भर्खरै :

‘किसं बा’ अर्थात् मदन कृष्णबाको सम्झना

‘काका –भतिजाको राजनीति’
विसं २०४० देखि ५० को दशकताका भक्तपुरको राजनीतिक वृत्तमा एउटा थेगो प्रचलित थियो । पञ्चायतका एक नेतामदनकृष्ण हाडा र कम्युनिस्ट नेता नारायणमान बिजुक्छेँकोे राजनैतिक सिद्धान्त र विचारविपरीत दिशातिर फर्किएको भए तापनि नाताले काका–भतिजा र एकाघरका भएकाले होला, उहाँहरूको राजनैतिक सम्बन्धलाई ‘काका–भतिजाको राजनीति’ भन्ने चलन थियो । जतिसुकै बाहिरबाट उहाँहरूको राजनीतिविपरीत दिशाउन्मुख र एकअर्काका प्रत्यासी भए पनि भित्रभित्र साठगाँठ भएको शङ्का गरी उहाँहरूको राजनैतिक क्रियाकलापलाई यसरी ‘काका–भतिजाको राजनीति’ भनिएको हुनुपर्छ । बाहिरबाट हेर्दा एउटै घर देखिने तर भित्र हाम्रो तीन परिवारको भ¥याङ (स्वनब्वोः) अलग–अलग थियो । काका मदनकृष्ण हाडालाई हामी परिवारमा किसंबा (कृष्ण बा) भनेर सम्बोधन गथ्र्यौँ । किसं बा जेठो दाइ (नारायणमान बिजुक्छेँ) लाई ‘कमरेड’ भनेर सम्बोधन गर्नुहुन्थ्यो । किसंबा इतिहासका अध्येता र पञ्चायतको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो भने यता जेठा दाइ कम्युनिस्ट राजनीतिमा सक्रिय भएको नाताले उहाँहरूबीच राजनैतिक चिन्तनमनन र गन्थन–मन्थन हुनु कुनै नौलो र अस्वाभाविक थिएन । उहाँहरू नेपालको स्थानीयदेखि अन्तर्राष्ट्रिय राजनीतिसम्मका विविध पक्षका बारेमा र अझ भारतीय राजनीतिका बारेमा गहनरुपमै अनौपचारिक छलफल गर्नुहुने सम्झना अझै ताजा छ । उहाँहरूबीचको त्यो मन्थनमा चुनावका अघिपछि बाहेक अवरोध भएको मलाई याद छैन । यसलाई परिपक्व राजनैतिक संस्कृतिभन्दा फरक नपर्ला ।
फेडेरेसनदेखि पञ्चायतसम्म
पुस १ गतेलाई नेपालको राजनैतिक इतिहासमा कालो दिनको रुपमा सम्झिँदै आएको आज छ दशक भइसक्यो । राजा महेन्द्रले बीपीको निर्वाचित सरकारलाई अपदस्थ गरेर शासनसत्ता आफ्नो हातमा लिएपश्चात् तात्कालीन समयमा नेपाली राजनीति विभाजित भयो । नेपाली काङ्ग्रेसले राजाको सो कदमको घोर विरोध गर्दै आन्दोलन सुरु गरे भने काङ्गे्रसबाहेकका केही राजनैतिक दलले राजाको त्यस कदमको स्वागत गर्दै दिपावलीसमेत गरेको नेपाली राजनीतिको वृत्तमा त्यतिकै चर्चा चल्ने गरेको छ । महत्वाकाङ्क्षी राजा महेन्द्रलाई आफूले स्थापना गरेको निर्दलीय पञ्चायती व्यवस्थालाई टिकाउन घरेलु र बाह्य परिस्थिति दुवै वास्तवमा सहज थिएन । पञ्चायतइत्तर पक्षलाई निर्मम दमन गर्ने, जेल सजाय दिने, जेल सार्ने नाममा हत्या गर्ने जस्ता दमनकारी नीति एकातिर अपनाइएको थियो भने अर्कोतिर काङ्ग्रेस, गैरकाङ्ग्रेस तथा कम्युनिस्टहरूसमेतलाई विस्तारै पञ्चायतको हिस्सा बनाउँदै लाने नीति अपनाएको थियो । यही नीतिअन्तर्गत भक्तपुरका एक होनहार युवा शिक्षक मदनकृष्ण हाडालाई पनि पञ्चायतमा प्रवेश गराइएको देखिन्छ । पञ्चायतको राजनीतिमा सक्रिय हुँदै मदनकृष्ण हाडा गाउँ फर्क राष्ट्रिय अभियानको बाग्मती अञ्चलस्तरीय सचिवसमेत हुनुभयो ।
अध्ययन र शिक्षा क्षेत्रमा सक्रिय
नेपाल विद्यार्थी फेडेरेसनसँग आबद्ध भई कम्युनिस्ट कार्यकर्ताको रूपमा सक्रिय युवा मदनकृष्ण हाडा पठनपाठनमा निकै अभिरुचि राख्नुहुन्थ्यो । यही स्वभावले नै उहाँलाई विद्यालय खोल्ने र अध्यापन गराउनेमा सक्रिय गराएको प्रस्ट हुन्छ  । फेडेरसनमा सक्रिय हाडा पहिलो पल्ट २०१८ सालमा विद्यार्थी निकेतन स्कूलमा इतिहासको शिक्षकको रूपमा आफ्नो वृत्तिविकास सुरु गर्नुभएको थियो भने २०१९ सालमा सुकुलढोकास्थित भीम आर्दश स्कूलका ३ संस्थापकहरूमध्ये एक जना उहाँ पनि हुनुभयो । भीम आदर्शका अर्का दुई जना संस्थापकहरू गणेशमान बिजुक्छेँ र गजेन्द्रबहादुर मूल हुनुहुन्थ्यो । पञ्चायतको राजनीतिमा सक्रिय भएरै उहाँ वडा अध्यक्ष, भक्तपुर जिल्ला पञ्चायतको सभापति, भक्तपुर नगर पञ्चायतको प्रधानपञ्चदेखि गाउँ फर्क राष्ट्रिय अभियानको अञ्चल सचिव हुँदै राष्ट्रिय पञ्चायतको सदस्यसमेत हुनुभयो । नेपालमा ‘गोरखापत्र’ दैनिकबाहेक केही साप्ताहिक पत्रिकामात्र प्रकाशन हुने त्यो बेला उहाँ भारतबाट प्रकाशित हुने प्रमुख पत्र–पत्रिकाहरू जस्तै नव–भारत टाइम्स (दैनिक), दिनमान (साप्ताहिक), धर्मयुग (साप्ताहिक), कादम्बिनी (मासिक) तथा अन्य धेरै पत्र–पत्रिकाहरू नियमितरूपमा अध्ययन गरी भारतीय राजनीति र साहित्यबारे आफूलाई अद्यावधि राख्नुुहुन्थ्यो । पत्र–पत्रिका बाहेक नियमितरुपमा उहाँ राजनीतिशास्त्रका विभिन्न पुस्तकहरू पनि अध्ययन गर्नुहुन्थ्यो । पञ्चायतका अध्ययनशील केन्द्रीय नेताहरू तथा साहित्यकार राजेश्वर देवकोटा, लोकेन्द्रबहादुर चन्द, कमलराज रेग्मीसँग उहाँ नजिक भएको कारणले पनि मदन बाको अध्ययनशील बानीले निरन्तरता पाएको सहज अनुमान लगाउन सकिन्छ ।
२०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्थाको पुनस्र्थापना गरेपछि उहाँको राजनीतिक जीवनमा देखिने गरी सक्रियतामा कमी आएको थियो । यद्यपि, मदनबाको अध्ययनशील बानीमा भने तात्विक भिन्नता देखिएन । भक्तपुर नगरपालिकाबाट सञ्चालित जनज्योति पुस्तकालयको उहाँ नियमित पाठक भइरहनुभयो । २०४६ सालको आन्दोलनको सिलसिलामा मानव अधिकार अभियानमा सक्रिय भएदेखि म उहाँसँग अझ नजिकिएँ । आफ्ना केन्द्रीय तहका नेताहरूसँगको भेटघाटमा कमी र पार्टीको राजनीतिक गतिविधिमा बिस्तारै कम सक्रिय भएपश्चात् उहाँको काठमाडौँ आउजाउसमेत पातलिन थाल्यो । मानव अधिकारसम्बन्धी छलफलको लागि उहाँले मलाई माइतीघर हाइटस्थित साहित्यकार एवं पञ्चायतका नेता राजेश्वर देवकोटासँग भेट गराउनुभएको सम्झना पनि ताजै छ । आफ्नो रुचीअनुसारको कुनै नयाँ पुस्तक प्रकाशन हुनासाथ उहाँ मलाई जानकारी गराउनुहुन्थ्यो र म सम्भव भएसम्म उहाँलाई उपलब्ध गराउँथेँ । अनि उहाँसँग भएका पुस्तक पनि मलाई पढ्न दिनुहुन्थ्यो । इतिहासबाहेक उहाँ दर्शनशास्त्रमा पनि अभिरुचि राख्नुहुन्थ्यो । जोन स्टुआर्ट मिल्स, बर्टान्ड रसेल र जवाहरलाल नेहरूबारेमा कुरा कोट्याइ रहनुहुन्थ्यो । नेपाली नेताहरूमा उहाँ टङ्कप्रसाद आचार्यबाट प्रभावित हुनुहुन्थ्यो । टङ्कप्रसाद आचार्यको बारेमा जेम्स फिसरद्वारा लिखित पुस्तक ‘ज्यूँदा सहिदहरू’ उहाँलाई मनपर्ने पुस्तक थियो ।
अमेरिकी समाजशास्त्री आलभिन टफलरका समाज परिवर्तनसम्बन्धी तीन प्रख्यात पुस्तकहरू ‘पावर सिफ्ट’, ‘थर्ड वेभ’ र ‘फ्युचर सक’ पनि उहाँलाई मनपर्ने पुस्तकहरू थिए । पठनमा गहिरो रुचि भए पनि सायद लेख्न नपाउँदाको पीडाबोध उहाँमा थियो । हामीले लेखहरू लेख्न अल्छी गर्ने र प्रकाशनमा ढिलाइ ग¥यौँ भने ‘पढ्नेमात्र होइन, लेख्नु पनि पर्छ नत्र तिमीहरू पनि हामीजस्तै होलाऊ । लेख्ने केही भएन भने डायरी भए पनि लेख्नु’ भनी लेख्नको लागि उत्साहित गर्नुहुन्थ्यो । उहाँ आफू पढ्नेमात्र गर्ने तर लेख्न बानी छुटेकोमा पछुतो गर्दै हामीलाई सजग समेत गराउनुहुन्थ्यो ।
महाकविका चेला मदन बा
किसंबाले आफ्नो अतीतका कुरा सुनाउने क्रममा कुनै बेला उहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा भक्तपुरदेखि ट्युसन पढ्न जाँदाको अनुभव पनि सुनाउनु हुन्थ्यो । भक्तपुरबाट उहाँलगायत गोपालभक्त भजु र तेजेश्वर बाबु ग्वङ्ग देवकोटामा ट्युसन पढ्न जानुहुन्थ्यो । सधैँभरि चुरोटको धुवाँसँगै पढ्दै, पढाउँदै, लेख्न तल्लीन हुने देवकोटा अङ्ग्रेजी, नेपाली, गणितलगायत करिब सबै विषय पढाउनुहुन्थ्यो रे ¤ भक्तपुरमा हुने साहित्यिक कार्यक्रममा आउँदा उसिनेको अण्डा खान मनपराउनु हुने देवकोटा दत्तात्रय मन्दिरको पछाडिको एउटा खाजा पसलमा ठट्यौली पारामा सोध्नुहुन्थ्यो रे, ‘शालिग्राम छैन ?’
नेपाली राजनीति बुझ्न भारतीय राजनीति बुझनुपर्ने ठम्याइ राख्नुहुने मदन बाले लामो समय पञ्चायती राजनीति गर्नुभए पनि अरू पञ्चे नेताहरूले जस्तो तीन पुस्तालाई पुग्ने गरेर कमाउधन्दा गर्न पदमा हुँदा भ्रष्टाचार गरेको कुनै अभियोग भेटिदैन । न त आफ्ना नाताकुटुम्ब र छोराछोरीहरूलाई कुनै सरकारी ओहदामा पु¥याउन चलखेल गरेको प्रमाण खोज्दा नै भेटिन्छ । तर, उहाँमा पनि अरूका जस्तै मानवीय कमजोरीहरू नभएका होइनन् । मनमा पाप नराख्ने उहाँ अगाडि जे देख्नुहुन्छ र उहाँलाई जे लाग्छ त्यो फ्याट्टै भन्ने बानीले धेरै कार्यकर्ता गुमाउनु परेको कुरा सुनाउनेहरूको पनि कमी छैन । बेला–मौकामा गर्ने अधिक मद्यपान पनि उहाँको कमजोरी थियो ।
२०७२ सालको भूकम्पले धेरैलाई मानसिकरूपमा असर पारेको थियो । मदन बाले पनि त्यस महाभूकम्पको धक्कालाई पचाउन सक्नुभएन र त्यसले दिएको मानसिक दबाबको साथै अरू विभिन्न रोगहरूले पनि उहाँलाई गाल्दै लग्दा बिर्सिने रोगले समेत नराम्ररी च्याप्यो । पटक–पटक अस्पताल भर्ना हुनुभयो । बिस्तारै शिथिल हुँदै गएको शरीरले आखिरमा १९ पुस २०७६ मा सदाका लागि विश्राम लियो । किसं बाको अस्वस्थतालाई ध्यानमा राखी घोष्ट राइटिङको सहयोगले उहाँको आत्मकथा लेखाउनुपर्ने आवश्यकताको परिवारवृत्तमा भइरहेको छलफलले मूर्तरुप लिन नपाउँदै उहाँलाई गुमानुप¥यो । जुुनसुकै राजनैतिक विचारधारा अंगालेका भए पनि राजनीतिलाई कहिल्यै व्यापार नबनाउनु भएका एक शुद्ध राजनीतिक नेता, शिक्षक र पञ्चायतका धेरै नालीबेलीको अनुभव संगालेका किसं बाको आत्मकथालाई अभिलेखीकरण गर्न पाएको भए नयाँ पुस्ताले उहाँको अनुभवबाट धेरै सिक्न सक्ने थिए । किसं बाको अनुभवलाई अभिलेखीकरण गर्न नपाएको यो कमजोरीले हामी परिवारजनलाई पटक–पटक झस्काइरहने छ ।
मदन बाले सोभियत रुसबाट ल्याउनुभएको ठूलो रेकर्डर हामी केटाकेटीहरूको लागि सबभन्दा आकर्षणको वस्तु हुन्थ्यो । कालो रिकापीजस्तो चक्का घुम्दै गर्ने र त्यसबाट रफी र किशोरका कालजयी हिन्दी गीत घन्कदै गर्दा हामी उहाँको कोठामै आफुलाई सिनेमा घरमै भएको महशुस गथ्र्यौं । ती गीतहरूमध्ये एउटा गीत अझै हाम्रो कानमा गुन्जिरहन्छ । किसंबाको पार्थिव शरीरको अन्तिम यात्रा सुकुलढोका हाम्रो घरपुग्दा त्यो गीत मेरो कानमा अझ जोडले गुन्जियो । कता–कता लाग्यो त्यो गीत महम्मोद रफीले होइन, स्वयं किसंबाले हामीसँग विदा लिन गाइरहनुभएको थियो ।
‘तेरे गल्लियो मे रखे गे ना कदम, आज की वाद,
तेरेको ना मिलने आए गे कभी आज की वाद…

4 responses to “‘किसं बा’ अर्थात् मदन कृष्णबाको सम्झना”

  1. अभय श्रेष्ठ says:

    देवकाेटाले शालिग्राम छैन भनेर केलाई संकेत गरेका रहेछन् याेगेन्द्र सर ?

  2. Manoj Raj says:

    Interesting read! Thanks to Yogendra sir for sharing this.

  3. Rabin Bariya says:

    Very interesting Yogen sir. As a child living at golmadhi, we’ve heard a lot about him. It would be a valuable source of knowledge to know more about him.

Leave a Reply

Your email address will not be published. Required fields are marked *