भर्खरै :

कैलालीमा नेक्रामसङ्घद्वारा जुलुस तथा सभा

कैलालीमा नेक्रामसङ्घद्वारा जुलुस तथा सभा

कैलाली, २६ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली जिल्ला समितिको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार जुलुस तथा सभा लम्कीमा सम्पन्न भयो । मोतीपुर चोकबाट सुरु भएको जुलुस लम्कीबजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।
उक्त सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले कामदारवर्गका महिला र पुँजीपतिवर्गका महिलाहरूले फरक–फरक उद्देश्य राखी श्रमिक महिला दिवस मनाइरहेका छन्; पुँजीवादी पार्टीका महिला सङ्गठनहरूले कामदारवर्गका महिलाहरूलाई राजनीतिकरूपले उठ्न नदिने षड्यन्त्र गर्छन् भने नेक्रामसङ्घले कामदार वर्गका महिलाहरूको मुक्तिका लागि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको छ भन्नुभयो ।
“पटक–पटक सरकारमा गएर उद्योग–कलकारखाना बेच्ने, नाफाका लागि भारतबाट सामान आयात गर्ने पुँजीवादी दलका कारण नेपाली जनताले दुःख पाइरहेका छन् । धनीवर्गका महिलाहरू सरकारको नेतृत्वमा पुगे पनि भ्रष्टाचारी, चेलीबेटी बेचबिखन गर्ने, बलात्कारी, हत्यारालाई फासीको व्यवस्था नगर्दा कामदार महिलाको सेवा हुन सकेन । भारतबाट विषादी मिसिएको तरकारी, खाद्यान्न आयात गर्न दिने सरकारको कारण क्यान्सरको जोखिम बढेको छ”, उहाँले भन्नुभयो ।
लेन्डुप दोर्जेका कारण सिक्किम भारतमा विलय भयो; शासक दलहरूले गरेको देशघाती नागरिकता विधेयकको कारण नेपालको सार्वभौमिता खतरामा परेको उल्लेख गर्दै उहाँले नेपाल–भारत खुला सीमा बन्द गर्नुपर्छ; देशघाती एमसीसी र एसपीपी सम्झौता खारेज नभएसम्म नेपाली जनताले सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
हाम्रो देशमा स्कूल, कलेज, अस्पताल, उद्योग छैन तर नेताहरू भ्यु टावर बनाएर कसको सेवा गर्दै छन् ? भनी उहाँले प्रश्न गर्नुभयो । उहाँले हाम्रो देशको पानी, प्राकृतिक स्रोत–साधन हातमा लिइरहेको प्रसङ्ग उल्लेख गर्दै नेपाली जनता सचेत हुनु आवश्यक छ; अमेरिकी साम्राज्यवादको सहयोगमा इजरायलले प्यालेस्टिनमाथि गरेको जातीय नरसंहारको हामी सबै मिलेर विरोध गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पुँजीवादी व्यवस्थाका कारण व्यापक जनताले दुःख पाइरहेको उल्लेख गर्दै भारतमा सबभन्दा बढी गरीब छन्† हामीलाई त्यस्तो व्यवस्था चाहिएको छैन, हामी समान व्यवहार हुने समाजवादको पक्षमा छौँ”, भन्नुभयो ।
नेमकिपाका कैलाली अध्यक्ष रमेशकुमार रावलले कामदार महिला एक भएर अगाडि बढ्नुपर्छ† वर्ग रहेसम्म वर्गसङ्घर्ष हुने हुँदा त्यसको लागि तयार हुन महिला दिदीबहिनीहरूलाई आग्रह गर्नुभयो । दासताविरोधी अन्दोलनसँगै अगाडि बढेको महिला मुक्ति सङ्घर्षले विश्वभरि स्थान पाएको उहाँले बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय सदस्य जंग तारामीले आफ्नो वर्ग चिनेर, आफ्नो वर्गका निम्ति सङ्घर्ष गर्नुपर्छ; साना बालबालिका र छोराछोरीलाई हामीले किन दुःख पाइरहेका छौँ ?; त्यसको वास्तविकता बताएर सङ्घर्षशील बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले नेक्राविसङ्घ निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाका लागि सङ्घर्षरत छ भन्नुभयो ।
कार्यक्रममा स्वास्थ्यकर्मी रविना सुवालले क्यान्सर रोगको जोखिम र रोकथामबारे जानकारी दिनुभएको थियो ।
जिल्ला अध्यक्ष लक्ष्मीकुमारी पुनको सभापतित्वमा भएको कार्यक्रममा रत्ना रावल र तारा तिरुवाले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रगतिशील देउडा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । जुलुसमा बलात्कारीलाई फाँसी दे, भ्रष्टाचारीलाई कारबाही गर, देशघाती नागरिकता विधेयक खारेज गर, सीमा अतिक्रमण बन्द गरलगायतका नाराहरू लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *