भर्खरै :

भक्तपुर नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७५ – एक चर्चा

मानिसको जीवनमा कुनै पनि समयमा विभिन्न किसिमका जोखिम आउने गर्दछ । त्यस्ता जोखिमहरू प्राकृतिक पनि हुनसक्छ । जस्तै ः भूकम्प, बाढी, पहिरो, सुनामी, ज्वालामुखी विस्फोटन आदि । त्यस्तै गैरप्राकृतिक जोखिम पनि हुनसक्छ । जस्तै ः आगलागी, महामारी रोगहरू आदि । वि.सं. २०७२ साल वैशाख १२, १३ र २९ गते आएको विनासकारी भूकम्पले हजारौँ नेपालीले अकालमै ज्यान गुमाउनुप¥यो । नेपालमा आएको त्यसबेलाको भूकम्पपछि पनि विश्वका धेरै देशमा ठूलठूला भूकम्प गए र धेरै मानवीय र भौतिक क्षति भइसकेको छ । समय – समयमा आइरहने सुनामी र ज्वालामुखी विस्फोटका घटनाहरूले गर्दा धेरै मानवीय तथा भौतिक क्षति भइरहेको छ । यस्ता प्राकृतिक प्रकोपहरू मानवीय नियन्त्रणभन्दा बाहिर हुने हुँदा क्षति हुन्छ । गैरप्राकृतिक प्रकोपले पनि धेरै मानवीय र भौतिक क्षति पु¥याएको छ । केही महिनाअगाडि अष्ट्रेलियाको घना जङ्गलमा लागेको आगोको कारण धेरै प्रजातिका जङ्गली जनावर र चराचुरुङ्गीहरूको विनास भयो र धेरै मानिसहरूको अकालमै मृत्यु भयो । त्यस्तै ठूलठूला जहाजहरूबाट तेलको ढुवानीको क्रममा जहाजबाट तेल चुहेर धेरै सामुद्रिक जीवहरूको विनास भएको समाचार हामीले सुनेका छौँ । आणविक भट्टीहरूमा विकिरण चुहावट तथा रासायनिक पदार्थहरू चुहावट भएर मानवीय क्षति भएका समाचारहरू सुनेका छौँ । त्यस्ता प्रकोपहरू गैरप्राकृतिक प्रकोपहरू हुन् । जसलाई मानिसले पूर्णरूपमा नियन्त्रण गर्न गा¥हो छ । यस्ता प्राकृतिक र गैरप्राकृतिक प्रकोप कुनै कारणले हुँदा र हुनुभन्दा अगाडि मानिसले ध्यान दिएको खण्डमा क्षति न्यूनीकरण गर्न सकिन्छ । यसको लागि मानिसहरूको संयुक्त प्रयास, आधुनिक प्रविधिको प्रयोग र सरकारको राजनैतिक इच्छाशक्तिको आवश्यकता पर्दछ । विपद्सम्बन्धी कानुनहरूको पनि आवश्यकता पर्दछ । नेपाल सरकारले वि.सं. २०७२ वैशाखमा आएको भूकम्पको क्षति न्यूनीकरण गर्नसकेन । यसले गर्दा धेरै धन, जन र मानवीय क्षति बढी हुन गयो । भूकम्प पीडितहरूलाई पर्याप्त मात्रामा राहत उपलब्ध गराउन सकिएन । यसले गर्दा भूकम्प पीडितहरू अहिलेसम्म टहरामा बस्न बाध्य छन् । भक्तपुर नगरपालिका वि.सं. २०७२ सालको भूकम्पमा मात्र होइन वि.सं. २०७६ चैत महिनामा देखापरेको कोराना भाइरस (कोभिड–१९) विरुद्ध लड्न र त्यसबाट हुन गएको मानवीय र भौतिक क्षति कम गर्न लागिरहेको छ । भक्तपुर नगरपालिकाभित्रका जनतालाई लकडाउन अवधिमा राहत वितरण, परिचयपत्र वितरण, क्लोरिन छर्कने कार्य, नियमित सरसफाइ, आइसोलेसन वार्डको सञ्चालन, माइकिङ, साबुन र मास्कको वितरण, टोल –टोलमा साबुनपानीले हात धुन ट्याङ्कीको व्यवस्था, आर्थिक सङ्कलन, मानिसलाई सचेत पार्न विभिन्न गतिविधि जनप्रतिनिधिहरूले गरेका थिए । कोरोनाविरुद्ध अहिले पनि जनप्रतिनिधिहरू लागिरहेका छन् । यसले गर्दा विश्वको तुलनामा भक्तपुर नगरमा मानवीय र भौतिक क्षति कम भएको छ । यसको श्रेय भक्तपुर नगरपालिका, नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधि र नगरपालिकाले पास गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७५ लाई पनि जान्छ ।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशित गरेको स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ मा गाउँ र नगरपालिकामा नेमकिपाका जनप्रतिनिधिहरूले गर्ने काम कर्तव्यमा ‘नगर र गाउँपालिकाले आ–आफ्नो नगर र गाउँका बाढी, पहिरो, आगलागी, भूकम्प, महामारी रोगजस्ता विपद्को व्यवस्था गर्नुपर्नेछ’ उल्लेख छ । भक्तपुर नगरपालिकाको लागि नेपाल मजदुर किसान पार्टीको घोषणापत्र २०७४ को बुँदा नं. ९ मा ‘भूकम्पीय जोखिम न्यूनीकरणका भवन निर्माण गर्न डकर्मी, सिकर्मी, प्राविधिक र घरधनीलाई समेत तालिम र सचेतना अभियान सञ्चालन गर्ने र भूकम्पबाट क्षतिग्रस्त संरचना तथा व्यक्तिगत घर पुनःनिर्माणका लागि आवश्यक सामग्रीहरू सुलभरूपमा उपलब्ध गराउन जोड दिने’ उल्लेख छ । यहाँ जितेका नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू यही घोषणापत्रका प्रतिबद्धताहरू कार्यान्वयन गर्न तत्पर छन् । घोषणापत्र कार्यान्वयन गर्न कतिपय अवस्थामा कानुनको आवश्यकता पर्दछ । यही आवश्यकता पूरा गर्न भक्तपुर नगरपालिकामा विपद् न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७५ नगर सभाबाट पास गरेर कार्यान्वयनमा ल्याइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको तेस्रो नगर सभा २०७५ बाट यो ऐन पारित गरिएको थियो । भक्तपुर नगरपालिका क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसाधारणको जीउज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्नको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारीरूपमा कार्यान्वयनका लागि कानुन आवश्यक भएकोले यो ऐन नेपालको संविधानको धारा २२१ को उपधारा (१), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(न) र २०१ को अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको नगरसभाले यो ऐन बनाएको हो ।
यस ऐनको दफा ३ ले भक्तपुर नगरपालिकाभित्रको विपद् व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारीरूपमा सञ्चालन गर्न एक नगर विपद् व्यवस्थापन समिति रहने व्यवस्था गरेको छ । जसमा नगर प्रमुख संयोजक हुने व्यवस्था गरिएको छ भने सदस्यहरूमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजकहरू, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सामाजिक शाखाप्रमुख, पूर्वाधार विकास तथा योजना शाखा प्रमुख, सङ्घीय सुरक्षा निकायका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुख, नगर प्रहरी प्रमुख, नेपाल रेडक्रसका स्थानीय प्रमुख, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र विपद् व्यवस्थापन हेर्ने गरी तोकिएको शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । भनपाका सुनिल प्रजापतिको अध्यक्षतामा नगर विपद् व्यवस्थापन समिति हाल क्रियाशील छ । नगर विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारको सम्बन्धमा दफा ५ ले उल्लेख गरेको छ । जसअनुसार राष्ट्रिय नीति र प्रदेश विपद् नीतिअनुसार नीति र योजना तर्जुमा गरी कार्यपालिकामा पेश गर्ने, नगर सभाबाट स्वीकृत नीति र नगर कार्यपालिकाबाट पारित निर्णयअनुसार योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, विपद्सम्बन्धी बजेट र कार्यक्रम प्रस्ताव गर्ने गराउने, नगरपालिकाको संस्थागत क्षमता विकास गर्ने गराउने, प्रशिक्षण दिलाउने, विपद्का घटना हुनासाथ तत्काल खोज, उद्धार र राहतलगायत प्राथमिक कार्यहरू तत्काल गर्ने गराउने, विपद् न्यूनीकरण गर्न नगरभित्रका सङ्घ संस्थाहरूलाई परिचालन गर्ने गराउने, सञ्चार माध्यमहरूलाई मापदण्ड बनाई परिचालन गर्ने गराउने, स्वीकृति मापदण्डअनुसार मात्र भवन बनाउने र बनाउन लगाउने, सुरक्षित बसोबासम्बन्धी सचेतना जगाउने, सेवा प्रवाहमा तदारुकता ल्याउने, शैक्षिक पाठ्यक्रममा राख्ने र राख्न लगाउने, नमुना अभ्यास गराउने, वारुणयन्त्र, एम्बुलेन्सलगायत अन्य उपकरणहरू तयारी अवस्थामा राख्न लगाउने, आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्ने, सूचना प्रणाली तथा पूर्व चेतावनी प्रणालीको विकास र सञ्चालन गर्ने गराउने, तथ्याड्ढ अद्यावधिक गर्ने, विपद्बाट प्रभावितको परिचयपत्र बनाउने, सचेतनामूलक कार्यक्रम गर्ने आदि पर्दछ ।
दफा ६ ले वडास्तरीय विपद् व्यवस्थापन समितिको व्यवस्था सम्बन्धमा उल्लेख गरेको छ । यसअनुसार नगरपालिकाको प्रत्येक वडामा एक वडास्तरीय विपद् व्यवस्थापन समिति रहने व्यवस्था छ । जसमा वडाध्यक्ष संयोजक, सदस्यहरूमा वडा सदस्यहरू, विषयगत शाखाका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, विद्यालयका एक जना, स्थानीय रेडक्रस, वडा खेलकुद समितिबाट एक जना, स्वास्थ्यकर्मी एक जना, सामाजिक कार्यकर्ता एक जना, वडा सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ । वडास्तरीय विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारको सम्बन्धमा दफा ७ ले व्यवस्था गरेको छ । जसअनुसार नगर विपद् व्यवस्थापनसँग समन्वय गर्ने, सिफारिस गर्ने, स्वीकृत नीतिअनुसार कार्यक्रम गर्ने, वडाका विकास निर्माणका कार्यमा विपद् न्यूनीकरणलाई ध्यान दिने र कार्यक्रमहरू सञ्चालन गर्ने, वडाको संस्थागत क्षमता विकास गर्ने, आपत्कालीन विपद् व्यवस्थापनका कार्य गर्ने, समूहहरूको निर्माण र परिचालन गर्ने, प्रशिक्षणको व्यवस्था गर्ने, आवश्यक पर्नासाथ तत्काल राहत कार्य गर्ने, आपत्कालीन नमुना अभ्यास गर्ने, प्रभावितको लगत तयार गर्ने, परिचयपत्र बनाउने र तथ्याड्ढ बनाई लगत राख्ने, सचेतनामूलक कार्य गर्ने, वडाभित्र रहेको सम्भावित सुरक्षित स्थलहरूको पहिचान गरी नक्साङ्कन गरी सार्वजनिक स्थलमा प्रदर्शन गर्ने आदि पर्दछ । यस ऐनको दफा १५ ले विपद् सड्ढटग्रस्त क्षेत्र घोषणाको पालन र समन्वयबारे व्यवस्था गरेको छ । त्यस ऐनमा नेपाल सरकारले नगरपालिकाभित्रको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएमा विपद् सड्ढटग्रस्त क्षेत्र घोषणा गरी प्रचलित कानुनबमोजिम कुनै काम गर्न गराउन आदेश दिएमा सोको पालना गर्नु गराउनु नगरपालिकाको कर्तव्य हुने व्यवस्था छ । दफा १३ को कसुर र सजायको व्यवस्थाअनुसार कसैले विपद्को घटना घट्न सक्ने गरी लापरबाही गरेमा वा त्यस्ता घटाउन प्रत्यक्ष संलग्न भएमा त्यस्तो व्यक्तिलाई कसुर हेरी पाँच लाखसम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
भक्तपुर नगरपालिकाले यस ऐनबमोजिम वि.सं. २०७६ चैत महिनाको ६ गतेदेखि नेपाल सरकारले लागू गरेको लकडाउनपछिका घटनाक्रममा नगरका जनतालाई सचेत पार्ने, राहत दिने, परिचयपत्र वितरण गर्ने, सङ्क्रमितहरूलाई सहयोग र समन्वय गर्ने, प्रदेश र सङ्घीय सरकारसँग समन्वय र सहकार्य गर्ने, सचेत पार्ने, आर्थिक सड्ढलन र बजेटको व्यवस्था गर्ने, आइसोलेसन केन्द्रको स्थापना र सञ्चालन गर्ने, नगरभरि क्लोरिन छर्कने, दसँै, बिस्केट, तिहारलगायतका पर्वहरू औपचारिकतामा सीमित गर्ने, स्वयम्सेवकहरूको परिचालन, माइकिङ्गलगायतका विविध कार्य सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *