो । पार्टीलाई आन्तरिक कारणले शिथिल बनाइरहेको थियो । त्यही मौकामा केही मानिसहरूले तयारी क्रान्तिको गलत सिद्धान्त प्रचार गरे । यो विचारका पक्षधरहरूले सरकार र संसदीय प्रजातन्त्रमा सामेल हुने पार्टीको नीतिलाई समेत चुनौती दिए, विरोध गरे । उनीहरूले पार्टीको एकता, अनुशासन र प्रजातान्त्रिक केन्द्रीयताकै उल्लङ्घन गरिरहेका थिए । मेरो विचारमा प्रजातान्त्रिक केन्द्रीयता भनेको कुनै पनि माक्र्सवादी–लेनिनवादी पार्टीको सबभन्दा महत्वपूर्ण खम्बा हो । ‘वामपन्थी दुस्साहसवादी’ हरूले हामीलाई ‘संशोधनवादी’ को रूपमा व्याख्या गर्थेँ । भारतलाई उनीहरू नवउपनिवेशवादी राज्य भन्थे । सन् १९६४ मा भएको हाम्रो पार्टीको महाधिवेशनमा ती सबै विचारबारे गहन छलफल भएको थियो । सोही महाधिवेशनले ती सबै विचारलाई स्पष्ट शब्दमा अस्वीकार गरेको थियो । तर, वामपन्थी अतिवादीहरू यति अन्धो थिए, उनीहरूले संसदीय प्रजातन्त्र र फासीवादबीचको भेद नै छुट्याउन सकेका थिएनन् ।
म क्रमिक विकासक्रमको सिद्धान्तमा विश्वास गर्थे । म उनीहरूको विचारमा रहेको खोक्रोपना पुष्टि गर्न चाहन्थेँ । मैले यस्तो अवधारणाले पार्टीलाई जनताबाट अलग बनाउने कुरा अघि सारेँ । मधुराईमा सन् १९६७ को अगस्टमा आयोजित पार्टी केन्द्रीय समितिको बैठकले वामपन्थी अतिवादी दृष्टिकोणसँग लेनिनवादको कुनै सम्बन्ध नभएको निक्र्योल निकाल्यो ।
त्यहीबीच नक्कली क्रान्तिकारीहरूले प्रजातन्त्र र जनताका मौलिक अधिकारमाथि घातक खेल खेले । उनीहरू व्यक्ति हत्यामा लागे । प्रजातन्त्रविरोधी र आतङ्कवादी गतिविधिमा उनीहरू संलग्न भए । उनीहरूको मुख्य तारो नै भाकपा (माक्र्सवादी) बन्यो । विडम्बना उनीहरूले आन्द्र प्रदेश र उत्तर प्रदेशको ठूलो भूभाग तथा पश्चिम बङ्गालको उत्तरी भेगलाई आफ्नो आधार क्षेत्र बनाउन सफल भए । धेरै प्रतिभाशाली युवाहरू उनीहरूका नक्कली क्रान्तिकारी शब्दहरूमा आकर्षित भए । उदाहरणको लागि एउटा त्यस्तै वाक्य थियो–‘चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष ।’ पश्चिम बङ्गाल नक्सलवाडी क्षेत्र त्यस्ता क्रान्तिकारीहरूको आधार क्षेत्र बन्यो । हाम्रा पार्टीका कमरेडहरूमाथि लगातार हमला भयो । वास्तवमा यो निकै दुःखको कुरा हो, उनीहरूले आफूले अङ्गालेको बाटो पूर्णतः गलत भएको अनुभव गरेका थिएनन् । त्यो बाटोले उनीहरूलाई कुनै पनि हालतमा एउटा असल समाजवादी समाजसम्म पु¥याउन सक्दैनथ्यो । हिंसात्मक गतिविधिको आकर्षणले मात्र उनीहरूले ती गतिविधिमा संलग्न थिए ।
सन् १९६९ को फेब्रुअरीमा मध्यावधि निर्वाचनको घोषणा भयो । हामी एकीकृत मोर्चाकै उम्मेदवारकै रूपमा चुनावमा सहभागी बन्यौँ । सन् १९६७ को चौथौ आम निर्वाचनभन्दा यो निर्वाचन फरक खालको निर्वाचन थियो किनभने हाम्रा गतिविधिलाई जनताले पक्का पनि गम्भीरतापूर्वक लिनेमा हामी विश्वस्त थियौँ । हाम्रो पार्टीले कुनै अलग घोषणापत्र जारी गरेन । हामी १२ दलसम्बद्ध एकीकृत मोर्चाकै साझा न्यूनतम कार्यक्रम लिएर जनताको बीच गएका थियौं । हाम्रो चुनावी गतिविधिको विरोध र षड्यन्त्र सुरु भइसकेको थियो । हामीले त्यस्ता जालझेलको अपेक्षा गरेका थियौँ किनभने काङ्ग्रेस सत्तामा पुनः फर्किन व्यग्र थियो । सत्तासीन हुन उसले कुनै पनि काम बाँकी छोडेको थिएन । ऊ पूरै अस्वस्थकर रणनीति र जालसाझीमा लागेको थियो । एकीकृत मोर्चाको सरकार हुँदा काङ्ग्रेसजनले नियम कानुनका समस्याबारे स्याल हुय्याँ गरेको थियो । तर, उनीहरूका यस्ता सबै प्रचारबाजीबीच पश्चिम बङ्गालमा उनीहरूले आफ्ना आधार क्रमशः गुमाउँदै गएको देखिंदै थियो ।

भारतका नक्सलवाडी आन्दोलनका नेताहरू क्रमशः कानु सान्याल, जङ्गल सन्थाल र चारु मजुमदार
हाम्रो चुनाव कार्यक्रममा सबभन्दा पहिलो प्राथमिकता खाद्य समस्या, भूमि सुधार, शिक्षा, कृषि र सिंचाइ थिए । हामीले एकीकृत र व्यवहारिक खाद्य नीति, सन्तुलित भूमि सुधार नीति र समग्र शिक्षा नीतिलाई प्रस्टताका साथ अघि सारेका थियौँ । सन् १९६९ को फेब्रुअरी ९ को दिन निर्वाचन भयो । नक्सलाइटहरूको निर्वाचन बहिष्कारको धम्कीबीच ७० प्रतिशत जनताले मताधिकार प्रयोग गरे । विधान सभाका कुल २८० स्थानमध्ये एकीकृत मोर्चाका उम्मेदवारहरूले २१४ स्थानमा विजय हासिल ग¥यो । काङ्ग्रेसले ५५ ठाउँमा विजय हासिल ग¥यो । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले १०१ स्थानमा उम्मेदवारी दिएको थियो । चार जना स्वतन्त्र उम्मेदवारहरूलाई समर्थन गरेको थियो । भाकपा (माक्र्सवादी)ले ८३ स्थान प्राप्त ग¥यो । बङ्गला काङ्ग्रेसले ३३ स्थान हासिल ग¥यो । अर्कोतिर दक्षिणपन्थी कम्युनिष्ट पार्टीले ३० स्थान, फर्वड ब्लकले २९ स्थान र आरएसपीले १२ स्थानमा विजय हासिल गरेको थियो । भाकपा(माक्र्सवादी)को लागि त्यो ठुलो जनमत थियो । पश्चिम बङ्गालमा पहिलो पटक हाम्रो पार्टीले संसदमा स्थान र मत दुवै आधारमा सबभन्दा ठुलो पार्टीको हैसियत प्राप्त गरेको थियो ।
मैले पहिले जस्तै बारानगर निर्वाचन क्षेत्रबाट नै उम्मेदवारी दिएको थिएँ । काङ्ग्रेसका उम्मेदवार अमरेन्द्र भट्टाचार्यलाई मैले झण्डै १७ हजार ५०० को मतान्तरले पराजित गरें । त्यसअघिको निर्वाचनमा मैले आफ्ना प्रतिस्पर्धीलाई ३५ सय मतको अन्तरले पराजित गरेको थिएँ ।
निर्वाचन सम्पन्न भयो । जनमत पारदर्शी थियो । जनताले काङ्ग्रेस युगको अन्त्य चाहेको स्पष्ट देखिन्थ्यो । अब जनताको यो मतको सम्मान गर्ने दायित्व हाम्रो काँधमा आइपरेको थियो । तर, दुःखको कुरा एकीकृत मोर्चाका कति सदस्यहरूलाई जनताको हितभन्दा पनि ठुलो सत्ताशक्तिको भोक बनेको थियो । मोर्चाको सबभन्दा ठुलो दल भाकपा(माक्र्सवादी)लाई न्यायपूर्ण जिम्मेवारी दिइनुपथ्र्यो । तर, बङ्गला काङ्ग्रेस त्यसको लागि तयार भएन । उनीहरू संयुक्त मोर्चाको सरकारको मुख्यमन्त्रीमा आफ्ना नेता अजेय मुखर्जीलाई ल्याउन चाहन्थे । मोर्चाका अरु केही घटकले पनि यो प्रस्तावलाई समर्थन गरे । अजेय मुखर्जी स्वयम्ले पनि मोर्चाको कुनै पनि अरू दलको नेतृत्वअन्तर्गत आफू काम गर्न नसक्ने घोषणा गरे । मलाई आश्चर्य लाग्यो । सबै जना आ–आफ्ना स–साना स्वार्थ पूरा गर्न लागेका थिए । कसैलाई पनि न जनताको हितको चासो थियो न हाम्रा मागको वैधानिकता वा न्यायबारे वास्ता गरेका थिए । पार्टी वा जनताको हितभन्दा आफ्ना व्यक्तिगत स्वार्थलाई माथि राख्नु कति लाजमर्दो कुरा थियो ।
तथाकथित जिम्मेवार राजनीतिक नेताहरूको व्यवहार र सोच देख्दा मलाई निकै नरमाइलो लाग्यो । सद्भाव कायम नै राख्न मोर्चाको सबभन्दा ठुलो दलको सदस्य भएर पनि म उप–मुख्यमन्त्री बन्न तयार भएँ । अधिकांश सदस्यहरू बिनासहमति, सम्झौता र स–साना व्यक्तिगत हित त्याग नगरी गठबन्धनको आयु लम्ब्याउन सकिन्न भन्ने कुरा अधिकांश सदस्यहरूले विचार गरेजस्तो लागेन । हामीले प्रहरीसहित गृह प्रशासनको जिम्मेवारी आफूले राख्ने प्रस्ताव ग¥यौं । तर, दक्षिणपन्थी कम्युनिस्ट पार्टीले गृह मन्त्रालयमा विभाजन गर्ने प्रस्ताव ल्यायो । गाँठो अझ कस्सिलो भयो । एक सातापछि सो समस्याको गाँठो फुक्यो । आखिरमा अजेय मुखर्जी मुख्यमन्त्री बने । म उप–मुख्यमन्त्री बनेँ । हाम्रो पार्टीको संसदीय दलको नेतामा म चुनिइसकेको थिएँ । त्यसकारण म सदनभित्र एकीकृत मोर्चाको उपनेता पनि भएँ । मैले गृह र प्रहरी मन्त्रालयको जिम्मेवारी लिएँ । सन् १९६९ को २५ फेब्रुअरीमा म एकीकृत मोर्चाको दोस्रो मन्त्रीमण्डलको सपथ ग्रहण समारोह भयो ।
जनताको सेवा गर्ने हाम्रो लागि राम्रो अवसर प्राप्त भएको थियो । हामीले अघिल्लो सरकारमा बस्दा पूरा गर्न नसकेका कार्यक्रमलाई पुरा गर्नतिर हामीले काम थाल्यौँ । पहिलेजस्तै हाम्रो प्राथमिकता भूमि सुधार, मजदुर सङ्गठन विधेयक(पश्चिम बङ्गाल संशोधन) पारित गराउनु र निःशुल्क प्राथमिक शिक्षाको बन्दोबस्त लागु गर्नु थियो ।
तर, हाम्रो अवस्था निकै कमजोर थियो । बाह्य नकारात्मक शक्तिले चाँडै नै खेल्न थाल्यो । सन् १९६९ को अप्रिलमा कोलकोत्ताको रवीन्द्र सरोवरमा आयोजित एउटा सांस्कृतिक कार्यक्रमबारे अखबारहरूले अतिरञ्जनापूर्ण र झुटा समाचार प्रकाशित गरे । सञ्चारमाध्यमहरूले सहरमा ऐन कानुन सबै नष्ट भएझैँ गरी हो–हल्ला गरे । गृहमन्त्रीको हैसियतले मैले सो घटनाबारे न्यायिक छानबिन गर्न निर्देशन दिएँ । सन् १९६९ को डिसेम्बर १६ मा त्यो दिन केही पनि असामान्य र अस्वभाविक घटना नभएको जानकारीसहित घोष आयोगले प्रतिवेदन सार्वजनिक ग¥यो ।
त्यस्तै अर्को एउटा घटना पनि म स्मरण गर्छु । जुलाई २९ मा बसन्तीमा एसयुसीका समर्थक र प्रहरीबीच भएको झडपमा परी एक जना प्रहरी अधिकारीको हत्या भयो । जुलाई ३१ मा झडपमा मारिएका प्रहरीको लाससहित प्रहरीहरूले एउटा प्रदर्शनको आयोजना गरे । विधानसभाको परिसरभित्रै प्रहरी अधिकारीहरूले दङ्गा मच्चाए । उनीहरूले त्यहाँ रहेका मेच कुर्सी भाँचकुच गरे । त्यहाँ रहेका महान नेताहरूको प्रतिमा फोडे । उत्तेजनामा उनीहरू चिच्याइरहेका थिए–‘हामी ज्योति बसुको टाउको चाहन्छौँ ।’ ‘एकीकृत मोर्चा सरकार–मुर्दावाद ¤’ आदि । उनीहरू संसदभवनभित्र प्रवेश गरे र कयौँ सांसदहरूमाथि हमला र अपमान गरे । उनीहरू सभामुखको कार्यकक्षमा प्रवेश गरे र त्यहाँ पनि भाँचकुच गरे । काङ्ग्र्रेसकी एक जना महिला नेतृले उनीहरूलाई उप–मुख्यमन्त्रीको कार्यकक्षमा प्रवेश गर्न उक्साइरहेकी थिइन् । काङ्ग्रेसका दुई जना सांसदहरूले उनीहरूलाई मेरो कार्यकक्ष देखाएका थिए । मेरो कार्यकक्षभित्र म काममा व्यस्त थिएँ । उनीहरू जबरजस्ती मेरो कार्यकक्षमा प्रवेश गर्न खोजे । तर, मेरो सुरक्षाको जिम्मेवारी पाएका प्रहरी अधिकारीहरूले उनीहरूलाई रोके । मैले उनीहरूलाई भित्र पस्न दिन भनेँ । उनीहरू मेरो कार्यकक्षमा हुत्तिएर प्रवेश गरे । गमला र फुल भाँचकुच गरे । बाहिर फ्याँकिदिए । म कति पनि उत्तेजित नभई सौम्यताका साथ मेरो कुर्सीमा बसिरहेँ । मेरो सौम्य व्यवहार देखेर उनीहरू चकित परे । त्यसपछि मैले बोलेँ, “के तपार्इँहरूका मृतक सहकर्मीको सम्मान गर्ने तरिका यही हो जस्तो लाग्छ ? यस्तो हुलदङ्गाको के अर्थ छ र ? तपाईँहरूबाट राइफल खोसिए तपार्इँहरूले के गर्न सक्नुहुन्छ र ? अनि अन्तिममा कृपा गरेर मेरो कोठाबाट बाहिर जानुहोस् ।” मैले पूरा शक्ति लगाएर चिच्याएको थिएँ । उनीहरू तुरुन्तै कोठाबाट बाहिर गए र बाहिर परिसरमा बसे ।
नेपाली अनुवादः बर्बरिक
Leave a Reply