भर्खरै :

नेपाली कृतिको अङ्ग्रेजी अनुवाद

लेखक सत्यमोहन जोशीले ‘शताब्दी पुरुष’ हुनुभएपछि ‘अब नेपाली साहित्यले नोबेल साहित्य पुरस्कार पाएको हेर्ने धोको बाँकी रहेको’ मनोच्छा पोख्नुभयो । जोशीले धर्तीमा पाइला टेक्दा नेपाली भाषामा लेखिएका साहित्यहरू औँलामा गन्न पुग्दैनथ्यो । देशमा चन्द्रशमशेरको शासन उत्कर्षमा पुगेको थियो । चन्द्रशमशेरले ‘धुरुधुरु रुँदै त्रिचन्द्र क्याम्पसको शिलान्यास गरेको’ भर्खर वर्ष दिन पुग्दै थियो । शिक्षाको ज्योतिलाई दरबारभित्र कैद राखिएको त्यो समयमा साहित्य एकाध राजा–महाराजाको ‘सौखको विषय’ थियो । राजधानीमै पढ्न जान्ने मानिस ज्यादै थोरै भएको समयमा साहित्य लेखेर पुस्तक छाप्ने संस्कृतिको अपेक्षा गर्नु पक्कै मरुभूमिमा पानीको खोजीभन्दा कठिन हुनुपर्छ । नेपाली भाषामा लेखिएका एकाध साहित्यको पनि साहित्यिकभन्दा बढी धार्मिक महत्वको थियो । त्यस्तो समयमा जन्मी–हुर्केका सत्यमोहनले एक सय वर्षको कालखण्डभित्र नेपाली समाजमा जस्तै साहित्यको क्षेत्रमा पनि धेरै ठूलो अन्तर देख्नुभएको हुनुपर्छ । नेपाली भाषा वा नेपालमा बोलिने भाषाका पुस्तक नै भेटाउन धौ धौ पर्ने समयदेखि आज लाखौँ पुस्तक छापिएको समयसम्मको यात्रापछि उहाँले सार्वजनिकरूपमा पोख्नुभएको इच्छा हो–नेपाली साहित्यलाई नोबेल पुरस्कार ।
नेपाली लेखकले नोबेल साहित्य पुरस्कार (यद्यपि यो पुरस्कार आफै विवाद र पूर्वाग्रहरहित भने छैन) वा त्यस्तै प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार पाउने गौरव कति दिन टाढा छ, त्यो त अहिले नाप्न सक्ने अवस्थामा कोही पनि छैन । तर, सत्यमोहनले आफ्नो सय वर्षको जीवनयात्रामा नेपाली साहित्यले पनि त्यस्तो प्रतिष्ठित पुरस्कार पाउन सम्भव देखेर नै त यो आकाङ्क्षा पोख्नुभयो होला ।
नेपाली साहित्यलाई त्यो उचाइमा पु¥याउन सबभन्दा अपरिहार्य कदम नेपाली साहित्यको अन्तर्राष्ट्रिय भाषामा अनुवाद हुनु हो । नेपालको सन्दर्भमा सबभन्दा नजिकको अन्तर्राष्ट्रिय भाषा हाललाई अङ्ग्रेजी भाषा नै हो । कालान्तरमा यो मान्यतामा परिवर्तन पनि हुनसक्ला । तर, त्यो परिवर्तनको लागि केही समय अझ कुर्नै पर्नेछ । नेपालको साहित्य भण्डारमा अङ्ग्रेजीमा अनुवाद भएका नेपालका साहित्य (नेपालीमात्र होइन, नेपालमा बोलिने अरू भाषाका पनि साहित्यिक कृति) को आजको अवस्था झन्डै सत्यमोहनको जन्म भएको कालखण्डमा नेपाली साहित्यिकै जस्तो हविगत छ । अर्थात्, अङ्ग्रेजीमा अनुवाद गरिएका नेपाली साहित्य ज्यादै न्यून सङ्ख्यामा छन् । नेपालको साहित्य र संस्कृतिबारे अध्ययन गर्न आएका विभिन्न देशका अध्येताहरूले नेपाली कृतिहरूको अनुवाद गरेर यो क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।
नेपाली भाषा र साहित्यको इतिहासबारे सन् १९८४ मा विद्यावारिधि गर्नुभएका बेलायती अध्येता माइकल हटले नेपाली साहित्यको अनुवाद गर्नुका साथै केही साहित्यकारहरूका जीवनी र कृतिको समालोचना अङ्ग्रेजीमा लेख्नुभएको छ । लीलबहादुर क्षेत्रीको ‘बसाइ’ (उपन्यास), बुद्धिसागरको ‘कर्णाली ब्लुज’ (उपन्यास) आदि कृतिको उहाँले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको छ । लेखक मञ्जुश्री थापाले इन्द्रबहादुर राईको ‘आज रमिता छ’ (उपन्यास) को अनुवाद गर्नुभएको छ । पछिल्लो समय कृष्ण धराबासीको ‘राधा’ (उपन्यास) र नारायण वाग्लेको ‘पल्पसा क्याफे’ को पनि अङ्ग्रेजीमा अनुवाद भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय खण्डकाव्य ‘मुना मदन’ को कविकै सुपुत्र प्राध्यापक पदमलाल देवकोटाले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको छ । पारिजातको ‘शिरिषको फूल’ उपन्यासको पनि अङ्ग्रेजीमा अनुवाद भएको छ ।
अध्येता एवम् लेखक महेश पौड्यालको अध्ययनअनुसार डायमण्ड शमशेर राणाको ‘सेतो बाघ’, भरत जङ्गमको ‘कालो सूर्य’, बीपी कोइरालाको ‘दोषी चस्मा’, ‘नरेन्द्र दाइ’, ‘मोदि आइन्’, ‘खैरनीघाट’, ‘सुम्निमा’, ‘आत्मवृत्तान्त’, माधव घिमिरेको ‘अश्वस्थामा’, गोविन्द गोठालेको ‘पल्लो घरको झ्याल’, सिद्धिचरण श्रेष्ठको ‘सिद्धिचरणका कविता’ र ‘जेल संस्मरण’, रुद्रराज पाण्डेको ‘रुपमती’, गोपालप्रसाद रिमालको ‘मसान’, ध्रुवचन्द्र गौतमको ‘फूलको आतङ्क’, चित्तधर हृदयको ‘सुगत सौरभ’, विजय मल्लको ‘अनुराधा’, पारिजातको ‘अनिँदो पहाडसँगै’, प्रदीप नेपालको ‘एक्काइसौँ शताब्दीको सुम्निमा’, गोविन्दराज भट्टराईको ‘सुकरातका पाइला’ आदि नेपाली साहित्यिक कृतिहरू पनि विभिन्न नेपाली तथा विदेशी अनुवादकहरूले अङ्ग्रेजी भाषामा अनुवाद गरेका छन् । (अ सर्भे अफ नेपाली लिटरेचर इन इङ्ग्लिसः ट्रान्सलेटेट एन्ड ओरिजिनल)
अध्ययनमा पौड्यालले आधुनिक विश्व साहित्यले विश्वव्यापी विषत्न्दा स्थानीय र आदिवासी संस्कृतिका विषय समातेको भन्दै नेपाली लेखकहरूले पनि आÇनै सांस्कृतिक, मिथकीय र आदिवासी विषयवस्तुप्रति संसारको ध्यान तान्न आवश्यक भएको बताउनुभएको छ ।
उल्लेखित कृतिहरूबाहेक नारायणमान बिजुक्छेँको ‘सय वर्ष पछिको भक्तपुर, कवि पूर्ण वैद्यको ‘लः लः खः’, इन्दिरा प्रसाईको ‘रणमाया’ आदि कृति पनि अङ्ग्रेजी भाषामा अनुवाद भएका छन् ।

विभिन्न कालखण्डमा मुख्यतः आर्थिक जीवनको लागि नेपालका विभिन्न क्षेत्रबाट भुटान गएर बसेका नेपालीहरूको दक्षिणी भुटानमा बाक्लो बसाइ थियो । उनीहरू भुटानमा ल्होत्साम्पा कहलिए । आज पनि भुटानमा नेपालीहरूको उपस्थिति उल्लेख्य छ । भुटानको अर्थतन्त्र, राजनीति, समाजमा नेपालीहरूको भूमिका बढ्दो थियो । नेपालीहरूको बढ्दो प्रभावबाट सजग भुटानी संस्थापनले भने विसं २०४० को दशकमा ल्होत्साम्पाहरूमाथि जातीय दमन सुरु ग¥यो । झन्डै एक लाखको हाराहारीमा ल्होत्साम्पाहरू भुटान सरकारको दमनबाट जोगिन आफ्नो घर र सम्पत्ति छोडेर त्यहाँबाट भागे । उनीहरूमध्ये अधिकांशले पूर्वी नेपालका विभिन्न शिविरमा आश्रय लिए । हाल ती भुटानी शरणार्थीहरूमध्ये अधिकांश तेस्रो देशमा पुनःस्थापना कार्यक्रमअन्तर्गत संरा अमेरिका, क्यानाडा, अस्टे«लिया, बेलायत आदि देशमा आप्रवासी नागरिकको रूपमा बस्दै आएका छन् ।

नेपालकै विभिन्न विश्वविद्यालयमा अङ्ग्रेजी भाषा र साहित्यको शिक्षण, अध्ययन र अनुसन्धानले नेपाली साहित्यको अङ्ग्रेजी अनुवादमा टेवा पु¥याएको छ । अङ्ग्रेजी भाषामा नेपाली कृतिको अनुवाद गर्ने अनुवादकहरूमध्ये धेरै जना त्रिभुवन विश्वविद्यालय र नेपालका अन्य विश्वविद्यालयमा अध्ययन गरेका वा प्राध्यापन गरिरहेका व्यक्तित्वहरू छन् । त्रिविका प्राध्यापक पद्मलाल देवकोटाले नेपाली साहित्यको अङ्ग्रेजी भाषा र अङ्ग्रेजी कृतिहरू नेपाली भाषामा अनुवाद गर्नुभएको छ । त्रिविकै गोविन्दराज भट्टराई, केशव सिग्देल र महेश पौड्याललगायतले अङ्ग्रेजी अनुवाद कर्ममा योगदान गर्नुभएको छ । त्रिवि केन्द्रीय अङ्ग्रेजी विभागअन्तर्गत एमफिल कार्यक्रममा सामेल विद्यार्थीहरूलाई पनि नेपाली साहित्यिक कृतिको अङ्ग्रेजी अनुवाद गराउने प्रयास भइरहेको छ । तर, त्रिवि वा नेपालका अन्य कुनै पनि विश्वविद्यालयअन्तर्गत नेपाली कृतिको विदेशी भाषामा अनुवादको लागि अलग विभाग भने बनिसकेको देखिँदैन ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा विश्वविद्यालयअन्तर्गतका अनुवाद विभागहरूमार्फत यस्ता सांस्कृतिक कार्य हुँदै आएको छ । विश्वविद्यालयहरूमा नै अनुवादको अलग शिक्षण पनि हुने गरेको छ । छिमेकी देश चीनमा चिनियाँ साहित्यको अङ्ग्रेजी अनुवाद र प्रकाशनको लागि विदेशी भाषा प्रेस (फोरेन ल्याङ्ग्वेज प्रेस) क्रियाशील हुँदै आएको छ । सो कार्यालयमा विभिन्न भाषाका विज्ञहरूबाट चीनका नयाँ–पुराना कृतिहरूको विदेशी भाषामा अनुवाद गरिन्छ । अमेरिकी अनुवादक सिड्नी सापिरोले लामो समय सो संस्थामा आबद्ध भएर चीनका धेरै पुराना र नयाँ कृतिको अङ्ग्रेजी भाषामा अनुवाद र प्रकाशन गर्नुभएको थियो । चीनले आज यो काम विभिन्न विश्वविद्यालय र अध्ययन प्रतिष्ठानहरूमार्फत चालू राखेको छ ।
अन्तर्राष्ट्रिय अभ्यासको यो कोणलाई आधार बनाउँदा नेपालमा नेपाल प्रज्ञा प्रतिष्ठानले यसमा सक्रियता देखाउन आवश्यक छ । प्रतिष्ठानअन्तर्गत अनुवादको लागि अलग विभाग छ । सो विभागअन्तर्गत विभिन्न नेपाली साहित्यिक र सांस्कृतिक कृतिको अङ्ग्रेजीमा अनुवाद र अन्य भाषाका कृतिहरूको नेपाली भाषामा अनुवाद कार्य सीमित सङ्ख्यामा भइरहेको छ । प्रज्ञाले गत वर्ष बङ्गलादेशमा नेता मुजिबुर रहमानको आत्मसंस्मरण र जेल डायरी नेपाली भाषामा अनुवाद गरेको छ । त्यस्तै निकै अघि प्रतिष्ठानबाट प्रकाशित को मोरोको ‘चु याँ’ चिनियाँ नाटकको पुनः प्रकाशन भएको छ । हरेक वर्ष प्रतिष्ठानले अनुवाद विशेषाङ्क पनि प्रकाशन गर्दै आएको छ । तर, नेपाली कृतिको अङ्ग्रेजी अनुवाद भने सीमित सङ्ख्यामा मात्र भएको छ । यद्यपि, सत्प्रयासको थालनी भने भइसकेको छ । राज्यस्तरमा ज्यादै मसिनो प्रयासको थालनी भए पनि नोबेल पुरस्कारको लक्ष्यसम्म पुग्ने गति भने अझै समातिसकेको छैन । राज्यले लेखकहरूलाई यसको निम्ति आवश्यक प्रोत्साहन दिन सकेको छैन । प्रतिष्ठानमा पनि राजनीतिक पूर्वाग्रहसहितको नियुक्ति र भागबन्डा गरिने विकृतिको कारण कुन कृति अनुवाद गर्ने र नगर्नेमा पनि पूर्वाग्रह र पक्षपात हुने गरेको देखिन्छ । नेपाली साहित्य–संस्कृतिको समग्र विकास र उत्थानको व्यापक दृष्टिकोणसहित अझै पनि काम हुन सकेको देखिंदैन । हिजो पञ्चायत छँदा राजा र राजतन्त्र पक्षधर र काङ्ग्रेस आउँदा आफ्नै पक्षधर वा नजिकका साहित्यकारको कृति छाप्ने प्रवृत्तिबाट आजको प्रतिष्ठानको नेतृत्व अछुटो छैन ।
नेपालको शैक्षिक स्तर र विश्वविद्यालय शिक्षाको आधारमा उभिएर कुरा गर्दा नेपालकै विश्वविद्यालयमा मात्र पढेका विद्यार्थीहरूले नेपाली साहित्यको अङ्ग्रेजी भाषामा अब्बल अनुवाद गर्न गाह«ै विषय हो । एकाध मिहिनेतीहरूले यसमा केही सफलता हासिल गरे पनि स्तरीय अनुवादको लागि सामथ्र्य भने नेपालकै शिक्षाले मात्र दिन सकेको छैन । शाब्दिक र भावार्थको अनुवादसम्मको उचाइ उक्लिन सके पनि सांस्कृतिक अनुवादको तहसम्म पुग्न भने कठिन नै हुने देखिन्छ । यसका धेरै कारण छन् । त्यसको सबभन्दा बलियो कारण त अङ्ग्रेजी भाषाको दैनिक र प्राज्ञिक जीवनमा न्यून प्रयोग र अध्ययनको कमी नै हो । नेपालको आजको शिक्षा प्रणालीले विद्यार्थीलाई विषय बुझ्नेसम्मको सामथ्र्य (कग्नेटिभ एबिलिटी) दिन्छ । तर, बुझाइलाई सिर्जनात्मकता दिएर अभिव्यक्त गर्ने सामथ्र्य (क्रियटिभ एबिलिटी) भने अझै गाह«ो विषय बनेको देखिन्छ । विश्वविद्यालयमा अनुवादसम्बन्धी अलग विभाग र कक्षा नहुनु पनि अर्को मुख्य समस्या हो ।
विशेषतः २०४६ सालको राजनीतिक परिवर्तनपछि विभिन्न अङ्ग्रेजी भाषा बोलिने देशमा नेपालीहरू गएर पढ्नेको सङ्ख्या बढेसँगै अङ्ग्रेजी भाषामा पकड भएको पुस्ता पनि विकास भइरहेको छ । त्यसमा पनि पछिल्लो पुस्ता भने सिर्जनात्मक गतिविधिमा बढी चासो राख्ने भएकोले नेपाली साहित्यको अङ्ग्रेजी अनुवादको क्षेत्रमा प्रगतिको नयाँ आयाम पनि उजागर भइरहेको छ । उनीहरूमध्ये कतिले त अङ्ग्रेजी भाषामै सिर्जनात्मक लेखन गरिरहेका छन् । यद्यपि नेपालको वास्तविक चित्रण गर्ने सन्दर्भमा भने कतिपय त्यस्ता लेखनहरू कमजोर पनि छन् । अङ्ग्रेजी लेखनमा सक्रिय नेपालीमध्ये अग्रपङ्क्तिमा आउने नाम हो–सम्राट उपाध्याय । अमेरिकामा बसेर कलम चलाउँदै आएका उनको कृतिको मूल समस्या पात्र र ठाउँको नाममा नेपाल आए पनि विषयमा भने उनले नेपाली जनजीवनलाई थोरैमात्र छुन सकेको अनुभव हुन्छ–विशेषतः काठमाडौंमा बसेर उपाध्याय पढ्ने पाठकलाई ।
यद्यपि नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि यस्ता हरेक पाइलाको केही न केही महत्व पक्कै हुनेछ । अङ्ग्रेजी भाषामा बलियो पकड भएका युवाहरूले सिर्जनात्मक लेखन र अनुवादमा जति धेरै चासो दिन्छन्, त्यत्ति नै अन्तर्राष्ट्रियकरणको गति बढ्नेछ । एक जना विदेशीको लागि नेपाली भाषाका कृतिहरूको अनुवाद जति सांस्कृतिकरूपमा दुरुह हुन्छ, नेपालीको लागि त्यत्ति नहोला । तर, खाँचो छ त अङ्ग्रेजी भाषामा बलियो पकड भएका नेपाली अनुवादहरूको । यसको निम्ति व्यक्तिगत वा निजी क्षेत्रको पहलको भरमा हामी ज्यादै धिमा गतिमा मात्र प्रगति गर्नसक्नेछौँ । हाम्रा विश्वविद्यालय र राज्यका विभिन्न निकायकै सक्रियताले मात्र यो क्षेत्रमा हामीले छोटो समयमा फड्को मार्न सक्छौँ । नेपाली विश्वविद्यालय र कलेजहरूले विभिन्न अन्तर्राष्ट्रिय प्रतिष्ठान र विश्वविद्यालयहरूसँग भगिनी सम्बन्ध विस्तार गर्दै यो क्षेत्रमा दुईपक्षीय काम गर्न जरुरी छ ।
अनुवादको यति चर्चापछि एउटा प्रधान महत्वको विषयलाई भने हामीले कदापि उपेक्षा गर्न सक्दैनौँ । नेपाली भाषा र नेपालका विभिन्न भाषामा राम्रा र अब्बल साहित्यको लेखन र प्रकाशनले अनुवादलाई राम्रो र अब्बल बनाउन सकिन्छ । स्रोत नै राम्रो र अब्बल भएन भने उत्कृष्ट अनुवादले मात्र केही हुन सक्दैन । अनुवादकको भाषा शिल्पको आफ्नै महत्व छ । तर, मुख्यतः स्रोत भाषाका कृति नै संसारसामु देखाउन र पढ्न लायक हुनुपर्छ । संसारलाई हामीले के देखाउने, नेपाली साहित्यको नाममा संसारका पाठकलाई कस्तो कृति देखाउने भन्ने कुराको पहिलो निक्र्योल त नेपाली लेखकहरूको लेखनले नै गर्ने हो ।
नमुना अध्ययन
अनुवादसम्बन्धी यति चर्चापछि अब मूल नेपाली भाषा भएको र अङ्ग्रेजीमा अनुवाद गरिएको एउटा उपन्यासको अनुवादबारे थोरै चर्चा गरौँ । ‘रणमाया’ साहित्यकार इन्दिरा प्रसाईलिखित उपन्यास हो । केशव सिग्देलले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको यो उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानले सन् २०१७ अर्थात् तीन वर्षअघि प्रकाशन गरेको हो ।
दक्षिण एसियाली देश भुटानका नेपालीहरूमाथि त्यहाँको सरकारले गरेको जातीय दमनको विषयमा यो उपन्यास लेखिएको छ । विभिन्न कालखण्डमा मुख्यतः आर्थिक जीवनको लागि नेपालका विभिन्न क्षेत्रबाट भुटान गएर बसेका नेपालीहरूको दक्षिणी भुटानमा बाक्लो बसाइ थियो । उनीहरू भुटानमा ल्होत्साम्पा कहलिए । आज पनि भुटानमा नेपालीहरूको उपस्थिति उल्लेख्य छ । भुटानको अर्थतन्त्र, राजनीति, समाजमा नेपालीहरूको भूमिका बढ्दो थियो । नेपालीहरूको बढ्दो प्रभावबाट सजग भुटानी संस्थापनले भने विसं २०४० को दशकमा ल्होत्साम्पाहरूमाथि जातीय दमन सुरु ग¥यो । झन्डै एक लाखको हाराहारीमा ल्होत्साम्पाहरू भुटान सरकारको दमनबाट जोगिन आफ्नो घर र सम्पत्ति छोडेर त्यहाँबाट भागे । उनीहरूमध्ये अधिकांशले पूर्वी नेपालका विभिन्न शिविरमा आश्रय लिए । हाल ती भुटानी शरणार्थीहरूमध्ये अधिकांश तेस्रो देशमा पुनःस्थापना कार्यक्रमअन्तर्गत संरा अमेरिका, क्यानाडा, अस्टे«लिया, बेलायत आदि देशमा आप्रवासी नागरिकको रूपमा बस्दै आएका छन् ।
साहित्यकार प्रसाईले रणमाया नामको पात्रलाई केन्द्रमा राखेर भुटानमा नेपालीमाथि भएको जातीय दमनको वृत्तान्त यो उपन्यासमा लेख्नुभएको छ । धेरै ल्होत्साम्पाहरू जस्तै रणमायाको जीवनको लय पनि आफ्नै गतिमा अघि बढिरहेको थियो । माया गर्ने पुरुषसँग विवाह, दुःख र सुख दुवै रङ मिसिएको पारिवारिक जीवनबीच भुटानीहरूले नेपालीहरूमाथि गर्न थालेको विभेदको कारण छिन्नभिन्न भएको रणमायाको जीवनको चित्रणमार्फत दक्षिण एसियाकै कठोर जातीय दमनमध्येको एउटा दमनको उपन्यासमा वर्णन गरिएको छ ।
अनुवादक केशव सिग्देलले उपन्यासको नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा सरल तरिकाबाट अनुवाद गर्नुभएको छ । सांस्कृतिक अनुवादको हिसाबमा पनि उहाँले सहज अनुवाद गर्नुभएको छ । तथापि, अनुवादमा २९ वटा नेपाली भाषाका शब्दहरूका ठीक अङ्ग्रेजी शब्दको अभावले नेपाली शब्दकै प्रयोग गर्नुभएको छ । बैदार, मगर्नी, हुक्का, हाटबजार, दौरा, गुण्डा, भाउजू, भोटे, दिदी, गीतालगायतका शब्दहरूको सांस्कृतिक अनुवाद गर्न अप्ठ्यारो लागेको छ–अनुवादकलाई । त्यसकारण ती नेपाली शब्दको जस्ताको तस्तै प्रयोग भएको छ । अनुवादमा यस्तो प्रयोग स्वाभाविक हो ।
अनुवाद प्राज्ञिक विषय हो । अनुवाद कार्यमा लामो समयको लगातारको संलग्नताले साहित्यिक कृतिको अब्बल अनुवाद सम्भव हुन्छ । अनुवादको अर्थ शब्दबाट शब्दको अनुवाद पक्कै होइन । अनुवाद दुई वा बहुसंस्कृतिको भाषान्तर हुने गर्छ । सांस्कृतिक चेतको कमी भएको अनुवादकले मूल लेखकको सांस्कृतिक अभिव्यक्तिलाई छोड्दै जाने गर्छ । त्यस्तो अनुवादलाई राम्रो अनुवाद भनिंँदैन । भाषाको ज्ञान आधारभूत पक्ष भएर पनि भाषिक वा शाब्दिक ज्ञान नै सफल अनुवादको पूर्ण आधार होइन । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि भाषा र संस्कृति दुवै आधारमा अब्बल अनुवादकहरूको बलियो प्राज्ञिक सेनाको खाँचो पर्छ । जो नेपालमा अद्यापि कमी नै छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीको नोबेल साहित्य पुरस्कारको सपना पूरा गर्न यो क्षेत्रमा अझै गर्न बाँकी काम धेरै छन् । तर, सपना देख्नु लक्ष्य प्राप्तिको पहिलो पाइला हो भनिन्छ । सत्यमोहनजस्तै धेरै नेपाली लेखक–साहित्यकारहरूको यो सपना पूरा गर्न अब यो क्षेत्रमा मिहिनेत गर्न भने ढिला गर्नु भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *