भर्खरै :

जुम्लामा शिक्षा : एक झलक

जुम्ला कर्णाली प्रदेशको एक जिल्ला हो । यहाँ जलविद्युत्, यातायात, शिक्षा, स्वास्थ्य र सञ्चार सुविधाको समस्या छ । वि.सं. २००९ साल पहिले जुम्लामा २÷४ ठाउँमा गुरूकुल विद्यालय थिए । गुरूकुलले बा¥हखरी, वेद, रूद्री, तमसुक, ज्योतिष आदि धार्मिक किताब पढाउँथे । वि.सं. २००९ सालपछि अङ्ग्रेजी र अन्य साहित्यको विकास भयो । त्यतिबेला पढेका मान्छे थोरै थिए । गाउँगाउँमा पशुपालन थुप्रै हुन्थ्यो । गोरस, मासु, अन्न, सागपात, फलफुल आदि थुप्रै हुन्थे । नुन र चिनीबाहेक अरू सबथोक आफ्नै जमिनबाट उत्पादन हुन्थ्यो । जुम्लामा बिस्तारै सरकारी कार्यालय स्थापना हुनथाल्यो ।
सरकारी कार्यालयमा जागिर खाने मान्छेको माग बढ्दै गयो । शिक्षाप्रति जनताको चासो बढ्दै गयो । ग्रामीण समुदाय विद्यालय खोल्ने तरखरमा लागे । शिक्षकको अभाव खड्क्यो । पूर्वी तराई र मध्य पहाडबाट युवाहरू जुम्लामा जागिर खान आए । शिक्षकमा नियुक्ति भए । उनीहरूबाट पनि जुम्लामा शिक्षाको प्रचार भयो ।
आमाबाबुले छोराछोरी विद्यालय पठाउने क्रम बढ्यो । जनप्रतिनिधिमूलक संस्थाहरू विद्यालय स्थापना गर्न अघि बढे । स्थानीय शिक्षकहरूको सङ्ख्या बढ्दै गयो । जुम्लामा हाल १७० सामुदायिक विद्यालयहरू छन् । त्यसमध्ये ५० वटा मावि छन् । १९६ बाल विकास केन्द्र स्थापना भए । त्यहाँ पढाउने शिक्षक सङ्ख्या बढेर ८०७ जनाको दरबन्दी पुग्यो । थुप्रै युवा शिक्षित भए, धेरैले सरकारी जागिर पाए । सरकारी तथा गैरसरकारी सङ्घ संस्थामा धेरैले रोजगारी पाए ।
दुई वटा क्याम्पस, एउटा प्राविधिक शिक्षालय, एउटा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजी विद्यालयलगायतका शैक्षिक संस्थाहरू स्थापना भए । वि.सं. २०२८ सालपछि स्थानीय शिक्षकहरू तयार गर्न जुम्ला विस्तार क्याम्पसको स्थापना भयो । यसले कर्णालीमा हजारौँ तालिम प्राप्त अन्डर एस.एल.सी. शिक्षक उत्पादन ग¥यो । बाहिरबाट आएका शिक्षकहरू बिस्तारै सरूवा हुँदै गए ।
मा.वि.हरूले प्राविधिक शिक्षा, कृषि, वन विज्ञान पढाउन सुरू गरे । आज जुम्लामै एमबीबीएस (डाक्टर) पढाउने तयारी हुँदै छ । विभिन्न तहका नर्सहरू उत्पादन जुम्लामै हुन्छन् । उच्च तहका विद्यालयहरू पनि छन् । त्यहाँ ४९ जना शिक्षकहरूले काम गरिरहेका छन् । नेपाल सरकारले २०५२ देखि ०७५ सालसम्म जुम्लामा शिक्षक दरबन्दी दिएन । तर, विद्यालयहरू नयाँ खुल्दै गए र पुराना विद्यालयहरूको स्तर उन्नति हुँदै गयो । प्राविहरू उच्च माविसम्म विस्तार भए । दलमाथिको प्रतिबन्ध हटाइएपछि जिल्ला शिक्षा कार्यालय विभिन्न कोणहरूबाट दलहरूको हातमा आयो । आफ्नो आफ्नो पकड भएको गाउँमा स्कूल स्थापना गर्न होडबाजी चल्यो ।
बाहिर जिल्लाका शिक्षकहरू क्रमशः बाहिरिँदै गए । स्थानीय शिक्षकहरू बढ्न थाले । स्थानीय शिक्षकहरू पनि दलको आडमा चल्ने क्रम बढ्दै गयो । शिक्षक सङ्गठनको रसिद लिन शिक्षकहरू दौडधुप गर्न थाले । नयाँ विद्यालय स्थापना गर्न शिक्षक नियुक्ति गर्नुपर्ने भयो ।
जुम्ला बहुमुखी क्याम्पसमा पनि विषय थपे । यहाँ पनि स्थानीय शिक्षकहरूको सङ्ख्या बढ्यो । क्याम्पसमा पढाइ हुने विषयहरू शिक्षा, गणित, व्यवस्थापन आदि हुन् । विद्यार्थीहरू उक्त विषयलाइ महत्व दिँदैनन् । हुनेखानेका छोराहरू प्रायः त्यहाँ पढ्दैनन् तर क्याम्पसमा उनीहरूकै बोलवाला छ । कर्णाली प्राविधिक शिक्षालयको स्तर उन्नति गरेर पढाइ सुरू भइरहे छ ।
एस.एल.सी.÷एस.ई.ई. परीक्षा केन्द्र पहिले जिल्ला सदरमुकाममा मात्रै थियो । २०५० पछि जिल्लाका विभिन्न क्षेत्रमा परीक्षा केन्द्रहरू स्थापित गरिए । विद्यालय थपिँदै गर्दा केन्द्रहरू पनि बढे ।
फरक विशेषताका विद्यार्थी पढ्ने ४ वटा विद्यालय र एउटा लेखाजोखा केन्द्र पनि जिल्लामा स्थापित छन् । यहाँ पनि पढाइ भइरहेको छ ।
घरघरमा प्रवेशिका पास गरेका नागरिक छन् । शिक्षित प्रतिशत बढ्दै छ । विभिन्न सङ्घ–संस्थाहरूले अनौपचारिक शिक्षा दिने क्रम चालू छ । मान्छेहरूमा पढाइको तीव्रता देखिन्छ । सरकारी कार्यालय, विद्यालय, क्याम्पस, गैरसरकारी सङ्घ–संस्थामा बाहेक जुम्लामा अरू रोजगारीका अवसर छैनन् ।
विद्यार्थी पढाउने अग्रसरताले पशुपालन न्यून हुँदै छ । जिल्लामा थुप्रै विद्यालयहरू भए पनि हुनेखानेका छोराहरू गाउँका बजारमा पढ्छन् भने बजारका धनीमानीहरू ठूला सहरहरूमा पढाउँछन् । गरिबका छोराहरू गाउँमै पढ्छन् । सामुदायिक विद्यालय, त्रिविका क्याम्पस, प्राविधिक शिक्षालयहरू गरिबका छोराहरू पढ्नेमा परिणत भएका छन् भने निजी विद्यालयहरू धनीका छोराहरू पढ्नेमा परिणत छन् । सामुदायिक विद्यालयहरू कमजोर अवस्थामा छन् । ती विद्यालयमा दिवा खाजा पाउने भएकाले गरिबका छोराहरू खाजा खान तम्सिन्छन् ।
सकारात्मक पक्ष भए पनि केही विकृति र सुधार्नुपर्ने कुरा पनि छन् ः
जुम्लामा धेरै विद्यालयहरू स्थापना गरिनुका पछाडि राजनैतिक दलहरूको प्रत्यक्ष दबाब हो । आफ्नो सङ्गठनको बाहुल्यता भएको गाउँमा विद्यालय स्थापना गर्ने, आफ्ना मान्छेका छोराहरू शिक्षक बनाउने काम भइरहेका छन् । भवन बनाउँदा गुणस्तरको ख्याल नगरी आफ्नै पार्टीका मान्छेलाई जिम्मा दिइन्छ । पढाइ जस्तो भए पनि आफ्नो मान्छेलाई जागिर दिइन्छ ।
दस वर्ष माओवादीले कथित जनयुद्ध चलायो । उनीहरूले बुर्जुवा शिक्षा चाहिँदैन भन्ने नारा लगाए । उमेर पुगेकालाई जनयुद्धमा बलजफ्ती लगेर विद्यालयमा माक्र्स र माओका प्रश्न सोधेर आफूलाई समर्थन गर्नेलाई शिक्षकमा नियुक्ति गरे । त्यस कामको विरोध गर्नेलाई कडा सजाय दिइयो । विद्यालयमा नपढाउने, धेरै चन्दा दिनेलाई सजाय नगरी चन्दा कम दिने र राम्रो पढाउनेलाई सजाय दिइयो । विद्यार्थी र शिक्षकहरूलाई पार्टी कार्यक्रममा लाने र पढाइमा ध्यान नदिँदा १० वर्षको अवधिमा पढाइमा ठूलो क्षति भयो । जनयुद्धले गाउँको शिक्षालाई थला पारिदियो । त्यसैले बजारको तुलनामा गाउँमा बेरोजगार बढी छन् ।
विद्यालयहरू धेरै खुले । स्थानीय शिक्षकहरू भर्ना गरिए । स्थानीय शिक्षकहरू कुनै न कुनै दलको समर्थक बने । शिक्षकहरू विद्यालयमा पढाउनुको सट्टा पार्टी कार्यक्रममा जान थाले । स्कूलमा ढिला जाने, पढाउन तयारी नगर्ने र अनेक बहाना गरेर उनीहरूले पढाइमा ठगे । आफ्ना छोराछोरीहरू निजी विद्यालयमा पढाए । त्यसैले जुम्लाको शिक्षाको स्तर खस्केको छ ।
दलहरूले आफू सत्तामा रहेको बेला योग्य मान्छेलाई पछाडि पारेर आफ्ना समर्थक या अयोग्य व्यक्तिलाई जागिर दिए । त्यसको प्रत्यक्ष असर विद्यार्थीहरूमाथि प¥यो । जिल्लामा शिक्षा कमजोर बन्दै गयो । वि.सं. २०५२ देखि शिक्षक दरबन्दी नआएपछि गा.वि.स.बाट रकम विनियोजित गरेर शिक्षकहरूलाई तलब खुवाइयो । त्यसरी नियुक्त गरिएका शिक्षकहरू तालिम प्राप्त थिएनन् । जागिर खुवाउनकैै निम्ति नियुक्त गरिएको थियो । विकासको रकम कार्यकर्ताका छोराहरूलाई तलब खुवाउनेमा सीमित रह्यो ।
शिक्षकको दरबन्दी नथपे पनि प्रा.वि.लाई मा.वि. र नि.मा.वि. लाई उच्च मा.वि. बनाइए । शिक्षक दरबन्दी प्राविकै थियो ।
विद्यार्थी कमजोर हुनुमा अरू थुप्रै कारण छन् । जस्तैः एस.ई.ई. परीक्षा केन्द्र गाउँमा नजानु । पहिले बजारको केन्द्रमा चिटिङ्ग गर्न दिइँदैन थियो । ५÷७ प्रतिशतमात्र विद्यार्थीहरू उत्तीर्ण हुन्थे । तर, उत्तीर्ण भएका सबैले नोकरी पाउँथे । त्यतिबेला फोर्सको कुरा हुँदैनथ्यो । गाउँमा परीक्षा केन्द्र पुगेपछि चिटिङ्ग गर्न छुट दिइयो । धेरै विद्यार्थी उत्तीर्ण भए । तर, माथिल्लो कक्षामा पास भएनन् । बाबुलाई छोरा सम्हाल्न असहज परिस्थिति बन्न गयो । छोरा पास नभएर बिग्रियो । लगानी डुब्यो, अनि विदेश जाने भन्यो । लाखौँ खर्च भयो । विदेशबाट पनि धन कमाउन सकिएन ।
सालभरि कक्षामा शिक्षकले विद्यार्थीहरूलाई राम्रो पढाएनन् । हिउँदे बिदामा ट्युसन पढ्नुपथ्र्यो । जिल्लामा थुप्रै ट्युसन सेन्टर खोलिए । ट्युसन सेन्टरले हाम्रो केन्द्रमा पढ्दा परीक्षा उत्तीर्ण हुने विश्वास दिलायो । महँगो शुल्कमा पढ्दा तिनै शिक्षकहरूले चिटिङ्ग गराए । कमजोर विद्यार्थी पनि ८० प्रतिशत प्राप्ताङ्कसहित पास भयो । तर, माथिल्लो कक्षामा पछाडि प¥यो ।
कति अभिभावकहरू विद्यालयमा गएर सन्तानको पढाइबारे चासो नराख्ने, परीक्षामा चोराउन जाने र जसरी भए पनि छोरालाई पास गराउनु भन्थे । अर्को एस.ई.ई. परीक्षा पास गराइदिन्छु भनेर काठमाडौँ पढ्नेहरू गाउँमा बाबुसँग सम्पर्क गरेर १०÷२० हजार रूपैयाँ लिएर पास गराउने गरेका कुराहरू सुनिए ।
एस.ई.ई. परीक्षामा जिल्ला शिक्षा कार्यालयका कर्मचारीको छोरा बोर्डमा ल्याउन दैलेखको राकममा उत्तरपुस्तिकाको पोका खोलेर अर्को कपी हाली पठाएको कुरा दुई वर्ष अगाडि बाहिर आयो ।
सारमा, जुम्लाको शैक्षिक स्तर कमजोर हुनुमा अयोग्य शिक्षक, चोरेर उत्तीर्ण भएका विद्यार्थी, परीक्षामा चोर्न सघाउने अभिभावक, चिट चोराएर पास गराउने शिक्षक दोषी छन् ।
जुम्लाको शिक्षालाई सुधार्न सरकारले अभिभावक, शिक्षक र विद्यार्थीलगायतलाई सचेत गराउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *