भर्खरै :

दलका प्रदर्शनहरू केका लागि हुनुपर्छ ?

२०१७ को परिवर्तनले राजाको शासनको स्थापना ग¥यो । त्यतिबेला सडकमा राजाका मान्छेहरूले प्रदर्शन गर्थे । उनीहरूको नारा हुन्थ्यो, ‘हाम्रा राजा,हाम्रो देश प्राणभन्दा प्यारो छ । तर, गरिब जनताको हितमा कहिले पनि सडकमा नारा लगाइएन । ‘हाम्रो राजा हाम्रो देश…. भन्नेहरूको त्यही नाराको आडमा गाउँमा सामन्तहरूको जन्म भयो । ठालु, जिम्मुवाल, मुखिया, नाइके, बैदार, पञ्चहरूको सदरमुकाम अनि बजारमा महल बन्यो । महलमात्र होइन जमिनदार साहु, साहेव, हाकिम, पदवी पनि उनीहरूले पाए । देश र जनताको पक्षमा नारा लगाउनेलाई उनीहरूले जेलमा हाले, ज्यान लिए, देश निकाला गरे । जनताको अवस्था र देशको हित झन्झन् कमजोर बन्दै गयो ।
जिल्ला, सहर र गाउँमा पञ्च पुगे । नारा लगाउनेहरू राजाको पछाडि हिँडे । सडक प्रदर्शनभित्रै भ्रष्टाचार, अनियमितता अपराध, राष्ट्रघातजस्ता विकृति थिए । राजाको पछाडि अपराधीहरूको लावा लस्कर हुन्थ्यो । त्यसले क्रमशः राजालाई पतनको बाटोमा हिँडायो । फलतः २०४६ चैत २६ गतेको रातिबाट राजा कमजोर बने । २०६५ साल जेठ १४ गतेको राति १२ बजेदेखि राजतन्त्रको अन्त्य भयो । हाम्रो राजा हाम्रो देश भन्नेहरू दुला पसे ।
विसं २०४६ सालको जनआन्दोलनमा नेपाली काङ्ग्रेस र वाममोर्चाले सडकमा नारा लगाए । नारा थियो, जनआन्दोलन सफल पारौँ, शोषित पीडित जनता एक होऔँ, दलमाथिको प्रतिबन्ध हटाऊ आदि । पछि दलमाथिको प्रतिबन्ध हट्यो । पञ्चायती व्यवस्था समाप्त भयो । २०४७ को संविधान जारी भयो ।
जनतामा उत्साह बढ्यो । कति गरिबले धनी बन्ने आशा गरे, भूमिहीनले जमिन पाउने आशा गरे, अन्यायमा परेका नागरिकले न्याय पाउने सोचे । भ्रष्टाचारी, अपराधीले कडा सजाय पाउने जनताको आशा थियो । देशको रक्षा गर्ने र गुमेको भूमि फिर्ता आउनेछ भनेर जनता खुसी भए । भोका नागरिकले खाना पाउनेछन्, बेरोजगारीले रोजगार पाउनेछन्, नाङ्गाहरूले लुगा पाउनेछन् भन्ने आशा व्यर्थै भयो ।
ठूलाबडाहरूको राजधानीमा घर बन्यो, उनीहरूले ठूला पद पाए, सुखी भए । तर, गरिब जनता झन्झन् गरिब बन्दै गए र देशको भू–अखण्डता झन्झन् कमजोर बन्दै गयो । नवसामन्त, गुण्डा, डाँका, बलात्कारी, बिचौलिया दलाल, भ्रष्टाचारीहरूको जन्म भयो । शासकहरूले महाकाली नदी भारतलाई बेचे । कालापानी, लिपुलेक, लिम्पियाधुरासमेतका जमिनमाथि भारतीयहरू परेड खेल्दै छन् । याङटी, नाभी र गुञ्जीका गाउँलेहरू सहाराबिना बाँच्न बाध्य छन् । खै त नारा लगाउनेहरू कता गए ?
नेपाली काङ्ग्रेसहरू वीपी कोइराला जिन्दावाद भन्ने नारा लगाउँछन् । वीपी कोइरालाको सिद्धान्त प्रजातान्त्रिक समाजवाद हो । तर, नेपाली काङ्ग्रेसले त्यो सिद्धान्तअनुसार कार्यकर्ता तयार गर्न, पार्टी चलाउन र जनतालाई सेवा दिन सकेन । ११ पटक नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्यो । तर, प्रजातान्त्रिक समाजवादको नारा कार्यान्वयन हुन सकेन । नेपाली काङ्ग्रेसकै पालामा देशका सस्ता र उत्पादनमुखी जलविद्युत् आयोजनाहरू भारतीय कम्पनीलाई दिइयो, पुराना उद्योग कलकारखानाहरू बन्द र निजीकरण गरिए । पञ्चायतका भ्रष्टाचारी र मल्लिक आयोगका कारबाहीमा पर्नेहरू पार्टीभित्र हुलिए । युवा शक्तिलाई विदेशीहरूको सस्तो ज्यामीको रूपमा विदेश पठाइयो । ठेकेदारहरू सांसद र मन्त्री बनाइए, नेताहरू भ्रष्टाचारी भए । के यही हो प्रजातान्त्रिक समाजवाद ?
दुई दल मिलेर नेकपा बन्यो । एउटा पूर्व नेकपा एमाले जसले नयाँ जनवादी क्रान्ति गरेर समाजवादको निर्माण गर्ने भनेर व्यक्तिहत्यादेखि गणतन्त्र स्थापनासम्म जनताको बहुदलीय जनवाद स्थापना भनेर नारा लगाए । तर, व्यवहारमा उनीहरूले नेपाली काङ्ग्रेसकै जस्तो पुँजीवादको बाटो समाते । विदेशी गैरसरकारी संस्थाको लगानी भित्र्याउने नाममा देशको गोप्य कुरा विदेशीको कानमा पु¥याइयो । शिक्षा, स्वास्थ्य, हवाईजहाज, उद्योग, कलकारखाना, सञ्चारजस्ता महत्वपूर्ण विषयहरू निजीलाई दिई लाखौँ युवाहरू विदेशीको सस्ता ज्यामी बन्न विदेशमा पठाइए । उनीहरूको काठमाडौँमा ठूलठूला महल बन्यो । मन्त्री, प्रधानमन्त्री, सांसद आदि ठूलठूला पदमा पुगे ।
पूर्व नेकपा माओवादीले माक्र्सवाद, लेनिनवाद र माओवादको सिद्धान्तअनुसार नयाँ जनवादी क्रान्तिको थालनी गरी वर्गविहीन समाज निर्माण, जातीय समानता, गाउँसहरको भेद हटाउने, बुर्जुवा शिक्षाको अन्त्य गर्ने, धार्मिक शोषणको अन्त्य गर्नेजस्ता नारा लगायो । तर, काङ्ग्रेसभन्दा तल गिरी पार्टीले सिद्धान्तै छोड्यो । अहिले प्रधानमन्त्री पाउन एमाले पार्टी फुटाउँदै सत्ता स्वार्थ र अवसरका लागि एमाले, नेका, नेकपा भन्दै भौतारिएका छन् । अहिले उनीहरू गणतन्त्र ल्यायौँ भन्दै देशमा ठूलठूला भ्रष्टाचार, अन्याय, पक्षपात, शोषणजस्ता गल्ती गर्दै छन् । देश र जनतालाई कमजोर बनाउन विभिन्न पार्टी धाउँदै छन् । उनीहरूबाट जनता समयमै सचेत हुनुपर्छ ।
दलहरूले नागरिकता विधेयकलाई संशोधन गरेर लाखौँ लाख भारतीयहरूलाई नेपाली नागरिकता दिएर देशको स्वतन्त्रता कमजोर बनाउँदै छन् । मधेसका जनतालाई भारतीयहरू दमन गर्दै छन् । मधेसमा नेपाली सीमा जोगाउने नागरिकलाई नयाँ नागरिकता पाउनेहरूले दमन गरेका छन् । त्यो ठूला दलबाटै भयो । मधेसमा खुलेका पार्टीमा पनि देश र नागरिकलाई कमजोर बनाई नेता धनी बन्नेबाहेक अरू केही देखिएन ।
माथि उल्लेखित दलहरूको व्यवहार र सत्ता सञ्चालनबाट उनीहरूको असक्षमता प्रस्ट हुन्छ । देशको सीमा मिचिएको छ । जनता बेरोजगारी छन् । विदेश नीति कमजोर छ । अस्पतालहरू जीर्ण छन् । निजी उद्योगहरू घाटामा छन् । देश नरहने र जनताको स्तर घट्दै जाने भएकोले उनीहरूलाई त्याग्नुबाहेक नेपाली जनतासँग अरू केही हुनेछैन ।
राजावादीहरू देखिँदै छन् । तर, राजा फाल्ने उनै पञ्च हुन् । राजाको नाममा त्यसबेला भ्रष्टाचार, अन्याय, अनियमितताजस्ता थुप्रै अपराध भए । अहिले दलहरूबाट त्यो गति नपाएका कारण राजाको पछाडि लाग्नु पनि कायरताबाहेक अरू केही छैन ।
जुम्लामा नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि गाउँ र जिल्लाका छोटेवाला सामन्त पञ्चहरूको गलत क्रियाकलाप तथा अञ्चलाधीश, प्रजिअ, प्रहरी, कर्मचारीहरूको ज्यादतीको विरोध गर्दै कर्णालीमा नेमकिपाले रातो झन्डालाई फहरायो ।
विसं २०३४ साल वैशाखमा जिल्ला शिक्षा अधिकारीले घुस खाएको कान्डमा स्थानीय १८ जना विद्यार्थीहरूलाई शासकले ३ महिनासम्म जेलमा हालेको थियो ।
विसं २०३६ सालको जनमतसङ्ग्रहमा बहुदलको पक्षमा प्रचारप्रसार भयो र बहुदलको पक्षमा थुप्रै मत खस्यो । जिल्लामा नेमकिसङ्गठनको धेरै राम्रो प्रचार भयो । जुम्ला विस्तार क्याम्पस र चना माविमा पढ्ने प्रायः विद्यार्थीहरू नेमकिसङ्गठनको पक्षमा उभिए ।
कर्णालीभरि नेमकिसङ्ठनको सङ्गठन बन्यो । यो थाहा पाएर सरकारले कर्णालीमा नेमकिसङ्गठनमाथि दमन ग¥यो । धेरै नेता–कार्यकर्ता थुनामा राखे ।
विसं २०४१ सालमा नेमकिपाका गोप्य कागत पत्रहरू जुम्ला प्रशासनले भेटायो । फेरि थुन्ने क्रम चालू भयो । धेरै कार्यकर्ताहरू घर छाडेर भागे । भेटिएका कागजहरूमा फरक नाम राखेका कारण पक्राउने क्रम कम भयो । हुम्लाका लोकबहादुर रोकाया, धनबहादुर लामासमेतलाई जुम्ला अदालतमा मुद्दा लगाई जुम्लामै तारिख बदल्न लगाइएको थियो ।
२०४२ साल वैशाखमा नेमकिसङ्गठनका केन्द्रीय सदस्य बुद्धिकुमार गोसाई जुम्ला खलाचौर भन्ने ठाउँमा कालीकोट गइरहेको बेला प्रहरीले पक्राउ गरी २ वर्ष जुम्ला जेलमा र बाँकी मुगु जेलमा थुनामा राख्यो । कार्यकर्ताहरू माथिको सरकारी दमनको विरोधमा कर्णालीमा नेमकिसङ्गठनको सङ्गठन बढ्दै गयो । केही कार्यकर्ताहरूले पञ्चायतसमक्ष आत्मसमर्पण गरेका थिए । उनीहरूले गोप्य कागज बाहिर पठाए । तिनीहरू सरकारका कर्मचारीहरू नै थिए ।
नेमकिसङ्गठन हुँदै नेमकिपाले कर्णालीमा धेरै आन्दोलनमा सहभागिता जनायो । धेरै आन्दोलन ग¥यो । २०४६ सालको जनआन्दोलन, महाकाली सम्झौता सन्धिविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन, नागरिकता विधेयकको विरोधमा आन्दोलन, संविधान निर्माणमा सचेतना कार्यक्रम, समाजवादी प्रचार अभियान, अपरकर्णाली र अरुण जलविद्युत्बारे आन्दोलन, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरुद्ध आन्दोलन, लगानी बोर्ड विधेयक, एमसीसी सम्झौताविरुद्ध थुप्रै आन्दोलन भएको थियो । नेमकिपाले समाजवादी गणतन्त्र स्थापना नभएसम्म आन्दोलनलाई निरन्तरता दिँदै जानेछ ।
पार्टी सुदृढीकरण, प्रशिक्षित कार्यकर्ता र सुदृढ सङ्गठन भएमात्र समाजवादी गणतन्त्रको आन्दोलन सफल हुने विश्वास नेमकिपाको छ । कार्यकर्ताको चरित्र, अध्ययन र लगनशीलतामा ध्यान दिँदै नेमकिपा अगाडि बढेको छ ।
हरेक व्यक्तिको मुखमा नेमकिपा, नारायणमान बिजुक्छेँ र यसका कार्यकर्ताजस्तो हुनुपर्छ भन्ने चर्चा चलेको छ । समाजवादी गणतन्त्रको स्थापनामा नेमकिपा लागिरहेको छ । अब राजनीति व्यक्तिगत फाइदा होइन जनताको सेवा भनेर वर्षौँदेखि सङ्घर्ष गर्दै आएको नेमकिपालाई साथ दिनुबाहेक अर्को विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *