भर्खरै :

माघे सङ्क्रान्तिको संस्कृति

  • माघ १, २०७७
  • लालबहादुर भूजेल
  • विचार

ऐतिहासिक पृष्ठभूमि
माघे सङ्क्रान्तिको दिनमा गर्नुपर्ने पुण्यकर्मको सम्बन्धमा ‘धर्मसिन्धुमा’ उल्लेख गरेको पाइन्छ । यस दिनमा घ्यू, चाकु, तरुल, तिल आदि दान गरी तीर्थस्थलमा गएर स्नान गर्नाले पुण्य प्राप्त गरी स्वस्थ र निरोगी बन्ने कुरा उल्लेख गरेको देखिन्छ । यो दिनमा उपवास बस्नाले दान धर्म गरी व्रत लिनाले आँटे–ताकेको पुग्ने विश्वास छ । पार्वतीले शिवजीलाई प्रफुल्ल पार्न यसै दिन तरुल दिएकोले तरुलको विशेष महत्व छ ।
परिभाषा
‘माघे’ शब्द ‘माघ’ नाम शब्दमा विशेषणबोधक ‘ए’ प्रत्यय लागेर बनेको शब्द हो ।
जसको अर्थ हुन्छ माघ महिनाको वा माघ महिनासम्बन्धी । त्यस्तै सूर्य वा अरू कुनै ग्रह पिण्ड एक राशिबाट अर्काे राशिमा प्रवेश गर्ने समय नै सङ्क्रान्तिको शाब्दिक अर्थ हुन्छ । सङ्क्रान्ति भन्नाले विक्रम संवत्अनुसार प्रत्येक महिनामा सुरुमै हुने १ गतेलाई जनाउँछ । माघे सङ्क्रान्ति भन्नाले माघ महिनाको १ गते भन्ने बुझिन्छ जुन नेपालीले मनाउने चाडमध्येमा पर्छ । यसै दिनदेखि सूर्य मकर राशिबाट अर्थात् दक्षिणायनबाट उत्तरायणतर्फ लाग्ने हुनाले ‘मकर सङ्क्रान्ति’ को नामले पनि चिनिन्छ । बुढापाकाहरूको भनाइअनुसार साउने सङ्क्रान्ति मानेपछि ‘बाँचियो’ र ‘माघे सङ्क्रान्ति’ मानेपछि ‘मरियो’ भन्ने भनाइ छ । यसै दिनदेखि दिन लामो हुँदै जाने र रात छोटो हुँदै जाने मान्यता रहिआएको छ ।
धार्मिक, सांस्कृतिक र व्यापारिक पक्ष
यो चाडमा हिन्दू धर्मावलम्बीहरूले प्रातः कालमा स्नान गरी पूजापाठ गर्छन् । यसलाई पवित्र पर्वको रूपमा मानेर चोखो नितो गरी घर आँगनमा लिपपोत गरी शुद्ध पारिन्छ र देवी देवताको मठ मन्दिरमा पूजाआजा गर्ने चलन छ । यो दिनमा उपवास बसेर, मेचीदेखि महाकालीसम्म नदीहरूमा स्नान गरेर व्रत लिने परम्परा छ । नेपालका ठूला नदीहरू सप्तकोसी, सप्तगण्डकी, कर्णाली, मेची, महाकाली तथा तिनका सहायक नदीहरूको दोभान, त्रिवेणी, घाटहरूमा यो दिनमा भक्तजनहरूको ठूलो मेला लाग्छ । सप्तकोसीको बराहक्षेत्र, कालीगण्डकीको देवघाट स्थल, लुम्बिनीको रुरु क्षेत्र (रिडी), त्रिवेणी, चेपेघाट आदि तीर्थस्थलहरूमा स्नान गरी मेला हेर्ने व्रतालुहरूको ठूलो घुइँचो लाग्छ । यस दिनमा आफन्तजनसँग भेटघाट गरी न्यानो आत्मीयता बाँड्ने अपूर्व अवसर पनि हो । मेलामा आउने श्रद्धालुबीच मुग्धकण्ठले ठाडोभाका, झ्याउरे लोकदोहोरी, कौरा चुड्का, भजन, बालुन आदि नाचगानले रात छर्लङ्ग काटेको थाहै हुँदैन । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेझँै जाँगरिला, जोसिला व्यक्तिहरू जात्रास्थल वरिपरि २÷३ दिन अगाडि नै छाप्रा, टहरा निर्माण गरी आफ्ना स्थान सुनिश्चित गर्छन् । यो चाड कृषिमैत्री पनि भएकोले लेकदेखि तराई र पूर्वदेखि पश्चिमसम्मको स्थानीय रैथाने कृषि उपजहरू जस्तै लेकका ठूलो भट्ट, दलहन, तेलहन, अर्गानिक चामल, दुग्ध पदार्थहरू, अमिलो, खुदो, मह, फलफूल, तरकारी, भान्सामा प्रयोग हुने मसलाजन्य चिजहरू, कृषिऔजार, रहरलाग्दा खसी – बोका, लोकल कुखुराको भाले, काँडा उमे्रका सेलरोटी, ठाडो खोलाका असला माछा, तरकारी अचारको जिब्रोमै झुन्डिने सुगन्धित परिकारले व्यापारी र जात्रु पक्ष दुवै थरी लाभान्वित हुन्छन् । दोकानदार र भट्टी पसलेहरूको चहलपहल, मस्त जवान ठिटा–ठिटीहरूको हाँसखेल, गीत–बात, मन्त्रमुग्ध व्यवहारले माहोललाई नै लठ्याइ दिन्छ । उपत्यकाभित्र बाग्मती र मनोहराको सङ्गमस्थल शङ्खमूलमा प्राचीनकालदेखि स्नानार्थीको लर्काे लाग्ने गरे पनि प्रदूषणको कारणले पछिल्लो समय न्यून उपस्थिति देखिन्छ ।

पुण्य प्राप्ति, बजार हेर्ने घुम्ने रहरको साथै आजकल दल र सङ्घ संस्थाहरूले प्रचारप्रसार गर्ने हेतुले आमसभा र सांस्कृतिक कार्यक्रमहरूको सञ्चालन गर्ने नवीन तौरतरिका अपनाएको देखिन्छ ।माघे सङ्क्रान्तिकै दिनमा तरुनी तन्नेरीहरूले ‘सालैज्यू’ जस्तो सुमधुर भाकामा मनको अटेसमटेस बह र माया – पिरतीको राग अलाप्दै स्रोतागणलाई मन्त्रमुग्ध पार्छन् । ‘बा¥हमासा’ भन्ने चर्चित गीतको थालनी यही दिनबाट प्रारम्भ हुन्छ । गुल्मीको रिडीबजारस्थित कालीगण्डकीको किनारमा यो दिनमा कुम्भ मेला लाग्दछ । माघ १,२ र ३ गते लाग्ने यो मेलालाई त्यहाँका स्थानीयहरूले जेठो, माइलो र कान्छो सङ्ग्रक्रान्ति भन्ने चलन छ । यसरी यस पर्वमा सामाजिक मूल्य–मान्यता पनि गाँसिएको पाइन्छ ।
परिकारहरू
यो चाडमा खानपान परम्परा जाति विशेष फरक छ । थारु समुदायले ‘अनदी’ चामल ‘स्टीम’ बाफमा पकाएर झोलिलो माछासँग खान्छन् । काठमाडौँ उपत्यकामा नेवार समुदायको बाहुल्य भएका स्थानहरूमा यो पर्वलाई चाकु सँल्हु अर्थात् घ्यु, चाकु र तिलको लड्डु तथा नयाँ चामलको खिचडी बनाएर खाने गरिन्छ । मध्य पहाडी क्षेत्रमा तरुल सख्खरखण्ड, पिँडालु पुस मसान्तमा उसिनेर सङ्क्रान्तिमा खाइन्छ । मासु, माषको फुलौरा, खीर, रोटी पनि खाने गरिन्छ । विपन्न– सम्पन्न सबैले आ–आफ्नो गच्छेअनुसार यो पर्व मनाउँछन् । त्यसैले यो पर्व धार्मिक–सांस्कृतिक परम्पराको द्योतक हो र मनोविनोदको साधन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *