भर्खरै :

चिनियाँ सद्भावको अपव्याख्या किन ?

नेपालमा राजनीतिक अस्थिरता नहोस्, स्थिर सरकार होस् र विकासको पथमा लम्कियोस् भन्ने छिमेकी देश चीनको चाहना रहेको छ । चीनले अभिव्यक्ति र व्यवहारले त्यसलाई पुष्टि गर्दै आएको छ । चीनले नेपालमा यस्तै होस् वा यही व्यक्ति प्रधानमन्त्री होस्, यही पार्टी सरकारमा होस् र नेपाल सरकारले यस्तै गर्नुपर्छ भनी कहिल्यै भनेको छैन र त्यस्तो भन्यो भनी दावी गर्नसक्ने आधिकारिक व्यक्ति आजसम्म कोही पनि छैन । नेपालमा २०७२ सालमा नयाँ संविधानको कार्यान्वयन र आमनिर्वाचनपछि एउटा चुनावी गठबन्धनको बहुमत आएको आधारमा उक्त गठबन्धनको सरकारले पाँच वर्षकै अवधि पूरा गर्ने अपेक्षा स्वदेशीले मात्र छिमेकी देशहरूले पनि राखेका थिए । सरकार बनेको बेला दुईतिहाइ बहुमतप्राप्त सरकारलाई निकै बलियो सरकारका रूपमा लिइएको थियो र नेपालसित विभिन्न मित्रराष्ट्रहरूले संयुक्त परियोजनाहरू अगाडि बढाउन हस्ताक्षर पनि गरेका थिए । छिमेकी मित्र देश चीन तीमध्ये अग्रणीमै पर्छ । नेपालको सत्तासीन पार्टीभित्रको मतभेदकै कारण राजनीतिक अस्थिरता सुरु हुने सङ्केत देखिएको हुनाले नेपालमा के भइरहेको छ भनी छिमेकी देशहरूले नजिकबाट नियाल्नुलाई अन्यथा भन्न सकिंदैन, चाहे त्यो चीनको हकमा होस् वा भारतको हकमा होस् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आएको चारसदस्यीय प्रमण्डलको उद्देश्य नेपालप्रति चीनको सदभाव स्मरण गराउनु र नेपालको राजनीतिक स्थितिबारे बुझ्नुमात्र रहेको अभिव्यक्ति र व्यवहारले पुष्टि गरेकै छ । त्यसो त नेपालमा बेलाबखतमा विभिन्न देशका मन्त्रीहरू र नेताहरूले औपचारिक र अनौपचारिक भ्रमण गरिरहेकै छन् । चिनियाँहरू नेपाल भ्रमण गरेकै आधारमा त्यसलाई चिनियाँ हस्तक्षेप भनी प्रचार गर्ने र विरोधमा उत्रनेहरूले पहिले आफ्नो कान छाम्नु उचित होला । नेविसङ्घले विरोध प्रदर्शन गर्नुभन्दा अगाडि चिनियाँ नेताहरूले काङ्ग्रेस सभापति शेरबहादुर देउवासित भेट गरी के भने र के गरे भनी देउवासितै बुझेको भए राम्रो हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *