भर्खरै :

जारविरुद्ध षड्यन्त्र– १२, नयाँ पुस्तामा डिसेम्बरवादी चेतनाका प्रतिक अलेक्जेन्डर हर्जेन

३० वर्षे अन्धकारको युग
सन् १८२६ को जुलाइमा डिसेम्बर विद्रोही कतिपयलाई फाँसीको सजाय दिएर र कतिपयलाई साइबेरियाको कैद सजायमा पठाइयो । जार निकोलस प्रथमले रुसी समाजलाई डिसेम्बरवादीहरूको क्रान्तिकारी प्रभावबाट टाढा राख्न हरसम्भव प्रयास गरे । पुस्तक पत्रपत्रिका प्रकाशनमा सेन्सरलाई अझ कडा बनाइयो, अनौपचारिक कुराकानीहरूमा समेत डिसेम्बर विद्रोहप्रति सानो सङ्केत र सहानुभूति पनि ठूलो अपराध हुन सक्थ्यो । निर्वासित क्रान्तिकारीहरूलाई कैद अवधिभर लेख्न बन्देज लगाइएको थियो । साइबेरियाबाट प्रेषित डिसेम्बरवादी परिवारका चिठीहरू स्थानीय अधिकारी, पश्चिम साइबेरियाको केन्द्र ईरकुट्स्क सहर र राजधानी सेन्ट पिटर्सवर्ग गरी तीन तहको सेन्सरपछि मात्र सम्बन्धित प्रापककहाँ पठाइन्थ्यो । डिसेम्बर विद्रोहपछि जार शासनविरुद्ध क्रान्तिकारी विचार राख्ने युवाहरूको निगरानी गर्न जारले राजनैतिक (गुप्ती) प्रहरीको विशेष सुरक्षा विभाग स्थापना गरेका थिए । जारको प्रत्यक्ष निर्देशनमा स्थापित उक्त विशेष सुरक्षा विभागको घोषित उद्देश्य ‘रुसी राज्यको आधारशिला रक्षा गर्नु’ थियो ।
जार निकोलसको प्रोत्साहनमा अनुदार भारदारहरू राज्यको महत्वपूर्ण अङ्गहरूमा स्थापित हुँदै गए । भूदास व्यवस्था रुसी राजसंस्था, कुलीनतन्त्र र धार्मिक संस्थाहरूको आर्थिक एवम् राजनैतिक आधारशिला भएको हुँदा भूदासहरूलाई कुलीनहरूको जमिनसँगै बाँधिराख्नुपर्छ भन्ने मत राख्नेहरू दरबारमा बलिया थिए । डिसेम्बर विद्रोहको दमनपछि सेनामा विद्रोही भावना कमजोर भैसकेको थियो । त्यसकारण, निकोलस प्रथमको तीस वर्षे शासन (सन् १८२५–१८५५) लाई रुसमा कठोर निरङ्कुशता र अन्धकारको युगको रूपमा लिइन्छ ।
डिसेम्बर विद्रोहपछि विद्रोहीहरूको मुद्दासम्बन्धी सरकारी अनुसन्धान समितिको प्रतिवेदन प्रकाशन गरिएको थियो । तर, उक्त प्रतिवेदनमा भूदासप्रथा अन्त्य गर्ने, संवैधानिक व्यवस्था स्थापना गर्ने, अनिवार्य सैनिक सेवा छोट्याउने, राज्यकोषमा उच्च अधिकारीहरूको मनोमानी बन्द गर्नेजस्ता डिसेम्बरवादीहरूका मूल उद्देश्यबारे केही लेखिएको थिएन । क्रान्तिकारीहरूलाई राज्य र जारविरुद्ध गम्भीर अपराध गर्ने राज्य–अपराधीको रूपमा व्याख्या गरिएको थियो । दशकौँसम्म पनि रुसी जनताले डिसेम्बर विद्रोहबारे बुझ्ने एउटैमात्र माध्यम उक्त प्रतिवेदन बनेको थियो । रुसी जनताको मस्तिष्कबाट डिसेम्बर विद्रोहीहरूको सम्झना धुमील पार्न वा मेटाउन जार निकोलसले उक्त प्रतिवेदन पुनः प्रकाशन गर्ने अनुमति दिएनन् ।
जार सरकारसँग विद्रोह र विद्रोही युवाहरूबारे अनुसन्धानका अप्रकाशित दस्तावेजहरू थिए । त्यसलाई सरकारले गुप्त राखेको थियो । विद्रोहीहरूसँग क्रान्तिकारी सम्झनाहरू थिए । कठोर निगरानी र सेन्सरका कारण उनीहरूले आफ्नो सम्झनालाई कागजमा उतार्न सकिरहेका थिएनन् । डिसेम्बरवादी गुप्त समाजका गतिविधि तथा उद्देश्यबारे जानकार र विद्रोहप्रति साहनुभूति राख्ने केही उच्च अधिकारीहरूले पनि आफ्ना बुझाइ बाहिर ल्याउनसक्ने अवस्था थिएन ।

विद्रोहको १२÷१५ वर्षपछि कैद सजायबाट मुक्त भएर साइबेरियाको विभिन्न सहर र गाउँहरूमा निर्वासित जिवन बिताइरहेका क्रान्तिकारीहरूलाई युरोपेली रुसमा रहेका आफ्ना परिवार र साथीहरूलाई चिठी लेख्ने छुट दिइएको थियो तर ती चिठीमा लेखिएका व्यहोराहरूको कडा निगरानी राखिन्थ्यो । डिसेम्बर विद्रोहको खास उद्देश्यबारे रुसी जनतालाई बताउनु आवश्यक थियो । लेख्ने स्वतन्त्रताको उपयोग गर्दै मिखाइल लुनीन जस्ता साइबेरियाको निर्वासनमा रहेका केही क्रान्तिकारीहरूले गुप्तरूपमा डिसेम्बर आन्दोलनको इतिहास र संस्मरणहरू लेख्न थाले । तर, सन् १८४१ मा डिसेम्बरवादी गुप्त समाजहरूको इतिहास र उद्देश्यबारे लेखेको अभियोगमा लुनीन दोस्रो पटक कठोर निर्वासनमा पठाइएपछि केही क्रान्तिकारीहरूका लेखिँदै गरिएका संस्मरणहरू पनि लुकाइए वा नष्ट गरिए ।
सन् १८५३ मा सुरु भएको क्रिमियाको युद्धमा रुसी जलसेना बेलायत र फ्रान्सको आधुनिक जलसेनासँग नराम्ररी पराजित भयो । उक्त हारसँगै रुसको ‘युरोपको सबभन्दा शक्तिशाली देश’ वा ‘युरोपको संरक्षक’ को छवि पनि ध्वस्त भयो । आर्थिक र सामाजिक सुधारविना रुस युरोपेली मञ्चमा टिक्नसक्ने अवस्था रहेन । यही क्रममा सन् १८५५ मा जार निकोलसको निधन भयो । नयाँ जार अलेक्जेन्डर दोस्रोको राज्याभिषेकसँगै राजनैतिक वातावरण केही खुकुलो बन्यो र भूदास व्यवस्थाको अन्त्यको माग पुनः उठ्न थाल्यो ।
सन् १८५६ अगस्टमा सारबेरियामा निर्वासित डिसेम्बरवादीहरूलाई आममाफीको घोषणा गरियो । त्यतिबेलासम्म आधाभन्दा बढी डिसेम्बरवादीहरूको साइबेरियामै मृत्यु भैसकेको थियो । युरोपेली रुसमा फर्किएका क्रान्तिकारीहरूप्रति पनि गुप्ती प्रहरीको कडा निगरानी कायमै थियो । डिसेम्बर विद्रोहबारे लेख्ने र प्रकाशन गर्ने छुट उनीहरूलाई थिएन । यसरी विद्रोहको ३० वर्षसम्म पनि सामान्य रुसी जनता सन् १८२५ मा भएको डिसेम्बर विद्रोह कसले के उद्देश्यले ग¥यो भन्नेबारे करिब बेखबर रहे ।
‘ध्रुवतारा’ बुलेटिनमा डिसेम्बर विद्रोह
यही अन्धकारको समयमा टाढा बेलायतको लन्डन सहरमा ‘धु्रवतारा’ (The Polar Star) नामक एक रुसी भाषाको बुलेटिन प्रकाशित भयो । ‘स्वतन्त्र रसियाली प्रेस’ नामको प्रकाशन संस्थाद्वारा सन् १८५५ मा प्रकाशित उक्त बुलेटिनको पहिलो अङ्कमा डिसेम्बर विद्रोहबारे उपलब्ध सूचनाको आधारमा विस्तृत चर्चा गरिएको थियो र गातामा डिसेम्बर विद्रोहको क्रममा फाँसी दिइएका पाँच जना शहीदहरूको आकृति कोरिएको थियो ।
विद्रोहको ३० वर्षपछि रुसी पाठकलाई लक्षित गरी क्रान्तिकारी दृष्टिकोणबाट पहिलोपल्ट डिसेम्बर विद्रोहबारे विस्तृत प्रतिवेदन प्रकाशित भएको थियो । ‘धु्रवतारा’ गुप्तरूपमा रुसका विभिन्न सहरमा पुग्यो । नयाँ पुस्ताका रुसी युवाहरूमा क्रान्तिकारी ऊर्जा थप्ने काम गरेको उक्त बुलेटिन स्वनिर्वासित रुसी क्रान्तिकारी अलेक्जेन्डर हर्जेनको सम्पादनमा निस्केको थियो । ‘स्वतन्त्र विचार राख्ने रुसी दाजुभाइहरूमा समर्पित’ स्वतन्त्र रुसी प्रेस हर्जेनकै लगानीमा सन् १८५३ मा बेलायतको लन्डनमा स्थापित प्रकाशन संस्था थियो ।
‘धु्रवतारा’ बुलेटिनमार्फत हर्जेनले रुसमा रहेका उदारवादी र क्रान्तिकारीहरूलाई डिसेम्बर आन्दोलनबारे सूचना, लेख र संस्मरणहरू पठाउन खुला आह्वान गरे । हर्जेनले रुसी पाठकहरूलाई लक्षित गरी अर्का क्रान्तिकारी निकोलाई ओगारियोभको सहयोगमा सन् १८५७ देखि ‘धु्रवतारा’ बाहेक ‘घण्टा’ नामक सामाचारमूलक नियमित पत्रिका पनि प्रकाशन गरे । स्वतन्त्र रुसी प्रेसलाई रुसको कुनाकुनाबाट चिठीहरू प्राप्त हुन्थ्यो । ‘धु्रवतारा’ र ‘घण्टा’ ले रुसीहरूको स्मृतिमा बिलुप्त हुन लागेको पहिलो पुस्ताका क्रान्तिकारीहरूको विद्रोहलाई फेरी रुसीहरूको घर–घरमा पु¥याइदियो । डिसेम्बर विद्रोहबारे नखुलेका धेरै रहस्यहरूका पाटा बिस्तारै खुल्दै गए । ती क्रान्तिकारीहरूको देशप्रेम, स्वतन्त्रताप्रतिको आशक्ति, दृढता र त्यागका कथाहरूले नयाँ पुस्ताका रुसी युवाहरूमा एउटा नयाँ क्रान्तिकारी वातावरण सृजना ग¥यो ।
अलेक्जेन्डर हर्जेनको कथा
अलेक्जेन्डर हर्जेनलाई रुसमा समाजवादी विचार भित्र्याउने एक क्रान्तिकारी विचारक मानिन्छ । डिसेम्बर विद्रोहको नेतृत्व गरेका कुलीन युवाहरू फ्रान्सेली क्रान्तिको संवैधानिक व्यवस्था, मानवीय समानता र भातृत्वको भावनाबाट प्रभावित थिए । कानुनी राज स्थापना गरी सबै मानिसलाई आर्थिक उन्नति गर्ने स्वतन्त्रता दिएपछि समाज स्वतः न्यायपूर्ण दिशामा अगाडि बढ्छ भन्ने दृष्टिकोण डिसेम्बरवादी युवाहरूमा थियो । फ्रान्सेली क्रान्तिपछि आधा शताब्दीको पश्चिम युरोपेली अनुभवले उदारवादी प्रजातन्त्रले आमजनताभन्दा पुँजीपतिहरूको मात्र सेवा गर्ने कुरा प्रस्ट भइसकेको थियो । बुर्जुवावर्ग (पुँजीपतिवर्ग र मध्यमवर्ग) लाई आम जनताको स्वतन्त्रताभन्दा आफ्नो सम्पत्तिको सुरक्षा प्यारो हुने कुरा सन् १८४८ मा युरोपका विभिन्न देशहरूमा भएको क्रान्तिकारी विद्रोहहरूको असफलताले प्रस्ट पारिसकेको थियो । डिसेम्बरवादी विद्रोहबाट प्रभावित हर्जेन र ओगारियोभजस्ता क्रान्तिकारी युवाहरू सेन्ट साईमन र चाल्र्स फुरिएजस्ता समाजवादी विचारकहरूतर्फ आकर्षिक थिए । रुसमा किसान कम्युनहरूको जगमा नयाँ खालको समाजवादी व्यवस्था स्थापना गर्न सकिने विश्वास हर्जेनमा थियो । त्यसकारण, हर्जेनलाई रुसमा सन् १८८० को दशकमा विकास भएको नरोदनिक अन्दोलन र त्यसको जगमा विकास भएको सामाजिक क्रान्तिकारी पार्टीका वैचारिक पिता पनि मानिन्छ ।
अलेक्जेन्डरको जन्म नेपोलियनले रुसमा आक्रमण गर्नु केही महिना अगाडि सन् १८१२ को अप्रिल महिनामा मस्को सहरमा भएको थियो । उनका पिता मस्कोका एक धनी जमिनदार थिए भने माता साधारण जर्मन परिवारबाट आएकी एक शिक्षित महिला थिइन् । हर्जेनकी आमा कुलीन परिवारकी नभएकाले सानोमा हर्जेनले धेरै हेला र अपमान सहनुप¥यो । त्यसले हर्जेनमा सानैदेखि रुसी सामाजिक व्यवस्थाप्रति नकारात्मक भावनाको विकास भयो । तर, उनका पिताले उनको शिक्षामा कुनै कमी आउन दिएनन् । घरमै जर्मन, फ्रान्सेली र रुसी शिक्षकहरूमार्फत हर्जेनले प्रारम्भिक शिक्षा प्राप्त गरे ।

शतवार्षिक जन्मदिवसको क्रममा अलेक्जेन्डर हर्जेनको स्मरणमा लेनिनले लेख्नुभएको छ, “हर्जेन कुलीन र जमिनदार वर्गबीच जन्मेका क्रान्तिकारी पुस्ताका एक सदस्य हुन् । डिसेम्बर विद्रोहले उनलाई जगायो । आफ्नो जमानाका उनी महान् विचारक थिए । उनी हेगेलको द्वन्द्ववाद, फायरबाखको भोतिकवाद हुँदै द्वन्द्वात्मक भौतिकवादसम्म पुगेका थिए तर ऐतिकासिक भौतिकवाद पुग्नुअगावै उनी रोकिए । त्यसकारण, हर्जेन सन् १८४८ को युरोपेली क्रान्तिको पुँजीवादी चरित्रबारे सचेत भएनन् र क्रान्तिको असफलतापछि वैचारिकरूपमा विचलित बने । त्यसबेला उनी एक प्रजातन्त्रवादी, एक क्रान्तिकारी र एक समाजवादी थिए ।

डिसेम्बर विद्रोह हुँदा उनी १३ वर्षका किशोर थिए । विद्रोहबारे कुलीन परिवारहरूमा गुप्तरूपमा हुने चर्चा परिचर्चाहरूबारे उनी जानकार थिए । घरमा पढाउन आउने शिक्षकहरूमार्फत हर्जेनले रिलित्र् र पुश्किनका क्रान्तिकारी कविताहरू पढ्ने मौका पाए । उनलाई पढाउने एक फ्रान्सेली शिक्षक फ्रान्सेली क्रान्तिको क्रान्तिकारी धार ज्याकोबिन्सका समर्थक थिए । तिनै शिक्षकमार्फत हर्जेनले फ्रान्सेली क्रान्तिबारे जानकारी प्राप्त गरे । हर्जेन फ्रान्सेली क्रान्तिबाट प्रभावित थिए । डिसेम्बरवादी युवाहरू जस्तै हर्जेन पनि भूदास प्रथालाई घृणा गर्थे र आफ्नो परिवारअन्तर्गत रहेका भूदासहरूलाई राम्रो व्यवहार गर्थे । समयसँगै डिसेम्बरवादी नेताहरू हर्जेनका आदर्श व्यक्तित्वको रूपमा स्थापित भए । किशोरावस्थामै आफ्नो जीवन उच्च र पवित्र उद्देश्यको निम्ति समर्पित गर्ने सङ्कल्प उनले लिएका थिए । निकोलाई ओगारियोभ उनका मिल्ने साथी थिए । ओगारियोभ पनि हर्जेन जस्तै मस्कोका धनी जमिनदारका छोरा थिए र डिसेम्बर विद्रोहबाट प्रभावित थिए । एक साँझ सूर्यास्तको समयमा मस्कोको भङ्गेरी डाँडा (अहिलेको लेनिन डाँडा) पुगेर दुवै किशोरले स्वतन्त्रताको लडाइँमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने कसम खाएका थिए । त्यो कसम उनीहरूले जीवनभरि निभाए ।
१७ वर्षको उमेरमा हर्जेन मस्को विश्वविद्यालयको प्राकृतिक विज्ञान विषयमा भर्ना भए । विश्वविद्यालयमा उनले आफ्नो वरपर आफूजस्तै क्रान्तिकारी विचार राख्ने युवाहरूको सानो समूह बनाए । सन् १८३० मा फ्रान्सको पेरिसमा भएको जुलाई विद्रोह र वार्सामा भएको पोलियाली विद्रोहको समाचारले उनीहरू उत्साहित बने । विश्वविद्यालय पढाइको अन्ततिर हर्जेनको युवा समूहले रुसमा भर्खरै प्रसार भैरहेको सेन्ट साइमन र चाल्र्स फुरिएको समाजवादी विचारबारे जानकारी पाए । फ्रान्सेली क्रान्तिपछि विकास भएको युरोपेली उदारवादी व्यवस्थाका असफलतालाई निन्दा गर्दै मानवबाट मानवको शोषण निमिट्यान्न पार्ने समाजवादी समाज निर्माण गर्नुपर्ने सेन्ट साइमनको तर्कबाट हर्जेन प्रभावित थिए । तर, उनी समाजवादमा राज्यको बलियो भूमिका हुनुपर्ने सेन्ट साइमनको तर्कमा सहमत थिएनन् । बरु चाल्र्स फुरिएले भनेजस्तै व्यक्तिगत अगुवाइ र मजदुरहरूको स्वतन्त्र सहकार्यमा निर्माण हुने आदर्श समाज बढी व्यावहारिक हुने विचार हर्जेनको थियो । त्यसको बिउ उनले रुसी ग्रामीण क्षेत्रमा चलिरहेको ओब्स्चिना (किसान कम्युन) मा देखेका थिए । फ्रान्स र पोल्यान्डमा भएका विद्रोहहरूको असफलतापछि राजनैतिक विद्रोहहरूसँग सत्ता प्राप्तिको उद्देश्य बाहेक समाजको परिवर्तनका योजना पनि हुनुपर्ने उनले अनुभव गरे । रुसमा समाजवाद स्थापना गर्न सबभन्दा पहिला भूदासहरूलाई जमिनदारको खेतमा गरिने बाध्यात्मक श्रमबाट मुक्त गरेर स्वतन्त्र किसान बनाउनुपर्छ र सम्पूर्ण किसानलाई किसान कम्युनमार्फत जिविकोपार्जन गर्न पुग्ने जमिन बाँड्नुपर्छ भन्ने मत हर्जेनको थियो । किसान कम्युनहरूमा राज्यको प्रत्यक्ष हस्तक्षेप हुनुहुन्न भन्ने उनको धारणा थियो ।
सन् १८३३ मा उनले विश्वविद्यालय शिक्षा पूरा गरे । हर्जेनको युवा अध्ययन समूह निरन्तर चलिरह्यो । तर, एक वर्षपछि हर्जेनको नेतृत्वमा सञ्चालित युवा समूह गुप्ती प्रहरीको निशानामा प¥यो । ‘सामाजिक सुव्यवस्थाको निम्ति खतरनाक विचार बोक्ने एक स्वतन्त्र विचारक’ हर्जेन, ओगारियोभ लगायतका युवाहरूलाई जारको शपथविरुद्ध गतिविधिमा सामेल भएको अभियोगमा टाढाका जिल्लाहरूमा निर्वासित गरियो । आठ वर्षको निर्वासनको अन्त्यतिर हर्जेनले जर्मन द्वन्द्ववादी दर्शनका प्रवर्तक हेगेलका कृतिहरूको अध्ययन गरे । युरोपका वामपन्थी हेगेलवादीहरू जस्तै हर्जेन हेगेलको द्वन्द्ववादी विचारले क्रान्तिको निम्ति नयाँ बाटो खोलेको मान्थे । हेगेलको दर्शन क्रान्तिको विजगणीत हो भन्ने निश्कर्ष हर्जेनको थियो । यही समयमा जर्मनीमा कार्ल माक्र्स हेगेलको द्वन्द्ववादी दर्शनलाई भौतिकवादी जगमा अड्याउनुपर्ने निश्कर्षमा पुग्दै हुनुहुन्थ्यो ।
सन् १८४२ मा आठ वर्षपछि हर्जेनलाई निर्वासनको सजायबाट मुक्त गरियो र राजधानी सेन्ट पिटर्सवर्गमा बस्न अनुमति दिइयो । तर, जार निकोलसको स्वेच्छाचारी शासन, गुप्ती प्रहरीको निरन्तर निगरानी र प्रकाशनमा रहेको सेन्सरका कारण उनले सेन्ट पिटर्सवर्गको बसाइमा उकुसमुकुस अनुभव गरे । रुसको बसाइ अर्थहीन बौद्धिक बिलासमा खेर जाने उनले देखे । पिताको मृत्युपछि प्राप्त गरेका सम्पूर्ण सम्पत्ति बेचेर सन् १८४७ मा हर्जेन परिवारसहित पश्चिम युरोप स्वनिर्वासनमा गए । सन् १८४८ मा युरोपका विभिन्न सहरहरूमा भएको क्रान्तिताका उनी पेरिसमा थिए । क्रान्तिको असफलताले उनी वैचारिकरूपमा अन्योलमा परे । तर, जारको तानाशाहीको विरुद्ध सङ्घर्ष गर्ने उनको दृढता कहिल्यै डगमगाएन ।
इटाली, फ्रान्स हुँदै उनी सन् १८५२ मा बेलायतको लन्डनमा स्थायीरूपमा बस्न थाले । लन्डन बसाइकै क्रममा उनले ‘स्वतन्त्र रुसी प्रेस’ नामक प्रकाशन संस्था स्थापना गरे र विभिन्न प्रकाशनहरूमार्फत रुसमा जारशाहीविरुद्ध भूदास प्रथाको अन्त्य र समाजवादको पक्षमा जनमत निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । ५७ वर्षको उमेरमा सन् १८७० मा पेरिसमा उनको मृत्यु भयो ।
शतवार्षिक जन्मदिवसको क्रममा अलेक्जेन्डर हर्जेनको स्मरणमा लेनिनले लेख्नुभएको छ, “हर्जेन कुलीन र जमिनदार वर्गबीच जन्मेका क्रान्तिकारी पुस्ताका एक सदस्य हुन् । डिसेम्बर विद्रोहले उनलाई जगायो । आफ्नो जमानाका उनी महान् विचारक थिए । उनी हेगेलको द्वन्द्ववाद, फायरबाखको भोतिकवाद हुँदै द्वन्द्वात्मक भौतिकवादसम्म पुगेका थिए तर ऐतिकासिक भौतिकवाद पुग्नुअगावै उनी रोकिए । त्यसकारण, हर्जेन सन् १८४८ को युरोपेली क्रान्तिको पुँजीवादी चरित्रबारे सचेत भएनन् र क्रान्तिको असफलतापछि वैचारिकरूपमा विचलित बने । त्यसबेला उनी एक प्रजातन्त्रवादी, एक क्रान्तिकारी र एक समाजवादी थिए । तर, उनको समाजवाद त्यसबेला अगाडि आएका अनेकौँ किसिमका समाजवादजस्तै बुर्जुवा र निम्न पुँजीवादी समाजवाद थियो । बुर्जुवा प्रजातन्त्रवादीहरूको क्रान्तिकारी चरित्र स्खलित हुँदै गरेको र सर्वहारा समाजवादीहरूको क्रान्तिकारी चरित्र अझै नछिप्पिसकेको त्यो युगको एक स्वाभाविक पात्र थिए अलेक्जेन्डर हर्जेन ।”
लेनिन थप्नुहुन्छ, “हर्जेनले विदेशमा स्वतन्त्र प्रेस खडा गरेर रुसी आन्दोलनलाई महान् सेवा पु¥याए । ‘धुुवतारा’ले डिसेम्बरवादी भावनालाई निरन्तरता दियो भने ‘घण्टा’ले भूदास मुक्तिको झन्डा उँचो फहरायो ।”
यसरी जार शासकहरूले इतिहासको पानाबाटै मेटाउन खोजेको डिसेम्बर विद्रोहलाई रुसी जनता सामु ल्याउन र प्रगतिशील विचार राख्ने कुलीन युवाहरूको भित्री छलफलमा सिमित रुसको क्रान्तिकारी आन्दोलनलाई व्यापक रुसी जनतामा फैलाउन हर्जेनको स्वतन्त्र रुसी प्रेसका प्रकाशनहरूले महत्वपूर्ण भूमिका खेलेको प्रस्ट हुन्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *