भर्खरै :

डब्लुएचओमा सूचिकृत नभएको खोप ल्याउने तयारी

काठमाडौँ, ४ पुस । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचिकृत नभए पनि नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ ।
खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचिकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचिकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौथो नेपालको औषधि विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।
अहिले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता भएको, त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र औषधि विभागमा दर्ता भएपछि नेपालमा ल्याएर लगाउन मिल्नेछ । सरकारले डब्लुएचओमा सूचिकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन गरी जारी गरेको छ ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमले सोही अध्यादेशअनुसार कोभिड–१९ विरुद्धको खोप डब्लुएचओले सूचिकृत नगरे पनि नेपालमा ल्याएर नागरिकलाई दिन सकिने बताउनुभयो । अहिलेसम्म डब्लुएचओले कोभिड–१९ विरुद्ध बनेका कुनै पनि खोपलाई सूचिकृत र आकस्मिक प्रयोगका लागि सूचिकृत गरेको छैन । त्यही भएर नेपालले कोभिड–१९ विरुद्ध उत्पादन गरेको मुलुकको नियमनकारी निकायमा दर्ता र त्यहाँका नागरिकलाई लगाएको आधार तथा नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएको अवस्थामा यहाँका नागरिकलाई खोप दिनेछ ।
अहिले कोभिड–१९ विरुद्धको खोप फाइजर एन्ड बायोएनटेक, मोडेर्ना (अमेरिका), अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) तथा ‘साइनोभ्याक्स’ (चीन) का खोप अहिले अन्तिम परीक्षणमा छन् । खोप शाखाका निर्देशक डा. गौतमका अनुसार अहिले फाइजर र मोडेर्ना कम्पनीका खोप मात्र उत्पादन गरेका मुलुकमा दर्ता भई त्यहाँका नागरिकले लगाएका छन् । दुवै अमेरिकी कम्पनी हुन् । फाइजर कम्पनी अमेरिका र बेलायत दुवै देशमा दर्ता भएको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) तथा ‘साइनोभ्याक्स’ (चीन) का कम्पनी अन्तिम परीक्षणको रूपमा रहेका छन् । “सम्बन्धित देशमा दर्ता र नागरिकलाई लगाएका खोप डब्लुएचओमा सूचिकृत नभए पनि हालै जारी गरिएको औषधि ऐन–२०३५ अध्यादेशअनुसार नेपालमा दर्ता गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
अक्सफोर्ड–एस्ट्राजेनेका कम्पनीले बनाएको खोप दुईदेखि आठ डिग्री सेल्सियसमा राख्न सकिने भएकोले उपयुक्त हुन्छ ।
माइनस २० डिग्री सेल्सियस तापक्रममा रहने मोडेर्नालाई पनि एक महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसमा राखेर प्रयोगमा ल्याउन सकिने शाखाका निर्देशक डा. गौतमको भनाइ छ । उहाँले अहिले तत्काल नेपालका लागि अक्सफोर्ड– एस्ट्राजेनेका र मोडेर्ना कम्पनीका खोपमात्र उपयुक्त रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *