भर्खरै :

समयमा मल नल्याउने शैलुङ र मुक्तिनाथ कम्पनीलाई कारबाही

काठमाडौँ, २८ पुस । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको छ । रासायनिक मल खरीदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारबाही गरिएको हो ।
कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको कम्पनीका प्रबन्ध सञ्चालक नरेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौता अवधि सकिँदासम्म मल खरीदको कुनै आधार तथा प्रमाणमा विश्वासयोग्य नभएपछि कारबाही गरिएको हो ।
पच्चीस हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल गरी ४५ हजार मेट्रिक टन रासायनिक मल खरीदको जिम्मा पाएको मुक्तिनाथ कम्पनीकोे गत मङ्सिरमा सम्झौता अवधि सकिएको थियो । सम्झौता अवधि सकिएपछि कृषि कम्पनीले मुक्तिनाथलाई ५४ दिनको अवधि थप गरेको थियो तर थपिएको अवधिमा समेत मल खरीदको प्रक्रिया सुरु नगरेपछि कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेडले मुक्तिनाथसँग रासायनिक मल खरीद गर्न गत साउन १८ गते दुवै ठेक्कामा सम्झौता गरेको थियो । नियमानुसार सम्झौता गरेको १०७ दिनभित्र तोकिएको परिमाणमा रासायनिक मल खरीद गरिसक्नुपर्ने हुन्छ । मुक्तिनाथ कम्पनीले धरौटी राखेको रु. नौ करोड ३१ लाख ३२ हजार रकम जफत गर्दै कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि दुई वटा ठेक्कामा कारबाही गरिएको शैलुङलाई पुनः तेस्रो ठेक्कामा कारबाही गरिएको छ । कृषि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीका अनुसार पुस पहिलो साता २५ हजार मेट्रिक टन युरिया मल खरीद गर्न गत साउनमा सम्झौता भएको थियो । सो कम्पनीले सम्झौता अवधिमा मल खरीद गर्न नसकेपछि धरौटी राखेको रु. चार करोड ९२ लाख जफत गरेर कालोसूचीमा राख्न सिफारिस गरिएको हो ।
एक लाख मेट्रिक टन रासायनिक मल खरीद गर्न विभिन्न समयमा आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार तीन वटा कम्पनी छनोट गरिएको थियो । तीन वटा कम्पनी छ वटा ठेक्कामार्फत रासायनिक मल खरीदमा संलग्न भए पनि कुनै पनि कम्पनी मल खरीदमा सफल हुन सकेनन् । मल खरीदमा तीन वटा ठेक्का पाएको (सबैभन्दा धेरै) शैलुङले ८० हजार मेट्रिक टन, होलीको मल्टिपल कम्पनीले २५ हजार र मुक्तिनाथ कृषि कम्पनीले ४५ हजार मेट्रिक टन गरी रु. छ अर्ब बढीको ठेक्का पाएका थिए ।
कुन कम्पनीलाई कतिको ठेक्का
कृषि सामग्री कम्पनीका अनुसार शैलुङले पहिलोपटक गत साउनमा २५ हजार मेट्रिक टन युरिया ल्याउन रु. ९३ करोड ४८ लाख ८० हजार, दोस्रो पटक गत कार्तिकमा ३० हजार टन युरिया ल्याउन रु. एक अर्ब नौ करोड २० लाख ५६ हजार ७०० र तेस्रो पटकमा २५ हजार मेट्रिक टन युरिया ल्याउन रु. ९४ करोड छ लाख ९३ हजार ७०० गरी रु. दुई अर्ब ९६ करोड ७६ लाख बढीको ठेक्का पाएको थियो ।
यसैगरी मुक्तिनाथ कृषि कम्पनीले २५ हजार मेट्रिक टन युरिया ल्याउन रु. एक अर्ब दश करोड ४८ लाख २३ हजार र २० हजार मेट्रिक टन डिएपी ल्याउन रु. ७५ करोड २५ लाख ५५ हजार गरी रु. एक अर्ब ७५ करोड ७३ लाख बढीको ठेक्का पाएको थियो । होनिको मल्टिपलले २५ हजार टन युरिया मल ल्याउन रु. ९३ करोड २५ लाख रुपैयाँको ठेक्का हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *