भर्खरै :

सिद्धान्त र विचार छोडेको मान्छे ‘बहुला कुकुर’ समान !

जनवरी ७ मा अमेरिकाको संसद् भवन क्यापिटल हिलभित्र सुरक्षाघेरा तोड्दै ट्रम्पका सयौँ कार्यकर्ता हतियारसहित भित्र पसे । चुनावमा धाँधली भएको भनी ट्रम्पकै उक्साहटमा हजारौँको भीड इँटा, बोटल र हतियारसहित संसद् भवनभित्र छिरेर ४ घण्टा उपद्रव मच्चाउँदा पनि प्रहरी मुकदर्शक भएबाट घटना प्रायोजित नै भएको पुष्टि हुन्छ ।
ट्रम्प आफै सरकारमा बसेको निर्वाचन धाँधली भयो भन्नु हास्यास्पद हो । राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई औपचारिकरूपमा विजयी घोषणा गर्न रोक लगाउनु ट्रम्पको मुढेबल हो । ट्रम्पले हिंसामा उत्रेका कार्यकर्तालाई ‘विशेष’ भनी प्रशंसा गरे । प्रदर्शनकारीहरू संसद् भवन छिरेर उपराष्ट्रपति र सभामुखको कुर्सीमा बसेर राष्ट्रपतिमा ट्रम्प दोस्रो पटक निर्वाचित भएको घोषणासमेत गरे । निर्वाचनको नतिजा उल्टाउने उसको प्रयास विफल भयो । ‘शान्ति’ का नाममा विश्वमा अराजकता फैलाइरहेको अमेरिकी साम्राज्यवादको अवस्था एक पटक पुनः उदाङ्गियो ।
पुँजीवादी व्यवस्थामा आफू सत्तामा जानका लागि साम, दाम, दण्ड, भेदको नीति अपनाइन्छ । जनताको भोटबाट निर्वाचित राष्ट्रपतिसमेत उल्टाउनु र हतियारकै भरमा निर्वाचित भएको घोषणा गर्नु अमेरिकी फासीवाद हो । अमेरिकी साम्राज्यवादले जनताका निर्वाचित सरकारलाई हिंसाबाट अपदस्थ गरेका कैयौँ उदाहरण छन् । ‘जो आगोसँग खेल्छ त्यो आगोमै मर्छ, जो पानीसँग खेल्छ त्यो पानीमै मर्छ’ भन्ने उखानलाई अमेरिकी प्रशासकहरूले बुझ्न आवश्यक छ ।
कोभिड–१९ को सङ्क्रमण र लकडाउनको बेला अमेरिकामा लाखौँ हतियार खरिदबिक्री भयो । यसरी अमेरिका हतियारबद्ध देश हो । विगतमा पनि अमेरिकी सर्वसाधारण जनतालाई गोराहरूले ज्यादती गरेका कैयौँ घटना छन् । मानव अधिकारको नाममा अरूलाई थिचोमिचो गर्ने अमेरिकाको जनवरी ७ को घटना ‘पाप धुरीबाट कराए’ जस्तै हो, उसको पतन अवश्यम्भावी छ ।
नेपालमा पनि जातको आधारमा प्रदेश विभाजन हुनुपर्छ भनी केही नेताहरूले उक्साए । एक जातले अर्को जातलाई बदला लिन हतियारसहित प्रदर्शनमा सहभागी हुन आह्वान गर्दा २०७३ मा कैलालीको टिकापुरमा हिंसात्मक घटना भयो । प्रदर्शनकारीले नाबालकसहित ११ जनाको ज्यान लिए । अमेरिकामा पनि ५ जनाको ज्यान गयो, धन्न क्यापिटन हिलभित्रका सांसदलाई केही भएन । सिद्धान्तको बाटो छोडी हिंसालाई प्रश्रय दिँदा यस्तो अराजकता हुने भएकोले यस्ता घटना सर्वत्र दोहोरिन्छ ।
सिद्धान्त र विचार छोडेपछिको मानिस ‘बहुला कुकुर’ समान हुन्छ, उसको अगाडि जो आउँछ त्यसलाई टोक्छ । त्यसरी नै आज अमेरिकी साम्राज्यवादले आफ्नो धरातल गुमाइसकेको छ । सबै क्षेत्रमा असफल ट्रम्पको यो कदम निभ्न लागेको मैनबत्ती पिलिक्क बल्ने कोसिसमात्र हो । ट्रम्पको अराजकतालाई नयाँ राष्ट्रपति बाइडेनले अन्त्य गर्ने अपेक्षा गर्न सकिएला तर हुने सम्भावना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *