बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
सोभियत सङ्घको उपहार मेरो परिवार
सोभियत सङ्घमा पढ्दा पढ्दै मैले एक अनुपम उपहार पनि पाएँ, मेरो सानो एक परिवार – श्रीमती भ्यालेन्टिना श्रेष्ठ र दुई छोराहरू अलेक्जेन्डर (साशा) र देनीस श्रेष्ठ ।
दुवै छोराहरू अहिले ठूला भए । तर, उनीहरू जन्मेको समयमा हामी दुवै विद्यार्थी भएकोले छोराहरूलाई हुर्काउन हामीसँग राम्रो अनुभव थिएन । व्यस्तताले होला, भ्यालेन्टिनाको दूध बच्चाहरूलाई पर्याप्त भएन ।
तत्कालीन सोभियत सङ्घमा कुनै नवजात शिशुलाई आफ्नी आमाको दूध पुगेन भने स्थानीय डाक्टरहरूको प्रेस्क्रिप्सनमा अन्य आमाहरूको दूध सित्तैमा दिइन्थ्यो । सायद यो सुन्दा धेरैलाई अचम्म र विश्वास नलाग्ला । यो आफैले भोगेर आएको कुरा आज लेख्दै छु । आज पनि झल्झली सम्झन्छु, त्यो सोभियत सङ्घको समाजवादी समाजको मानवताको जिउँदो इतिहास ।
नाबालक शिशुलाई आमाकै दुध खुवाउनुपर्छ भन्ने मान्यता विश्वव्यापी छ । एउटी आमाले आफ्नो बच्चालाई स्तनपान गराउने चलन हरेक देश र समाजमा पाइन्छ । मानव जीवनमा मात्र होइन यो कुरा हरेक पशुमा पनि लागू हुन्छ ।
भालेन्टिना भन्थिन्, “शिशु जन्माउनु र आफ्नो शिशुलाई दुध खुवाउनु एक स्वर्गानन्दको अनुभूति हो” । आफ्ना नवजात शिशु अलेक्जेन्डरसँग कोठामा हामी दुई जनामात्र हुन्थ्यौँ । छोरा सोभियत सङ्घमा सन् १९७२ को अप्रिल २४ का दिन जन्मेका थिए । त्यो समय हामी दुवै केमिकल इन्जिनियरिङ्ग कोर्स द्वितीय वर्षमा अध्ययन गर्दै थियौँ ।
केमिकल इन्जिनियरिङ्ग कोर्स ५ वर्षको थियो । मैले रुसी भाषा पढ्नुपर्ने भएकोले थप एक वर्षसमेत ६ वर्ष पढ्नुप¥यो । म सोभियत सङ्घमा स्न १९६९ देखि सन् १९७६ सम्म बसेँ । अहिले सम्झिँदा कहिलेकाहीँ डर लाग्छ र आङ र सिरिङ हुन्छ, कसरी हामीले आँट ग¥यौँ र समय बितायौँ ? दुइटा बच्चा जन्माएर, हुर्काएर पनि हामी दुवैले विशिष्ट श्रेणीको प्राप्ताङ्कसहित इन्जिनियरिङ्ग कोर्स सकायौँ ।
पढाइमा ७५ प्रतिशतभन्दा बढी अङ्क ल्याएर पढाइ सकाउने विद्यार्थीलाई सोभियत सङ्घमा ‘रेड डिप्लोम’ भनेर ‘डिग्री विथ डिस्टिक्सन (विशिष्ट)’ दिइन्थ्यो । भालेन्टिना र मैले ‘रेड डिप्लोम’ मा आफ्नो कोर्स सकायौँ । इन्स्टिच्यूटमा पढ्दा पढ्दै दुई छोराहरू अलेक्जेन्डर र डेनीसलाई हुर्कायौँ । त्यहाँ न मेरो कोही आफन्त वा नातेदार थिए न हामीसँग उनका कोही आफन्त । हामी दुई जनाले आफ्ना नाबालक छोराहरू हुर्काउने र रेखदेख गरी पढाइ सकायौँ । दुवै जना कक्षामा जानुपर्ने अवस्थामा कहिलेकाहीँ हामीलाई धेरै आपत पथ्र्यो, बच्चा हेरिदिने कोही हुँदैनथ्यो । दुध खाने बच्चालाई त्यसै छोडेर जाने स्थिति पनि हुँदैनथ्यो । त्यस्तो बेला हामीलाई साथीहरूले मद्दत गर्थे ।
म बस्ने अक्राइनाको खार्कोभ सहरमा २०–२५ जना नेपाली विद्यार्थी थिए । त्यसबेला कोही इन्जिनियरिङ्ग र कोही मेडिकल डाक्टर अध्ययन गर्थे । १४–१५ जना जति साथीहरू मेडिकल साइन्स पढ्थे भने १०–१२ जना इन्जिनियरिङ्ग साइन्स । मेडिकल साइन्स पढ्ने साथीहरू म बस्ने ठाउँबाट अलि टाढा बस्थे भने इन्जिनियरिङ्गका साथीहरू हामी नजिक । यद्यपि, मेरो इन्स्टिच्युटमा पढ्ने नेपाली विद्यार्थी म एक्लैमात्र थिएँ । अरू साथीहरू कोही मेकानिकल इन्जिनियरिङ्गका थिए भने कोही सिभिल इन्जिनियरिङ्गका ।
ती साथीहरूबारे आज सम्झँदा धेरै खुसी लाग्छ । किनभने, प्रायः साथीहरू आज नेपालमा विभिन्न सरकारी निकाय र अस्पतालहरूमा उच्च ओहदामा बसेर देश र समाजको सेवा गरिरहेका छन् । नेपालमा सोभियत सङ्घबाट अध्ययन गरेर आएका डाक्टर, इन्जिनियर र वकिलहरू नभएका अस्पताल र सरकारी निकाय विरलै होलान् ।

दुई छोरा जेठा अलेक्जेन्डर र कान्छा देनीस आफ्ना दिवङ्गत आमा भालेन्टिनाको समाधिस्थलमा पेञ्जा सहर, रसिया
Leave a Reply