भर्खरै :

राजधानीको त यस्तो अवस्था अन्त के होला ?

प्रधानमन्त्री र सरकार देश विकासको पथमा लम्केको दाबी गर्न चुक्दैनन् तर सरकारले भनेको विकास के हो भनी ठम्याउन सर्वसाधारण जनतालाई हम्मे हम्मे छ । हो, विदेशी सहयोगमै भए पनि केही पूर्वाधारको निर्माण पक्कै भएको छ । देशको ढुकुटी खर्चने कार्य पनि निरन्तर जारी छ तर प्रतिफल अपेक्षाकृत छैन । सडक जाम र दुर्घटना रोक्न भनेरै चक्रपथलगायत राजधानीका सडक फराकिलो बनाइएका थिए । सडक फराकिलो बनाएपछि पनि जाम र दुर्घटना कम भएन बरू दुर्घटना बढेको छ । त्यसको कारण सडकहरूको क्रस क्रसमा ट्राफिक लाइट, सडकमा जेब्रा क्रसिङको र राति उज्यालो पार्ने सडक बत्ती नभएर हो । यही कारणले काठमाडौँ उपत्यकामा सडक दुर्घटना बढ्दो छ । आर्थिक वर्ष २०७६÷७७ मा १०,०३० वटा दुर्घटना भए । ती दुर्घटनामा परी १५३ जनाले ज्यान गुमाए भने ६९२४ जना घाइते भए । त्यस्तै यस आर्थिक वर्षको साउन महिनामा ७१५ दुर्घटना, १० को मृत्यु र ५५६ जना घाइते, भदौ महिनामा ३३८ दुर्घटना, ५ को मृत्यु र १९५ जना घाइते, असोज महिनामा ७८५ दुर्घटना, १४ को मृत्यु र ६५५ जना घाइते, कार्तिक महिनामा ८१७ दुर्घटना, २१ को मृत्यु र ६९४ जना घाइते तथा मंसिर महिनामा १०९२ दुर्घटना, १८ को मृत्यु र ७९८ जना घाइते भएको महानगरीय ट्राफिक प्रहरी प्रभागको तथ्याङ्क छ । करोडौँ रूपैया खर्चेर बनाइएका पुलहरूमा कमसल निर्माण सामग्री प्रयोग गर्दा पुल कमजोर भई प्रयोगका लागि अयोग्य भएका खबर बाहिरिएको छ । राजधानी र काठमाडौँ उपत्यकाका भित्री सडकहरूको अवस्था सुध्रिएको छैन । देशको राष्ट्रिय राजधानीको त यस्तो दुरवस्था छ भने देशको अन्य भाग र दुर्गम क्षेत्रमा के अवस्था होला, अनुमान लगाउन असहज छैन । कुन क्षेत्रमा देशले साँचिकै प्रगति ग¥यो ? जनताको जीवनमा समृद्धि ल्याउने कुन कुन कार्य सम्पन्न भए ? स्पष्ट र चित्तबुझ्दो जवाफ सरकारले दिनसक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *