भर्खरै :

लोडसेडिङ्ग हटाएको जस लिन नकच्चरो प्रतिस्पर्धा

उत्तरमा हिमालय श्रृङ्खला र असङ्ख्य नदीनालासहितको पहाडी देश नेपाल जलविद्युत् उत्पादनका लागि अत्यन्त उपयुक्त रहेको सर्वविदित्तै छ । अरू धेरै विकास गर्न नसकिए पनि नेपालका लागि आवश्यक ऊर्जा नेपालमै उत्पादित जलविद्युत्ले पूरा गरोस् भन्ने नेपाली जनताको आकाङ्क्षा रहिआएको छ । नेपाली जनताको आकाङ्क्षालाई आजसम्म सरकारमा पुगेका शासकहरूले खासै ध्यान दिएको भने लाग्दैन । बरु, जलविद्युत् उत्पादनका लागि अत्यन्त उपयुक्त नेपालका नदीनालाहरू स्वदेशी र विदेशी कम्पनीहरूको झोलामा राखिदिएर कमिसन कुम्ल्याउने प्रतिस्पर्धामै तिनीहरू लागे । परिणामतः नदीनाला त्यत्तिकै बगिरहेका छन्, नेपालका गाउँबस्तीहरू अझै अन्धकार छन्, स्वदेशी र विदेशी कम्पनीहरू जलविद्युत् परियोजना निर्माणको अधिकार ओगटेर बढी मोलमा अरूलाई बेच्न धुकेर बसेका छन् ।
जलविद्युत् उत्पादनको अपार सम्भाव्यता रहेको देश नेपालले कुनै बेला दैनिक १८ घण्टासम्म लोडसेडिङ सहनुपथ्र्यो । नेपाल विद्युत् प्राधिकरणमा एक योग्य र इमानदार कार्यकारी निर्देशक आएपछि देशबाट लोडसेडिङ हट्यो । लोडसेडिङ हट्दै गएपछि ती अधिकारीको वाहवाही बढ्दै गएको थियो । हुन त लोडसेडिङ हट्नुमा ती एकै अधिकारीको मात्र योगदानले सम्भव थिएन, उनीसँगै काम गरेका पूरै टीमको योगदानको करामत थियो त्यो । ती अधिकारीले भने बडो विनम्रतापूर्वक लोडसेडिङ हटाउन प्राधिकरणको टीमवर्क, बिजुली विज्ञानको उपयोग र सरकारको सहयोगले सम्भव भएको बताए । यद्यपि, लोडसेडिङ अन्त्यका लागि नेपालले झन्डै तीनसय मेगावाट बिजुली भारतसित किनिरहेको छ ।
अहिले आएर लोडसेडिङ अन्त्य गर्ने सफलताको जस लिन देशका पूर्व र वर्तमान मन्त्रीहरूको बीचमा नकच्चरो प्रतिस्पर्धा चलिरहेको छ । आफू जलस्रोत र ऊर्जामन्त्री छँदा विद्युत् उत्पादन बढाउन सिन्को नभाँचेका र हप्तैपिच्छे लोडसेडिङको अवधि बढाउन हस्ताक्षरमात्र गरेका पूर्वमन्त्रीहरूले आफूले गर्दा लोडसेडिङ हटेको दाबी गरेपछि तिनीहरूलाई नकच्चरोबाहेक के भन्न मिल्ला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *