भर्खरै :

छाङ अ – ५ सम्म चीनको यात्रा

छिमेकी देश चीनको लागि मात्र नभई सिङ्गो मानव जातिको निम्ति डिसेम्बर १७ अर्को एउटा कारणले पनि विशेष बनेको छ । चन्द्रमा प्रस्थान गरेको चीनको छाङ अ–५ अन्तरिक्ष यान चन्द्रमासम्बन्धी थप अध्ययनको निम्ति अहम् महत्व राख्ने केही नमुना बोकेर सफलतापूर्वक पृथ्वी फर्केको छ । छाङ अ–५ को सफल चन्द्रलोकको यात्रासँगै त्यहाँ पुग्ने चीन तेस्रो देश बनेको छ । यसअघि संरा अमेरिका र सोभियत सङ्घले आफ्ना अन्तरिक्षयात्रीहरूलाई चन्द्रमा पठाएका थिए ।
अन्तरिक्ष विज्ञान र प्रविधिमा पछिल्लो सफलताले चीनलाई पृथ्वीको एउटा शक्तिशाली देश प्रमाणित गरेको छ । सन् १९८९ मा सोभियत सङ्घको विघटनपछि अन्तरिक्ष विज्ञानमा संरा अमेरिकाको झन्डै एकछत्र राज चल्दै आएको थियो । चीनले पनि यो क्षेत्रमा गरेको प्रगतिसँगै अब अन्तरिक्ष विज्ञान र प्रविधि क्षेत्रमा संरा अमेरिकाको एकाधिकार तोडिएको छ ।
बिहीबार चीनको भित्री मङ्गोलियामा सफलतापूर्वक अवतरण गरेको छाङ अ–५ ले आफूसँगै बोकेर ल्याएको चन्द्रमाको माटो र ढुङ्गा चन्द्रमा, सौर्यमण्डल र अन्तरिक्षको अध्ययनमा कोशेढुङ्गा सावित हुने बताइएको छ । वैज्ञानिकहरूले चिनियाँ यानले चन्द्रमाकै सबभन्दा कलिलो भागको नमुना ल्याएको हुनाले यसले चन्द्रमाको विकासक्रमबारे अध्ययन गर्न टेवा पु¥याउने बताएका छन् ।
विज्ञान–प्रविधिको विकाससँगै शक्ति देशहरूको प्रतिस्पर्धा अब पृथ्वीमा मात्र सीमित छैन । अन्तरिक्षमा पनि शक्ति देशहरूबीच तीव्र प्रतिस्पर्धा हुन थालेको छ । कुनैबेला अन्तरिक्ष विज्ञान–प्रविधिमा समाजवादी सोभियत सङ्घ अग्रणी थियो । अन्तरिक्षमा सबभन्दा पहिलो यान र मानिस पठाउन सोभियत सङ्घ सफल भएको थियो । सोभियत सङ्घले अन्तरिक्ष विज्ञानमा हासिल गरेको सफलताले संरा अमेरिकालाई पनि निकै अत्याएको थियो । फलतः समयान्तरमा संरा अमेरिकाले पनि अन्तरिक्ष विज्ञानमा महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । चन्द्रमामा सबभन्दा पहिलो मानवसहितको यान संरा अमेरिकाले पठाएको थियो । सोभियत सङ्घको विघटनपछि संसारको अर्थतन्त्र र सैन्य शक्तिमा मात्र संरा अमेरिकाको एकछत्र चलेको थिएन, अन्तरिक्षमा पनि उसैको एकाधिकार चलेको थियो । अन्तरिक्ष विज्ञान र प्रविधिमा संसार संरा अमेरिकामा निर्भर हुनुपर्ने अवस्था थियो । तर, आर्थिक र राजनीतिक शक्तिको रूपमा चीनको उदयसँगै अन्तरिक्ष विज्ञानमा पनि उसले हासिल गरेको सफलताले संरा अमेरिकाको एकाधिकार तोडिएको छ । यसले सन्तुलित संसार निर्माणको निम्ति टेवा पु¥याउनेछ ।
छाङ अ–५ अन्तरिक्षयानसम्मको चीनको यात्रा त्यत्ति सहज भने पक्कै थिएन । सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापनापछि चिनियाँ जनताले क्रमशः सबै क्षेत्रमा प्रगतिका बाटा खन्दै गए । पाइला–पाइला गर्दै आज चीन छाङ अ–५ सम्म पुगेको छ । चीनको उदाउँदो शक्ति अझ पनि उक्लिरहनेमा कुनै विवाद छैन । तर, संरा अमेरिकाको उदय र चीनको प्रगतिमा धेरै अन्तर भएको वास्तविकतालाई भने हामीले भुल्न मिल्दैन ।
चन्द्रमाबाट सङ्कलित माटो र ढुङ्गाको नमुना चीनले अन्य देशका वैज्ञानिकहरूलाई पनि अनुसन्धानको निम्ति उपलब्ध गराउने बताएको छ । कदाचित यो सफलता संरा अमेरिकाको अन्तरिक्ष संस्थाले प्राप्त गरेको भए यस्तो उदारता सम्भव थिएन । संरा अमेरिका संसारमा आफ्नो प्रभुत्व जमाउन विज्ञान र प्रविधिको दुरूपयोग गर्छ भने चीन मानव जाति र सिङ्गो पृथ्वीको हितको निम्ति आफूले विज्ञान–प्रविधिको क्षेत्रमा हासिल गरेका उपलब्धिको उपयोग गर्ने गर्छ ।
छिमेकी देश र संसारमै न्यायको पक्षमा उभिने देश चीनले हासिल गरेको यो सफलताको निम्ति छाङ अ–५ परिवार र चिनियाँ जनतालाई हार्दिक बधाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *