आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
अमेरिकी सेनाको दक्षिणी कमान्ड–साउथकमका प्रमुख एडमिरल क्रेग फलरको एक प्रस्तुति र ल्याटिन अमेरिकाबारे संरा अमेरिकी युद्ध कलेजका प्रमुख विज्ञहरूले प्रस्तुत गरेको एउटा प्रतिवेदनमा ल्याटिन अमेरिकी क्षेत्रमा चीनको प्रभाव बढेको भन्दै अत्यन्त जरूरी चेतावनी दिइएको छ । दुई हप्ताको फरक समयमा दिइएका ती दुई प्रतिवेदन अब आउने नयाँ सरकार –बाइडन प्रशासनलाई बुझाउने बताइएको छ । ती दुई प्रतिवेदनअनुसार चीनसितको विश्वव्यापी द्वन्द्व तयारीको एक भागका रूपमा वासिङ्टनले आफ्नो देशको दक्षिणतिरका भूमिहरू (ल्याटिन अमेरिकी देशहरू) विरुद्ध आफ्नो साम्राज्यवादी प्रभुत्व लाद्नका लागि आफ्नो गति तीव्र पार्नुपर्छ ।
साउथकमका प्रमुख क्रेग फलरले डिसेम्बर २ बुधबारका दिन अमेरिकी रक्षा विभाग–पेन्टागनलाई दिएको प्रतिवेदनमा “संरा अमेरिकाको प्रतिस्पर्धाको किनारा (क्यारिबियाली र दक्षिण अमेरिकी क्षेत्रमा) खिइँदै गएको छ । विशेषगरी यस क्षेत्रमा चिनीयाँ प्रभाव आएपछि ।” भनी उल्लेख गरिएको छ ।
फलरले आफ्नो प्रतिवेदनमा विशेष गरी चीनले ‘विश्वव्यापी नियम मान्न’ असफल भएको कारणले उत्पन्न चुनौतीका रूपमा त्यसलाई प्रस्तुत गरेका छन् । उनले भन्न खोजेको विश्वव्यापी नियम भनेको बीसौँ शताब्दीको मध्यदेखि विश्वव्यापी प्रभुत्वका लागि संरा अमेरिकाले लादेका नियम र सम्झौताहरू हुन् । “मलाई लाग्छ तिनीहरूले (चिनीयाँहरूले) विश्वव्यापीरूपमा जस्तै यस क्षेत्रमा पनि प्रतिस्पर्धा बढाइरहेका छन् । विश्वको मुख्य शक्ति बन्नका लागि चीनले पूरा जोड लगाइरहेको छ ।”–एडमिरल फलरले लेखेका छन् ।
“तिनीहरू त्यस्तै किसिमका पूर्वाधार निर्माणका ऋण सम्झौताहरूका साथ आइरहेका छन्, जुन उनीहरूले विश्वव्यापी प्रभाव निर्माणका लागि प्रयोग गरिसकेका छन् । तिनीहरू जस्ता सम्झौताहरूका साथ आएका छन्, त्यससित कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन किनभने अमेरिकी उद्योगहरूले नितान्त कानुनसम्मत ढङ्गले मात्र चल्नुपर्छ ।”– फलरले लेखेका छन् ।
फलरका अभिव्यक्ति देख्दा उनले ठट्टा गरिरहेको आभास हुन्छ । संरा अमेरिकी कर्पोरेसनहरूले ल्याटिन अमेरिकी देशहरूलाई आफ्नो भनाइमा चल्न लगाउनका लागि सबैखाले आपराधिक विधिहरू प्रयोग गरेका छन् र तिनीहरूको निर्देशन नमान्ने सरकारहरूलाई अपदस्थ गरेका छन् । बीसौँ शताब्दीको सुरुदेखि नै अमेरिकी साम्राज्यवादले उक्त नीति निर्ममताका साथ प्रयोग गर्न थाल्यो । तड्कारो उदाहरण सन् १९५४ मा युनाइटेड फ्रुट कम्पनीले ग्वाटेमालामा वामपन्थी राष्ट्रपति ज्याकोबो अर्बेन्जको शासन र सन् १९७३ मा आईआईटी तथा एनाकोन्डा कपरले चिलीमा समाजवादी राष्ट्रपति साल्भाडोर एयेण्डे विरुद्धको नृशंस सैनिक विद्रोह गराएको नै रहेका छन् । भेनेजुयलामा पटक–पटक सत्ता परिवर्तन गर्ने षड्यन्त्रका पछाडि पनि संरा अमेरिकी ठूलठूला तेल कम्पनीहरू र अमेरिकी वित्तीय पुँजीहरूको हात रहेको लुकेको छैन ।

फलरले उल्लेख गरेका छन्, “चार वर्ष अघिसम्म चीनको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’मा हस्ताक्षर गरेको एउटै मात्र देश (भेनेजुयला) थियो । चीन सरकारको त्यस विश्वव्यापी पूर्वाधार विकास कार्यक्रम र चीनको बजार युरेसिया एवम् त्यसभन्दा परपरसम्म स्थल र समुद्री मार्गले जोड्ने परियोजनामा हस्ताक्षर गर्ने ल्याटिन अमेरिकी देशहरूको सङ्ख्या १९ पुगेको छ ।”
चीन ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो ऋणदाता र लगानीकर्ता बनेको छ र मुख्य व्यापार साझेदारको स्थानमा पनि संरा अमेरिकालाई पछाडि पार्ने अवस्थामा पुगेको छ । चीन त्यस क्षेत्रका देशहरू ब्राजिल, चिली र उरुग्वेको प्रमुख व्यापार साझेदार बनिसकेको छ भने अन्य धेरै देशको दोस्रो ठूलो व्यापार साझेदार बनेको छ ।
चीन र ल्याटिन अमेरिकी क्षेत्रको कुल व्यापार सन् २००२ मा १७ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०१९ मा ३१५ अर्ब अमेरिकी डलर पुगेको छ । अहिले कोभिड–१९को महामारीबीच चीनको अर्थतन्त्र पुनर्जागृत हुँदै निरन्तरको वृद्धिकै दरमा आइसकेको छ । संरा अमेरिका, युरोप र जापानसितको व्यापारमा निकै कमी आएपनि त्यसले ठूलो असर पु¥याएको छैन ।
ल्याटिन अमेरिकामा चीनको आर्थिक प्रभावको वृद्धिलाई धोका, ठगी र नियमकानुन उल्लङ्घनका रूपमा निन्दा गरेपनि एडमिरल फलरले जोड दिएर भनेका छन्– “पेइचिङको प्राथमिक रुचि बन्दरगाहको पूर्वाधार र गहिरो बन्दरगाह विकास गर्नेमा रहेको छ । चीनले साउथकमको क्षेत्रमा ४० वटा बन्दरगाह निर्माण गर्ने सम्झौता गरिसकेको छ र ती सैनिक दृष्टिकोणले महत्वपूर्ण छन् ।”
“चीनले क्यारिबियाली बन्दरगाहहरूको माध्यमले मागेलान अलडमरू वा पनामा क्यानल वा मेक्सिको खाडीको क्षेत्र कब्जा गरेमा के गर्ने ? विश्वव्यापी द्वन्द्वमा त्यो कस्तो देखिएला ? पनामा क्यानल एक महत्वपूर्ण वैश्विक द्वन्द्वको बिन्दु हो । क्यानल जोड्ने दुवै महासागर (आन्ध्र र प्रशान्त) का किनारामा चीनले बन्दरगाह बनाइरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । चीनको विश्वव्यापी लडाइँमा त्यो पनि एक मुख्य सोचाइ हुन सक्छ । हामीले कसरी उक्त क्यानल (नहर) लाई जोगाउन सक्छौँ ?” फलरले प्रश्न उठाएका छन् ।
साउथकमका कमान्डरले ल्याटिन अमेरिकी देशका सेनालाई निःशुल्करूपमा हातहतियार, प्रविधिहरू तथा तालिम दिएकोमा चिनियाँ जनमुक्ति सेना (पीएलए) को पनि निन्दा गरे । उनले चिनियाँ जनमुक्ति सेनाले मानव अधिकार तालिम दिन असफल भएको उल्लेख गर्दै – त्यो कुरा हाम्रो लागि महत्वपूर्ण रहेको छ – भने ।
कस्तो हाइपोक्रेसी ? संरा अमेरिकी मानव अधिकार तालिम र वार्षिक ४४८ करोड अमेरिकी डलर सहायताले पनि कोलम्बियाली सेनालाई तथाकथित फल्स पोजिटिभ अभियान चलाएर लाखौँ नागरिकको हत्या गर्नबाट रोक्न सकेन । उक्त अभियानका क्रममा कोलम्बियाली सेना र दक्षिणपन्थी हतियारधारीहरूले सशस्त्र विद्रोहीको आरोप लगाउँदै निहत्था नागरिकहरूलाई तारो बनाएका थिए । उनीहरूले शान्ति प्रक्रियामा हस्ताक्षरपछि पनि सयौँ सामाजिक कार्यकर्ताहरूको हत्या गरिरहेका छन् । यो आधा शताब्दीभन्दा बढी अवधिमा त्यस्तै र त्यो भन्दा खराब अपराधहरू ल्याटिन अमेरिकाभरि अमेरिकी रक्षा विभाग– “पेन्टागनको सहयोगमा भएका छन् ।
फलरले अगाडि लेखेका छन्, “पीएलएले यस महादेशका आफ्ना साझेदार देशका सेनालाई शिक्षाको क्रममा साझेदार छनौटमा संरा अमेरिका राम्रो साझेदार होइन भनी सिकाएको पनि पाएका छौँ । मलाई त्यो खतरनाक र स्तब्धकारी लागेको छ ।”
के संरा अमेरिकाको, ‘अमेरिकी सैनिक विद्यालय’ले दशकौँदेखि साम्यवादविरोधी पाठ्यक्रम पढाइरहेको छैन र ? आश्चर्य त त्यसले ल्याटिन अमेरिकी सैनिक अफिसरहरूबीच फासीवादी विचारधारालाई पुनर्रोपण र वैधानिकरण गर्दै छ र ती अफिसरहरूले नै सीआर्ईएको सहयोगमा आ–आफ्नो देशमा हत्यारा सैनिक विद्रोह र तानाशाहीको नेतृत्व गरेका छन् ।
ल्याटिन अमेरिकामा चीनको प्रभावलाई पेन्टागनले कसरी लिएको छ भन्ने कुराको तड्कारो उदाहरण त पश्चिमी गोलाद्र्धका लागि संरा अमेरिकी युद्ध कलेजका विज्ञ तन इलिसको प्रतिवेदनमूलक लेखले नै छर्लङ्ग पार्छ । संरा अमेरिकामा नोभेम्बर ३ का दिन भएको निर्वाचनको ठीक दुई सातापछि रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्र–सीएसआईएसको बुलेटिनमा प्रकाशित भएको हो । रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्र–सीएसआईएस वासिङ्टनस्थित संरा अमेरिकी सेना र गुप्तचर विभागसँग घनिष्ठ सम्बन्ध भएको थिङ्क टैङ्क हो ।
इलिसले दुई आणविक अस्त्र सम्पन्न देशहरू संरा अमेरिका र चीनबीच हुने नयाँ विश्वयुद्धका लागि पेन्टागनको तयारी सम्बन्धमा चौतर्फी प्रश्न उठाएका छन् । इलिस लेख्छन्, “संरा अमेरिकासित ठूलो मात्राको शत्रुताको परिप्रेक्ष्यमा पीआरसीको यस क्षेत्रमा भएको सैनिक सम्बन्धलाई विश्वव्यापी क्षेत्रको अभियानका सबै चरणमा द्वन्द्वको परिणामलाई आफ्नो पक्षमा पार्नका लागि प्रयोग गर्नेछ ।”
उनी अगाडि लेख्छन् : “एसियामा हुने लामो लडाइँको क्रममा पीआरसीले ल्याटिन अमेरिकाका एक वा एकभन्दा बढी पक्षसित आफ्ना लागि बन्दरगाह, विमानस्थल वा अन्य पूर्वाधारहरू संरा अमेरिकाविरुद्ध कारबाहीका लागि मनाएर वा धम्क्याएर लिन सक्छ । हुन त अहिल्यै त्यसको कल्पना गर्न कठिन छ तर यस्तो अनुमति भविष्यको परिवेशमा दिइएला भनी सोच्न सकिन्न । किनभने, पीएलएलाई त्यस्तो अनुमति दिँदा संरा अमेरिकी जवाफी कारबाहीबाट बच्न सकिने शक्ति र शक्ति भए नै पनि त्यसलाई कायम राख्ने क्षमता हुने छैन । यदि केही ल्याटिन अमेरिकी सरकारहरूले संरा अमेरिकासित दुश्मनी मोलेर बाजी नै थापे वा चीनलाई सैनिक उद्देश्यका लागि आफ्ना पूर्वाधार प्रयोग गर्न दिने निर्णय गरेमा पनि पीएलएले ल्याटिन अमेरिकी सैनिक नेताहरू, फौजहरू, सङ्गठनहरू पूर्वाधार र कारबाही गर्ने वातावरणबारे धेरै ज्ञान सङ्कलन गर्न सक्छ र त्यसबाट तीव्रता एवम् प्रभावकारिता वृद्धि गरी संरा अमेरिकाविरुद्ध युद्धको अवस्था निम्त्याउन सक्छ ।
यही मान्यतामा आधारित रहेर संरा अमेरिकी साम्राज्यवादले सैन्यवादलाई बढावा दिँदै, आफ्नो विश्वव्यापी प्रभुत्वमा क्षय हुँदै गएको स्थितिमाथि पर्दा हालिरहेको छ । यो मान्यताबाट बाइडन र डेमोक्र्याटहरूले नेतृत्व गर्ने प्रशासनमा पनि निरन्तरता पाउने निश्चित छ किनभने बाइडनले आफ्नो चुनावी अभियान नै ट्रम्प प्रशासन रुस र चीनप्रति ‘नरम’ बनेको आरोपका साथ सुरु गरेका थिए ।
पेन्टागनले ल्याटिन अमेरिकालाई तेस्रो विश्वयुद्धको युद्ध क्षेत्रको रूपमा हेरेको र त्यसैअनुसारको तयारी गरिरहेको स्पष्ट छ । संरा अमेरिकाले त्यस क्षेत्रका सबै सैनिक शक्तिसित बलियो सम्बन्ध बनाउन खोजिरहेको छ र सन् १९६० र १९७० को दशकमा जस्तै कामदार जर्गका जनताको उदाउँदो क्रान्तिकारी उभारसित लड्न सैनिक विद्रोह र तानाशाहीलाई पनि बढावा दिइरहेको छ ।
(Pentagon to Biden : Latin America a major battlefield in war with China)
–World Socialist Web Site
December 5, 2020
अनुवाद ः प्रकाश
Leave a Reply