भर्खरै :

प्रदूषण फाल्ने उद्योगलाई घरेलुको पत्र !

भक्तपुर, २८ मङ्सिर । घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरले भक्तपुर साना उद्योग क्षेत्रमा ध्वनि, धुवाँ, रसायन प्रदूषण फालेका पशुपति, इसान, अरूणा, शिवबाबा, मेमोर्स, बेष्ट, शिवाा, ओम सत्य साई नामका टेक्सटाइल र प्लास्टिक उद्योगहरूलाई यथाशीघ्र प्रदूषण न्यूनीकरणको योजनासहितको यकिन विवरण पेश गर्न र अन्यथा नियमानुसार अनुमति खारेजीको प्रक्रिया अगाडि बढाइने पत्र पठाएको छ ।
कार्यालय प्रमुख अधिकृत आठौँ तहका सुबोधकुमार साह कर्मयोगीको हस्ताक्षर भएको उक्त पत्रमा मिति २०७७÷०८÷२५ गते उल्लेख गरिएको छ ।
स्थानीय जनताको जग्गा अधिग्रहण गरी भक्तपुरको परम्परागत सीपमा आधारित हस्तकलाका उद्योगलाई व्यवसायिक रूप दिन विसं २०३६ सालमा भक्तपुर साना उद्योग क्षेत्र स्थापना गरिएको हो । उद्योगका भवनहरूमा इँटाको गारोमा टाइल छाना थियो । विसं २०४७ सालको नेकाको सरकारले यो औद्योगिक क्षेत्रमा ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने टेक्सटाइल, डाइङ्ग, प्लास्टिक र रङरोगन उद्योग सञ्चालन गराएको थियो । यो उद्योग क्षेत्र अहिले मानव बस्तीको बीचमा परेको हुँदा नेपाल सरकारको आ.व. २०७३÷७४ को बजेट वक्तव्यमा काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण गर्ने प्रतिबद्धता पनि छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख बलराम बोगटीले सरकारको यो प्रतिबद्धताविपरीत निषेधाज्ञाको बेला गत भदौ २० र २१ गते टेक्सटाइल मेसिन राख्न लगाएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरबाट पश्मिना उत्पादन गर्न अनुमति लिएको मेमोर्सलाई अत्यधिक ध्वनि प्रदूषण फैलाउने स्वचालित टेक्सटाइल मेसिन सञ्चालन गराइएको छ । उद्योग विभागबाट कपडा उत्पादन गर्ने कृतिलाई अत्यधिक ध्वनि र धुवाँ प्रदूषण फैलाउने स्वचालित टेक्सटाइल र डाइङ्ग मेसिन सञ्चालन गराइएको छ । सम्झौताविपरीत मेमोर्स इन्डस्ट्रिज अन्य व्यक्ति रवि सिँहले अत्यधिक ध्वनि प्रदूषण फैलाउने दर्जनौँ टेक्सटाइल मेसिन सञ्चालन गर्दै छन् । यी उद्योगहरूबाट एउटा उत्पादनको लागि अनुमति लिई अर्को उत्पादन गरी राजस्वसमेत छल्ने काम भइरहेको र यसमा व्यवस्थापन कार्यालयका प्रमुख बोगटी र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख साहको मौन संलग्नता रहेको जनगुनासो छ । यसतर्फ राजस्व कार्यालयको दृष्टि नपुगेकोमा प्रश्न उठिरहेको छ ।
कार्यालय प्रमुख बोगटी र साहले पीडित जनतालाई मत्थर पार्न यस्तै पत्र लेख्ने र प्रमुख जिल्ला अधिकारीसमेतलाई प्रदूषण न्यूनीकरण हुँदै छ भनी चङ्गुलमा पार्ने जाल बुनिरहेको पनि जनगुनासो छ । साना उद्योगको लागि बनेका भवनमा जस्तापाता मोडेर टेक्सटाइल, डाइङ्ग, प्लास्टिक र रङरोगन उद्योग सञ्चालन गरिएको हुँदा ध्वनि, धुवाँ र रसायन प्रदूषण न्यूनीकरण सम्भव नभएको पीडित जनताको मत रहेको छ । नेपो, कृति,बर्जरलगायतलाई पनि नगएको बारेमा प्रश्न उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *