भर्खरै :

शासक दलका नेताहरूले जनतालाई मूर्ख बनाउने खेल रोक्नुपर्ने

शासक दलका नेताहरूले जनतालाई मूर्ख बनाउने खेल रोक्नुपर्ने

हेटौँडा, १९ चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाउनुभएको छ । प्रदेशसभामा उहाँले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गर्नुभएको हो । वाग्मती प्रदेशसभामा विश्वासको लागि कम्तीमा ५६ मत आवश्यक हुन्छ ।
मुख्यमन्त्री जमकट्टेलले प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये ५६ जनाको मत प्राप्त गर्नुभएको हो । एक सय आठजना प्रदेशसभा सदस्य उपस्थित भएकोमा उहाँलाई सत्ता गठबन्धन दल नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) को २१, नेकपा (एकीकृत समाजवादी) को सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत दिएका हुन् ।
नेकाका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेका छन् । राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेको छ । प्रदेशसभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित छन् ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले सोमबार बसेको प्रदेशसभाको बैठकमा शासक दलका नेताहरूले जनतालाई मूर्ख र उल्लु बनाउने काम पटक पटक भइरहेकोले अबका दिनमा यसलाई रोक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कति जना मन्त्री भयो, को को मन्त्री भए जनतालाई चासो लाग्न छाडेको छ† जनताको हितमा के कस्ता नियम र कार्यक्रमहरू बने त्यो जनताको चासोको विषय हो ।”
मन्त्री भएकाहरू जनताको बिचमा उभिएर, ठाँटिएर हिँड्न सक्ने र गौरवका साथ उभिन सक्ने स्थिति नरहेकोतर्फ सचेत पार्दै उहाँले सरकार बनाउनको लागि भइरहेको गठबन्धन के स्वाभाविक हो भनी प्रश्न गर्नुभयो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको भनाइ स्मरण गर्दै सांसद गोसाईले भन्नुभयो, “लोभीपापीहरू कम्युनिस्ट हुनैसक्दैनन्, यदि तिनीहरू आफूलाई कम्युनिस्ट दाबी गर्छन् भने तिनीहरू कम्युनिस्ट नै होइनन् । यस भनाइप्रति कम्युनिस्ट दाबी गर्नेहरूले आत्मसमीक्षा गर्नैपर्छ ।”
नेपालको राजनीतिक आन्दोलनमा नेमकिपाको अलगै पहिचान रहेको चर्चा गर्दै उहाँले राजनीतिक धर्म र मान्यताको विषयमा नेमकिपा सधैँ बहस गर्न तयार रहेको बताउनुभयो ।
सत्तारोहणको लागि राजनीतिक घात प्रतिघात अति भइसकेकोले यस्तो चलखेल सदाको लागि अन्त्य गर्नुपर्नेमा जोड दिँदै सांसद गोसाईले भन्नुभयो, “देश बेहाल स्थितिमा पुगेको छ । नेपालको खास सङ्कट भनेको नैतिकताको सङ्कट हो । नैतिकताको सङ्कटकै कारण राजनीतिक र आर्थिक सङ्कट निम्तिएको हो ।”
एक मनोचिकित्सकको भनाइलाई स्मरण गर्दै सांसद गोसाईले भन्नुभयो, “सधैँ पद र पैसाको कुरा गर्ने र पद र पैसाको लागि मरिहत्ते गर्नु एकप्रकारको मनोरोग हो, मनोरोग एक प्रकारको पागलपन हो । यसतर्फ शासक पार्टीहरू सचेत हुनैपर्छ ।”
नेमकिपाले विगत ३३ वर्षदेखि नेपालको संसदीय व्यवस्थामा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको र गरिरहने स्पष्ट पार्दै उहाँले विश्वासको मतमा नेमकिपा तटस्थ बस्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री आलोपालो गर्ने सहमतिपछि विश्वासको मत दिन तयार भएको बताइएको छ । दुई प्रदेशसभा सदस्य रहेको हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिनुभएको छ ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । काङ्ग्रेसले विश्वासको मत फिर्ता लिएको चैत २२ गते ३० दिन पुग्दै छ ।
यसअघि पहिलो पटक एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थमा २०७९ साल पुस २५ गते मुख्यमन्त्री बनेका थिए ।
सङ्घ सरकारमा समीकरण परिवर्तनसँगै उहाँले दोस्रो पटक २०७९ साल चैत १० गते विश्वासको मत लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *