भर्खरै :

बेलकोट नपाको कमैया बस्तीमा महिला भेला

बेलकोट नपाको कमैया बस्तीमा महिला भेला

कञ्चनपुर, २९ फागुन । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कञ्चनपुरको बेलकोट नपा धरमपुरको कमैया बस्तीमा मङ्गलबार महिला भेला भयो ।
उक्त भेलामा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले राजनीतिक दलले जनताको चेतनास्तर उठाई आफ्नो अधिकारको लागि लड्न सिकाउने भएकोले नेमकिपा त्यसरी नै अघि बढिरहेको बताउनुभयो ।
उहाँले राजनीतिकरूपमा सङ्गठित शक्तिले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्दै पुँजीवादी व्यवस्थामा सरकारले हुनेखानेहरूको मात्र सेवा गर्ने र हुँदा खानेले आफ्नो बलबुत्तामा आफ्नै सरकार बनाएपछि सेवा पाउने बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेश रावलले समाजको लागि शासक दलहरूले केही नगर्ने तर भ्रष्टाचारमा रमाउने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा जानेहरूले जनतालाई ढाँट्ने काम गरे । जनताको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, निःशुल्क, स्वदेशमै रोजगारीजस्ता सेवा पुँजीवादी दलहरूले पूरा गर्ने छैनन् ।”
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले जनतालाई राज्यको सेवा सुविधाबाट वञ्चित गरिएको उल्लेख गर्दै हाम्रा छोराछोरीलाई राम्रो सिकाइ र संस्कार दिए हाम्रो समस्या समाधान गर्न र समुदायको निम्ति काम गर्न सकिन्छ भन्नुभयो ।
नेक्राकिसङ्घ कञ्चनपुरका प्रतिनिधि कर्ण काफ्लेले नेमकिपा भ्रष्टाचारको भाग खान पुँजीवादी सरकारमा नजाने प्रस्ट पार्दै जनताको निम्ति जनताकै बिचमा रहेर काम गर्ने कम्युनिस्ट पार्टी नेमकिपा हो भन्नुभयो ।
स्वास्थ्यकर्मी रविना सुवालले स्वास्थ्यको लागि सरसफाइ र सफा पानी आवश्यक भएको चर्चा गर्दै स्तन क्यान्सर र पाठेघर क्यान्सरबारे जानकारी दिनुभयो ।
भेलामा स्थानीय ललिता राना, सोतर राना, विष्णु रानालगायतले स्थानीय समस्याबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *