भर्खरै :

पण्डित नेहरूको प्रतिरक्षामा मल्लिक !! –२

प्रम नेहरू अमेरिका, चीन र रुसको भ्रमणमा गए । खासगरी रुसमा उनको भव्य स्वागत भयो । १९५५ मै प्रम ख्रुश्चेभ र बुल्गानिन भारतको लामो भ्रमणमा आए । नेहरूले यस भ्रमणलाई ठूलो महत्व दिए । दुवै रुसीहरू ‘स्वतन्त्र र खुसी’ भारतीयहरूलाई देखेर अत्यन्त प्रभावित भएको र भारतप्रतिको उनीहरूको धारणा फेरिएको नेहरूको दाबी थियो । यसपछि निस्केको रुसी विश्वकोशमा गान्धीको प्रशंसा गरिएको थियो । त्यसअघिको संस्करणमा गान्धीको विरोध थियो । ख्रुश्चेभ र बुल्गानिनले भारत र बर्मासँग आर्थिक सहकार्य गर्ने र फरक शैलीका ‘समाजवाद’ विरुद्ध मनमुटाव नराख्ने बताए । साथै यी देशका स्थानीय कम्युनिस्टहरूप्रति सहानुभूति भए पनि सहयोग चाहिँ नगर्ने प्रतिबद्धता जनाए । मल्लिक भन्छन्, “उनीहरूलाई यी देशका कम्युनिस्टहरू मूर्ख बाटोमा हिँडिरहेका छन् भन्ने थाहा थियो ।” मल्लिकको दाबी छ, “भारतबाट रुसीहरूले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त बोकेर फर्के र १९५६ को २० औँ पार्टी महाधिवेशनमा त्यसलाई आफ्नो परराष्ट्र नीतिको रूपमा अङ्गीकार गरे । त्यसै महाधिवेशनमा रुसी कम्युनिस्ट पार्टीले स्तालिनको जडसूत्रवादी र कठोर नीति त्याग्यो र साम्यवाद र पुँजीवादबीचको युद्ध लत्यायो । यो महाधिवेशन नै चीन र रुसबीच आपसी मतभेदको सुरुआत थियो । १९५७ नोभेम्बरमा मस्कोमा सम्पन्न विश्वका कम्युनिस्ट पार्टीहरूबीचको सम्मेलनमा रुसले आफ्नो नयाँ नीति प्रस्तुत ग¥यो । यसमा चीनले विमति जनायो । केही वर्ष रुस र चीनबीच सम्बन्ध यथावत रह्यो । १९५९ तिर रुस र चीनबीच खटपट सुरु भयो । (भारत र चीनबीच भएको) लोङजु सीमा भिडन्तमा रुसले चीनलाई भाइ र भारतलाई साथी भन्यो । १९६० मा सोभियत नेताहरू पुनः भारत आए । यसरी भारत र सोभियत सङ्घबीच सम्बन्ध बाक्लियो । त्यही वर्ष बुखारेस्टमा बसेको एक बैठकमा रुस र चीनबीच भनाभन भयो । रुसले चीन पठाएका प्राविधिकहरू फिर्ता बोलायो र चीनको औद्योगिकरण र सैन्य उद्योगहरूमा धक्का लाग्यो । १९६१ मा चीन र रुसबीच सीमा विवाद भयो । अब चीनका तीन शत्रु थिए – रुसी संशोधनवाद, भारतीय प्रतिक्रियावाद र अमेरिकी साम्राज्यवाद ।” यहीनिर मल्लिकले पण्डित नेहरूको गुणगान गर्छन् । नेहरूको असंलग्नता नीतिले नै चीन र रुसबीच द्वन्द्व सिर्जना गरेर भारतलाई फलिफाप भएको मल्लिकको बुझाइ छ । प्रम नेहरूले रुसले चीनको साथ छोडी भारतको पक्ष लिने मल्लिकलाई बताए । नभन्दै रुसले काश्मीर मामिलामा भारतको साथ दियो । चीनले ‘तानाशाही’ पाकिस्तानलाई सघाएर अन्तर्राष्ट्रिय कम्युनिस्ट स्वार्थमा हानि पु¥याएको नेहरूको निष्कर्ष थियो । रुस र चीनको फुटले भारतीय कम्युनिस्टहरूमा रुसपन्थी र चीनपन्थीको फुट भयो । यसरी नेहरूले रुसलाई चीनविरोधी मोर्चाको मित्र बनाए । रुस र चीन मिलेका भए अन्य कुनै पनि गठबन्धनले भारतलाई जोगाउन नसक्ने नेहरूले देखेको भनी मल्लिक नेहरूप्रति गर्व गर्छन् । पण्डित नेहरूले ‘छिमेकीको छिमेकीलाई मित्र बनाउनुपर्ने’ चाणक्य नीतिको परिपालन गरेको र चीनको कम्युनिस्ट छिमेकीसँग मित्रता गाँसेको मल्लिकको दाबी छ ।
गरम नीति ९ँयचधबचम उयष्अिथ० को सन्दर्भमा मल्लिकले आइबीलाई निकै सक्रिय निकायको रूपमा प्रस्तुत गरेका छन् ।
गरम नीतिका लागि १९६१ मार्च मोडबिन्दु थियो । त्यसअघि आइबीले धमाधम सीमा क्षेत्रमा सीमा चौकीहरू बनाउनुपर्ने र गस्ती जानुपर्ने सुझाव दिइरहेको थियो । ती चौकीबाट गुप्तचरी गर्नु योजनाको एउटा हिस्सा थियो । विपक्षीहरूलाई चुप लगाउन नेहरूले सेना तयार नहुँदा नहुँदै पनि आक्रामक नीति लिएको जनरल कौलको निष्कर्षमा मल्लिकको आपत्ति छ । उनको विचारमा नेहरू गरम नीतिमा एकदम गम्भीर थिए । यसको प्रमाणमा “भूमिमा बस्नु भनेको कानुनीरूपमा १० मा ९ भाग बलियो बन्नु हो’ भन्ने नेहरूको भनाइ अघि सारेका छन् । गरम नीतिअन्तर्गत स्थापना गरिएका चौकीलाई नेहरूले प्रतीकात्मक नभई भूभाग लिने प्रभावकारी चौकी बनाउन र गस्तीको बन्दोबस्त मिलाउन चाहेको मल्लिकको ठहर छ । जनतालाई खुसी पार्न पण्डित नेहरूले ‘युद्धजस्तै’ कारबाही गर्न लगाएको कौलको निष्कर्षमा मल्लिकले नेहरूको बचाउ गर्दै सेनालाई उनले देशको सीमा रक्षा गर्न आदेश दिएको दलिल दिएका छन् । कौलमाथि व्यङ्ग्य गर्दै मल्लिकले सीमा युद्धताका ‘सीमा रक्षा’ को अर्थ चीनमाथि हमला हुने कुरा लुकाएका छन् ¤
‘गुप्तचर’ मल्लिक गरम नीतिप्रति कति प्रतिबद्ध छन् भने नाम्का चूको उत्तरमा पर्ने सेङजोङको हमला रक्षात्मक नभई आक्रामक हुन्थ्यो भने चिनियाँहरूलाई थागला डाँडाबाट खेद्न गाह्रो हुने थिएन भनी आफ्नो ‘सैन्य सुझबुझ’ प्रदर्शन गरेका छन् । सीमा चौकी बनाउँदा सेनासँग गुप्तचर मल्लिकको मनमुटाव चलिरहेको थियो । गुप्तचरले तिब्बतमा चिनियाँ सेनाको सङ्ख्या बढाइचढाइ भन्ने र सीमामा खतरा छ भनी तिललाई पहाड बनाउने आरोप सेनाले लगाइरहन्थ्यो । १९५९ मा पश्चिमको कोङका भञ्ज्याङमा सीमा झडप भयो । गुप्तचरले गलत सल्लाह दिएको भन्दै सैन्य नेतृत्व र परराष्ट्र आइबीमाथि खनिए । आइबी आक्रामक बनेको र सेनालाई उक्साउने काम गरेको बताइयो । यहाँ मल्लिकले प्रम नेहरूलाई ढाल बनाउँछन् । प्रमले नै कोङका भञ्ज्याङमा चौकीहरू बनाउन आदेश दिएको भन्छन् । घटनापछि नेहरूले सेनाको भनाइ पत्याइदिए । यो सुनेर मल्लिक गान्तोकबाट सीधै दिल्ली पुगे । त्यहाँ उनले थिमैयाको सुझबुझ बढाएको र प्रमलाई चीनले नै आक्रमण गरेको थियो भन्ने कुरामा मनाएको बताएका छन् । मल्लिककै जोडबलमा नयाँ चौकी नहटाउन नेहरू राजी भए ।
आइबीले सिफारिस गरेका स्थानहरूमा चौकी स्थापना गर्न र तिनको आपूर्तिको चाँजोपाँजो मिलाउन सेनालाई हम्मेहम्मे पथ्र्यो । यसकारण जनरल थिमैयाले सुरुमा नयाँ चौकी बनाउन अस्वीकार गरेका थिए । सेनाप्रति व्यङ्ग्य गर्दै मल्लिकले सेना लड्न डराएको हुँदा चिनियाँहरूलाई मनपरी सीमा हडप्न अवसर मिलेको थियो भन्छन् । तत्काल निर्धो सेनाप्रति सहानुभूति पनि व्यक्त गर्छन् । ‘देशभक्ति’ को गनगनमा मल्लिकले यसप्रकारका बाझिने सन्दर्भहरूले पुस्तक भरेका छन् । कोङका भञ्ज्याङको भिडन्तपछि सीमा विस्तार गर्दै सीमाचौकीहरू बनाउने ८ वर्षसम्म चलेको क्रम रोकियो ।
१९६१ को मार्चमा सैन्य नेतृत्व फेरियो । गरम नीति लागू गर्न सहज भयो । वास्तवमा यो नीति लागू गर्न हिच्किचाइरहेको सैन्य नेतृत्वलाई जानाजान नेहरू सरकारले पाखा लगाएको थियो । सेनासँँगका सानातिना मनमुटावमा गुप्तचर निकायको विजयबारे मल्लिकले अनेक किस्सा पुस्तकमा उल्लेख गरेका छन् । पश्चिमी सीमाको एक भेगमा सेनाले आपूर्ति पु¥याउन र सुरक्षा दिन नसक्ने भनी गुप्तचरलाई सबै चौकीहरू हटाउनुपर्ने बतायो । ‘देशभक्त’ मल्लिकले सेनाले आपूर्ति नदिए पनि आफूहरू चौकीमा खटिने र खच्चरले भए पनि आफ्नो आपूर्तिको बन्दोबस्त मिलाउने ‘अडान’ लिए । पछि सेना झुक्यो र चौकीलाई सघाउने बतायो । मल्लिक भन्छन्, “ती स्थानका चौकी हटाएको भए चीनले भारतको हजारौँ वर्ग माइल भूभाग हडप्ने थियो । यसरी गुप्तचरले सैन्य नेतृत्वलाई नचाउन थाल्यो तर मल्लिकले यसलाई सेना र गुप्तचर निकायको सुमधुर सहकार्यको रूपमा प्रस्तुत गरेका छन् । सेना र गुप्तचरका अधिकारीहरूबीच बैठकहरू बाक्लिए । त्यसबेला सेना ‘पुरानो उदासिनता’ बाट उभ्रेको थियो र सेना अगाडि बढ्न अत्यन्त आवश्यक थियो भन्ने मल्लिकको ठम्याइ छ । आइबीले चिनियाँहरूले धेरै भूमि कब्जा गर्ने खतरा देखे र १९६१ को गर्मी यामसम्म सीमाका सम्पूर्ण नओगटिएका भूभागहरू ओगट्ने र गस्ती गर्ने योजना बनाए । यसमा नेहरूले साथ दिए र सेनालाई आत्मरक्षामा बाहेक गोली नचलाउन आदेश दिए । १९६० देखि रक्षा मन्त्रालयले नयाँ चौकीहरू बनाउन कर गरिरहेको थियो । सैन्य नेतृत्व परिवर्तनपछि मात्र मन्त्रालयको आदेश पालन हुनथाल्यो ।

गरम नीतिको मल्लिकको गौरवगान फोस्रो र भ्रामक हो भन्ने कुरा उनकै दलिलबाट सावित हुन्छ । चीनविरुद्धको नेहरूको आक्रोश जनआक्रोशको प्रतिबिम्ब थिएन । बरु नेहरूले शान्तिपूर्ण समाधानमा रुचि नदेखाएर चीनविरोधी निजी आक्रोशलाई जनआक्रोशको रूप दिएका थिए । अफगानिस्तान र तिब्बतदेखि लिएर हिन्द चीनसम्म भारत र भारतीय संस्कृतिको दबदबा छ वा हुनुपर्छ भन्ने भारतीय जनता पार्टीका आदिगुरु सावरकरको ‘अखण्ड हिन्दू राष्ट्र’ को धङधङी नेहरूमा पनि पाइन्छ ।

नेतृत्व परिवर्तन हुनुअघि सेनाले नेफा क्षेत्रमा ‘थोराट रेखा’ पार गर्न मानेको थिएन । सैन्य सीमा र राष्ट्रिय सीमा फरक हुने गर्छ । यस हिसाबले सेनाले सामरिक बिन्दुहरूमा सैन्य आधार बलियो बनाउने गरी म्याकमाहोन रेखाभन्दा १०० माइल दक्षिणबाट जाने सैन्य रेखा बनाएको थियो । मल्लिकले सो रेखालाई हियाउँदै लडाइँहरू सीमा रेखामा लडिन्छ भन्ने ‘पराक्रम’ आफ्नो पुस्तकमा पोखेका छन् । सीमामा ससाना झडपहरू भइरहन्छन् तर सीमा छोड्नु हुँदैन भनी उनी सेनालाई उपदेश दिन्छन् । यसमा जनरल थिमैयाको मानसिकताले काम गरेको मल्लिकको ठहर छ । थिमैयाले भनेका थिए, “पाकिस्तानसँग युद्ध हुनसक्ने देख्छु । तर, चीनसँग युद्ध गर्ने कुराले मेरो आङ सिरिङ्ग हुन्छ । एक सैनिकको रूपमा चीनसँग खुला लडाइँ लड्नुपर्ने कुरा म सोच्न पनि सक्दिनँ । हाम्रो सुरक्षा सुनिश्चित गर्ने जिम्मा राजनीतिज्ञ र कूटनीतिज्ञहरूलाई छोड्नुपर्छ ।” यही मानसिकताले सेना सीमा युद्धको लागि तयारी अवस्थामा नबसेको मल्लिकको दाबी छ । यसरी उनी ‘स्वतन्त्रताअघि बेलायती उपनिवेशवादीहरूलाई सघाएको’ सेनालाई नेताहरूले अर्घेलो व्यवहार गरेको र उसलाई आवश्यक बन्दोबस्तीका सामग्री र हतियारबाट वञ्चित गरेको सत्यलाई सजिलै लुकाउँछन् । यसो गर्दा दोषीहरू पनि उम्किन्छन् !
गरम नीतिको नामकरणको प्रसङ्गमार्फत गुप्तचर मल्लिकले सत्यमाथि अर्को पर्दा हाल्छन् ।
ँयचधबचम उयष्अिथ को वास्तविक अर्थ आक्रामक नीति हुन्छ । त्यसैले मल्लिक यसलाई ‘अब आत्मसमर्पण नगरौँ’ नीति भन्नुपर्ने प्रस्ताव गर्छन् । आफूहरूले विदेशी भूमि नमिचेको र चीनले पश्चिमी सीमामा भारतको भूमि मिचेको अर्थमा यसो भन्नुपर्ने उनको तर्क छ । आफ्नो तर्कमा बल दिँदै उनी तत्कालीन रक्षामन्त्री कृष्ण मेननको भनाइ अघि सार्छन् । मेननले १९६८ मा भनेका थिए, “हामीले कहिल्यै आक्रामक नीति अपनाएनौँ । आक्रामक नीतिको अर्थ हुन्छ अरूको भूभाग हडप्न खोज्नु । जस्तो लर्ड कर्जनले अपनाएका थिए । अरूको भूमि लिने हाम्रो प्रयास थिएन । आफ्नै भूमिमा चौकी बनाउन खोज्नु आक्रामक नीति हुनसक्दैन । यो त काश्मीरमा हामीले आक्रमण गरेका छौँ भनेझैँ भयो । यस्तो हाम्रा शत्रुहरू भन्छन् । खासमा चीनले हाम्रो भूमिमा आक्रामक नीति लागू गरेको थियो ।” मेनन पनि पण्डित नेहरू र मल्लिककै टोलीका एक पात्र थिए । यस हिसाबले गरम नीतिको बचाउमा उनी बोल्नु स्वाभाविक हो । चीनले म्याकमाहोन रेखाभन्दा तल पाइला नसार्नुले चीनले भारतको भूमि मिचेको थिएन भन्ने पुष्टि हुन्छ । उसको चासो कति मात्र थियो भने आफूले जस्तै पश्चिम खण्डमा भारतले चीनको पुरानो नक्साअनुसार भूभाग छोड्नुपर्छ । यसलाई चीनको ‘आक्रामक नीति’ भन्दा पनि ‘आपसी लेनदेन’ भन्नु उपयुक्त हुन्छ । कुनै दिन चीन–भारतबीच सीमा सम्झौता भएछ भने यही बुझाइ त्यस सम्झौताको आधार बन्नेछ । दोस्रो विकल्प छैन ।
१९६१ को सैन्य परिवर्तनपछि सेनाले पूर्णरूपमा गरम नीति पालन गरेको मल्लिक बताउँछन् । उनी सेनाले भन्दा आइबीले यस काममा धेरै हण्डर खाएको दाबी गर्छन् । उनी भन्छन्, “१९५२ देखि आइबी सीमामा थियो । सामान्यतया एउटा खुफियातन्त्र खडा गर्न १५ वर्ष लाग्छ तर हामीले १२ वर्षको कठिन मेहनतले सो कार्य पूरा ग¥यौँ । चेकपोस्टहरू खडा गर्ने बेला गुप्तचरका धेरै कर्मचारीहरूको निधन भयो । कैयन् रोगी भए, कतिको घरबार बिग्रियो र कोही त एक्लोपनाले गर्दा बहुलाए ।” गुप्तचर मल्लिकले आइबीका दुःखहरूबारे बताउन एउटा पाठ नै खर्च गरेका छन् र ब्रिगेडियर डाल्भीको शैलीमा ती अज्ञात गुप्तचरहरूको सम्मानमा ‘भावना’ को भेल बगाउन खोजेका छन् । यस अर्थमा मल्लिकले सेनासँग भन्दा आफूहरूसँग सीमाको अनुभव धेरै थियो भनेका छन् । कौललाई जवाफ दिँदै उनी सेनालाई सरकारले जबरजस्ती नगरेको प्रस्ट पार्छन् । कौल र थापरले लुरुलुरु प्रम नेहरू र रक्षामन्त्री मेननको आदेश पालना गरेका थिए भन्ने धेरै अध्ययनले देखाएका छन् । मल्लिक भने उनीहरू प्रम र रक्षामन्त्रीका आज्ञाकारी थिएनन् भनी भ्रम छर्न उद्यत छन् । उनी सरकारसँग सेना लयमा थियो भनी दाबी गर्छन् ।
गरम नीतिको सन्दर्भमा मल्लिकले प्रम नेहरूलाई निरीह र निर्विकल्प स्थितिमा देखाउन खोजेका छन् ।
मल्लिक भन्छन्, “विपक्षीहरूको दबाबमा परेर बाध्यतावश प्रम नेहरूले गरम नीति लिएका थिएनन् । यस्तो नीति लिन काङ्ग्रेसकै नेताहरूले पनि जोड दिएका थिए र नेहरू जनआकाङ्क्षा बुझ्थे । चीनविरुद्धको उनको आक्रोश जनआक्रोशकै प्रतिबिम्ब थियो । उनले विचार नपु¥याई यस्तो निर्णय लिएका थिएनन् । उनी सधैँ चीनसँग युद्ध पन्छाउन चाहन्थे । यसको अर्थ उनले चीनलाई माया गर्थे वा ऊसँग डराउँथे भन्ने होइन । चीनसँगको युद्ध पुस्तौँपुस्ता चल्ने, त्यसले ठूलो विपत्ति ल्याउने र भारतको आर्थिक प्रगतिलाई पछि धकेल्ने हुनाले मात्र नेहरू युद्ध पन्छाउन चाहन्थे । उनी सेनालाई कष्टकर पहाडमा लडाउने योजनाको विपक्षमा थिए । आलोचकहरू भन्छन्, गरम नीतिले असर देखाइरहेको थियो नि । तर असर देखाइरहेको थियो र चिनियाँ विस्तारवादलाई रोकिरहेको थियो भन्दैमा चीनले आक्रमण गर्नुपर्छ भन्ने थिएन । अर्को विकल्प के थियो ? एउटै विकल्प चीनलाई आफ्नो सम्पूर्ण भूभाग सुम्पिनु हुन्थ्यो । चीन सानो टुक्रा लिएर अघाउने थिएन । एउटा टुक्रा लिएपछि चीनले अर्को टुक्रा माग्ने थियो । पण्डित नेहरूले एकचोटि भनेका थिए, “भारत चीनको विश्व क्रान्तिमा अवरोध हो र भारतले आफ्नो जीवनशैली नफेर्दासम्म र चीनलाई ठूलो दाइ बनाएर राजनीतिक रूपमा उसको आज्ञा नमानेसम्म आराम गर्न दिइनेछैन । यस्तो झेली शत्रुलाई कसरी सहन सकिन्थ्यो ? चीनसँगको विवाद समाधान गर्न सारा शान्तिपूर्ण प्रयासहरू विफल भएका थिए । शत्रु सीमा हत्याउन जुनसुकै हत्कण्डा अपनाउन तयार थियो । अरू उपाय थिएन । नेहरू निर्विकल्प थिए । त्यसैले उनले सो नीति लिए ।”
मल्लिकले यतिमै चित्त बुझाउँदैनन् । कमजोर हुँदैमा कुनै पनि देशले सीमाको रक्षा नगर्ने भन्ने हुँदैन भनी उनी थप दलिल दिन्छन् । उनी इथोपिया फासीवादी इटालीसँग, फिनल्यान्ड रुससँग लड्नुका उदाहरणहरू पस्किन्छन् । भारत चीनको दाँजोमा पुग्न समय लाग्ने र यसबीच चीनले भारतीय भूभागहरू हडप्ने सिलसिला चलिरहने भविष्यवाणी पनि गर्छन् । तैपनि, चिनियाँहरूलाई रोक्न सेनाले सम्भव सबै उपाय लगाउनुपर्ने उनको सुझाव छ । यसरी गरम नीति चालू राख्नुपर्ने गुप्तचर मल्लिकको निष्कर्ष छ । १९६२ को हारपछि मात्र सो नीतिको आलोचना भएको उनले पाठकलाई स्मरण गराएका छन् । यसरी मल्लिकले गरम नीतिमाथि भारतीय ‘देशभक्ति’ को जलप चढाएका छन् ।
गरम नीतिको मल्लिकको गौरवगान फोस्रो र भ्रामक हो भन्ने कुरा उनकै दलिलबाट सावित हुन्छ । चीनविरुद्धको नेहरूको आक्रोश जनआक्रोशको प्रतिबिम्ब थिएन । बरु नेहरूले शान्तिपूर्ण समाधानमा रुचि नदेखाएर चीनविरोधी निजी आक्रोशलाई जनआक्रोशको रूप दिएका थिए । अफगानिस्तान र तिब्बतदेखि लिएर हिन्द चीनसम्म भारत र भारतीय संस्कृतिको दबदबा छ वा हुनुपर्छ भन्ने भारतीय जनता पार्टीका आदिगुरु सावरकरको ‘अखण्ड हिन्दू राष्ट्र’ को धङधङी नेहरूमा पनि पाइन्छ । यस विषयमा मल्लिकको बयान सही हो भने नेहरूको उदार पुँजीवादी राजनेताको छवि मुखुण्डो हुनजान्छ । चिनियाँ प्रमले १९६० को दिल्ली भ्रमणमा युद्ध टार्नका लागि सीमामा सैनिकहरूले गस्ती रोक्नुपर्ने प्रस्ताव गरेका थिए । नेहरू सेनालाई पहाडी भूभागमा लगेर कष्ट दिन चाहँदैनथे भने गस्ती रोक्न सक्थे । यसो नगर्नुले नेहरूको द्वैधचरित्र स्पष्ट हुन्छ । नियन्त्रण रेखाअनुसार सेनालाई पछाडि सार्दा दुवै देशका सेना थप अगाडि बढ्ने बाटो बन्द हुने थियो । चीनलाई ‘रोक्न’ यत्ति गरे पुग्थ्यो । तर, यसबाट आफू पनि रोकिनुपर्ने नेहरूको चिन्ता थियो । यसो गर्दा विपक्षीहरूको विरोध चर्किने र उनको कुर्सी डगमगाउने थियो । तसर्थ गरम नीति नेहरूको सत्तालिप्सा परिपूर्ति गर्ने साधन थियो । जहाँसम्म विश्व क्रान्तिको चिनियाँ मनसाय छ, चिनियाँ कम्युनिस्ट पार्टी लेनिनवादी थियो । उसलाई क्रान्ति निर्यात गर्ने त्रोत्स्कीको निरन्तर क्रान्तिको सिद्धान्तमा विश्वास थिएन । साथै बडाराष्ट्र अहङ्कारवादको विरोध गर्ने हुनाले चीन ठूलो दाइ बन्न खोज्ने प्रवृत्तिको विरोधी थियो । यसको विपरीत, छिमेकी मुलुकहरूलाई भारत र पण्डित नेहरूको ठूलो दाइपनबारे राम्रै अनुभव छ । १९६२ को युद्धपछि भारत ३० वर्षसम्म चुप लाग्ने माओ त्सेतुङको अनुमान थियो । ३५ वर्षपछि मात्र भारत–चीन सीमा झडप भयो । यही एउटा तथ्यले गरम नीतिअन्तर्गत हुने चीन–भारत सीमा झडपको सूत्रधार को थियो भन्ने प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *