के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
(भक्तपुुर नगरपालिकाको ७१ औँ स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभएको मन्तव्यको पूर्ण पाठ–सम्पादक)
भक्तपुर नगरपालिका स्थापना भएको आज ७१ वर्ष पूरा भयो । २००६ सालमा स्थापना भएको नगरपालिका विभिन्न उतारचढावबीच आजको स्थितिमा आइपुगेको छ । सांस्कृतिक नगरको पहिचान बोकेको भक्तपुर नगरपालिकाको विकास र प्रगति तथा यहाँका जनताको जीवनस्तर उठाउने जिम्मेवारी आज हाम्रो काँधमा आएको छ । निर्वाचित भएको साढे तीन वर्षको अवधिमा हामी जनप्रतिनिधिहरूले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्दै आयौँ । निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको वचन पूरा गर्न हामी कोसिस गर्दै छौँ । कामको सिलसिलामा भएका कमी कमजोरीहरूको आत्मसमीक्षा गर्दै अझ बढी जनताको सेवा गर्ने भावनाले काम गर्दै छौँ ।
२०७७ सालको विगत ८ महिना कोरोना महामारीबीच नै बित्यो । हामी अत्यन्तै जटिल, कठिन र प्रतिकूल अवस्थामा काम गर्दै छौँ । कोरोनाबाट जनतालाई बचाउनु अहिलेको हाम्रो पहिलो प्राथमिकता हो । भक्तपुर नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि जनतामा जनचेतना जगाउने, सङ्क्रमण हुन नदिन विभिन्न उपायहरूबारे जानकारी दिने र सङ्क्रमण भइहालेको अवस्थामा उपचार गर्नेसम्मको काममा जनतालाई सहयोग गर्दै आएको छ ।
विदेशबाट आएकाहरूका लागि क्वारेन्टिनको व्यवस्था, नगरपालिकाकै ७५ शøयाको आइसोलेसन केन्द्र स्थापना, घर – घरमा एकान्तवास बसेकाहरूका लागि उचित व्यवस्थापनलगायतका काममा भक्तपुर नगरपालिकाले सक्दो सेवा प्रदान गर्दै आएको छ । नगरपालिकाले विदेशबाट आएका १५६ जना र आइसोलेसन केन्द्रमा बसेका ९६ जनाको सेवा गरिसकेको छ भने आगामी दिनहरूमा पनि आवश्यकताअनुसार सहयोग गरिरहनेछ । नेपाल सरकारको स्वीकृतिमा हाल भक्तपुर नगरपालिकाले अस्पतालको वार्डभन्दा माथिल्लो र आइसीयूभन्दा कम तहको २५ शøयाको एचडीयू (हाइ डिपेन्डेन्सी युनिट) सञ्चालनको तयारी गरिरहेको छ ।
यस चुनौतीपूर्ण घडीमा हामीले अत्यन्तै सचेततापूर्वक काम गर्दै छौँ । हालसम्म भक्तपुर नगरपालिका क्षेत्रभित्र कुल सङ्क्रमितहरू १७५५ भयो भने १६५० जना निको भइसकेका छन् र हाल सक्रिय सङ्क्रमितहरू ६१ मात्र छन् । हालसम्म जम्मा ४४ को मृत्यु भइसकेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि जनस्तरबाट सहयोगको आह्वान गरिएकोमा आ.व. २०७७÷७८ को साउनदेखि मंसिरसम्मको चार महिनामा विभिन्न सङ्घ—संस्थाबाट प्रकोप व्यवस्थापन कोषमा रु. ४० लाख ८० हजार ७ सय ५५ रूपैयाँ ४२ पैसा रकम जम्मा भएको छ । नगरपालिकाको आह्वानलाई स्वीकार गरी सहयोग गर्नुहुने सम्पूर्ण सङ्घ संस्था र महानुभावहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवादज्ञापन गर्दछौँ । कोभिड १९ रोग समुदाय स्तरमा फैलन नदिन एवम् सङ्क्रमितहरूको उपचार, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसन व्यवस्थापनको लागि हालसम्म भक्तपुर नगरपालिकाले रु. २ करोड ३१ लाख ४३ हजार ९ सय ५१ रूपैयाँ खर्च गरिसकेको छ ।
जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा, नगरका ठाउँ–ठाउँमा जनस्वास्थ्य केन्द्रहरू सञ्चालन गर्दै आएको छ । क्यान्सर अस्पताल, सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पतालजस्ता सङ्घ र प्रदेशअन्तर्गतका अस्पतालहरू पनि भक्तपुर नगरपालिका क्षेत्रभित्रै छन् । ती सबै अस्पतालहरूले जनताको सेवा गर्दै आएका छन् । भक्तपुर नगरपालिकाले रु.७६ करोडको लागतमा ख्वप अस्पताल भवन निर्माण गर्दै छ हाम्रै कार्यकालमा एक व्यवस्थित अस्पताल सञ्चालन गर्ने उद्देश्यका साथ निर्माण काय तीब्रगतिमा अगाडि बढ्दै छ । हाल जनस्वास्थ्य केन्द्रहरूले दैनिक तीन चार सय बिरामीहरूको सेवा गर्दै आएकोमा अस्पताल सञ्चालनमा आएपछि अहिलेभन्दा धेरै बिरामीहरूको सेवा गर्न पाउने छौँ ।
भक्तपुर क्यान्सर अस्पताल देशकै एक महत्वपूर्ण अस्पताल हो । नगरपालिकाले प्रदान गरेको जग्गामा एउटा गैरसरकारी संस्थाले आफ्नो निजी सम्पत्तिसरह प्रयोग गर्दै वर्षमा करोडौँको भ्रष्टाचार गरिरहेको समाचार सार्वजनिक भयो । स्थानीय जनप्रतिनिधिको हैसियतले समाचारमा आएको विषयमा सत्यतथ्य बुझ्ने कोसिस ग¥यौँ तर तत्कालीन व्यवस्थापन समितिका कोही पनि पदाधिकारी नगरपालिकासँग छलफल गर्न चाहेनन् । अस्पतालका अधिकांश स्वास्थ्यकर्मी र कर्मचारीहरूले नगरपालिकाले अस्पतालको संरक्षण गर्न आग्रह गरेपछि २०७६ साउन ३० गते नगरपालिकाका प्रमुखको संयोजकत्वमा समिति गठन गरी कार्य अगाडि बढाइयो । सर्वोच्च अदालतले नगरपालिकाद्वारा गठित समितिलाई काम नगर्न अन्तरिम आदेश दिएपछि हाम्रा औपचारिक बाटाहरू बन्द भए । जनताको सम्पत्ति संरक्षण गर्ने कार्यमा नगरपालिका चुप लागेर बसेन । २०७७ कार्तिकको अन्तिम साता नेपाल सरकार मन्त्रिपरिषद्ले भक्तपुर क्यान्सर अस्पताल गठन आदेश जारी गरी सङ्घीय सरकारअन्तर्गत सञ्चालन गर्ने निर्णय ग¥यो । क्यान्सर अस्पतालको अरबौँको सम्पत्ति गैरसरकारी संस्था (एनजीओ) को हातबाट सार्वजनिक सम्पत्ति बनाउन सफल भयौँ । त्यस काममा स्थानीय जनताले निरन्तर साथ र सहयोग गर्नुभयो । सरकारको त्यस कदमलाई सकारात्मकरूपमा लिँदै अबका दिनमा जनताले सस्तो र गुणस्तरीय उपचार सेवाको निम्ति हामी निरन्तर लागिरहनेछौँ ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरिने श्वासप्रश्वास पुनस्र्थापना केन्द्र र आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्र पनि अन्तिम तयारीमा छन् । श्वासप्रश्वास केन्द्र कोभिडकै कारण उद्घाटन हुन सकिरहेको छैन भने आयुर्वेदिक स्वास्थ्य उपचार केन्द्र छिट्टै नै सञ्चालनमा ल्याइनेछ ।
शिक्षा :
शिक्षा मन्त्रालयले विद्यालयहरू सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएपछि कोरोनाको कारण नौ महिनाअघि बन्द भएका विद्यालय र कलेजहरू चरणबद्ध सञ्चालनको तयारी गर्दै छौँ । लामो समय विद्यालय र कलेजहरू बन्द हुँदा लाखौँ विद्यार्थीलाई नकारात्मक असर पर्ने सम्भावनालाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले वैकल्पिक शिक्षण विधिलाई पनि निरन्तरता दिँदै विद्यालय सञ्चालन गर्दै लाने नीति लिएको हो । तर, सङ्घ सरकारका दुईवटा मन्त्रालय शिक्षा र स्वास्थ्य मन्त्रालयको बेग्लाबेग्लै निर्णयले स्थानीय तहहरूलाई अन्योल बनाइदिएको छ ।
स्वास्थ्य मापदण्डलाई पालना गरी विद्यालयहरू सञ्चालन गर्न शिक्षा मन्त्रालयबाट सबै स्थानीय तहको नाउँमा पत्र जारी गरेपछि धेरै स्थानीय तहहरूले कक्षा सञ्चालनको तयारी गर्दै छन् । मंसिर २६ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कक्षा सञ्चालनमा आपत्ति जनाउँदै पठनपाठन सुरु गर्दा सङ्क्रमण भए जिम्मेवारी कसले लिन्छ भनी अप्रत्यक्षरूपमा कक्षा बन्द गर्न दबाब दिए । एउटै सरकारमा दुई मन्त्रालयको परस्परविपरीत निर्णयले लाखौँ विद्यार्थी प्रभावित हुनेछन् । सङ्घ सरकारले अन्योलको स्थितिको तत्काल सुधार गर्न आवश्यक छ ।
भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण
भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित साना औद्योगिक क्षेत्रमा सञ्चालित केही उद्योगपतिहरूसँग नगरपालिकाको विवाद कायमै छ । उक्त औद्योगिक क्षेत्र २०३६ सालमा परम्परागत सीपमा आधारित हस्तकला उद्योग स्थापना गर्न जग्गा अधिग्रहण गरिएको थियो । पछि ध्वनि, धुवाँ र रसायन प्रदूषण फाल्ने उद्योगहरू स्थापना गरियो । जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने टेक्सटायल, डाइङ्ग, प्लास्टिक र रङरोगन उद्योग हटाउन स्थानीय जनताले बारम्बार माग गरे । त्यहाँ स्थापित उद्योगहरूले वर्षौँदेखि नगरपालिकालाई कानुनबमोजिम तिर्नुपर्ने करसमेत तिरेका छैनन् । नगरपालिकालाई तिर्नुपर्ने झन्डै एक करोड रूपैयाँ कर तिरेका छैनन् ।
नेपाल सरकारले २०७३÷७४ को बजेटमा उद्योगहरू काठमाडौँ उपत्यकाबाहिर स्थानान्तरण गर्ने उल्लेख गरेको थियो । स्थानीय जनताको मागअनुसार उद्योगहरू स्थानान्तरणको लागि हामीले उद्योग राज्यमन्त्री, उद्योग क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीसित पटक–पटक अनुरोध ग¥यौँ । माननीय प्रेम सुवालले यसबारे निरन्तर पहल गरिरहनुभएको छ भने संसदीय समितिमा पनि उहाँले यस विषयमा कुरा उठाउनुभएको छ । उद्योग मन्त्रालयको तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा एउटा अनुगमन समिति गठन गरिएको छ भने संसदीय समितिको तर्फबाट अर्को समिति गठन गरिएको जानकारी प्राप्त भएको छ । समिति गठन गरेर जनताको भवनालाई पन्छाउने काम नहोस्, समितिले जनताकै पक्षमा प्रतिवेदन दिने र त्यसको कार्यान्वयन हुनेमा हामी आशावादी छौँ ।
रासायनिक मल अभाव :
कृषिप्रधान देशमा खेतीको समयमा रासायनिक मल छैन भन्नुपर्दा सरकारमा बसेका मन्त्रीहरूलाई लाज लाग्नुपर्ने हो । मलको हाहाकार भएर जनता नगरपालिकामा डेलिगेसन आउन थालेपछि जनताको समस्याबारे कृषिमन्त्री घनश्याम भूषाल, साल्ट ट्रेडिङ कर्पोरेसन प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ र कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक सञ्चालक नेत्रबहादुर भण्डारीलाई भेटी यथाशक्य चाँडो मल आपूर्तिको लागि ध्यानाकर्षण ग¥यौँ । तापनि, हालसम्म सहजरूपमा मल उपलब्ध गराइएको छैन । समयमा रासायनिक मल दिन नसकेमा त्यसले राष्ट्रिय उत्पादनमा समेत प्रत्यक्ष असर पार्नेछ । यसबारे भक्तपुर नगरपालिकाले बारम्बार सम्बन्धित पदाधिकारीहरूको ध्यानाकर्षण गर्दै आएको छ ।
ङातापोल्हँ जीर्णोद्धार कार्य :
धेरै सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धारसँगै यो वर्ष प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिरको जीर्णोद्धार सम्पन्न भयो । २०७६ कार्तिकबाट सुरु भएको जीर्णोद्धार कार्य २०७७ असार मसान्तमा सम्पन्न भयो । उक्त मन्दिर जीर्णोद्धारमा उल्लेख्य जनश्रमदान र आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको थियो । रु.६५लाख १३ हजारको लगत इष्टमेटमा मन्दिर जीर्णोद्धार कार्य सुरु गरिएकोमा रु. १५ लाख ४७ हजार आर्थिक सहयोग, ५ लाख ६३ हजारको भौतिक सामग्री सहयोग प्राप्त भयो भने ४१८७ जना नगरवासीहरूले श्रमदान गर्नुभएको थियो । सम्पदा पुनः निर्माण वा जीर्णोद्धारमा भक्तपुर नगरवासीहरूमा स्वयम्स्फूर्तरूपमा श्रमदान गर्ने भावना छ । यो भावनालाई निरन्तर जीवन्त राख्न प्रयास जारी राख्न आवश्यक छ । मन्दिर जीर्णोद्धारसम्बन्धी सम्पूर्ण विवरणसहितको पुस्तक निकाल्ने तयारी गर्दै छौँ ।
सङ्घीयताबारे:
सङ्घीयताको अर्थ अधिकार बाँडफाँट हो । नेपालको संविधानले नै सङ्घ, प्रदेश र स्थानीयको अधिकार विभाजन गरेको छ । तर, सङ्घ र प्रदेश सरकार योजना छनोटदेखि कर्मचारी नियुक्तिसम्म सम्पूर्ण क्षेत्रमा हात हाल्दै छन् । विशेष र सःशर्त अनुदानको नाउँमा स्थानीय तहले गर्ने विकास निर्माणका योजनाहरूको छनोट सङ्घ र प्रदेशले गर्दै छन् । योजना छनोटको अधिकारसमेत सङ्घ र प्रदेशको नियन्त्रणमा राख्नु एकात्मक राज्य प्रणालीकै पुनरावृत्ति हो र त्यो सङ्घीयताको मर्मविपरीत कार्य हो । राज्यको अधिकांश बजेट स्थानीय तहलाई पठाउनुपर्ने र आवश्यकताको आधारमा योजना छनोट गर्ने अधिकार स्थानीय तहलाई हुनुपर्दछ ।
स्थानीय तहहरूले केन्द्रले पठाएका कर्मचारीहरूलाई हाजिर नगराएको भन्दै सरकारले पठाउने अनुदानसमेत कटौती गरेको छ । स्थानीय आवश्यकताअनुसार स्थानीय तहले नै कर्मचारी राख्न पाउनुपर्ने माग हामीले गर्दै आएका छौँ । सङ्घ र प्रदेशले पठाएका कर्मचारीलाई स्वीकार गर्नुपर्ने बाध्यकारी बनाउनु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप हो । स्थानीय तहले तलब खुवाउँदै आएका शिक्षकहरू स्थानीय तहप्रति नै उत्तरदायी बनाउनुपर्ने हो । जसले तलब खुवाउँछ, नियन्त्रण उसको हुनुपर्ने नियन्त्रणको सामान्य नियम हो । तर, शिक्षकहरू सरुवा वा कुनै काम गर्दासमेत जिल्ला शिक्षा समन्वय एकाइको अनुमति लिनुपर्ने व्यवस्था मन्त्रालयको हस्तक्षेपको अर्को नमुना हो ।
प्रदेश सरकारले कर्मचारीसम्बन्धी कानुन निर्माण गरी नदिँदा लामो समयसम्म सेवामा कार्यरत कर्मचारीहरूको वृत्ति विकासमा बाधा पुगिरहेको छ । यसतर्फ प्रदेश सरकारको ध्यान जाने आशा गर्दछौँ ।
भक्तपुर नगरपालिकाले सम्पदाहरूको पुनः निर्माण र जीर्णोद्धार मौलिक शैलीमै गरिरहेको छ । पुनः निर्माण प्राधिकरणले भक्तपुरमा सम्पदाहरूको पुनः निर्माणका लागि बजेट विनियोजन गर्ने पटक–पटक आश्वासन दिए पनि हालसम्म कुनै रकम प्राप्त भएको छैन । अर्बौँ रूपैयाँ बैङ्कमा राखेर सम्पदा आफैं निर्माण हुँदैन भन्ने कुरा सम्बन्धित पदाधिकारीहरूले बुझ्नुपर्ने हो ।
हरेक कुरा ठेक्कामै गराउने, संरचनाको गुणस्तरमा भन्दा कमिसनमा लोभ गर्ने पदाधिकारीहरूले देशको मौलिक प्रविधिलाई बचाइराख्न सक्दैनन् । हरेक कामको लागि जनप्रतिनिधिहरू सिंहदरबार धाउने प्रवृत्तिले सङ्घीयताको उपहास गरिरहेको छ ।
स—साना विकास निर्माणको लागि विदेशीसामु हात थाप्ने बानीले हामीलाई कहिल्यै आत्मनिर्भर र स्वाभिमानी बन्न दिनेछैन । सहयोगको नाउँमा आउने विदेशीको स्वार्थसँग भक्तपुर नगरपालिका सचेत छ । भक्तपुर नगरपालिका ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ को नारालाई सार्थक बनाउन स्थानीय जनताकै सहयोगमा यहाँका सम्पदाहरू उठाउन प्रयत्नशील छ । भक्तपुरको पुरानो बस्तीको पहिचानलाई बचाइराख्न मौलिक शैलीमा घर निर्माण गर्नेहरूलाई नगरपालिकाले आर्थिक सहयोग पनि गर्दै आएको छ ।
भक्तपुर नगरपालिका जनताको जीवनप्रति जति जिम्मेवार भएर काम गर्दै छ र त्यति नै आफ्नो काम, कर्तव्य र अधिकारप्रति सचेत पनि छ । खानेपानीको व्यवस्था, ट्राफिक व्यवस्थापन, सहकारीलाई जनताप्रति बढी जिम्मेवार बनाउने लगायतका कार्यमा भक्तपुर नगरपालिका निरन्तर लागिरहेको छ ।
जनसङ्ख्या वृद्धिसँगै पूर्वाधारहरूको आवश्यकतालाई ध्यानमा राखी तुमचो दुगुरे चोखा जग्गा एकीकरण आवास योजना हालै सम्पन्न भएको छ भने देको मिवा इटापाके आवास योजना सञ्चालनमा छ ।
भक्तपुर नगरपालिकाले युवा, महिला लक्षित विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएकोमा यो वर्ष कोभिडको कारण रोकिएको छ र परिस्थिति सामान्य भएपछि ती कामहरूलाई निरन्तरता दिइनेछ ।
सार्वजनिक, सरकारी तथा पर्ती जग्गा संरक्षणलाई निरन्तरता दिँदै आएका छौँ । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी आदर निकेतन सञ्चालनको तयारी गर्दै छौँ । साथै सहरको सुन्दरता बढाउन सरसफाइ, हरियाली प्रवद्र्धन र जथाभावी छरिएर रहेका तारहरू व्यवस्थितरूपमा भूमिगत बनाउने प्रक्रिया पनि सुरु भएको छ ।
अन्त्यमा, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै जनताको जीवनस्तर उठाउन पनि हामी जनप्रतिनिधिहरू निरन्तर लागिरहेका छौँ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले कल्पना गर्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ हाम्रो सपना हो । हामी त्यसैलाई मार्गदर्शनको रूपमा लिँदै काम गर्दै छौँ । सांस्कृतिक प्रशिक्षण, सम्पदाहरूको संरक्षण, सांस्कृतिक गतिविधिहरू र मौलिकता संरक्षण यसैको सिलसिला हो । ढिलो या चाँडो हामी आफ्नो गन्तव्यमा पुग्न सफल हुनेमा आशावादी छौँ । धन्यवाद !
Leave a Reply