भर्खरै :

सहकारी र सहकारीकर्मी : एक छलफल

भौतिक दूरी कायम गरी सहकारी संस्थाका साधारणसभा चालु छन् । सहकारीबारे केही गन्थन गर्नु अहिले झनै सान्दर्भिक हुने देखिन्छ । कतिपय सहकारी संस्था तीन दशकमा हिँडिरहेका छन् भने अधिकांशले एक दशक पार गरिसकेका छन् । सबै सहकारीले आ–आफ्नो कार्य मूल्याङ्कन, समग्र सिंहावलोकन गर्ने बेला भइसकेको छ । बहुदलीय व्यवस्था पुनः स्थापनाको मिर्मिरेमा स्थापित र गणतन्त्रको बिहानीसँगै उदाएका सहकारीहरूले आ–आफ्ना सफलता – असफलता र उपलब्धिबारे इमानदारीपूर्वक व्यापक छलफल, चिरफार तथा मूल्याङ्कन गर्नु संस्थागत हितका निम्ति समेत अपरिहार्य छ । सहकारीको उद्देश्य, सिद्धान्त र भावनाबारे पुनः अन्तरक्रिया थाल्नु सान्दर्भिक हुनेछ । एउटा निश्चित चरण पार गर्दै गर्दा हरेक सहकारीले तुलनात्मक अध्ययन गर्नु, स्व–मूल्याङ्कन गर्नु भनेको भविष्य सुन्दर बनाउन सत्प्रयास जारी राख्नु हो । सहकारीमा आबद्ध जिम्मेवारहरूले आत्मसमीक्षा गर्नु हरेक दृष्टिकोणबाट हितकर हुनेछ । जनता स्वयम्सँग पनि सेवाको दृष्टिले सहकारी कुन स्थानमा छ भन्ने आफ्नै अनुभव एवम् ल्याकत छ ।
सहकारीको पृष्ठभूमि : सहकारीको भावना
सामन्ती समाजमा बहुसङ्ख्यक जनता शोषित–पीडित हुन्छन् । असमानता, गरीबी, बेरोजगारी, अभाव, शोषण, दमन सामन्ती समाजको अवगुण या खराबी हुन् । मुठ्ठीभरका मानिसमात्र धनी हुन्छन् । ती सामन्त, ठालु, साहुको अत्याचारले गर्दा समाज विकासको मार्गमा अगाडि बढ्न सक्दैन । अन्धविश्वास, अशिक्षा र पुरानो सोचले गर्दा समाजमा कुनै चमक हुँदैन । रोग, भोक, शोकले गर्दा समाजको ठूलो हिस्सा नारकीय जीवन बाँच्न बाध्य हुन्छन् । यही धर्ती बहुसङ्ख्यक कामगरी खाने वर्गका निम्ति नर्कतुल्य बन्छ भने अत्याचारीहरूले मानिसको रक्त–पसिनामा स्वर्गीय आनन्द लुटिरहेका हुन्छन् । सामन्तवादी समाज र पुँजीवादी समाजमा मौलिक भिन्नता हुने गर्दैन । शोषण कायम रहन्छ । शोषण गर्ने पात्र परिवर्तन हुन्छ र शैली फरक हुन्छ । गरीब झन् – झन् गरीब र धनी झन् – झन् धनी हुने समस्याका कारण पुँजीवादी व्यवस्थाले व्यापक जनतालाई सुख, शान्ति र समानता दिन सक्दैन ।

सहकारीमा सङ्लग्न कम्युनिस्ट कार्यकर्ताको मुख्य चासोको विषय जनताको निःस्वार्थ सेवा हुनुपर्छ । ऊ समाजमा मौलिक परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन्छ, चाहे त्यो सानै किन नहोस् ! विभिन्न उपाय अपनाई समाजलाई शिक्षित बनाउने, सचेत पार्ने तथा एकताबद्ध बनाउने काममा दत्तचित्त भई लाग्छ । सहकारीभित्र आर्थिक विषयमा मात्र बढ्ता केन्द्रित हुँदैन । दैनिक जीवनसँग सम्बन्धित विषयमा ध्यान केन्द्रित गर्छ । कृषि होस् या स–साना उद्योगमा काम गर्ने अवसर सिर्जना गर्दछ र श्रमप्रति सम्मानभावको विकास गर्दछ । सतही कर्म, ‘कस्मेटिक’ उपचारमा होइन कि दीर्घकालीन हितमा जोड दिन्छ । उत्पादनमुखी सोचको विकास गर्दै आत्मनिर्भरताका व्यावहारिक उपायहरू अवलम्बन गर्दछ 

सामन्तवादी र पुँजीवादी समाजका यी खराबी, कमजोरी तथा दूर्गन्धित पक्षबाट समाजलाई जोगाउन थुप्रै चिन्तन, प्रयास, अभ्यास तथा सङ्घर्षहरू थालिए । त्यस क्रममा सहकारीको पनि जन्म भयो । त्यो एउटा प्रगतिशील तथा जनपक्षीय पाइला थियो । न्यून आय भएका मजदुर–किसान, स–साना व्यवसायी तथा उद्यमी, तल्लो वर्गलाई आर्थिक–सामाजिकरूपले सबल–सक्षम बनाउने एउटा उपायको रूपमा सहकारीको सुरुआत भएको थियो । सामाजिक परिवर्तन यसको मूल उद्देश्य हो । त्यो उद्देश्यलाई आत्मसात् गर्दै अगाडि बढ्नु नै सहकारी आन्दोलनको आजको चुनौती हो ।
गाउँ–ठाउँका शोषक, सामन्त, जालीफटाहा तथा अत्याचारी साहुबाट आर्थिक शोषणमा परेका, ब्याजको स्याज तिर्दै जुनी बिताउन बाध्य निमुखा जनताको दुःखमा साथ दिन सहकारीलाई अगाडि बढाइएको थियो । सामूहिक हित खोज्नु एउटा सामन्त, जमिनदारको जगजगी चल्ने सामन्ती व्यवस्थाविरुद्धको हुँकार थियो । बहुसङ्ख्यक जनता सहकार्यको माध्यमबाट हरेक क्षेत्रमा अगाडि बढ्न खोज्नु र एकताको भावना विकास गर्नु व्यक्तिवाद हावी हुने सामन्ती तथा पुँजीवादी व्यवस्थाको उद्देश्यविपरीत थियो । एक प्रकारले त्यो त्यस व्यवस्थाको कमजोरीमाथि सशक्त प्रहार थियो । ठूलो पुँजीको शोषण, दमन तथा अत्याचारविरुद्ध छरिएर रहेका स–साना पुँजीलाई एकीकृत गरी रोजगारीका अवसर सृजना गर्नु र उत्पादनमूलक क्षेत्रमा लाग्नु पनि तत्कालीन अवस्थामा एक खालको विद्रोही चेत थियो । विशेषगरी कृषि उत्पादन वृद्धि, कृषि क्षेत्रका लागि आवश्यक वस्तुको उपलब्धता, स–साना ज्यासल सञ्चालनमा आवश्यक मद्दत आदि उपाय या कार्य तत्कालीन समाजका निम्ति उत्तोलक साबित भयो र फड्को मार्ने गुरुमन्त्र बन्यो । सहकारीका यी मूल्य–मान्यता, योगदान तथा उपलब्धिबारे हामी कति अवगत छौँ ? गर्व गर्न लायक त्यो विगतलाई निरन्तरता दिन हामी कति उत्सुक छौँ या प्रयत्नरत छौँ ? हामीले आफैलाई सोध्नुपर्ने यी प्रश्न हुन् । हामी कहाँ छौँ र कता लाग्दै छौँ ? पहिल्याउन तब सम्भव हुनेछ । कतै हामी कुहिरोमा हराएको काग त भएका छैनौँ ?
सहकारीभित्रको कम्युनिस्ट
सहकारी आन्दोलनमा लागेका आफूलाई प्रगतिशील विचारको पक्षपाती मान्ने, कम्युनिस्ट ठान्ने या कम्युनिस्ट सङ्गठनमा आबद्ध व्यक्ति या कार्यकर्ताले त अझ बढी संवेदनशीलता देखाउनै पर्छ । भूमिका पनि सोहीबमोजिम निर्वाह गर्नुको विकल्प छैन । सहकारीलाई कुनै फाइनान्स कम्पनी या बैङ्क बन्ने खतराबाट जोगाउन तिनको भूमिका आवश्यक छ । जो धनी छन् तिनलाई नै मात्र पोस्नु, जो समाजका टाठाबाठा छन् घुमिफिरी तिनैको सेवा गर्नु र तल्लो वर्गको उत्थानप्रति उदासिनता देखाउनु निश्चय पनि प्रगतिशीलता होइन । कम्युनिस्ट नैतिकता त झनै होइन । सहकारीलाई समेत नाफाकेन्द्रित बनाउनु, व्यापारिक मानसिकतामा डुबाउनु, व्यक्तिगत फाइदा प्राप्त गर्ने औजार बनाउनु, कागज मिलाएर आर्थिक अपचलन गर्नु सहकारीको सिद्धान्तविपरीत त हो नै, एक कम्युनिस्ट कार्यकर्ताका निम्ति अपराध समेत हो । सामाजिक हिसाबले त्यो निकृष्ट कर्म हो जुन दण्डनीय हुन्छ । सहकारी शोषणलाई व्यापक बनाउने, घर–घरमा पु¥याउने माध्यम बन्नु हुँदैन । नयाँ अत्याचारी साहु तयार गर्ने या बन्ने काम सहकारीबाट नहोस् भन्ने तर्फ सहकारीका जिम्मेवारहरूले ध्यान पु¥याउन थप ढिलाइ नगर्नु श्रयेष्कर हुनेछ । शोषणको जालो च्यात्ने, शोषकको अत्याचारबाट मुक्त बनाउने कार्यमा भगिरथ प्रयास कम्युनिस्ट विचारप्रति आस्था राख्ने एक असल कार्यकर्ताले सहकारीभित्रै बसेर पनि गर्दछ भन्ने दृष्टान्तको प्रस्तुतीले समाज उज्यालो बनाउनेछ । कोही शोषणको साक्षी नबनून्, शोषणको कारण या संरक्षक त झनै नबनून् !
सामाजिक परिवर्तनका निम्ति सहकारी साधन हो साध्य होइन । त्यस विषयमा समेत कम्युनिस्ट सिद्धान्तप्रति आस्थावान् सहकारीकर्मीले ख्याल राख्नैपर्छ । विभिन्न उपाय खोज्ने क्रममा केही मित्रहरू त्यहाँ पुगेका हुन् । समाजको सेवा गर्ने भावनाले ओतप्रोत साथीहरूले सहकारीलाई एउटा जीवन्त दबुको रूपमा उपयोग गर्ने संवेदनशील समुदायको विश्वास हिजो पनि थियो आज पनि छ । सहकारी नै सबथोक भने अवश्य होइन । अझ फराकिलो क्षेत्र हामीसँग छ । हाम्रो जिम्मेवारी बृहत् छ । यसबारे पनि बारम्बार हामीले आफैलाई सतर्क पार्नुपर्ने जरूरत यतिखेर देखापर्दै छ । एक सच्चा कम्युनिस्ट मूल जिम्मेवारीबाट पन्छिँदैन । न त सहायक जिम्मेवारीको गोलचक्करमै सधैँ अल्झी बस्छ ।
कम्युनिस्ट सिद्धान्तमा आस्था राख्नेले समाजवादी भावनाबमोजिम काम गर्छ र व्यवहारमा लागु गर्छ । समाजवादी भावनाको विकासमा हरदम प्रतिबद्ध भई कार्यक्षेत्रमा खरो उत्रन्छ । ऊ ढोङ्गबाट जोगिनैपर्छ !
सहकारीमा सङ्लग्न कम्युनिस्ट कार्यकर्ताको मुख्य चासोको विषय जनताको निःस्वार्थ सेवा हुनुपर्छ । ऊ समाजमा मौलिक परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन्छ, चाहे त्यो सानै किन नहोस् ¤ विभिन्न उपाय अपनाई समाजलाई शिक्षित बनाउने, सचेत पार्ने तथा एकताबद्ध बनाउने काममा दत्तचित्त भई लाग्छ । सहकारीभित्र आर्थिक विषयमा मात्र बढ्ता केन्द्रित हुँदैन । दैनिक जीवनसँग सम्बन्धित विषयमा ध्यान केन्द्रित गर्छ । कृषि होस् या स–साना उद्योगमा काम गर्ने अवसर सिर्जना गर्दछ र श्रमप्रति सम्मानभावको विकास गर्दछ । सतही कर्म, ‘कस्मेटिक’ उपचारमा होइन कि दीर्घकालीन हितमा जोड दिन्छ । उत्पादनमुखी सोचको विकास गर्दै आत्मनिर्भरताका व्यावहारिक उपायहरू अवलम्बन गर्दछ ।
सहकारी : केही व्यावहारिक पाटो
जिम्मेवार सहकारीकर्मी र असल सहकारीले पुराना ज्ञान, सीप, क्षमताको संवद्र्धन तथा विकासका उपायबारे सोचविचार पु¥याउँछ । आधुनिक जीवनको हितमा ती पुराना वस्तु या ज्ञानको उपयोग गर्छ । श्रमवीरहरूको यथोचित सम्मान गर्न अगुवाइ गर्दछ । समाजको सेवामा समर्पित उदाहरणीय व्यक्तित्वहरूलाई जनताबीच परिचित गराउँछ र प्रोत्साहित गर्दछ । तिनको योगदान उजिल्याउने काम गर्दछ । विचार, सिद्धान्त, दर्शन, नैतिकता, चरित्रभन्दा पैसा ठूलो होइन र त्यसको मूल्यमा आर्थिक सम्पन्नता हासिल गर्न खोज्नु गलत हो भन्ने भावना फैलाउन निरन्तर लागिरहन्छ । पद, पैसासँग प्रतिष्ठा साट्ने नकारात्मक पात्र तथा प्रवृत्तिलार्ई प्रश्रय दिँदैन । तिनको छायाबाट सिङ्गो सहकारीलाई मुक्त पार्दछ ।
बालबालिकाको भविष्य निर्माण, महिलाको स्वास्थ्य, ज्येष्ठ नागरिकहरूको जीवनसँग सम्बन्धित गतिविधि गर्दा आर्थिक नोक्सान हुने भनी पछि हट्दैन । बरु, त्यसलाई अनिवार्य आवश्यकता भनी बुझ्दछ । समाज सेवाको व्यावहारिक पाइलाको रूपमा ग्रहण गर्दछ । जनपक्षीय कला, साहित्य तथा संस्कृतिको संवद्र्धन तथा प्रवद्र्धनमा गौरवको अनुभूति गर्दछ । त्यस कार्यमा लाग्दा खुट्टा कमाउँदैन । फजूल खर्चबाट संस्था स्वयम्लाई जोगाउँदै आफ्ना सदस्यहरूलाई पनि जोगिन अभिप्रेरित गर्दछ । समग्रमा चेतनाको क्षेत्रलाई गम्भीर भई उच्च प्राथमिकता दिन्छ । जनताको जीवनस्तर माथि उठाउन र सांस्कृतिक स्तर उठाउन पुँजीपति वर्गले महँगो बनाएका र सर्वसाधारणलाई वञ्चित पार्न खोजिएका अतिआवश्यकीय वस्तु तथा सेवालाई सुलभ बनाउने या तुलनात्मकरूपमा सस्तो बनाउने कार्यमा अग्रसरता देखाउँछ । अतिआवश्यक वस्तुको उपलब्धता सम्भव तुल्याउन, गुणस्तरीयता सुनिश्चित पार्न र सर्वसाधारण उपभोक्ताहरूलाई परिरहेको पीरमर्का तथा हैरानी निमिट्यान्न पार्न आवश्यक बन्दोवस्त गर्दछ । नगदसँग खेलिबस्दैन बरु व्यापक जनसमुदायको हितमा सदुपयोग गर्दछ । मौकामा हिरा फोड्छ ।
सहकारी क्षेत्र नयाँ खान्दानी वर्ग जन्माउने यन्त्र नभई समाज सेवाको स्वचालित यन्त्र बनोस् भन्ने जन – जनको शुभेच्छा छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *