भर्खरै :

दक्षिण कोरियाले थाड जडान गरेकोमा रुसको बहस

सिङ्गापुर, २२ जेठ । क्षेप्यास्त्रलगायत अन्य आणविक हात हतियारको प्रहारबाट बच्ने शक्तिशाली प्रतिरक्षा व्यवस्था – टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (टिएचएएडि – थाड) यान्त्रिक प्रणाली दक्षिण कोरियाले जडान गरेकोमा एकजना उच्चस्तरिय रुसी नेताले दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रोश पोखेका छन् ।
दक्षिण कोरियाले यस क्षेत्रमा थाड जडान गर्नाले कोरियाली प्रायद्वीपसहित समग्र उत्तरपूर्वी एसियामा तनाव बढाउने भन्दै रुसी प्रतिरक्षा मन्त्रालयका उपमन्त्री लेफ्टिनेन्ट जनरल अलेक्ज्यान्डर फोमिनले दक्षिण कोरिया र अमेरिकालाई दोष थोपरेका हुन् ।
थाड यान्त्रिक प्रणालीले दुश्मनको क्षेप्यास्त्रलगायत अन्य आणविक हात हतियारको प्रहार गरेमा सोबाट प्रतिरक्षा गर्न सकिने मात्र नभई आफैंले पनि शक्तिशाली क्षेप्यास्त्रहरु हान्न सकिने दाबी गर्दै यस प्रणालीलाई बिशुद्ध प्रतिरक्षात्मक कदम मात्र मान्न नसकिने बताउँदै दक्षिण कोरियाको यस कदमले रुसलाई पनि प्रत्यक्ष चेतावनी दिएकोले रुस सतर्क रहनु परेको उपमन्त्री अलेक्ज्यान्डर फोमिनको भनाइ रहेको छ ।
सिङ्गापुरमा आयोजित १६ औं साङ्ग्रीला वार्तामा सहभागी भएका उपमन्त्री फोमिनले उक्त वार्तालाई सम्बोधन गर्ने क्रममा सो भनाई ब्यक्त गरेका हुन् ।
अमेरिकाको परामर्श र सहयोगमा दक्षिण कोरियाले आफ्नो भूमिमा थाड प्रतिरक्षा प्रणाली जडान गरी सक्रिय पारिसकेको औंल्याउँदै शक्तिशाली क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई विश्वब्यापीकरण गर्ने अमेरिकाको भित्री अभिलाषा रहेको, दक्षिण कोरियामा स्थापना गरिएको थाडले कोरियाली प्रायद्वीपमा हाल बिद्यमान समस्या, त्रास र चिन्ता कम गर्नुको साटो झनै आगोमा घिउ थप्ने काम गर्ने आरोप समेत उपमन्त्री फोमिनले लगाए ।
साथै, थाडले आणविक क्षेप्यास्त्र र हात हतियारको क्षेत्रीय प्रतिस्पर्धा र होडबाजी बढाउनुका साथै यसले उत्तर कोरियालाई आफ्नो शत्रुबिरुद्ध अझै हौस्याउने काम मात्र गर्ने उपमन्त्री फोमिनको दाबी छ । रासस ÷योन्हाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *