भर्खरै :

जनताका लेखक प्रिय हुन्छन्

कुनै विषयमा लेखेर प्रकट गरिएको विचार या कुरो या रचना लेख हो । यसरी लेख, पुस्तक आदि लेख्ने व्यक्ति, रचनाकार या ग्रन्थकार लेखक हुन् । लेखकहरू सामान्यतः जानकार या पढेलेखका हुन्छन् । उनीहरूले प्रकाशनमा रहेका राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, भौतिकशास्त्र तथा अन्य सिद्धान्त, दर्शन र विचारसित सम्बन्धित यावत देश विदेशका ग्रन्थहरू अध्ययन गरेका हुन्छन् । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिहरूको जीवनी तथा देश विदेशमा भएका गतिविधि या आन्दोलनबारे अध्ययन गरेका हुन्छन् । यस हिसाबले लेखकहरू बुद्धिजीवी समुदायमा पर्छन् । उनीहरू अध्ययनशील र संवेदनशील समुदायमा पर्छन् । देशको वस्तुस्थितिको अध्ययन, अनुसन्धान गरेर कमी कमजोरी औँल्याउने र वैचारिक निकास दिने वर्गमा पर्दछन् । तिनै लेखकहरूको दर्शन, सिद्धान्त र विचार या देश विदेशका विभिन्न ग्रन्थहरूको समालोचना पढेर जनता सुसूचित हुन्छन् । यसकारण, लेखकहरूको भूमिका महत्वपूर्ण मानिन्छ ।
वर्गमा विभाजित यो समाजमा लेखकहरू पनि थरीथरीका हुन्छन् । कुनै लेखकहरू सरकारको काम सही या गलतको मूल्याङ्कन नै नगरी गुणगान गर्छन् त कुनै पुँजीपति, सामन्तहरूको पक्षमा पृष्ठपोषण गर्छन् । कुनै लेखकहरू सरकार र दलको गलत क्रियाकलाप, खोटो विचार तथा जनताका वास्तविक समस्या उजागर गरेर लेख लेख्छन् । उनीहरू जनताको पीडा, व्यथाबारे चर्चा गरेर सरकार या सम्बन्धित निकायको ध्यानाकर्षण गर्छन् । लेख या रचना लेख्दा लेख्दै तिनै लेखकहरू कुनै पत्रिकाको स्थापित लेखक बन्छन् । यस्ता लेखकहरू जनताका प्रिय बन्छन् । जनतालाई दर्शन, सिद्धान्त र विचारको सही विश्लेषण गर्ने लेखकहरू जनताका लेखक हुन् ।
देश र जनताप्रति समर्पित, सिद्धान्त र विचार बोकेका आस्थाका दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रिकाहरूमा त्यस्तै जनताका लेखकहरूको लेख हुन्छ । श्रमजीवी वर्गको सिद्धान्त र विचार बोकेको पत्रिकामा छापेको लेख जनतामाझ पुग्छ । यसले जनतालाई सुसूचित पार्ने काम गर्छ । देश र विचारप्रधान पत्रिका जनतामाझ पुग्नु भनेको धेरैले अध्ययन गर्ने अवसर पाउनु हो । जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्छन् भनेझैँ नेता तथा कार्यकर्ता नपुगेको ठाउँमा विभिन्न पत्रिका पुग्छन्, एकैपटक एकैदिन जनताका स्वर चारैतिर पुग्छ । त्यही भएर पार्टीले आफ्ना प्रकाशन या पत्रिकाहरू प्रकाशित गरेको हुन्छ । यस अर्थमा पत्रिकाले अप्रत्यक्षरूपमा सङ्गठनकर्ताको काम गरिरहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *